मूलढोकामा क्रिकेट, रेड कार्पेट आवश्यक

मूलढोकामा क्रिकेट, रेड कार्पेट आवश्यक


nepal-cricket-team-4 घाँटीको प्वाल ठूलो हुनेले मात्र ठूलो हाड निल्न सक्छ भन्ने मान्यतालाई नेपाली क्रिकेट टोलीले यतिबेला गलत सावित गरिदिएको छ । नेपालको विश्वकपमा पहिलो सहभागिता सहभागितामै सीमित रहने जुन सोच र मानसिकता पालिएको थियो त्यसमा नेपली टोली खरो उत्रिएको छ । नेपाली खेलाडीले आफ्नो पहिलो सहभागितामा नै अमिट छाप छोड्न सफल भएका छन् ।
नेपालको मान, सम्मान र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा रोशन गर्न सफल भएका छन् । नेपाललाई क्रिकेटको माध्यमबाट विश्वमानचित्रमा चिनाउँदै नेपालीलाई एकताको सूत्रमा बाँध्न सफल भएका छन् । आपसी सद्भावमा देखिएको खलललाई समेत चिर्दै नेपालीको सुमधुर सम्बन्धमा नयाँ ‘सेतु’ निर्माण गर्न सफल भएका छन् । जुन जातीय राजनीति गर्नेहरूका लागि ठूलो प्रेरणा र सबक बनेको छ । अहिले क्रिकेटले जुन गुन लगाएको छ, पाठ सिकाएको छ त्यसले मुलुक हाँक्नेहरूलाई क्रिकेट टोलीझैँ बन्न प्रेरितसमेत गरेको छ । मुलुकको प्रतिष्ठा दाउमा लागेको बेलामा नेपालको विकास र सफलताका लागि नेपाली बन्नुपर्ने महाज्ञानको सकारात्मक सन्देशसमेत दिएको छ ।
सीमित साधन स्रोत, भौतिक पूर्वाधारको अभाव, नेपाल क्रिकेट सङ्घ (क्यान)को चरम गुटबन्दीका बाबजुद पनि नेपाली खेलाडीले हाल बंगलादेशमा सञ्चालन भइरहेको ट्वान्टी–२० विश्वकपमा जुन ऐतिहासिक प्रदर्शन गरे त्यो अहिले सम्पूर्ण नेपालीको मानसपटलमा अजर र अमर बनेको छ । उनीहरू रातारात सेलिब्रेटी अर्थात् हिरो बन्दै सबैको आँखाको नानी बन्न सफल भएका छन् । आँखामा राखे पनि नबिझाउने उनीहरूको व्यक्तित्व बनेको छ । हिजोसम्म क्रिकेट खेलाडी एकादेशका पात्रमा सीमित थिए भने आज सम्पूर्ण नेपालीको ढुकढुकी बन्न सफल भएका छन् । यो त्यसै सम्भव भएको होइन, यसमा विभिन्न पक्षको सहयोग, खेलाडीको अथक मिहिनेतले मात्र सम्भव भएको हो । विश्वकप खेल्ने सपना मात्र देखेका र विपनाको कहिल्यै कल्पना नगरेका खेलाडीले जब प्रत्यक्ष रूपमा वास्तविकताको अनुभूति गर्ने अवसर पाए त्यो अहिले खेलाडीको र मुलुकका लागि अविष्मरणीय पाटो बन्न पुग्यो । तसर्थ यो सफलताले राज्य सञ्चालन गर्नेदेखि उद्योगपतिलाई समेत घचघच्याउन पुग्यो । उनीहरूलाई बल्ल खेलकुदको वास्तविकता र यसको प्रभावशालिताको आत्मबोध भयो । हिजोसम्म सगरमाथा र बुद्धको देशको नामले चिनिने नेपाल चार दिनमै क्रिकेटको देशको नामले चिनिएपछि विश्वमानचित्रमा नेपाल सार्वभौम राष्ट्र हो भन्ने कुरामा कसैलाई शङ्का भएन ।
क्रिकेटको समग्र विकासका लागि सहयोगको अपेक्षा र गुहार माग्दामाग्दै पाएको यो सफलताले अहिले खेलाडी मात्रै नभई राष्ट्रले समेत गौरवको अनुभूति गरेको छ । यो अवस्थामा जसले नेपालमा क्रिकेटको जग हाले, त्यसलाई फलाउन फुलाउन योगदान दिए त्यसलाई कदापि विर्सन सकिँदैन । इतिहासको पाना पल्टाउँदा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि उपहारको रूपमा पाएको क्रिकेटको सामग्रीबाट नै नेपालमा क्रिकेट भित्रिएको अनुमान र अड्कल लगाउन सकिन्छ । त्यसपछि बागदरबार मात्रै सीमित रहेको क्रिकेटलाई प्रजातन्त्रको उदयपछि टुँडिखेलसम्म पु-याउने कार्य भएको देखिन्छ । दरबारको चार दिवारी तोडेर क्रिकेट टुँडिखेलमा झुल्किए पनि जनताको पहुँचभन्दा निकै टाढा थियो अर्थात् जनता मूकदर्शक मात्रै थिए । साँचो अर्थमा भन्नुपर्दा क्रिकेट दरबारकै आसेपासेहरूमा कैद थियो । तर, प्रजातन्त्रको आगमनसँगै बनेको स्वतन्त्रताको वातावरणले जनताले पनि टुँडिखेलमै ढाकाटोपी लगाएर क्रिकेट खेल्न मौका पाएका थिए । फरक यति मात्रै थियो भारदारहरू वास्तविक ब्याड, बल र ग्लोब लगाएर नियमपूर्वक क्रिकेट खेल्थे भने जनता काठको मुङ्ग्रो र रबरको बल र पञ्जा लगाएर क्रिकेटको सिको गर्थे ।
नेपालकै सबैभन्दा पुरानो सङ्घको रूपमा परिचित नेपाल क्रिकेट सङ्घको पहिलोपटक ब्लुस्टार होटेलमा भएको प्रेस सम्मेलनपछि मात्रै क्रिकेटले वामे सर्ने अवसर पाएको थियो । आफ्नो स्थापनाको पचास वर्षमा आयोजना भएको उक्त प्रेस सम्मेलनमा अध्यक्ष जयकुमारनाथ शाहले क्रिकेटको कछुवाको गतिमा हिँड्नुमा सबै दोषी रहेको स्वीकार्दै अब क्रिकेटको विकासमा सक्रियरूपमा लाग्ने प्रतिबद्धता जनाएका थिए । यहीँबाट कोल्टे फेरेको क्रिकेट त्यसपछि नौलो मार्गमा उभिएको थियो । जसलाई पुनः शाहकै नेतृत्वमा अगाडि बढाइएको थियो । नेपालमा फुटबल र क्रिकेटको लोकप्रियतामा ठूलो अन्तर रहेको अवस्थामा चालिएको यो कदम आफैँमा चुनौतीपूर्ण थियो । र पनि, छिमेकी मुलुकहरू भारत, पाकिस्तान र श्रीलङ्कामा क्रिकेट बाहुल्य रहनु नेपालका लागि सकारात्मक बनेको थियो । अझ यी तीनैवटै मुलुक ‘विश्व च्याम्पियन’ बनेपछि नेपालमा क्रिकेट खेल्नेको बाढी आएको थियो । त्यसपछि नेपाल उमेर समूहमा तहल्का मच्चाउँदै यो अवस्थासम्म आइपुगेको हो । नेपाललाई यो अवस्थासम्म पु-याउन सानोतिनो भूमिका सबैले निर्वाह गरे पनि खुद खेलाडीको भूमिका भने तारिफयोग्य, संस्मणयोग्य र प्रशंसायोग्य छ ।
वर्तमान अवस्थामा ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपालले पाएको ऐतिहासिक सफलताले सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भएको छ । सरकारदेखि उद्योगपति र सञ्चारगृहदेखि सर्वसाधारणले राष्ट्रको गौरव बढाउने खेलाडीप्रति मान–सम्मान प्रकट गर्दै लाखौँको पुरस्कार दिने घोषणा गरिसकेका छन् । जसले गर्दा अहिले मुलुक क्रिकेटमय बन्न पुगेको छ । हिजोसम्म क्रिकेट भनेपछि नाक खुम्च्याउनेहरू आज क्रिकेटलाई सहयोग गर्न आवरणमा देखिएका छन् । उनीहरू बलेको आगो ताप्न र सरकारको नजरमा पर्न आतुर देखिएका छन् । तिनैलाई सञ्चारमाध्यमहरूले पनि विशेष प्राथमिकता दिइरहेका छन् । वास्तविकतालाई भने कसैले आत्मसात् गरेको देखिएको छैन । जब क्रिकेट खेलाडीले स्वदेशभित्र र बाहिर आफ्नो पहिचान बनाउँदै थिए तब उनीहरूलाई साथ दिने कोही थिएन । उनीहरू दिनरात भौँतारिँदै अनिश्चितताको बाटोतर्फ उन्मुख हुँदै थिए । त्यस्तै अवस्थामा क्रिकेट खेलाडीलाई एउटा साङ्गठनिक आधारको आवश्यक थियो । एकाधले दुई–चार महिना साथ दिए पनि दूधमा परेको झिङ्गाझैं क्रिकेट खेलाडीलाई फ्याँक्दै आएका थिए, जुन खेलाडीका लागि ज्यादै पीडादायक बन्दै गएको थियो । यस्तो जटिल र विषम परिस्थितिमा क्रिकेट खेलाडीको हात सशस्त्र प्रहरी बलले सम्हालेको थियो । छरपस्ट अवस्था रहेका क्रिकेट खेलाडीलाई समेटेर क्रिकेटको साङ्गठनिक विकास र खेलेर खानसक्ने वातावरण बनाएर ठूलो गुन लगाएको थियो । तर, विडम्बना, विश्वकपमा तहल्का मच्चाउने प्रायः सशस्त्र प्रहरी बलकै खेलाडी भए पनि सशस्त्रको नामको कहीँ उच्चारण नहुनुमा यो देश सतीले नै सरापे हो भन्दा अतिशयुक्ति नहोला ।
नेपालमा कुनै खेल छ भने त्यो क्रिकेट मात्रै छ भन्ने भान अहिले आमनेपालीमा परेको छ । विजयी माला पहिरिँदै र भविष्यको यथार्थ र सम्भावनालाई ढकढक्याउँदै आज मूल ढोकामा क्रिकेट खडा भएको छ । त्यसलाई राज्यले आत्मअनुभूति गरिसकेको अवस्था भए पनि रेड कार्पेटचाहिँ बिसाउन सकेको छैन । अन्तर्राष्ट्रिय रंगशाला बनाउने प्रण गरे पनि खेलाडीलाई आत्मविश्वासी बनाउन भने सकेको छैन । राज्यले घोषणा गर्ने, तर कार्यान्वयन कहिल्यै नगर्ने परिपाटी र संस्कारको अब अन्त्य हुन्छ या आश्वासन मात्रै बाँडिन्छ त्यो अहिले गम्भीर विषय बनेको छ । अहिलेसम्म सबै जोगी कानै चिरेका मात्र देखिएकाले जबसम्म काम हुँदैन तबसम्म विश्वास गर्न सकिँदैन । आशा गरौँ, अब त्यस्तो विश्वासघात नहोस् ।
क्रिकेटको सफलतामा सशस्त्रको भूमिका
ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेपछि सशस्त्र प्रहरी बलको खुसीको सीमा छैन । विश्वकपमा राष्ट्रिय टिमबाट खेलेका यस क्लबका आठजना खेलाडीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै मुलुकको प्रतिष्ठा अन्तराष्ट्रमा पु-याउन सफल भएकाले यो खुसी प्रकट गरेका हो । क्रिकेट खेलाडी असहज मार्गको पीडामा भौँतारिरहेको अवस्थामा पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतको पहलमा सशस्त्रले उनीहरूलाई समेट्ने कार्य गरेको थियो । त्यसपछि निरन्तर रूपमा एक सशक्त राष्ट्रिय क्रिकेट टिम तयार गर्न सशस्त्रले अहम् भूमिका निर्वाह गर्दै आएको कसैबाट छिपेको छैन । मीठो फल खान बिरुवा पनि त्यस्तै रोप्नुपर्छ भन्ने मान्यता राख्ने पूर्वमहानिरीक्षक बस्नेतले क्रिकेटको समग्र विकासका लागि संस्कारमा परिवर्तन, सहयोगी भावनाको आवश्यकता रहेको आँैल्याए । सुखको भन्दा दुःखको बेलामा साथ दिने महान् हुने तर्क अघि सार्दै क्रिकेटको विकासका लागि सो कार्य सशस्त्रले हिजो पनि गरेको थियो, आज पनि गर्दै छ र भोलि पनि गर्ने कुरामा आफू ढुक्क रहेको प्रस्ट पारे । तसर्थ क्रिकेटको यो सफलतामा सशस्त्रको भागिदारी स्वयम्सिद्ध छ, जलप लगाउनुपर्ने आवश्यकता छैन– बस्नेत भने ।

खेल समाचार

‘नेपाल कप’ फुटबलले ततायो जनकपुर
स्पोर्टस् फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद सङ्घ नेपालद्वारा संयुक्त रूपमा आयोजित नेपाल कप फुटबल प्रतियोगिता ऐतिहासिक नगरी जनकपुरमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले यस्तो प्रतियोगिताले मोफसलका प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत मिल्ने बताउँदै मोफसलका खेलाडीलाई यो प्रतियोगिताले उत्साहित र प्रोत्साहित गर्ने विचार व्यक्त गरेका थिए । लामाले लामो समयदेखि खेलकुदको खडेरी परेको जनकपुरमा नेपाल कपको आयोजनाले केही राहत मिल्ने र अन्य खेलकुदका गतिविधि सञ्चालन गर्नमा समेत सहयोग पुग्ने बताए ।
आयोजक क्लबका अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीले धेरैजसो प्रतियोगिता राजधानीमा हुने गरेकाले नेपाल फुटबल कपको सुरुवात ऐतिहासिक नगरी जनकपुरबाट सुरुवात गरेको बताए । शाहीले जनकपुर फोहोर छ, मच्छरले टोक्छ, गर्मी हुन्छ भन्दैमा आफ्नो माटोलाई कहिल्यै बिर्सन नसकिने बताउँदै गरेपछि हुन्छ, सुतेर हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै जनकपुरमा नेपाल कपको आयोजना गरिएको बताएका थिए । प्रतियोगिता संयोजक मनोज मल्ल ठकुरीले खेलकुद विभिन्न जातजातिलाई एकै सूत्रमा बाँध्ने माध्यम भएको बताउँदै जनकपुरमा लामो समयपछि आयोजना भएको यो प्रतियोगिताले आपसि सद्भाव कायम गर्न सेतुको काम गर्ने प्रस्ट पारेका थिए ।
जनकपुरमा भएको उद्घाटन खेलमा स्थानीय टिम मनिमण्डप युवा क्लबले लालबन्दी स्पोर्टस् क्लब, लालबन्दीलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । दोस्रो हाफमा भएका दुवै गोलमा राजु मण्डलले ६१औँ र तिलक राखलले ८१औँ मिनेटमा आकर्षक गोल गर्दै मनिमण्डपको जित पक्का गरेका थिए । त्यस्तै दोस्रो खेलमा कस्तुरी युवा क्लब, लाहानले सप्तरी ११ लाई टाइब्रेकरमा ५–३ ले पाखा लगाएको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । जितसँगै मनिमण्डप र कस्तुरी क्वाटरफाइनलमा पुगेका छन् ।
यसैगरी युवा स्पोर्टस् क्लब, वीरगन्ज र महोत्तरी ११ ले जित हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । युवा स्पोर्टस् क्लबले हरँैचा स्पोर्टिङ क्लब, विराटनगरलाई ४–१ र फराकिलो अन्तरले पराजित गरेको थियो । विजयी टिमका लागि अनिल पटेलले दुई गोल गरेका थिए भने निशान लिम्बूले र लोकेन्द्र कार्कीले १–१ गोल गरेका थिए । हरैँचाका कमलेशले एक गोल फर्काएका थिए । त्यस्तै अर्को खेलमा महोत्तरीले चौतारा स्पोर्टिङ क्लब, सिन्धुपाल्चोकलाई ४–२ गोलले पराजित गरेको थियो । महोत्तरीका टंकु लामाले ह्याट्रिक गरे भने थप एक गोल आकाश मगरको नाममा रह्यो । चौताराका रूपक कसजु र प्रेमकुमार श्रेष्ठले गोल गरेका थिए । अमर ब्रदर्स क्लब, काठमाडौं र चपुर ११, रौतहट प्रथम नेपाल कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो क्वाटरफाइनलमा अमर ब्रदर्सले कस्तुरी युवा क्लब, लाहानलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । अमर ब्रदर्सको चारै गोल दोस्रो हाफमा सुनील लामा र जेबी राईले गरेका थिए । त्यस्तै दोस्रो क्वाटरफाइनलमा चपुरले युवा स्पोर्टस् क्लब, वीरगन्जलाई सडनडेथमा पाखा लगाएको थियो ।
नकआउट आधारमा सञ्चालित प्रतियोगितामा १२ पुरुष टिमको सहभागिता रहेको छ । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने आयोजक क्लबका सचिव हरि मानन्धरले जनाएका छन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान दुई–दुई हजार नगदबाट पुरस्कृत गरिनेछ । फाइनल खेल चैत १४ गते हुनेछ ।

सदस्यसचिव लामा सम्मानित
प्रतियोगिता आयोजक स्पोर्टस् फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद सङ्घ नेपालले उद्घाटनका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई सम्मान गरेको छ । सदस्यसचिव लामाले आफ्नो कार्यकालमा खेलकुदको विकास र विस्तारमा उल्लेखनीय योगदान पु-याएबापत सम्मान गरिएको हो । आयोजक क्लबका अध्यक्ष शाहीले सदस्यसचिव लामालाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

दर्शन कप खुला पुरुष भलिबलको तयारी
दर्शन स्पोर्टस् क्लबको आयोजनामा प्रथम दर्शन कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता चैत २९ देखि नयाँ बसपार्कमा सञ्चालन हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा उपत्यका र विभिन्न जिल्लाहरू गरी १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष प्रदीप श्रेष्ठले बताएका छन् । प्रतियोगितामा विजेता टिमले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १२ हजार पाँच सयसहित सिल्ड, मेडल प्राप्त गर्नेछन् । नेपाल भलिबल सङ्घको स्वीकृति धादिङ जिल्ला भलिबल सङ्घको संयोजनमा वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ११ लाख ६० हजार रहेको क्लबका सचिव प्रकाशचन्द्र श्रेष्ठले बताए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने पनि श्रेष्ठले जानकारी गराए ।

मोटर -यालीमा उपेन्द्र पहिलो
उपेन्द्र प्याकुरेल दोस्रो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पाँचौँ सिन्सियर सिटिजन्स मोटर -यालीमा पहिलो भएका छन् । नेपाल अटोमोबाइल खेलकुद सङ्घ (नासा) द्वारा आयोजित प्रतियोगितामा प्रदीप शाही दोस्रो र विक्रम थापा तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४४ हजार चार सय ४४, २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेका थिए । विगत पाँच वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त -याली यसपटक काठमाडौंको भृकुटीमण्डपबाट सुरु भई काठमाडौंको उतरपूर्वी क्षेत्र लप्सीफेदीसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितमा ७५ भन्दा बढी मोटर सहभागी रहेका थिए । भृकुटीमण्डपबाट सुरु भएको -याली सहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, गौशाला, चाबहिल, जोरपाटी, थली, साखु, लप्सीफेदी, जर्सिङपौवा, चौकी भञ्ज्याङ हुँदै माउन्ट भ्यू रिसोर्टमा पुगेर समापन भएको थियो ।

उदयपुर गोल्डकपलाई प्रायोजकको खोजी
दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको उदयपुर गोल्डकपको तेस्रो संस्करणका लागि प्रायोजकको खोजी भइरहेको प्रतियोगिता आयोजक समितिका महासचिव ज्ञानेन्द्र वान्तवाले बताएका छन् । चैत २५ देखि वैशाख २ गतेसम्म उदयपुर गाईघाटमा हुने प्रतियोगिताको अनुमानित लागत २३ लाख ३९ हजार रहेको छ । मोफसलमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक कठिनाइ हुने र प्रायोजकहरूको अभाव रहने भएकाले मुख्य प्रायोजकको खोजी भइरहेको महासचिव वान्तवाले बताए ।
जिल्ला विकास समिति, उदयपुर र त्रियुगा नगरपालिकाको संयोजन, जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल सङ्घ, उदयपुरको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ‘ए’ डिभिजनका चार टिम मछिन्द्र क्लब, एपीएफ क्लब, नेपाल आर्मी र सरस्वती क्लबका साथै पूर्वाञ्चलमा रहेका धरान फुटबल क्लब, सगरमाथा ११, सम्राट स्पोर्टिङ क्लब, मोरङ र आयोजक उदयपुर ११ गरी आठ टिमको सहभागितामा नकआउट आधारमा प्रतियोगिता सञ्चालन गरिने प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवम् पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले जानकारी गराएका छन् । प्रथम संस्करणमा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने क्लबले क्रमशः एक लाख ५० हजार, दोस्रो संस्करणमा एक लाख ५० हजार र एक लाख प्राप्त राखिएकोमा यस संस्करणमा क्रमशः नगद दुई र एक लाख प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष लिग भलिबल हुने
नेपाल भलिबल सङ्घको आयोजनामा दोस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप हुने भएको छ । चैत १७ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा महिला र पुरुष गरी १३ टिमको सहभागिता रहने आयोजक कमिटी अध्यक्ष दानबहादुर तामाङले जानकारी गराएका छन् । प्रतियोगिताको महिलातर्फ न्यु डाइमन्ड स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लब र जावलाखेल भलिबल प्रशिक्षण क्लब रहेका छन् भने पुरुषतर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लब, जावलाखेल भलिबल प्रशिक्षण क्लब र विश्वविद्यालय टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विजयी टिमले एक लाख ५० हजार, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुनेले १५ हजार पाउने आयोजकले जानकारी गराएको छ । दशरथ रंगशालास्थित कभर्डहलमा हुने प्रतियोगिताको टिकट दर लिगको एक सय र फाइनलको दुई सय राखिएको छ ।

sportबेगनासमा ट्रायाथलन च्याम्पियनसिप
पर्वतीय खेलकुद महोत्सवअन्तर्गत नेपाल ट्रायाथलन सङ्घ र हिमालयन रुसको संयुक्त आयोजनामा यही चैत १५ गते पोखराको बेगनासमा एकदिने ट्रायाथलन प्रतियोगिता सञ्चालन हुँदै छ । एकदिने प्रतियोगितामा २०१४ पोखरा एएसटीए दोस्रो दक्षिण एसियाली ट्रायाथलन च्याम्पियनसिप, एनटीए दोस्रो राष्ट्रिय ट्रायाथलन च्याम्पियनसिप २०१४ र हिमालय रेस २०१४ को तेस्रो संस्करणको आयोजना हुनेछ । उक्त प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, सिङ्गापुर, अस्ट्रेलिया, हङकङ, अमेरिका, जर्मनी र बेलायतका कुल एक सय ६२ जना खेलाडीको सहभागिता जनाउने आयोजक कमिटीका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी गराएका छन् । प्रतियोगितलाई चार विभिन्न समूहमा विभाजित गरिएको छ । जसमध्ये स्ट्यान्डर्ड डिस्ट्यान्स ट्रायाथलनतर्फ १.५ किलोमिटर स्विमिङ, ४० किलोमिटर साइक्लिङ, १० किलोमिटर दौड र स्प्रिन्ट डिस्ट्यान्सतर्फ ०.७५ किलोमिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ ५ किलोमिटर दौड रहेका छन् । त्यस्तै डुकाथलनतर्फ जो स्विमिङ गर्न जान्दैन उसले ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । त्यस्तै प्रतियोगितामा टिम रिले पनि हुनेछ । यस प्रतियोगितामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य आउनुहुने आयोजकले जानकारी गराएको छ ।