सफल जीवनका एक असल नागरिक

सफल जीवनका एक असल नागरिक


bicharव्यक्तिचित्र– वीरेन्द्रमणि पौडेल
असल बन्न गाह्रो छ । खराब बन्न मिहिनेत गर्न पर्दैन, सजिलो छ । असल बन्न अरूको कुभलो चिताउन पाइँदैन । मानवलगायत प्राणी हितमा काम गर्नुपर्छ । अनुशासित हुनुपर्छ । भ्रष्टाचार गर्न पाइँदैन । कानुनको पालना गर्नुपर्छ । लेखेर, बोलेर वा अन्य काममार्फत समाज र राष्ट्रलाई सहयोग गरिरहनुपर्छ, निरन्तर । यी सबै काम कठिन हुन्छन् । त्यसैले कठिनाइको सामना गर्न नसकी धेरैभन्दा धेरै मानिस चाहेरै पनि असल बन्न सक्दैनन् र खराब व्यक्तिको रूपमा परिणत हुन पुग्छन् । नेपालको सन्दर्भमा पनि यस्तै देखियो । असल बन्न गर्नुपर्ने कठिन काम गर्न थोरै व्यक्ति मात्र तयार भए । ती थोरै सङ्ख्याका व्यक्तिमध्ये एक हुनुहुन्छ– हिमालयशमशेर जबरा ।
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबरा देशभक्त र असल भएको पङ्क्तिकारलाई किन महसुस भयो ? उहाँ अति अनुशासित, दूरदर्शी र मुलुकका लागि एक मार्गदर्शक हुनुहुन्छ भन्ने मस्तिष्कमा कसरी टाँसियो ? हिमालयशमशेरसँगको भेटघाट, कुराकानी र उहाँको देशभक्तिपूर्ण वचन, व्यवहार र चिन्तन गर्ने शैलीलाई केन्द्रित गरी केही शब्द कोर्ने प्रयास गरिएको छ ।
०६६ पुसको कुनै एक बिहान चितवनका पत्रकार दीपक आचार्यले फोनमार्फत ‘आजको कान्तिपुर पत्रिका हेर्न नभुल्नु’ भने । ‘किन, के छ र त्यस्तो खास ?’ भन्ने मेरो जिज्ञासाको जवाफ उनले पढेरै दिए । हिमालयशमशेरको जीवन भोगाइमा आधारित पुस्तक ‘सम्झना र चिन्तन’ प्रकाशित भएको रहेछ । त्यो पुस्तकबारे देवेन्द्र भट्टराईले विवेचना गरेका रहेछन् । ‘आभार’ शीर्षकमा आफ्ना भावना व्यक्त गर्र्दै उहाँले यस पङ्क्तिकारकै कारणबाट पुस्तक प्रकाशन भएको उल्लेख गरेर आभार प्रकट गर्नुभएको रहेछ । कुनै बेला मैले ‘विचारदान नगर्ने अल्छीहरू’ शीर्षकमा एउटा लेख लेखेको थिएँ । लेखको आशय भौतिक शरीरको विनाशसँगै ज्ञान नास हुने हुँदा ज्ञानी र विवेकशीलहरूले आफ्नो विचारदान गर्नुपर्छ, अल्छी बन्न हुँदैन भन्ने थियो । त्यो लेख उहाँले पढ्नुभएछ र आफ्नो विचार देश र जनतालाई दिनुपर्छ भन्ने लागेछ । परिवारका सदस्यले आफ्नो अनुभव र विचार सार्वजनिक गर्न लामो समयदेखि भन्दै आएका, तर आफ्नो कामको प्रशंसा आफैँ गरेको आरोप मान्छेहरूले लगाउलान् भन्ने सोचेर नलेखी बस्नुभएको रहेछ । मेरो लेखबाट उहाँलाई प्रोत्साहन मिलेछ र पुस्तक तयार भएको रहेछ । यो कारणले पुस्तकमा आभार प्रकट गर्नुभएको रहेछ । मलाई अचम्म र खुसी दुवै लाग्यो । खुसी यस मानेमा लाग्यो कि नेपालमा औँलामा गन्न सकिने असल, नैतिकवान र देशभक्त नागरिकमध्ये एक हिमालयशमशेरले मेरो प्रशंसा गर्नुभएको र मप्रति आभार व्यक्त गर्नुभएको थियो । अचम्म लाग्नुको कारण थियो– मैले साधारण खालको सोचेको लेखको त्यति ठूलो प्रभाव पर्नु । त्यसको अतिरिक्त मेरो अनुभवमा नेपाल त्यस्तो मुलुक हो जहाँ एउटा व्यक्ति कविता लेख्छ, तर ‘कविज्यू’को रूपमा अर्काको फोटो छापिन्छ । एउटा व्यक्तिले लेखेर ज्ञान दिन्छ । लेख पढ्नेले आफ्नै बुद्धिको उपजको रूपमा प्रचार गर्छ । अरूबाट ज्ञान लिन्छ तर फलानो व्यक्तिबाट ज्ञान पाएँ भन्नुको सट्टा आफैँ प्राकृतिक ज्ञानी हुँ भन्छ । यस्तो देशमा हिमालयशमशेर जबराजस्तो उच्च बौद्धिक व्यक्तित्वले मजस्तो एउटा साधारण पत्रकारबाट सिकँे भन्ने आशय व्यक्त गर्नु मेरा लागि चानचुने खुसीको विषय थिएन । हो, मलाई असाध्यै खुसी लाग्यो ।
हिमालयशमशेरको पुस्तक ‘सम्झना र चिन्तन’ ०६६ माघ ८ गते शुक्रबार राष्ट्रपतिभवन काठमाडांैमा महामहिम राष्ट्रपति डा. रामवरण यादवद्वारा विमोचन हुने कार्यक्रम रहेछ । कार्यक्रममा उपस्थितिका लागि मैले चार–पाँच दिनअघि नै निम्तो पाएँ । काठमाडौं जानुपर्ने भयो । आफू उच्च रक्तचापको रोगी, नियमित औषधि सेवन गर्नुपर्ने । लामो यात्रा होस् या छोटो मलाई एकजना विश्वासिलो मान्छे साथी चाहिन्छ । हिमालयशमशेरसँग थप तीनवटा निम्तोकार्डका लागि अनुरोध गरेँ । सहयोगी रमिला पन्त, शुभचिन्तक पार्वती लामा र छोरी जीविकाका लागि मैले निम्तोकार्ड मागेको थिएँ । भुवन दाइलाई पनि लैजाने सोच थियो, तर ऊ सुगरको रोगी, त्यसमाथि पत्रिकाको ठूलो जिम्मेवारी उसैको काँधमा सुम्पिदिएको छु, त्यसैले उसलाई काठमाडौं लगिनँ । ८ गते काठमाडौंमा कार्यक्रम हुँदै थियो । चितवनबाट काठमाडौं बसबाट जम्मा चार घन्टामा पुगिने भए पनि कुनै पनि बेला चक्काजाम हुने, जाम पनि एक–दुई घन्टा होइन उस्तैपरे दुई–तीन दिन पनि हुन सक्ने अवस्था भएको हुँदा म कम्तीमा दुई दिनअघि काठमाडौं जानुपर्ने भयो । माघ ६ गते नै काठमाडौंका लागि गाडी चढेँ । नारायणगढ–मुग्लिन–काठमाडौं सडकमा सयौँको होइन, हजारौँको सङ्ख्यामा गाडी दुर्घटनामा परेर मान्छे मरेका छन् । सडक साँघुरो छ, गाडी दोहोरै गुड्छ । गाडीको इन्जिन ठीक छ–छैन सबै चेकजाँच गरेर गुडाउनुपर्ने नियमै छैन । चालकले पेटभरि रक्सी पिएर गाडी हाँक्न पाउँछ । कुनै कानुनले छुँदैन । यी सबै कारणले मलाई गाडी चढेर काठमाडौंतिर जान असाध्यै डर लाग्छ । थप केही वर्ष बाँच्ने इच्छा भएर हो कि, अति जरुरी काम नभई म काठमाडांैका लागि गाडी चढ्दै चढ्दिनँ । त्यस दिन चालकले गाडी त्रिशूली नदीमा खसालेन । लामो श्वास फेरेर कलङ्कीमा ओर्लिएँ ।
दुई दिनपछि कुरेर बसेको ८ गते शुक्रबार आयो । हामी निम्तोकार्डसहित राष्ट्रपतिभवन अगाडि पुग्यौँ । गेटैसँग जोडिएको एउटा विश्राम कोठा रहेछ । निम्तालु त्यहीँ भेला हुँदै रहेछन् । हामी पनि त्यहीँ बस्यौँ । भूतपूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय विदेशीहरूसँग अङ्ग्रेजीमा कुरा गरिरहेका थिए । केहीबेरमा गेट खुल्यो । निम्तोकार्ड देखाएर हामी भित्र पस्यौँ । भवनको आँगनमा आकर्षक मञ्च बनाइएको रहेछ । मञ्चमा राखिएका कुर्सीमा राष्ट्रपति डा. रामवरण यादव, कुलचन्द्र गौतम, हिमालयशमशेर जबरा, दमननाथ ढुङ्गाना, गणेशबहादुर थापा, चिन्तनराज पाण्डेको नाम लेखिएको थियो । अतिथिको कुर्सीमा कर्ण शाक्य, कमलमणि दीक्षित, ध्रुवचन्द्र गौतम, वीरेन्द्रमणि पौडेल र अर्को एकजनाको नाम लेखिएको थियो । बाँकी कुर्सीहरूमा नाम लेखिएको थिएन । नाम नलेखिएका कुर्सीहरू सहभागीका लागि थिए । सहभागी पाहुना भूतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, पटकपटक मन्त्री भएका राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबरा, नेपाली काङ्ग्रेसका नेता रामशरण महत, एमालेका नेता अमृत बोहरा, भूतपूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय, आर्मीका भूतपूर्व चिफ रुक्माङ्गद कटवाललगायत थिए । कार्यक्रम सुरु भएपछि राष्ट्रपति डा. यादवले पुस्तक विमोचन गर्नुभयो । पुस्तक ‘सम्झना र चिन्तन’को महत्व र हिमालयशमशेरको योगदानबारे राष्ट्रपति यादव, संयुक्त राष्ट्रसङ्घका भूतपूर्व उपमहासचिव कुलचन्द्र गौतम, भूतपूर्व सभामुख दमननाथ ढुङ्गाना, भूतपूर्व गभर्नर गणेशबहादुर थापा, चिन्तनराज पाण्डेले व्याख्या गर्नुभयो । वक्ताहरूले हिमालयशमशेरलाई धन्यवाद र बधाई दिए । जब अन्त्यमा हिमालयशमशेरले बोल्न सुरु गर्नुभयो, म नतमस्तक भएँ । ‘धन्यवादको पात्र म होइन, पत्रकार वीरेन्द्रमणि पौडेल हुनुहुन्छ । उहाँको ‘विचारदान नगर्ने अल्छीहरू’ पढेर मलाई यो पुस्तक लेख्न प्रेरणा मिलेको हो ।’ उहाँले यति भनेर मलाई कुर्सीबाट उठ्न इसारा गर्नुभयो । मैले उठेर सबैलाई अभिवादन गरँे । छक्क परेर सबैले ताली बजाए । म दङ्ग परँे ।
विमोचन कार्यक्रम सकिएपछि चियापान कार्यक्रममा सरिक भइयो । चियापानका क्रममा राष्ट्रपतिसँग केही मानिसले आ–आफ्नो ढङ्गले कुरा गरे । मैले दुई हात जोडेर नमस्कार गरँे । राष्ट्रपतिले मेरो दुईहात समातेर खुसी व्यक्त गर्नुभयो । मनमनै सोचँे, ‘मेरो विचारदान नगर्ने अल्छीहरू’ले हिमालयशमशेरको मन छुनु र त्यो प्रसङ्ग उहाँले उठान गर्नु मेरा लागि माथिल्लो श्रेणीको उपलब्धि सावित भयो । अपवादलाई छाडेर संसारका कुनै पनि पत्रकार धनप्राप्तिका लागि काम गर्दैन । समाज र राष्ट्रसेवा उसको अन्तिम उद्देश्य र गन्तव्य हुन्छ । त्यस दिन मलाई लाग्यो, ‘म पत्रकारिता क्षेत्र प्रवेशको बीस वर्ष नकट्दै गन्तव्यमा पुगेँ ।’
चितवन फर्किँदा मेरो झोलामा ‘सम्झना र चिन्तन’ थियो । हतारमा पढ्दा गहिराइमा पुगेको थिइनँ । पुन: पढ्न सुरु गरँे । जति पढ्दै गयो उति पढौँ–पढौँ लाग्ने । सूचनामूलक र ज्ञानबद्र्धक । किताब पढ्दा थाहा पाइन्छ– हिमालयशमशेरको मुलुकप्रतिको प्रेम र योगदान । आर्थिक व्यवस्थापनबिना राष्ट्रको संरचना खडा हुन सक्दैन । नेपाल राष्ट्र बैंक स्थापना र सञ्चालनमा उहाँको मिहिनेत र भारतसँग नेपाली मुद्रा सन्तुलित सटही कार्यमा प्रस्तुत सशक्त भूमिका पुस्तकमा उल्लेख भएको छ । राणा खलकमा जन्मिएर प्रधानमन्त्रीको रोलक्रममा रहेका व्यक्ति हिमालयशमशेर राणा शासनको विरुद्धमा उभिनु र प्रजातन्त्रका लागि लडाइँ लडिरहेको नेपाली काङ्ग्रेस पार्टीको सदस्यता लिएर क्रियाशील भूमिका निर्वाह गर्नु नेपाली जनताप्रति हिमालयशमशेरको खुद्रा योगदान होइन । पुस्तकमा थुप्रै रोचक र ज्ञानबद्र्धक विषय समेटिएका छन् । पुस्तकमा चिन्तनको पाटो छ जसले नेपाली राजनीतिज्ञको आँखामा लागेको मोतियाबिन्दुको शल्यक्रिया गर्छ । समाज परिवर्तन र आर्थिक उपलब्धिका सूत्रहरू पुस्तकमा लिपिबद्ध छन् ।
पुस्तक पढिसक्दा पाठकको सम्मान हिमालयशमशेरमाथि थपिँदै जान्छ । न लोभ छ न त घमण्ड नै छ हिमालयशमशेरको मन, मस्तिष्कमा । नेपालका धनीहरू गरिबलाई हेपेर गल्ती गर्छन् । शक्ति र पदमा पुगेकाहरूको चुरीफुरी चर्कै हुन्छ । ज्ञान र अनुभव हासिल गरेकाहरू मृत्युसँगै ज्ञान, विवेकसँगै लैजान्छन् । जीवित छँदै अरूलाई दिन कञ्जुस्याइँ गर्छन् । तर, बेग्लै रूपमा पाइन्छ हिमालयशमशेरलाई । संयुक्त राष्ट्रसङ्घको विकाससम्बन्धी आवासीय प्रतिनिधिको रूपमा विभिन्न देशमा लामो समय काम गर्नुभएका उहाँसँग धन पनि होला । पदका हिसाबले प्रथम गभर्नर, प्रथम अर्थसचिव, मान सम्मानका हिसाबले स्वदेश र विदेशबाट उच्च सम्मान र कदरपत्र, अनुभवीका हिसाबले प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले विदेश जाँदा साथैमा लगेर सहयोग मागेको अवस्थालाई हेर्दा धन, मानसम्मान पद, प्रतिष्ठा सबै प्राप्त व्यक्ति हुनुहुन्छ, तर घमण्डरहित सहयोगी स्वभावको ।
उहाँका नाता–सम्बन्धका मानिसहरू पनि सबै स्थापित रहेछन् । छोरी प्रतिमा नेपाल–ब्रिटेन सोसाइटीकी अध्यक्ष छिन् । ज्वाइँ पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका कार्यकारी प्रमुख छन् । जेठा छोरा अशोक राणा हिमालयन बैंक लिमिटेडका कार्यकारी प्रमुख र बुहारी चन्दा सेभ द इन्भाइरोन्मेन्ट फाउन्डेसनकी अध्यक्ष छिन् । अर्की छोरी संगीता सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका हुन् । संयुक्त राष्ट्रसङ्घमा सिनियर लिएजन अफिसर रहिसकेका ज्वाइँ सुनिल थापा भूतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा र हालका सभासद् हुन् । अर्का छोरा अमर आभा इन्टरनेसनल प्रालिका कार्यकारी प्रमुख छन् । बुहारी शारदा सामाजिक कार्यमा व्यस्त छिन् ।
यतिबेला हिमालयशमशेरले ८४ वर्ष उमेर पार गर्नुभयो । यहाँसम्म आइपुग्दा व्यवहार, बुद्धि, अनुशासन, त्याग, समर्पण र उहाँको राष्ट्रप्रेमलाई हेर्दा भन्न सकिन्छ– हिमालयशमशेर सफल जीवनका असल नागरिक हुनुहुन्छ । तर, त्यो असल नागरिकको जीवन सफल भने एकल मिहिनेतले भएको होइन । हिमालयशमशेरकी अर्धाङ्गिनी विजयलक्ष्मीको आधा मिहिनेत लगानी भएको छ । विश्वचर्चित एउटा भनाइ छ, ‘संसारका हरेक सफल पुरुषका पछाडि स्त्रीको भूमिका हुन्छ ।’ यो भनाइलाई आधार मान्दा भन्न सकिन्छ– आजको असल र सफल हिमालयशमशेर यो अवस्थासम्म आइपुग्न उहाँकी धर्मपत्नी विजयलक्ष्मीको दह्रो भूमिका छ । नेपाली जनतालाई हिमालयशमशेरको रूपमा एक ‘असल नागरिक’ उपहार दिने विजयलक्ष्मीलाई हामीले उच्च सम्मान दिनैपर्छ । ८४ वर्ष उमेर पार गरिसकेपछि पनि हिमालयशमशेर निरन्तर बोलेर र लेखेर शान्तिप्रक्रिया चाँडै टुङगियोस् र नयाँ संविधान बनोस् भन्नेतर्फ क्रियाशील हुनुहुन्छ । यी अथक, इमानदार, देशभक्त नागरिक हिमालयशमशेरको सुस्वास्थ्य र दीर्घजीवनका लागि हार्दिक शुभकामना !