गिरिजाबाबु र प्रचण्डमाथिको भरोसा– त्रिभुवनचन्द्र वाग्ले

गिरिजाबाबु र प्रचण्डमाथिको भरोसा– त्रिभुवनचन्द्र वाग्ले


bicharचैत ७ गते कर्मठ नेता गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस । नेपालको वर्तमान राजनीतिका पथप्रदर्शक गिरिजाबाबुले मुलुकलाई हत्या–हिंसाको दलदलबाट मुक्त गराई शान्तिपूर्ण वातावरण स्थापनाका लागि साहसिक नेतृत्व लिनुभयो । यद्यपि सशस्त्र द्वन्द्वको अन्त्य गर्न उहाँले जुन मोडालिटी प्रयोग गर्नुभयो त्योभन्दा भिन्न किसिमले मानौँ अहिलेको श्रीलङ्काले अपनाएको बाटोअनुसार द्वन्द्व परास्त गर्नुपर्ने माग पनि त्यतिबेला उठेका थिए । यो भनेको विद्रोही पक्षको कत्लेआम गर्नुहुन्थ्यो । यथार्थ बोल्ने हो भने तत्कालीन दरबार, नेपाली सेना र प्रजातान्त्रिक सरकार कसैले माओवादीलाई भौतिक रूपमा कत्लेआम गर्न चाहेको थिएन । त्यतिबेला दरबारले माओवादीका केन्द्रीय नेताहरूको विशेष सुरक्षाका लागि सावधानी अपनाउन निर्देशन दिएको थियो भन्ने राजनीतिक चर्चा गरिन्थ्यो । होलेरीमा सेनाले जुन गतिविधि ग¥यो त्यसबाट र मुलुकका विभिन्न स्थानमा माओवादीलाई भगाउने र थकाउने रणनीति लिएर नेपाली सेनाले उनीहरूप्रति नरम व्यवहार अपनाउँदै आएको हो । तत्कालीन सबै सरकारहरूले माओवादीप्रति नरम व्यवहार गरेकै हुन् । तर, अर्को सत्य के पनि थियो भने राजा वीरेन्द्र वा ज्ञानेन्द्र माओवादीलाई उपयोग गरेर संसद्वादीलार्ई तह लगाउने दाउमा थिए । यो कुरा डा. बाबुराम भट्टराईले एक अन्तर्वार्तामा पूर्वअधिराजकुमार धीरेन्द्रमार्फत दरबारसँग सम्पर्क भएको र यथार्थ धरातलमा राजालाई पनि एउटा शक्ति मान्न माओवादी तयार थियो भनेर पुष्टि गरिसक्नुभएको थियो । राजनीतिका माहिर खेलाडी गिरिजाप्रसाद कोइरालाले दरबारको सो खेल बुझेर माओवादीलाई अप्ठ्यारोमा पारिदिनुभयो, ‘प्रतिगमनको आरोप लागेको दरबारसँग मिल्न जान्छौ कि आन्दोलनरत दलहरूसँग आउँछौ, तीन दिनभित्र जवाफ देऊ’ भनेर खुलामञ्चबाट भन्नुभएपछि माओवादी पनि दरबारको नजिक जान सकेन र आन्दोलनरत दलहरूको सम्पर्कमा आयो ।
द्वन्द्व व्यवस्थापनका अन्तर्राष्ट्रिय सिद्धान्त, मोडल र प्रक्रियाका बारेमा गिरिजाबाबुले भन्दा धेरैले धेरै पढे, पढाएका थिए । गिरिजाबाबु त्यतापट्टि लाग्नुभएन । उहाँको सिद्धान्त र मोडल जे भने पनि राजनीतिक विश्वास र अनुभव थिए । माओवादीभित्र दरबार र दल, राष्ट्रियता र भारतलाई हेर्ने दृष्टिकोणमा विवाद चुलिँदै थियो । ऊ गल्दै थियो । माओवादीलाई बन्दुकले नै सखाप पार्नुपर्छ भन्ने एकाथरी अतिवादीहरू पनि उनीहरूलाई सखाप पार्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको अवस्थामा गिरिजाबाबुले जुन प्रयत्न गर्नुभयो, यो प्राय: सबैका लागि बाध्यात्मक–स्वीकृति थियो । दरबार हुँदाहुँदै कुनै निर्णायक पदमा नरहेका गिरिजाप्रसाद कोइरालाले द्वन्द्वरत पक्षलाई मूलधारमा ल्याउन राज्यका तर्फबाट पहल र नेतृत्व गर्नुभयो ।
अर्कोतिर द्वन्द्वरत पक्षबाट हिंसा बिसाउने कामको चुनौतीपूर्ण साहस र नेतृत्व प्रचण्डले गर्नुभएको हो । उहाँले गिरिजाबाबु र आफूबीचको समानता, सम्बन्ध र सामीप्यबारे यदाकदा बताउँदा कतिपय सन्दर्भमा उहाँका भनाइलाई राजनीतिक हँसिमजाक पनि गरियो । बाह्य र आन्तरिक बाध्यता वा रणनीति जे भए पनि विद्रोही पक्षको नेतृत्व प्रचण्डले नै गर्नुभएको हो । त्यसैले गिरिजाबाबुसँग प्रचण्ड प्रभावित हुनु अस्वाभाविक होइन । हत्याहिंसाको कहालीलाग्दो अवस्थाको अन्त्य गर्ने एउटा ध्रुव गिरिजाबाबु हो भने अर्को प्रचण्ड । यसमा विवाद गर्न सकिँदैन । गिरिजाबाबुका न केही प्रभाव र गुण प्रचण्डमा देखिन्छन् । उहाँकै पार्टी अन्य कतिपय शीर्ष नेताहरूमा कर्मचारीतन्त्रको चरित्र प्रबल देखिन्छ, जो तर, तथापि र आगेजस्ता कानुनी चरित्रमा खेल्न रुचाउँछन् । प्रचण्डमा राजनीतिक दर्शन पक्ष प्रबल देखिन्छ । यद्यपि त्यो दर्शन पक्ष कहिलेकाहीँ आन्तरिक र बाह्य कारणले कमजोर पर्न जान्छ उहाँमा ।
जसरी अहिले काङ्ग्रेस र एमालेलाई संविधान बनाउने जनादेश प्राप्त छ भन्ने गरिन्छ, त्योभन्दा स्पष्टसँग विद्रोह व्यवस्थापनका दुई शक्ति काङ्ग्रेस र माओवादीको सहकार्यमा संविधान बनोस् भन्ने चाहना पहिलो संविधानसभा निर्वाचनको जनादेश थियो । यो कुरा प्रचण्डले बुझ्नुभएन वा बुझ्न दिइएन । दुर्भाग्य यहीँबाट सुरु भयो, जसको परिणाम आजको अवस्था अर्थात् दोस्रो संविधानसभा हो । माओवादीमा दम्भ थियो, तत्कालीन निर्वाचनको परिणामले । उसले सम्भवत: आजसम्मकै ठूलो गल्ती गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिपतिमा अस्वीकार गरेर ग¥यो । त्यतिखेर प्रचण्ड नेतृत्वको सरकार र गिरिजाप्रसाद कोइरालाको राष्ट्रप्रमुखीय संरक्षकत्व भएको भए आज मुलुुकले सुरक्षित अवतरण पाइसकेको हुन्थ्यो । यो कुरा पछि मात्र माओवादीले स्वीकार ग¥यो । शान्तिप्रक्रियाका शक्तिहरू गिरिजाप्रसाद कोइराला, काङ्ग्रेस र एमालेलाई एकैचोटि निषेध गरेर माओवादीले अज्ञात र असुरक्षित राजनीतिक यात्राको प्रारम्भ ग¥यो जसले उसलाई क्षणिक आवेगी बनायो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सेनाको प्रजातान्त्रीकरण गर्ने अलिक लामो तर स्वाभाविक बाटो छाडेर माओवादीले रुक्माङ्गद कटवाल प्रकरण ग¥यो । हतार र क्रान्तिकारी छवि देखाउनुपर्ने बाध्यताले माओवादीले, राष्ट्रपति, सेनापति, कुलपति वा पशुपतिका मूलभट्ट प्रकरणमा पद्दतिलाई नभएर पात्रलाई केन्द्रमा राख्यो । सानो घेराबाट प्रचण्डमाथि उठ्न सक्नुभएन । कतिपय सहमतिमा गिरिजाबाबु माओवादीप्रति अति उदार हुनुभयो भन्ने आरोप र विरोध काङ्ग्रेसमा हुँदाहुँदै पनि गिरिजाप्रसाद मूल उद्देश्यमा कहिल्यै अल्मलिनुभएन । प्रचण्डले मूल उद्देश्य र तत्कालीन संयोजनबीच हेक्का राख्नुभएन । त्यसो गर्नु कोइरालाको व्यक्तित्वले जति सहज भएको थियो पार्टीमा प्रचण्डलाई त्यति सहज हुँदैनथ्यो, तर कतिपय कुरामा उहाँले गिरिजाप्रसादको शैली अवलम्बन गर्नुपर्दथ्यो त्यो गर्न सक्नुभएन । सिद्धान्तत: प्रचण्ड गिरिजाबाबुसँग प्रभावित हुनुभयो तर व्यवहारमा उहाँले त्यो शैली अपनाउने आँट वा अवसर पाउनुभएन । गिरिजाप्रसाद कोइरालालाई उहाँले वा उहाँको पार्टीले चाहेको भए राष्ट्रप्रमुख बनाउन सक्ने भए पनि उहाँ वा उहाँको पार्टी बाह्य खेलमा यति फस्यो कि गिरिजा शब्द पनि चुन्न चाहेन राष्ट्रपतिको निर्वाचनताका ।
शान्तिप्रक्रियामा एमालेको योगदानको उपेक्षा गर्न सकिँदैन, तर नेतृत्व काङ्ग्रेस र माओवादीकै हो भन्ने विज्ञान वा गणितलाई तर्कशास्त्रले जित्ने प्रयास गर्नुहुँदैन । अहिले संविधान बनाउने कार्यमा शान्तिप्रक्रियामा जत्तिकै विशिष्ट र एउटा धु्रवका रूपमा एमाओवादीको भूमिका रहेको छ । यसलाई स्वीकार गर्नुपर्छ । एमाओवादीको सहभागिता र सहमतिबिना संविधान बन्दैन यो घामजत्तिकै छर्लङ्ग छ । गिरिजाबाबुको अनुपस्थितिमा उहाँ र आफूले सुरु गरेको रिलेदौड सम्पन्न गर्ने जिम्मेवारी प्रचण्डमा छ । यो जिम्मेवारीबोध प्रण्डले गर्नुपर्दछ र आवश्यकताअनुसार पार्टीको घेराबाट माथि उठ्ने आँट पनि गर्नुपर्छ । त्यो गर्नु पार्टीका च तर्फबाट उहाँलाई सहज हुँदैन जति गिरिजाबाबुलाई थियो । संविधान बनाउने कार्यमा प्रचण्ड मध्यस्थ बन्न सक्नुहुनेछ । सरकार बनाउने र भत्काउने सीमित खेल मैदानभन्दा बृहत् फाँटमा प्रचण्डले संविधान बनाउने अभियानको नेतृत्व गर्न सक्नुहुनेछ । सत्तामा नरहेका गिरिजाबाबुले सत्ताकै समानान्तरझैँ नेतृत्व गरेर जसरी माओवादीलार्ई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयास गर्नुभएको थियो त्यसलाई दृष्टान्त बनाउने हो भने कुनै पनि राष्ट्रिय महत्वको काम गर्न पदमा बस्नुपर्छ भन्ने रहेनछ भन्ने स्पष्ट हुनेछ । जसरी शान्तिप्रक्रियाका सुरुका दिनमा गिरिजाप्रसाद कोइराला अप्ठ्यारोमा हुनुहुन्थ्यो त्यसरी नै शान्तिप्रक्रियाको अन्तिम दिनतिर प्रचण्ड अप्ठ्यारोमा पर्नुभएको छ । चुनावको परिणामले मात्र होइन, आन्तरिक व्यवस्थापन पनि उहाँका लागि जटिल बन्दै गएका छन् । प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकेर नै गिरिजाबाबुले सफलता पाउनुभएको हो भन्ने कुरालाई प्रचण्डले वैज्ञानिक तवरले समीक्षा गर्नुपर्दछ साथै गिरिजाबाबुले सुरु गर्नुभएको नयाँ अभ्यासको राजनीतिक व्यवस्थापन गर्ने जिम्मा र जिम्मेवारी प्रचण्डमा छ भन्नु अतिशयोक्ति हुनेछैन, केवल उहाँले त्यो जिम्मा र जिम्मेवारीको कसरी निर्वाह गर्नुहुन्छ भन्ने मात्र सोचनीय पक्ष हो । यस अर्थमा सहकार्यको एउटा पक्ष भएकाले गिरिजाबाबुको बढी भरोसा प्रचण्डमा रहनु अस्वाभाविक थिएन र छैन पनि ।