गौरीलाई किन भयो अङ्गुर अमिलो ?

गौरीलाई किन भयो अङ्गुर अमिलो ?


funtimeविविध बहानामा अमेरिका छिर्ने अनि ग्रिनकार्डका लागि दौडधुप गरिहाल्ने गजबको रोग छ अधिकांश नेपाली कलाकारमा । कसैले यो कसरतमा सफलता पाएर सजिलै ग्रिनकार्ड हात पारेका छन् भने केहीले चाहिँ भरमग्दुर कसरत गर्दा पनि अमेरिकाको ग्रिनकार्ड हात पार्न सकिरहेका छैनन् । अनि लागेशक्ति गर्दा पनि ग्रिनकार्ड हात नपरेपछि उनीहरूलाई ‘नेपाल र नेपालीको माया’ले सताउँदोरहेछ । चाहेर पनि अमेरिका बस्न नपाएको कुरा स्वीकार गर्न कठिन परेपछि त्यस्ता कलाकर्मी स्वदेशको मायाले फर्किएको भनी मिडियाबाजी गर्छन् । यही मेसोमा परेकी छिन् एक जमानाकी विख्यात अभिनेतृ गौरी मल्ल पनि । हालै नेपाल फर्किएकी मल्लले पनि ‘नेपाल र नेपालीको मायाका कारण स्वदेश फर्किएको’ भन्ने बनिबनाउ संवाद बोलेर यतिबेला मिडिया तताएकी छिन् ।
अमेरिकामा काम गरेर डलर कमाउन्जेलसम्म अमेरिका राम्रो अनि ग्रिनकार्ड हात नपरेपछि नेपालको एयरपोर्टमा उत्रिनेबित्तिकै अमेरिका नराम्रो भन्ने उनीहरूको यस्तो संवाद सुन्दा अहिले बुझ्नेहरू हाँस्न थालेका छन् । यस्तै व्यवहार केही समय अगाडि हास्य कलाकार राजाराम पौडेलले पनि प्रदर्शन गरेका थिए । अमेरिकामा बसुन्जेल उनी धन कमाउनै व्यस्त भए । न त मुलुकको याद आयो न त परिवारको । त्यति नै बेला ग्रिनकार्डका लागि प्रोसेस पनि थाले उनले । तर, जति गर्दा पनि ग्रिनकार्डमा फेल भएपछि जिन्दगीभर अमेरिकामा गैरकानुनी हैसियतमा बस्दा सन्तुष्टि नमिल्ने भएपछि र ग्रिनकार्ड हात नपर्ने निश्चित भएपछि उनले अमेरिकाको विरोध गर्न थालेका चिन्नेजान्नेहरू दाबी गर्छन् । विरोध पनि उता बसेर होइन कि नेपालको एयरपोर्टमा उत्रिएपछि मात्रै अमेरिका यस्तो, उस्तो भनेर तथानाम गाली गर्छन् यस्ता व्यक्ति । यदि उहाँहरूले ग्रिनकार्ड पाउनुभएको भए अमेरिका नराम्रो भन्ने हिम्मत आउँथ्यो होला त ? पत्याउने आधार छैन । अमेरिका नराम्रै र असहज नै थियो भने पाँच वर्षमा नेपालमा बिल्डिङ कसरी ठडियो होला त ? पैसा कमाए तर ग्रिनकार्ड नपाएपछि अमेरिकालाई गाली गर्न थाले उनले । गैरकानुनी हैसियतमै अमेरिका लामो समय बसेका राजाराम पौडेलले अब जिन्दगीमा अमेरिका जान पाउने छैनन् भन्ने चर्चा पनि छ । अमेरिकी कानुनअनुसार गैरकानुनी रूपमा बसेर त्यो देशबाट आउट भएपछि कहिल्यै पनि फेरि प्रवेश गर्न नपाउने भन्ने नियम रहेछ । फर्किएर जानै नपाउने भएपछि गरेको गालीको के तुक ?
राजामम पौडेलसँगै मिल्दोजुल्दो केस हो अमेनेतृ गौरी मल्लको पनि । जापानमा पनि धेरै समय गैरकानुनी रूपमै बसिन् उनी । त्यसपछि फर्केर केही समय नेपाल बसेकी गौरी स्वदेशमा रमाउन सकिनन् र अमेरिका छिरिन् । अमेरिकामा पनि उनको बसाइ चार वर्षभन्दा बढी भयो । डलर पनि रामै्र कमाइन् उनले । गौरीले पनि ग्रिनकार्डका लागि धेरै कोसिस गरिन्, तर अन्तत: त्यो प्रक्रियामा फेल भएपछि उनलाई झसङ्ग मुलुकको याद आएछ । अर्थात्, अमेरिकारूपी अङ्गुर अमिलो भएछ र भन्न थालिन्, ‘मलाई नेपालको सम्झनाले सतायो, होमसिक भएँ, त्यसैले अमेरिका कहिल्यै नफर्कने गरी नेपाल आएँ ।’ तर, गाँठी कुरा त अर्कै थियो । ग्रिनकार्ड हात नपर्ने भएपछि मात्र मुलुकको याद आएछ उनलाई । ग्रिनकार्ड पाएको भए मुलुकको याद कतिबेला आउँथ्यो–आउँदैनथ्यो, भन्न सकिन्न ।
गौरीले आफू अब कहिल्यै पनि अमेरिका नफर्कने भनी गरेको घोषणा बडा देशभक्तिपूर्ण लाग्दो हो नबुझ्नेहरूलाई, तर बुझ्नेले बुझेका छन् यो घोषणामा कति दम छ भन्ने । कानुनी रूपमै उनी जिन्दगीभर अमेरिका छिर्न नपाउने भएपछि देशको माया गर्नुको विकल्प पनि त रहेन नि ! कि कसो मल्लज्यू ?

दशकपछि पर्दामा कलाकार मैनाली
बेजोड अभिनय र आकर्षक व्यक्तित्वका कारण कुनै बेला निकै चर्चामा रहेका र भविष्य बोकेका कलाकारका रूपमा प्रशंसा कमाएका कलाकार पवन मैनाली करिब एक दशकपछि पुन: चलचित्र अभिनयमा फर्किएका छन् । खुंखार खलनायकका रूपमा पवनले बनाएको छवि आजसम्म तोडिएको छैन भन्दा अतिशयोक्ति ठहरिँदैन । बहुमुखी प्रतिभा र विविध शैलीको अभिनय क्षमताले भरिएका कलाकार मैनाली दुर्भाग्यवश ०५८ साल फागुन ८ गते बाराको निजगढमा भएको ठूलो दुर्घटनापछि एकप्रकारले शारीरिक रूपमा अशक्त नै भएका थिए । तर, जीवनप्रतिको मोह र कलाकारिताप्रतिको असीम चाहका कारण उनले हरेस खाएनन् र पुन: पर्दामा फर्कन सक्ने स्तरमा आफूलाई पु¥याइछाडे । कलाकार मैनाली एक दशकपछि वरिष्ठ चलचित्रकर्मी नीर शाहको चलचित्र सेतो बाघमार्फत फेरि चलचित्रको पर्दामा देखिन लागेका छन् ।
निर्देशक नीर शाहका अनुसार पवन सेतोबाघमा राजा राजेन्द्रको भूमिकामा देखिने भएका छन् । शाहले एक दिन पूरै छायाङ्कन गराएर मैनालीको सुटिङ सकाएका थिए । ०४९ देखि कलाकारिता सुरु गरेका मैनालीले सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् भने पिँजडा र दिदी–बहिनी नामक दुईवटा चलचित्रका उनी निर्माता पनि हुन् । पिँजडा चलचित्रबाट मैनालीले नै निखिल उपे्रतीलाई नेपाली चलचित्र क्षेत्रमा भित्याएका थिए ।
लामो समयपछि चलचित्रमा अभिनय गर्न पाउँदा आफूलाई बेग्लै ऊर्जा मिलेको कलाकार मैनालीले बताए । चलचित्रमा अभिनय गर्ने आफ्नो भोक नमरेको र अफर आएमा आफ्नो शारीरिक अवस्था हेरेर चलचित्रमा काम गर्ने इच्छा उनले व्यक्त गरे ।