नेपालले फलामकै चिउरा चपाउनुपर्ने

नेपालले फलामकै चिउरा चपाउनुपर्ने


20-20ट्वान्टी–ट्वान्टी विश्वकप
अहिले क्रिकेटको ज्वरोले मुलुकलाई तताएको छ । नेपाल पहिलोपटक ट्वान्टी–ट्वान्टी विश्वकपमा पुगेपछि यो रापको सबैले महसुस गरेका हुन् । भाग्यले साथ दिँदा विश्वकपको यात्रा तय गरेको नेपालको चर्चा अहिले मुलुकभित्र र बाहिर उत्तिकै छ । नेपाली टोलीले कस्तो प्रदर्शन गर्ला भन्ने उत्सुकता अहिले आमनेपालीमा पैदा भएको छ । तसर्थ विश्वकपमा नेपालको पहिलो उपस्थितिलाई अविष्मरणीय बनाउन अहिले विभिन्न तह र तप्काका क्रिकेटप्रेमीहरू लागिपरेका छन् । नेपाली क्रिकेट टोलीको समर्थन र हौसला बढाउन अहिले सिङ्गो राष्ट्र लागेको छ । चर्चित कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठदेखि लिएर मोडेल र व्यापारी नेताहरूले समेत नेपालको टिसर्ट लगाएर क्रिकेट टोलीको हौसला बढाइरहेका छन् । कतिपय क्रिकेट लबरहरू त नेपालको खेल हेर्न बंगलादेशसमेत पुगिसकेको अवस्था छ । यसरी अहिले मुलुकको वातावरण क्रिकेटमय बनेको छ ।
ट्वान्टी–ट्वान्टी विश्वकपको प्रारम्भिक चरणमा पुगेर ऐतिहासिक कीर्तिमान बनाएको नेपालले त्यसपछिका खेलहरूमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा गुमाएको साखले बंगलादेश आइपुग्दासम्म निरन्तरता पाएको छ । नेपालले अभ्यास खेलमा पनि आफ्नो उत्कृष्टता देखाउन सकेन । ट्वान्टी–ट्वान्टी विश्वकप खेल्नुअघि चारवटा अभ्यास खेल खेलेको नेपाल तीनवटामा पराजित भएको थियो । आईसीसीले टेस्टम्याच नखेल्ने राष्ट्रलाई ट्वान्टी–ट्वान्टी विश्वकप खेल्नुअघि प्रदान गरिएको यो अवसरमा नेपाल असफल सावित भएको थियो । र पनि कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेले अभ्यास खेलमा नेपालले राम्रो प्रदर्शन गरेको दाबी गर्दै खेलाडीको हौसला बढाउने कार्य गरेका छन् । जुन यथार्थभन्दा टाढा भए पनि खेलाडीलाई ढाडस दिने कार्य मात्रै भएको बुझ्दा राम्रो होला ।
साँचो रूपमा भन्नुपर्दा गत आइतबार अर्थात् चैत २ गतेदेखि बंगलादेशमा सञ्चालन भइरहेको विश्वकप ट्वान्टी–ट्वान्टी प्रतियोगितामा नेपाल सबैभन्दा कमजोर टोली हो । समूह ‘ए’मा परेको नेपालले प्रारम्भिक चरणका खेल हङकङ, अफगानिस्तान र आयोजक बंगलादेशसँग खेल्नेछ । यो समूहका टोलीको विश्लेषण गर्दा नेपालको प्रतिस्पर्धा हङकङसँग मात्र हुने देखिन्छ । विश्वकप छनोट चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेर विश्वकपमा स्थान बनाउन सफल भएकाले पनि हङकङ र नेपाल यो प्रतियोगितामा समान प्रतिद्वन्द्वी देखिएका छन् । अनिश्चितताको खेलको रूपमा परिचित क्रिकेटमा जे पनि हुनसक्ने सम्भावनाले गर्दा नेपाल र हङकङबीचको खेल अहिले निकै प्रतिस्पर्धात्मक हुनेछ भन्दा सान्दर्भिक ठहरिएला । अन्य दुई टोली अफगानिस्तान र बंगलादेश नेपालभन्दा निकै स्तरीय टिम भएकाले उनीहरूसँगको प्रतिस्पर्धा नेपालका लागि फलामको च्युरा नै सावित हुनेछ । र पनि, नेपालले यी टिमहरूसँग जुझारु बन्दै उत्कृष्ट प्रदर्शन गर्न सक्यो भने पनि त्यो नेपालका लागि सफलताजस्तै मान्न सकिनेछ । किनकि यो नेपालको विश्वकपमा पहिलो सहभागिता र अनुभव हो ।
विश्वकपमा पहिलो सहभागिता आशावादी हुन सकिन्छ तर विश्वासी कदापी हुन सकिँदैन । अहिले परिस्थिति र वातावरण यस्तै छ नेपालको । नेपालले कुनै चमत्कार देखाउँछ या देखाउँदैन त्यो आफ्नो ठाउँमा छ । र पनि, विश्वासको त्यान्द्रो भने तानिँदै गएको छ । नेपालले केही गरेर देखाउँछ भन्नेमा सवै आशावादी देखिएका छन् । नेपालको विश्वकपमा पहिलो कदम यसैलाई सफलताको कडी मान्नेमा कोही छैन । नेपाल सुपरटेनमा पुगेर विश्वकप चुमेको देख्न चाहने धेरै छन् । विश्वकप जित्नु नेपालका लागि सपना होला, तर विश्वकपमा पुगिसकेपछि त्यो कदापी सपना हुन सक्तैन । त्यसका लागि नेपाली खेलाडीले बहानाबाजीभन्दा पनि आफ्नो सतप्रतिशत प्रदर्शन गर्नुपर्छ । तसर्थ मुलुकको प्रतिष्ठा गाँसिएको सवालमा सहभागितालाई मात्र सफलता मान्न कदापी सकिँदैन । सहभागिताको औचित्य के हो, सर्वप्रथम त्यसमा खरो उत्रिनुपर्छ, न्यूनतम उत्कृष्टताको प्रदर्शन त अवश्य गर्नुपर्छ । अन्यथा सहभागिता केका लागि भन्ने कुरामाथि नै प्रश्न उठ्नेछ । त्यसका लागि नेपाली खेलाडी अवाक होइन जिम्मेवार बन्नु आवश्यक भएसकेको छ । नेपालले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बाध्यता बनेको छ । जसलाई उनीहरूले साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गरेर देखाउने बेला आएको छ ।
यो विश्वकपमा नेपालको यथार्थ र सम्भावनाबारे कोही अनविज्ञ छैन । अझ क्रिकेटको यो संस्करणमा एक ओभरमा बाजी पल्टिन सक्छ । तसर्थ नेपालको प्रदर्शनप्रति आशावादी बन्नु जायज कुरोे बनेको छ । तर, विश्वकपको पूर्वसन्ध्यामा नेपालको कमजोर प्रदर्शनले भने आमक्रिकेटप्रतिलाई नराम्रोसँग झस्क्याएको छ, नराम्रो सपना बनेर । साँचो अर्थमा भन्नुपर्दा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा नराम्रोसँग चुकेको छ । नेपाललाई विश्वास गर्ने धरातलमा डगमगाएको छ । विजयी आधारको किलो गाड्ने प्रारम्भिक ब्याट्सम्यानले कुनै चमत्कार देखाउन सकेका छैनन् भन्दा पनि उनीहरू चल्नै सकेका छैनन् अर्थात् रन नै बनाउन सकेका छैनन् । यस्तो अवस्थामा जितको निब राख्न उनीमा दबाब परेको छ । अर्को कुरा मध्यक्रमका ब्याट्सम्यानले केही आशाका किरण देखाए पनि उनीहरूले पनि आफ्नो नामअनुसारको प्रदर्शन गर्न सकेका छैनन् । पुछारको कुरा गर्नुभन्दा नगर्नु नै वेश, उनीहरू आए आँप गए झटारोको रूपमा प्रस्तुत भइरहेको अवस्था छ । बलिङलाई आफ्नो शक्ति मान्ने नेपाली टोलीले उत्कृष्ट बलिङकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा धाक जमाएको सबैको मानसपटकमा ताजै छ । तर, अहिले बलिङको कुरा गर्दा नाक खुम्च्याउने अवस्था छ । नेपाली खेलाडीमा आफ्नो लय, ताल, सुर कतै पनि देखिएको छैन । यस्तो अवस्थामा आफ्नो पहिलो विश्वकपमा नेपालको कस्तो प्रदर्शन गर्ला त्यो सोझै अड्कल र अनुमान लगाउन सकिन्छ ।
ट्वान्टी–ट्वान्टी विश्वकपको पाँचौँ संस्करण अहिले बंगलादेशमा सञ्चालन भइरहेको छ । यो विश्वकपमा विश्वका १६ राष्ट्रको सहभागिता रहेको छ । प्रारम्भिक चरण र फाइनल चरण गरी दुई विभाजन गरेको यो विश्वकपमा नेपाल समूह ‘ए’मा परेको छ । प्रारम्भिक चरणलाई पनि दुई समूहमा विभाजन गरिएको छ । यदि नेपालले आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्नसक्यो भने मात्रै फाइनल चरणमा प्रवेश पाउनेछ । अन्यथा वास्तविक विश्वकप हुनुभन्दा पहिले नै नेपाल स्वदेश फर्किनुपर्नेछ । तसर्थ प्रत्येक खेल नेपालका लागि गर कि मरको अवस्थामा रहेका छन् । यस्तो अवस्थामा एउटै खेलमा मात्रै चुके पनि नेपालको सम्भावनामा तगारो लाग्ने प्राय: निश्चित छ । हङकङ होस्, अफगानिस्तान होस् या बंगलादेश नेपालले सबैसँग उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बाध्यता छ । अन्यथा नेपाली खेलाडीले बंगलादेशमा नभई स्वदेशमै आएर विश्वकपको खेल टेलिभिजनमा हेर्नुपर्नेछ । त्यो स्थिति आए सम्पूर्ण नेपालीका लागि धातक हुनेछ, उनीहरूको मनमस्तिष्कमा तुषारापात पर्नेछ ।
ट्वान्टी–ट्वान्टी विश्वकपको पाँचौँ संस्करणको सुपर ‘टेन’को समूह ‘ए’मा दक्षिण अफ्रिका, श्रीलंका, इंग्ल्यान्ड, न्युजिल्यान्ड परेका छन् । यो समूहमा प्रारम्भिक चरणको समूह ‘ए’बाट शीर्ष स्थान हासिल गर्ने एक टिम पर्नेछ । त्यस्तै समूह ‘बी’मा भारत, अस्ट्रेलिया, पाकिस्तान र वेष्टइन्डिज परेका छन् । यो समूहमा पनि समूह ‘बी’बाट शीर्ष स्थान हासिल गर्ने टिमले स्थान पाउनेछ । त्यसपछि मात्र ट्वान्टी–ट्वान्टी विश्वकपको पाँचौँ संस्करणको शुभारम्भ हुनेछ । नेपाल आफ्नो पहिलो सहभागितामा सुपरटेनमा पुग्न सफल हुन्छ या हुँदैन त्यो आफ्नो ठाउँमा भए पनि अनिश्चितताको खेल क्रिकेटमा जे पनि हुनसक्छ भन्ने कुरालाई भने यहाँ बिर्सन सकिँदैन । यस्तो अनिश्चितताको खेलमा नेपालले अविष्मरणीय खेलको प्रदर्शन गर्न सफल होस् यही हाम्रो शुभकामना ।

पहिलो खेलमा नेपालको सानदार जित
पहिलोपटक ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट खेलिरहेको नेपालले आफ्नो पहिलो खेलमा सानदार जित हासिल गरेको छ । नेपालले चिरप्रतिद्वन्द्वी हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै यो उपलब्धि हासिल गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका लागि ३६ रनको पार्टनरसिप गरेको थियो । ओपनरद्वय सुभास खकुरेल र सागर पुनले आक्रामक ब्याटिङ गर्दै नेपालका लागि राम्रो सुरुवात गरेका थिए । दुवै ओपनर ३६ को स्कोरमा आउट भएपछि मध्यक्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले कीर्तिमानी ८० रनको साझेदारी गर्दै नेपालको स्कोर एक सय १६ पु¥याएका थिए । दुईपटक जीवनदान पाएका पारस खड्का छक्का प्रहार गर्न खोज्दा आउट भएका थिए । त्यसपछि आएका ब्याट्म्यान विनोद भण्डारी, सरद भेषवाकर, वसन्त रेग्मी, नरेश बुढाऐर र शक्ति गौचनले रन जोड्न नसके पनि ज्ञानेन्द्र मल्लले भने उत्कृष्ट खेलको प्रदर्शन गर्दै अन्तिम ओभरसम्म खेलेर ४८ रन बनाएका थिए । मल्लले नेपालको तर्फबाट एक मात्र छक्का पनि प्रहार गरेका थिए । अन्तिम ओभरमा चार विकेट आउट भएपछि नेपाल आठ विकेट गुमाउँदै एक सय ४९ रनमा खुम्चिएको थियो ।
प्रतिउत्तरमा एक सय ५० रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको हङकङको सुरुवात राम्रो हुन सकेन । कप्तान पारस खड्काले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर हङकङमाथि दबाब बनाएका थिए भने नेपालका लागि राम्रो सुरुवात गरेका थिए । त्यसपछि हङकङले नौ रनको स्कोरमा दोस्रो विकेट गुमाएको थियो । उक्त विकेट सोमपाल कामीले लिएका थिए । स्पिन बलरहरूका लागि उत्कृष्ट मानिएको उक्त पिचमा त्यसपछि कप्तान पारसले शक्ति गौचनलाई उतारेका थिए । शक्तिले पिचको राम्रो फाइदा उठाउँदै आफ्नो पहिलो ओभरमै विकेट लिएर हङकङमाथि अझ दबाब दिँदै १३ रनमा तीनको स्थिति बनाउन सफल भएका थिए । त्यसपछि हङकङका खेलाडीले ४५ रनको साझेदारी गर्दै टिमको स्कोर ५८ रनसम्म पु¥याएका थिए । ५८ रनमा तीन विकेट गुमाएर ब्याटिङ गरिरहेको हङकङको ढाड भाँच्ने काम वसन्त रेग्मीले गरेका थिए । रेग्मीले हङकङका दुई खेलाडीलाई लगातार बोल्ड गरेर सनसनी फैलाएका थिए । त्यसपछि बलिङ गर्न आएका शक्ति गौचनले अर्को ओभरमा दुई विकेट लिएपछि हङकङले ५८ रनमा सात विकेट गुमाएको थियो । नेपालको विजय निश्चित भइसकेको अवस्थामा बाँकी तीन विकेट बसन्त रेग्मी, सोमपाल कामी र जितेन्द्र मुखियाले लिएर हङकङलाई ६९ रनमा समेटेका थिए । प्रतियोगिताका म्यान अफ दि म्याच शक्ति गौचन चुनिएका थिए । उनले चार ओभरमा तीन विकेट लिँदै नौ रन मात्र दिएका थिए । नेपालले अर्को खेल मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

खेल समाचार
जुनियर तेक्वान्दो टोली ताइपेईमा
दोस्रो युथ ओलम्पिक खेलकुदका लागि खेलाडी छनोट गर्न हुने डब्लूटीएफ तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित सात सदस्यीय नेपाली टोली ताइपेई प्रस्थान गरेको छ । चैत ६ देखि ९ गतेसम्म हुने छनोट प्रतियोगितामा दुई पुरुष र उत्ति नै महिला गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । युथ ओलम्पिक चीनको नानजिङमा अगस्ट १६ देखि २८ तारिखसम्म हुँदै छ । पुरुषको ४८ केजीमा पर्साका विकास राई र ५५ केजीमा स्युचाटार तेक्वान्दो डोजाङ, काठमाडौंका अमित शाहीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ४४ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङ, काठमाडौंकी काजल श्रेष्ठ र ४९ केजीमा छ्यासीकोट तेक्वान्दो डोजाङ ललितपुरकी रेश्मा थापाले खेल्नेछन् । चारै खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
माघ २७ गते नेपाल तेक्वान्दो सङ्घले उक्त प्रतियोगिताका लागि खेलाडी छनोट गर्न विभिन्न चार तौल समूहमा छनोट प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा शीर्ष स्थान हात पार्ने खेलाडी उक्त प्रतियोगितालाई छानिएका हुन् । गत पुस पहिलो साता काठमाडौंमै सम्पन्न छैटौँ कोरियन एम्बेसेडर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तेस्रो स्थानसम्म रहने खेलाडी छनोट प्रतियोगितामा समावेश गराइएको थियो । छनोट चरण पार गरेर ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली तेक्वान्दो खेलाडी संगीना वैद्यले टिम प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा संगीनाले टिम प्रशिक्षकको भूमिका निर्वाह गर्न लागेको यो दोस्रो अवसर हो । संगीनाले नेपालमै करिब २९ महिना पहिले भएको प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली टिमको प्रशिक्षकका रूपमा पहिलोपटक जिम्मेवारी सम्हालेकी थिइन् ।
‘रिजल्टकै बारेमा सोचेर धेरै मिहिनेत गरेका छौँ । खेलाडीले पनि ट्रेनिङमा धेरै राम्रो र मिहिनेत गरेका छन्,’ तेक्वान्दो स्टार संगीनाले भनिन्, ‘झन्डै एक महिना मात्र ट्रेनिङ गर्न पायौँ । अवधि अझ लामो भइदिएको भए झन् राम्रो हुन्थ्यो । सबै खेलाडी नयाँ छन् । त्यसैले खेलाडीका लागि एक्सपोज हुने यो राम्रो मौका पनि हो ।’ संगीनाले दिनको तीन सिफ्टमा दुई घन्टाका दरले खेलाडीले महिनाभर नियमित प्रशिक्षण गरेको जानकारी गराएकी थिइन् । टोली नेतामा तेक्वान्दो सङ्घका उपाध्यक्ष प्रदीप जोशी र व्यवस्थापकमा सदस्य जर्नाजन केसी रहेका छन् ।
डब्लूटीएफ तेक्वान्दो छनोट प्रतियोगितामा पछि नेपाली खेलाडीले ताइपेईमै हुने १०औँ जुनियर विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनि भाग लिनेछन् । उक्त प्रतियोगिता चैत ११ देखि १३ गतेसम्म हुनेछ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सदस्यसचिव युवराज लामाले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले युथ ओलम्पिकका लागि खेलाडी छनोट हुने भएकाले यो प्रतियोगिता तेक्वान्दोसँग मात्र नभई सारा नेपाली र देशको इज्जतसँग गाँसिएको विचार राखेका थिए ।
तेक्वान्दो टोलीलाई सामग्री
दोस्रो युथ ओलम्पिक खेलकुदका लागि हुने डब्लूटीएफ तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुने चार खेलाडीसहित सात सदस्यीय नेपाली टोलीलाई बिदाइ गर्न आयोजित कार्यक्रमा सामग्री प्रदान गरिएको थियो । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (यूयूएनटीएफ), नेपाल च्याप्टरले टोलीका प्रत्येक सदस्यलाई समान सात थान एडिडास जुत्ता र रिबोक टिसर्ट प्रदान गरेको हो । च्याप्टरका अध्यक्ष नोर्बु लामाका अनुसार उक्त सामग्रीको मूल्य करिब ४५ हजार रुपैयाँ रहेको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई अध्यक्ष लामाले सामग्री प्रदान गरेका थिए । लगत्तै मन्त्री पौडेलले टिम व्यवस्थापक जर्नाजन केसीलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशलाई प्रोफेसनल तेक्वान्दोको उपाधि
पश्चिमाञ्चलका प्रकाश थापामगरले तेस्रो प्रोफेसनल नेसनल आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेका छन् । प्रकाशले उपाधि भिडन्तमा नेपाल आर्मीका मनोज घलेलाई अङ्कको अधारमा ३–१ ले पराजित गरेका थिए । प्रकाशसँग सेमिफाइनलमा पराजित भएका पश्चिमाञ्चलका दिनेश बुढामगरले तेस्रो स्थान हात पारे । उनले मध्यमाञ्चलका हनक सुब्बालाई पराजित गरेका थिए । प्रतियोगितामा स्वर्ण विजेताले पाँच सय अमेरिकन डलर र आकर्षक ट्रफी तथा मेडल प्राप्त गरे । रजत विजेताले दुई सय पचास अमेरिकन डलर र कास्य विजेताले एक सय पच्चीस अमेरिकन डलर, ट्रफी तथा मेडल प्राप्त गरेका थिए । विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरेका थिए । सो
अवसरमा आईटीएफका केन्द्रीय कार्यवाहक अध्यक्ष अञ्जुनाथ श्रेष्ठ, प्रतियोगिता संयोजक घम थापामगरलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ताम्रपत्रसहित दोसल्ला ओडाउँदै सम्मान गरेका थिए । तेस्रो प्रोफेसनल नेसनल आईटीएफ तेक्वान्दो प्रतियोगिताको समापनका दौरान उहाँलाई आयोजक मध्यामाञ्चल आईटीएफ तेक्वान्दो सङ्घले नेपाली खेलकुदमा उल्लेखनीय योगदान पु¥याएबापत उक्त सम्मान प्रदान गरेको हो ।

स्टडी प्लस र ओहायोउको सहयोग
साइपाल एकेडेमीको आयोजनामा हुने प्रथम साइपाल थ्री बाई थ्री अन्तरकलेज बास्केटबल प्रतियोगितालाई स्टडी प्लस र ओहायोउ एकेडेमिक सोलुसनले मुख्य प्रायोजन गर्ने भएका छन् । मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम ‘स्टडी प्लस–ओहायोउ कप’ प्रथम साइपाल थ्री बाई थ्री अन्तरकलेज बास्केटबल प्रतियोगिता रहनेछ । दुवै प्रायोजकले आयोजकलाई त्यसबापत समान एक–एक लाख रुपैयाँबराबर प्रायोजन गर्नेछन् । आयोजकका तर्फबाट अध्यक्ष निरञ्जन चापागाईं, स्टडी प्लसका तर्फबाट अध्यक्ष सैलेन्द्र श्रेष्ठ र ओहायोउका तर्फबाट अध्यक्ष निमादोर्जे लामाले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धुम्बाराहीस्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइजमा २४ र गल्र्समा १२ टिमको सहभागिता रहने अपेक्षा गरिएको साइपालका बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले जानकारी गराए ।

खेलकुद नीतिलाई कार्यान्वयन गर्नेमा जोड
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घको प्रतिनिधिमण्डलले राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई हालै भेटघाट गरेको छ । कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको टोलीले मन्त्री पौडेललाई कमलपोखरीस्थित मन्त्रीकै कार्यकक्षमा गई भेट गरेको हो । उक्त अवसरमा अध्यक्ष थापाले खेलकुद नीतिलाई कार्यान्वयन गर्ने विषयमा जोड दिन मन्त्रीसमक्ष आग्रह गर्दै खेलकुद नीति कार्यान्वयनतर्फ अगाडि बढेको खण्डमा धेरै कुरा अगाडि बढ्न सहज हुने बताए । अध्यक्ष थापाले खेलकुदको सबै संरचनामा हुने नियुक्तलाई परिमार्जन गर्नुपर्नेमा जोड दिँदै परिषद्मा अन्य संस्थामा जस्तो फरक–फरक पार्टीको फरक कर्मचारी सङ्घ नभएको जानकारी गराएका थिए ।
कर्मचारी सङ्घका महासचिव फणीन्द्र पौडेलले १२/१४ वर्षदेखि परिषद्मा करार कर्मचारी राखिनु स्वयम् करार कर्मचारीका साथै संस्थालाई पनि हित नहुने बताउँदै यो समस्यालाई समाधान गर्न नियमसङ्गत रूपमा करार कर्मचारीलाई स्थायी बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए । महासचिव पौडेलले खेलकुदको विकासमा हित हुने कुनै पनि कार्यमा कर्मचारी सङ्घले मुखले मात्र नभई कामले पनि मन्त्रीलाई साथ दिने प्रतिबद्धता जनाए । कर्मचारी सङ्घका उपमहासचिव कुमार बस्नेतले हालै खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको ओ एन्ड एम सर्वे (सङ्गठन र व्यवस्थापन सर्वेक्षण) लाई सम्बोधन गर्ने हो भने करार कर्मचारीको पनि समस्या सम्बोधन हुने धारणा राखेका थिए ।
sportमन्त्री पौडेलले राष्ट्रिय खेलकुद नीतिको अध्ययन गरिरहेको बताउँदै कस्तो खालको संरचना खेलकुदका लागि राम्रो, प्रभावकारी, छरितो, व्यवस्थित र खेलकुदको विकासको पक्षमा हुन्छ त्यस विषयमा छलफल भइरहेको बताए । मन्त्री पौडेलले करार कर्मचारीको समस्या हल गर्न पनि कुरा भइरहेको अवगत गराउँदै सबै समस्याको समाधान गरी खेलकुदमा उत्साहको वातावरण सिर्जना गर्न आफू लागिपरेको बताए ।