राजनीति ‘सेवा’ हो कि ‘मेवा’ ?

राजनीति ‘सेवा’ हो कि ‘मेवा’ ?


bichar– प्रकाशचन्द्र दवाडी
उचित तवरले व्यवस्थापन हुन नसकेको फोहोरका कारण राजधानी काठमाडौंको सौन्दर्य र छविमा ठूलो धक्का लाग्दै आएको छ । त्यसमाथि बेला–बेलामा डम्पिङ साइडको विषयमा उत्पन्न हुने विवाद र सरोकारवाला स्थानीयको आन्दोलनले राजधानीलाई अत्यन्तै कुरूप र दुर्गन्धित बनाइदिन्छ । राजधानीजस्तो मुलुककै इज्जत–प्रतिष्ठा गाँसिएको ठाउँको फोहोर पनि राज्यले अहिलेसम्म उचित रूपले व्यवस्थापन गर्न नसकेको सन्दर्भले प्रत्येक सचेत नागरिकलाई च्वास्स घोच्दछ । यस्तै घोचाइबाट घच्घचिँदै पङ्क्तिकारले केही वर्षअघि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पनि गर्ने र त्यही फोहोरको सदुपयोग गरी बाइप्रोडक्टका रूपमा मल उत्पादनलगायतका अन्य उपयोगी काम गर्ने पहलकदमी लिई सम्बन्धित निकायको ढोका घच्घच्यायो । हरेक वर्ष सिजनमा मल नपाएर कृषकमा हाहाकार मच्चिने गरेको अवस्थाले पनि अलिकता भए पनि त्राण पाउँथ्यो भन्ने सोच राखिएको थियो । तर, आफू पनि गर्न नसक्ने÷नगर्ने र अरूलाई पनि गर्न नदिने रोगले हाम्रो समाज कतिसम्म ग्रसित भइसकेको रहेछ भन्ने अनुभूति गर्नुबाहेक व्यवहारमा आफ्नो योजना लागू गर्ने अवसर मिलेन । पछि यही काम गर्न भियतनाम पुगियो । फोहोर प्रशोधन गरी मल बनाउने कारखाना त्यहाँ पाँच वर्ष सफलताका साथ चलाएर अरूलाई नै जिम्मा लगाइयो । आफ्नै मुलुकमा यस्तो उपयोगी प्रोजेक्ट आवश्यक छ र यसमा काम गर्ने उत्कट चाहना पनि छ, तर काम गर्ने वातावरण नै छैन । अनेकौँ कागजी प्रक्रियाको झन्झट, नियम–कानुनको अवरोध र कर्मचारी तथा अन्य अमूक पक्षहरूलाई अनेक तरहले रिझाउनुपर्ने बाध्यता । काम गर्नेको जाँगर त्यसै सेलाउने, अनि नचाहेर पनि स्वदेश त्यागी कामकै लागि बिदेसिनुपर्ने विडम्बना । राजनीतिको गलत प्रयोग भएपछि यस्तो अवस्था निम्तिने रहेछ भन्ने लाग्छ ।
हुन पनि हाम्रो नेपाल राजनीति अति फस्टाएको देश हो । यहाँ हातमा काम र थालमा माम नभए पनि राजनीतिको गफ सुक्दैन, जताततै राजनीति नै राजनीतिको कुरा भइरहेको हुन्छ । देशको राजनीतिप्रति नागरिकले चासो दर्शाउनु नराम्रो त होइन, तर ‘गफ’का लागि राजनीति गर्नुको कुनै तुक रहन्न । सही, सटिक र यथार्थ चिन्तन गरी राजनीतिको माध्यमबाट त्यसलाई वास्तविकतमा उतार्न सके मात्र राजनीतिप्रतिको चासो र चर्चाको सार्थकता रहन्छ । नेपाली समाज यसमा चुकिरहेको छ । जनता सतही राजनीतिक कुरामा अल्झिएर बस्नाले सीमित व्यक्तिहरू ठालु बनेर हालीमुहाली गर्न पाएका छन् । यसरी त नेपाल उँभो लाग्न कठिन पर्छ ।
यसो भन्दै गर्दा आफू स्वयम् पनि राजनीतिक विषयवस्तुतिर आकर्षित भएको सन्दर्भको चर्चा यहाँ वाञ्छनीय हुन सक्छ । यसको प्रमुख कारण नै सामाजिक क्रियाकलापप्रति ममा विशेष रुचि रहनु हो । सामाजिक अभियानाई पहिलो प्राथमिकता दिने आफ्नो सोचअनुरूप लागिपर्दा राजनीतिक संलग्नता पनि देखिँदोरहेछ । अर्थात्, सामाजिक कुराले राजनीतितिर पनि स्वतः तान्दोरहेछ । यसका आधारमा भन्नैपर्दा समाजसेवा र राजनीति एकै सिक्काका दुई पाटा रहेछन् भन्नेमा म प्रस्ट भएँ । तसर्थ, एउटा हातमा समाजसेवा र अर्को हातमा राजनीतिरूपी लौरो बोकी उभिने प्रयत्न गर्दै छु म । यसो भनेर राजनीतिका नाममा यहाँ हुँदै या देखिँदै आएका परम्परागत सोच र शैली पछ्याउने पक्षमा म छैन । मैले बुझेको राजनीति त सम्पूर्ण तवरले देश र जनताप्रति समर्पित हुन्छ । राजनीति भनेकै मुलुक र मुलुकवासीका लागि हुनुपर्छ । आफ्नो लागि मात्र त जे पेसा–व्यवसाय गर्दा पनि भइहाल्छ । सबैलाई आ–आफ्नो क्षमताअनुसारको व्यवसाय गर्ने स्वतन्त्रता त छँदै छ ।
मेरो पहिलो प्राथमिकता समाजसेवा र दोस्रोमा राजनीति हो । गत संविधानसभा निर्वाचनमा म पनि उम्मेदवार बन्न इच्छुक थिएँ । मेरो इच्छाभन्दा पनि मलाई संविधानसभा या संसद्मा देख्न चाहने गोर्खाका स्थानीय जनता, मित्रजन एवम् विभिन्न क्षेत्रका शुभेच्छुकहरूको चाहना, साथ–सहयोग र आग्रहबाट म उत्प्रेरित भएको थिएँ । ‘पैसा खर्च गरेरै भए पनि टिकट लिनुपर्छ’ भन्नेसम्मका साथीभाइ पनि थिए । तर, त्यसरी राजनीतिमा हेलिनु भनेको त क्षणिक मात्र हुन्छ भन्ने ठानेँ मैले । जिते पनि हारे पनि त्यो क्षणिक तुष्टिको कुरा मात्रै हुन्थ्यो । अब त एकप्रकारले भन्ने हो भने समाजसेवालाई निरन्तर चालू राख्ने र राजनीतिलाई चाहिँ ‘चासो’ राख्ने भन्ने सोचमा पुगेको छु म । यहाँ चल्दै आएको शैलीमा राजनीतिमा होमिने हो भने त न देश–जनताको सेवा हुन्छ न आत्मुष्टि नै मिल्छ । मेरो अहिलेसम्मको अनुभवले त यही भन्छ ।
पार्टीले विश्वास गरेर टिकट दिए चुनाव जित्छु भन्ने थियो, जित्ने आधार मसँग थियो, तर शीर्षतहका नेताहरूसँग स्थानीय तहको यथार्थ बुझ्ने कुनै मापदण्ड नै थिएन र मैले उम्मेदवारीको अवसर पाइनँ । राजनीतिको कुरा गर्नुपर्दा मलाई यहाँ तीनवटा कुरा खट्कियो । एक, पार्टीमा निरन्तरता भन्ने ‘सिस्टम’ राख्न खोज्ने, तर त्यो व्यवहारमा लागू गर्ने बेला आफूखुसी या अनुकूलता हेरेर निर्णय लिने गरिँदोरहेछ । अर्को, टुप्पो (केन्द्र)मा बढी धाउनुपर्ने चलन रहेछ । तेस्रो, पैसाको चलखेल निकै हुँदोरहेछ । तर, मैले चाकडी गर्न नेताका ढोका धाउने र अनावश्यक रकम खर्च गरेर टिकट लिने सोच बनाइनँ । बरु आफ्नै प्रकारले सामाजिक कार्यमा लाग्दै रमाउन चाहँे ।
वास्तवमा आमकार्यकर्तामा पहिले नै निरासा प्रदान गर्ने विषय बन्यो टिकट वितरण प्रकरण । ‘महिलाको कोटा पु-याउने’ अवधारणाबाट केन्द्रले झारा टारिदिँदा युवालाई मोबिलाइज गर्ने कुरामा उम्मेदवारले केही गर्नै नसकेको अवस्था देखियो । चुनावका बेला युवामा आउने उत्साह आउँदै आएन, नामेट नै भयो । चाहेको उम्मेदवार नपाए पनि असहयोग गरी हराउने सोच कसैले बनाएनन्, कार्यकर्ता साथीहरूले भरमग्दुर प्रयत्न गरेकै हुन्, तर उम्मेदवार नै शिथिल देखिएपछि केही लाग्दो रहेनछ ।
त्यसैले महिला–कोटा पूरा गर्ने नाममा झारा टार्ने हिसाबले टिकट दिने काम पार्टीले कदापि नगरोस् भन्ने सुझाव दिन चाहन्छु म । वास्तवमै गोर्खा क्षेत्र नम्बर २ पार्टीको यही ‘झाराटराई’को सिकार बन्यो । नेपाली काङ्ग्रेसको बलियो क्षेत्र भएर पनि हार व्यहोर्नुप-यो । त्यहाँ चुनाव जितिने थियो, सही उम्मेदवार नहुँदा त्यस क्षेत्रको नकारात्मक प्रभाव अर्को क्षेत्रमा समेत प-यो र काङ्ग्रेस हा-यो । गत चुनावको अनुभवका आधारमा म के भन्छु भने केन्द्रले जिल्ला नेतृत्वको मात्र कुरा सुनेर टिकट दिने चलन बन्द गर्नुपर्छ । तल्ला तहका जनताको भावना बुझ्नुपर्छ । अनि मात्र उम्मेदवारले जित्ने–हार्ने वास्तविक अवस्था थाहा हुन्छ । मेरै कुरा गर्नुपर्दा २० गाविसमध्ये १७ वटाबाट मेरो नाम जोडदारसँग सिफारिस भएको हो, तर केन्द्रले यसमा ध्यान पु-याएन । यसबाट म त निरास भइनँ, तर मैले टिकट पाए हुन्थ्यो भनी कामना गर्ने मतदाता तथा गाउँका आमजनता मलाई टिकट नदिइएकोमा निरास हुन पुगे, जसले मलाई दुःखी तुल्यायो । वास्तवमा गत चुनावमा काङ्ग्रेसले सही रूपले टिकट वितरण गरेको भए प्रत्यक्षतर्फ मात्र ३५–४० सिट बढी जित्ने थियो भन्ने मलाई लाग्छ ।
व्यावसायिक कोणबाट भन्नुपर्दा यतिबेला म जापानमा अदुवा सप्लाईको व्यवसाय गरिरहेको छु । धेरै वर्ष जापानमा पसिना बगाउँदा परिश्रम वा पसिनाको मूल्य र महत्व बुझ्न पाएँ मैले । गाउँ–गाउँका कृषकलाई अदुवा खेतीका लागि लगानी गरिदिई उनीहरूबाट उत्पादित अदुवा खरिद गरिदिँदै आएको छु । आफूलाई खास नाफा नभए पनि गाउँका निम्न आर्थिक अवस्थाका जनतालाई भरथेग भएको छ भनी चित्त बुझाएको छु । यस्तै, चितवनमा माछा, बङ्गुर, बाख्रा आदि पालन गरिरहेको छु । यसबाट खास नाफा नभए पनि थोरै भए पनि रोजगारी उपलब्ध गराउन सकिएकाले ुष्टि मिलेको छ । अन्य व्यवसाय पनि छिटफुट चलिरहेकै छन् । सामाजिक जिम्मेवारीअन्तर्गत गाउँ–ठाउँका एक सय ५० जना विद्यार्थीलाई व्यक्तिगत खर्चमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छु । प्रतिभा भएर पनि आर्थिक रूपले कमजोर छात्रछात्रामध्येबाट छानेर डाक्टर, इन्जिनियर तथा मुलुकका लागि काम लाग्ने यस्तै कुनै क्षेत्रविशेषमा दखल राख्ने योग्य नागरिक खडा गर्ने सोच हो । गाउँमा स्कुल भवन बनाइदिनेलगायतका सामाजिक कार्य चलिरहेकै छन् । गाउँठाउँमा बाटोघाटो, पुलपुलेसा आदिमा आफूसक्दो योगदान दिन पछि नहट्ने सोच बनाएको छु ।
समग्रमा भन्नुपर्दा निरासाले अवनति निम्त्याउने भएकाले हामीले निरास भइहाल्नुपर्ने कारण छैन । हामीभन्दा निकै गए–गुज्रिएको अवस्थाबाट माथि उठेर आज विश्वमै समृद्ध मुलुक भनी शिर ठाडो पारेका देशहरूबाट हामीले प्रेरणा लिन सक्नुपर्छ । राष्ट्रका लागि आ–आफ्नो क्षेत्रबाट एक भई लागिपर्ने हो भने प्रत्येक नागरिकबाट खास योगदान पुग्न सक्छ । मूल कुराचाहिँ राजनीति भन्ने कुरा विकास र समृद्धिका लागि हुनुपर्छ, अर्काको खुट्टा तान्ने र पद पाउँदा आफ्नै हित हेर्ने संस्कारले राजनीतिलाई नै विकृत तुल्याउँछ र आमजनतामा वितृष्णा, निरासा र आक्रोश जन्माउन सक्छ । सेवा गर्छु भन्नेले ‘मेवा’को आश गर्नुहुन्न । राजनीतिको माध्यमबाट समाजसेवा गर्न खोज्नेले कमसेकम यति कुरामा त ध्यान पु-याउनैपर्छ ।