नेपालको काठ माटोमा, विदेशका काठ घर–घरमा

नेपालको काठ माटोमा, विदेशका काठ घर–घरमा


bichar– मुक्तिनाथ भुसाल
विश्व नवनिर्माणका प्रयासहरू हुँदै गर्दा संसारलाई विनाश गर्ने एटम र अणु बमहरू पनि तयार भइसकेका छन् । यस्ता विध्वंशकारी हतियारकोे सिकार नहुने हो भने पृथ्वी अझै कैयौँ वर्ष बाँच्ने वैज्ञानिक आँकलन छ । तर, पृथ्वी आफ्नो पूरा आयु बाँच्नका लागि वनक्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा शाश्वत सत्यकै रूपमा स्थापित छ । विज्ञानको विकाससँगै वातावरण बिगँ्रदो अवस्थामा छ र तापक्रम वर्षेनी बढ्ने क्रमले निरन्तरता पाउँदै गर्दा कतै भावी पुस्ताको जीवनपद्धतिमा चरम कठिनाइ आउने त होइन भन्ने प्रश्न सोचनीय बनेको छ । नकारात्मक ढङ्गले जलवायु परिवर्तनको प्रमुख कारक बन्न पुगेको कार्बन उत्सर्जनमा नियन्त्रणमुखी भूमिका खेल्न वनक्षेत्रको महत्वपूर्ण योगदान रहँदारहँदै पनि मानवसिर्जित क्रियाकलापको असरबाट वनक्षेत्र साँघुरिने र क्षयीकरण हुने प्रक्रिया जारी छ भने यसबाट समग्र वातावरण या वायुमण्डल प्रदूषित भइरहेको छ । कम्तीमा ४० प्रतिशत वनक्षेत्र जोगाउनुपर्दछ भन्ने राष्ट्रिय अडान सकारात्मक हुँदाहुँदै पनि प्रभावकारी नभएको र गाउँठाउँमा रहेका वनबाट आफूहरू लाभान्वित बन्न नसकेको सर्वसाधारणबीच चर्चा चल्न थालेको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा वन जोगाउनका लागि सबैभन्दा उत्तम र सफल मानिएका कार्यक्रममध्ये सामुदायिक वन पनि एक हो । सामुदायिक वनभित्र देखिएका कमी–कमजोरीका बाबजुद बूढा÷सुकेका रूखहरू ढाल्न नपाइने राज्यको नीति भने वैज्ञानिक मान्न सकिँदैन । त्यसो त कहिले आवादीका रूख ढाल्न पाइएला र करोडपति बनौँला भन्ने सपनामा कतिपयले धनकै बलमा गरिब जनताका काठैकाठले भरिएका जङ्गल प्रपञ्च गरी थोरै मूल्यमा खरिद गर्ने अनि आफ्नो नाममा मालपोतबाट पास लिएर बस्ने गरेका थुप्रै उदाहरण सखुवाको भण्डार रहेको अर्घाखाँचीको सिद्धारा गाविसमा पाउन सकिन्छ । यिनीहरूले मौका पाउनासाथ सिद्धारा गाविसलाई मरुभूमिमा परिणत गर्नेमा कुनै कसर छोड्ने छैनन् भनी दाबी गर्न सकिने अवस्था छ । अर्कोतर्फ राज्यले बूढा रूखहरू काट्न अनुमति नदिएको कारण चीन, मलेसियाजस्ता मुलुकबाट राजधानी काठमाडौंलगायतका सहर तथा गाउँठाउँमा विभिन्न काठका फर्निचर भित्रिएको तीतो यथार्थ हाम्रासामु रहेको छ । नेपालको जङ्गलमा अथाह काठ कुहिएर खेर गइरहेका छन् र अर्घाखाँचीको सन्दर्भमा सामुदायिक वनभित्र ढलेका, मरेका र बूढा रूखलाई व्यवस्थित गर्न सकेमा पनि जिल्लामा खपतका लागि वन कार्यालयलाई भ्याई–नभ्याई हुने धेरैको बुझाइ रहेको छ ।
सामुदायिक वनभित्र बूढा रूखहरू कटान गर्ने अनुमति राज्यले नदिँदासम्म गाउँटोलमा रहेका सामुदायिक वनहरू राम्रो र प्रभावकारी बन्ने सम्भावना देखिँदैन । तर, वनक्षेत्रमा पुन: उत्पादनको सुनिश्चितता हुनु प्रमुख चुनौतीका रूपमा देखिन्छ । कार्बन शोषण शक्ति बढाउँदै वनलाई उत्पादनशील वनाउन झाडी साफ गर्नेदेखि बूढा रूखको कटान गरी नयाँ बिरुवाहरू हुर्काउन जरुरी देखिन्छ । काठको चर्को मूल्य वा अभावका कारण ग्रिल तथा आल्मुनियमका झ्याल, ढोका, रेलिङ, आदिले बजार लिँदै गर्दा नेपालमा चाहिँ काठै नभएको हो कि भन्ने प्रश्न खडा गराइनुलाई आफैँमा अस्वाभाविक मान्न सकिन्छ । हरियो वनका मालिक सबै नेपाली जनताले काठैकाठको घर बनाउनुपर्दछ, तर वन मासेर नभई वनको सुधारका साथ बढी उत्पादनशील बनाएर ।
स्थानीय जनतालाई नै मालिक बनाएमा वनक्षेत्र जोगिन सक्छ भन्ने राज्यको सोचाइअनुरूप सामुदायिक वन स्थापना भएको भए पनि अपेक्षाकृत सफलता हात नलागेको र वैज्ञानिक वन व्यवस्थापन नीति कार्यान्वयन गर्न–गराउन पनि थुप्रै चुनौती भएकोे सेक्टर वन कार्यालय, ठाडाका प्रमुख कोमलराज काफ्लेको भनाइ छ । भावी पुस्ताका लागि पनि वन जोगाइराख्ने हो भने बूढा रूखहरू हटाउँदै नयाँ रूख–बिरुवाको उत्पादनमा सुनिश्चितत्ता हुनुपर्ने काफ्ले बताउँछन् । डोहोटे इलाका वन कार्यालयका सहायक वन अधिकृत भेषबहादुर महतो पनि उनको भनाइमा सहमति जनाउँछन् । गर्मीयाममा हुनसक्ने वन डढेलो, वन अतिक्रमण, चोरी कटानी र निकासीजस्ता प्रकोपप्रति जनचेतना जगाउन जिल्ला वन कार्यालयले साक्षात्कार कार्यक्रम पनि आयोजना गर्ने गरेको छ । जसरी समाजमा वृद्ध वा बालक मानिस मात्र भएमा समस्या आउँछ, त्यसैप्रकारले रूखहरू पनि बूढा वा साना मात्र भएमा समस्या आउने भएकाले भावी पुस्ताका लागि पनि क्रमबद्ध रूपमा उपभोग गर्न सकिने रूख उत्पादन गर्नेतर्फ राज्य लाग्नु बुद्धिमानी कदम हुने विज्ञहरूको तर्क छ ।
मौसम परिवर्तनसँगै गर्मीयाम सुरु हुन गइरहेको सन्दर्भमा वनक्षेत्र जोगाउनेतर्फ सबैको ध्यान जानु आवश्यक छ । वनमा आगो सल्काउनेलाई कडा कारबाहीको व्यवस्था भए पनि दोषी पत्ता लगाउन कठिनाइ भएको जिल्ला वन कार्यालय सन्धिखर्कका सहायक वन अधिकृत मदन ढुङ्गानाको भनाइ छ । प्रायगरी सडकमा रहेको नालीमा पातहरू जम्ने र नाली साफ गर्नेहरूलाई झन्झट लाग्ने कारण आफ्नो काम सजिलो बनाउन उनीहरूले साँझपख आगो लगाइदिने गरेका आरोप यदाकदा लाग्दै आएको सुनिन्छ । तसर्थ, आ–आफ्ना सामुदायिक वनका सरोकारवाला बासिन्दाले सडकका नालाहरू गर्मीयाममा आफैँ सफा गर्नु वा गराउनु हितकर हुन्छ । जङ्गलको फेदीमा बसोबास गर्नेहरूले गर्मीयाममा कतै जङ्गलमा आगजनी भई आफ्नो बास मेटिएला भन्ने सोचका आधारमा तलैबाट पहिले नै आगो लगाइदिने वा जमिनमा आगो लगाएमा धेरै खेती हुने सोचअनुरूप पनि आगो लगाउने प्रवृत्तिले गर्दा आगजनीको समस्या बढेको पाइन्छ । यसर्थ, जिल्ला वन र सामुदायिक वनहरूले जनचेतना कार्यक्रममार्फत सचेतना कार्यक्रमहरू अगाडि बढाएमा वन जोगिन सक्दछ । यसका अलवा अरिँगाल, भीरमौरी, च्याउ, मौहालगायतका वस्तु हासिल गर्न पनि आगजनी गराइने गरिएको पाइएको छ, जसको रोकथाम गरिनुपर्छ ।
आगजनीका कारण जेसुकै किन नहोस्, यो आफैँमा राम्रो मानिँदैन । वनको विनाश, वातावरणमा असर, वन्यजन्तुहरूको हत्याजस्ता जघन्य अपराधलाई नियन्त्रणमा लिँदै हरियो वन नेपालको धन भन्ने नारालाई भावी पुस्तासम्म कायम राख्नका लागि पनि सबै तह र तप्काबाट सावधानी अपनाइनु अपरिहार्य देखिन्छ ।