लोकतन्त्रका ऐंजेरूहरू– अधिवक्ता जीबी आचार्य

लोकतन्त्रका ऐंजेरूहरू– अधिवक्ता जीबी आचार्य


bicharजतिबेला सडकमा लोकतन्त्रका लागि गगनभेदी नारा उर्लिरहेका हुन्थे, ती नारा दबाउन बर्दीधारीहरू बन्दुकबाट आगो ओकल्थे । मानौँ, बन्दुकका आगोले इन्कलाबी आवाजहरू ध्वस्त हुनेछन् र लुटको शासन निर्विकल्प चलिरहनेछ । एकातिर आधुनिक हातहतियारले सुसज्जित बर्दीधारी पर्खाल उभिएको हुन्थ्यो भने अर्कोतर्फ खालीहात केटाकेटी, युवा एवम् वृद्धवृद्धाहरू उम्लिरहेको कराइको पानीका थोपाझैं सल्बलाइरहेका हुन्थे । सबैको मनमा, ढुकढुकी र चेतनामा वश एउटै नारा थियो– ‘लोकतन्त्र जिन्दावाद †’ गोलीको वर्षा हुन्थ्यो, रगतको भेल बग्थ्यो, बाटोभरि चप्पल–जुत्ताको छरपष्ट मेला लाग्थ्यो । ताता लासहरू बाटोकिनारमै ढलिरहेका देखिन्थे । ‘ऐया मरेँ’जस्ता आवाजको मेला लाग्थ्यो, तर फेरि उत्तिनैखेर थप चर्को आवाजमा लोकतन्त्रको नारा लाग्थ्यो । बिहान सबेरैदेखि साँझ झमक्क नपर्दासम्म किसानको खेती यही थियो, विद्यार्थीको पढाइ यही थियो । के कलाकार, के पत्रकार, के पेसाकर्मी चिकित्सक, वकिल, इन्जिनियर सबैको साझा आवाज बनेको थियो लोकतन्त्र र सडकमा पोखिइरहेको यो आवाज । विश्वभरिका आँखाले चनाखो पारामा नेपाल नियालिरहेका थिए । वीर तर सोझो जाति नेपाली । आफ्ना लागि कम र अर्काका लागि ज्यादा रगत बगाएको जाति नेपाली । कारगिलदेखि सियरालियोनसम्म, हैटीदेखि उत्तरपूर्वी अफ्रिकासम्म शान्तिका लागि लडिरहेको नेपालीको देशमा चलेको उन्नाइसदिने जनआन्दोलनपछि प्राप्त लोकतन्त्र ।
यो त्यही लडाइँ हो जतिबेला सडकमा स्वतन्त्रताका नारा लागिरहँदा कसैको छोरो वा पति वा बाबु वा कसैकी छोरी वा आमा वा पत्नीले जीवन उत्सर्ग गरेका थिए । तर, के लोकतन्त्र किताबी स्वतन्त्रता मात्रै हो वा भाषणको खेती मात्रै हो वा केही मानिसका लागि मनपरी गर्ने छुट मात्रै हो ? ती मानिस जो हिजो लोकतन्त्रका लागि ज्यानको बाजी थापेर सडकमा निस्के, कफ्र्यु तोडे र स्वच्छाचारी शासनलाई घुँडा टेकाए, र जो आज अपाङ्ग, अङ्गभङ्ग भएर शरीरमा गोली बोकेर बाँच्न विवश छन्, तिनको आवाज सुन्नुपर्दैन लोकतन्त्रले ?
अघिल्लो संविधानसभाको मध्यरातमा षड्यन्त्रपूर्वक हठात् अवसान भएपछि मुलुक नयाँ शिराको राजनीतिमा प्रवेश गरेको छ । तर, भित्तामा झुन्ड्याएको क्यालेन्डरमा वर्ष, महिना र दिनबाहेक अरू केही केही पनि बदलिएको छैन । पात्र बदलिएका छन्, प्रवृत्ति बदलिएको त कहाँ छ र ? अनि संविधानसभाका लागि दोस्रोपटक निर्वाचन सम्पन्न भए पनि संविधान नबन्ने संसयले जनतालाई निराश बनाइरहेको समयमा मुलुकका प्रशासनिक कमजोरीहरू एकपछि अर्को रूपमा उजागर भइरहेका छन् ।
लोकतन्त्रलाई कमजोर बनाउने ऐंजेरूहरू नेपालका राजनीतिक पार्टीहरूभित्रै व्याप्त छन् र ती ऐंजेरूहरू सत्तासीन पार्टीहरूमा अलिक बढी होलान् भने सत्ताबाहिरका पार्टीहरूमा अलिकति कम । तर, दुवैखाले पार्टीमा ऐंजेरूहरू छन् । निर्माण व्यवसायीले ठेक्का हत्याउन पालनपोषण गरेर राखेका गुण्डाहरू, डनहरू आवरण फेरेर विभिन्न पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ता बनेका छन् अनि तिनै डन र गुण्डाहरू स्ववियु निर्वाचन, आमनिर्वाचनमा प्रयोग भएका छन् । हुँदाहुँदै अब त राजनीतिक पार्टीकै महाधिवेशन र सम्मेलनमा समेत यस्ता डन र गुण्डाहरूको प्रयोग हुन थालेको छ । अब गुण्डा र डनको संरक्षणमा राजनीतिक पार्टीका पद हासिल गर्ने प्रवृत्तिले नेपाली लोकतन्त्रलाई कुन रसातलमा पु-याउने हो ।
काङ्गे्रसको नजरमा रोज राणा र शुभराम बस्नेत अब्बल दर्जाका लोकतान्त्रिक युवाहरू हुन् भने एमालेका नजरमा दिनेश अधिकारी ‘चरी’ र पर्शुराम बस्नेतहरू अब्बल क्रान्तिकारी कम्युनिस्टहरू हुन् । अब यस्तो अवस्थामा छ कि कोही कसैलाई प्रहरीले पक्राउ गरिहाल्यो भने यिनीहरूको बचाउमा विभिन्न सङ्गठनहरूले तोडफोड र बन्दसम्म आयोजना गर्न भ्याइहाल्छन् । कानुन तोड्नेहरू यसरी छुट्दै छुटाउँदै जाने हो भने यसले कस्तो विधिको स्थापना हुन्छ देशमा अनि कस्तो लोकतन्त्र चाहेका हौँ हामीले ?
विभिन्न विधिशास्त्रीहरूले अपराधलाई विभिन्न कोणबाट परिभाषित गर्ने गरेका छन् । अपराधको स्रोत मानिसको मनभित्र रहेको उसको विचार, अभ्यास र चिन्तन हो, तर धन वा सम्पत्तिसँग सम्बन्धित अपराधहरू विश्वव्यापी रूपमै सबैभन्दा बढी घट्ने अपराध हुन् । किनभने धनको प्रकृति नै यस्तो हुन्छ कि धनले मानिसको नियतलाई जुनसुकै बेला बिगारिदिन सक्छ । आममानिस धनका लागि गिर्ने, बिग्रने वा भ्रष्ट हुने कुरा सामान्यजस्तै भए पनि विश्वका विख्यात राजनीतिज्ञहरूसमेत भ्रष्टाचारमा फसेका अनगिन्ती उदाहरणहरू हाम्रासामु छँदै छन् ।
अपवाद स्थितिलाई छाड्ने हो भने नेपाली राजनेताहरू ठूलाठूला आर्थिक अनियमितता र भ्रष्टाचारमा मुछिएका घटना सार्वजनिक भएको छैन र अपवाद नेताहरूलाई बिर्सने हो भने नेपाली राजनेताहरू यौनिक र सांस्कृतिक अपचलन तथा ठूला षड्यन्त्रमा सरिक पनि पाइँदैनन् । यद्यपि अध्ययन, खोज, अनुसन्धान र विज्ञान–प्रविधिको बुझाइमा उनीहरूमा समस्या देखिएको छ । प्रायः तेस्रो मुलुकका आमराजनीतिज्ञझैं राजनीतिक असहिष्णुता उनीहरूमा पनि व्याप्त छ । आफू सर्वज्ञ हुँ भन्ने मनोरोग व्याप्त छ । हिजोका शासकहरू खासगरी जन्मको आधारमा योग्य हुने प्रणालीका अनुयायीहरूले जनमत किन गुमाए भन्ने कुराको हेक्का आजका राजनेताहरूले राम्रोसँग राख्न जरुरी छ । आफूले जे ग-यो त्यही ‘विधि’ भइदिनुपर्छ भन्ने मनोरोग लोकतन्त्रलाई सुहाउँदैन । त्यसैले लोकतन्त्रका यी ऐंजेरूहरू बेलैमा निमिट्यान्न पार्नुपर्छ । आज कुनै पनि मानिस कुनै न कुनै पार्टी वा सङ्गठनसँग आबद्ध हुनु कुनै नौलो कुरा होइन भने प्रत्येक व्यक्तिले उसले गरेको कामका आधारमा मूल्याङ्कन नगरी काम गर्ने व्यक्तिको हैसियतको आधारमा कामको मूल्याङ्कन हुन थाल्यो भने यो ऐंजेरूले लोकतन्त्रलाई निकै छोटो समयमै इतिहासको गर्तमा धकेलिदिने छ ।