मुलुक कसले धानिरहेको छ ?

मुलुक कसले धानिरहेको छ ?


nisedhमुलुकमा प्रधानमन्त्री छन्, राष्ट्रपति छन्, विभिन्न दलका नेता मुलुककै कुरा गर्छन्, मन्त्रीहरू छन्, सभासद् छन्, अझ कतिले त उहाँहरू सबैका बाबजुद मुलुक अन्त कतैबाट चलिरहेको छ पनि भन्छन् । रिमोट अन्तै छ भनेर विगतमा जिम्मेवार नेताबाट पनि सुनिएकै हो । माथिल्लो तहमा यसो हेर्दा हो जस्तो पनि लाग्छ । तर, हालै मध्य र सुदूरपश्चिमका गाउँगाउँ पुगेर हेर्दा देश त नेताले नभएर ग्रामीण किसानले धानिरहेका छन् जस्तो लाग्यो । ग्रामीण भेगमा जहाँ–जहाँ गइयो त्यहाँ यी नेताहरू के गर्छन्, संविधान बन्छ कि बन्दैन, कस–कसले के पद पाए या पाउँदै छन् जस्ता कुरासँग कुनै सरोकार छैन । उनीहरू खेती–किसानी गर्छन्, दूध–तरकारी बेच्छन्, जिन्दगी धान्छन् । गाउँका कति युवाहरू वैदेशिक रोजगारमा गएका छन्, कति चाहिँ बेरोजगार छन् । बेरोजगारीका कारण निराशा नछाएको होइन तर गाउँमै केही गरूँ भनेर कोही युवा क्लबतिर लागेका छन्, कसैले त्यही खेतिपातीलाई आफ्नो आम्दानीको स्रोत बनाएका छन् । घर चलेकै छ, गाउँ र समुदायहरू चलेकै छन् । काठमाडांैमा हुने जुलुस धर्नाले उनीहरूलाई केही फरक पार्दैन न त त्यहाँको महँगीलेनै उनीहरूलाई तलमाथि पार्छ । आफ्नो ठाउँबाट को–को संविधानसभामा चुनिएर गए भन्ने कुरा पनि कतिलाई त थाहा छैन, कुनै सरोकार पनि छैन । भन्छन्– ‘आफूले दु:ख नगरी एक छाक खान पाइने होइन जो–जो जे–जे भए पनि के भयो र ?’ गाउँहरू राम्ररी चलिदिएकाले माथि बस्नेहरूलाई पनि सहज भएको छ । गाउँहरू सहज रूपमा नचलेर, उत्पादन ठप्प भएर भोकमरी लागेको भए मुलुक योभन्दा धेरै दयनीय अवस्थामा पुग्ने थियो । तर, १६ वर्षदेखि स्थानीय निर्वाचन नहुँदा, कुनैप्रकारको संरचनाले काम नगर्दा पनि गाउँहरू चलिरहेकै छन् । धान फलिरहेकै छ, गाई–भैंसीपालन फैलिरहेकै छ । गाउँगाउँमा एग्रोभेट सेन्टरहरूमा भीडभाड बढिरहेकै छ । सहज–असहज जे–जस्तो भए पनि बिनागुनासो जीवन चलिरहेकै छ ।
कृषिको नाममा नेपालमा राम्रै पैसा भित्रिएको छ तर जेका लागि भित्रिएको छ त्यसको लाभ ग्रामीण किसानले पाएकै छैनन् या धेरै कम पाएका छन् । कृषिलाई आकर्षक पेसाको रूपमा विकास गर्न नसक्दा हाम्रो देशका धेरै युवाहरू विदेशिएका छन् । अझ सुदूर र मध्यपश्चिमका युवा त धेरैजसो रोजगारीका लागि भारत जान्छन् । भारतमा काम गर्नेलाई वैदेशिक रोजगारीका कुनै पनि नीति–नियमहरू लाग्दैनन् । फलत: कुनै घटना भइहाले त्यसबाट प्राप्त गर्ने क्षतिपूर्तिलगायतका सुविधाहरू पाउनबाट उनीहरू वञ्चित छन् । हिउँद लागेपछि खेतिपाती उठाएर कामका लागि भारत जान्छन्, वर्षा लागेपछि खेती गर्न घर आइपुग्छन् । विभिन्न फ्याक्ट्रीलगायतमा काम गर्न सीमा क्षेत्रबाट लाम लागेर भारततिर लाग्ने मानिसलाई देख्दा लाग्छ, कास हाम्रो आफ्नै देशका विभिन्न ठाउँमा विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्न पाए उनीहरूले यसरी पसिना बगाउन विदेशिनुपर्ने थिएन । सुर्खेतको गढीमा एक युवाले भनेका थिए, महिनाको पाँच हजार मात्र आम्दानी हुने भए गाउँबाट कोही पनि विदेशिने थिएनन् । भैंसीको दूध, तरकारी बेचेर अलि अलि पैसा त आउँछ तर त्यति कामका लागि परिवारका केही सदस्य मात्रै भए पुग्छ । बाँकीले के काम गर्ने ? दुई–चार पैसा कमाउन बाहिरिनैप-यो । पति वैदेशिक रोजगारमा गएपछि बूढा भएका सासूससुराको स्याहारसुसार गरेर बालबच्चा हुर्काएर, घर–व्यवहार धानेर बस्ने महिलाको सङ्ख्या ठूलो छ । सबै कुरा आफैँले धान्नुपरेपछि जिन्दगीको ठूलै पहाड ती महिलाले एक्लै छिचोलिरहेका छन् । केहीलाई उदाहरण मानेर वैदेशिक रोजगारमा जानेका श्रीमतीलाई बद्नामीको आँखाले जसरी हेर्न थालिएको छ त्यसैगरी ती तमाम महिलालाई दाँज्न थालियो भने त्यो नितान्त गलत हुनेछ ।
जुन पेसाले ग्रामीण जीवनलाई सहज रूपमा अगाडि बढाइरहेको छ, जसका कारणले मुलुक धानिइरहेको छ त्यो पेसालाई आकर्षक बनाउने प्रयास भने ज्यादै कम मात्रामा भएको छ । जसका कारण आफ्नो खेतबारी बाँझै छोडेर अरूको देशको मरुभूमिलाई हरियाली बनाउन जानेहरूको सङ्ख्या बढ्दै छ । आफ्नो खेतबारीमा केरा लगाउँदा त्यसको फाइदा के हुन्छ या कतिसम्म हुन्छ भन्ने कुरा बुझ्दै नबुझी धेरै युवा अरूको देशमा केराखेती गर्न पुगेका छन् । देशलाई साँच्चिकै आत्मनिर्भर बनाउने हो भने हामीले कृषि व्यवसायमा योजनाबद्ध तरिकाले आक्रामक हस्तक्षेप गर्न आवश्यक छ । नयाँ–नयाँ प्रविधिको प्रयोग, बिउबिजन, सिँचाइ र महत्वपूर्ण रूपमा बजारको व्यवस्था । आफ्ना गाउँघरका अर्गानिक तरकारी बजार नपाएर कुहिरहेका छन् हामी विषादीयुक्त आयातीत तरकारी किनेर खाइरहेका छौँ । हाम्रो देशको कृषि प्रणाली अहिले पनि परम्परागत रूपमै चलिरहेको छ । हाम्रो जति जग्गाजमिन अन्य कतिपय देशमा हुँदो हो त उनीहरूले कति फरक किसिमले कृषि उत्पादन गर्ने थिए भनेर कल्पना मात्रै गर्न सकिन्छ । परम्परागत रूपले चलिरहेको हुनाले खेतिपाती भन्नेबित्तिकै हलो जोत्नुपर्ने, कोदालो खन्नुपर्ने, भारी बोक्नुपर्ने कुराहरू नै अगाडि आउँछन् । यता हाम्रो शिक्षा प्रणालीले पढे–लेखेर टेबुलमा गर्ने काम मात्रै काम हो झैं गरी हुर्काएको छ । हलो–कोदालो, डोको–नाम्लो र टेबुलमा गर्ने कामको परिकल्पनामा भएको हुर्काइबीच तालमेल नखाँदा धेरैलाई गाह्रो भएको छ । कृषिमा नयाँ–नयाँ प्रविधि भित्याउने हो भने यो समस्या आफैँ कम भएर जानेछ । हलो जोत्नभन्दा ट्याक्टर चलाउन सहज भएजस्तै अन्य धेरै कुरा सहज हुनेछन् । प्रविधिको कुरा गर्दा प्रविधि महिलामैत्री हुन पनि जरुरी छ । अधिकांश किसान महिला छन् तर प्रविधिका नाममा ट्याक्टर या ट्याक्टरजस्तै कुरा मात्र भित्याइयो भने त्यसले त्यति ठूलो फरक पार्दैन । त्यसैले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । यता युवालाई कृषिमा आकर्षण गर्न उत्पे्ररणा जगाउने प्रकारका अभियान सञ्चालन गर्नु आवश्यक छ । सिँचाइको व्यवस्था, प्रविधिको ज्ञान तथा प्रयोग, बजार व्यवस्था, प्रेरणायुक्त अभियानहरू एकसाथ अघि बढ्ने हो भने मुलुक कसैले बनाइरहनुपर्दैन, आफँै चल्छ । कृषिको प्रवद्र्धनका साथमा बिजुलीका लागि हाइड्रोपावरको व्यापक सञ्चालन र ठाउँठाउँमा उद्योग खोलेर कपडालगायतका उत्पादन आफैँ गर्ने हो भने वर्षमा कति रकम बाहिरिनबाट जोगिन्थ्यो होला, अनुमान मात्रै गर्न सकिन्छ । यति भएपछि माथि बस्नेहरूले मुलुक चलाउन केही गर्नुपर्दैन, आफूले बनाएका नियमहरू आफैँले कार्यान्वयन मात्रै गरे पुग्छ, मुलुक सहज रूपमा चलि नै रहनेछ ।