इन्द्रेणी

इन्द्रेणी


indreniबोल्नेको पीठो बिक्छ– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
बोल्नेको बिक्छ पीठो जति पनि अमिलो होस् पुरानो सडेको
बोल्दैनन् सड्छ मीठो रसमय गुणका वस्तुले होस् जडेको
ज्ञानीका ज्ञान रुन्छन् वन–चउर, कुना–कन्दरामा रमाई
अज्ञानीचाहिँ बस्छन् सहरतिर सधैँ शान वा मान पाई ।।१।।
सक्नेले भार बोक्छन् कठिन जतिसुकै होस् गहु्रँगो– हलुङ्गो
गर्दैनन् दु:ख सानो फलीकन फलको बन्दछन् मात्र बुङ्गो
अल्छीले ढोंग रच्छन् प्रतिदिन जगतै पार्न सारा अँध्यारो
दु:खी हुन् शोषिएका तर पनि तिनले बाल्न सक्छन् उज्यालो ।।२।।
माया हो जिन्दगानी क्षणभर नहुँदै उड्छ कालो खरानी
छायाझैं लाग्छ माया पछितिर जसको दौडिएको जवानी
काया हो देह मैलो किसिम–किसिमका स्वार्थमा जेलिएको
संसारै लाग्छ यस्तो विविध असजिलो बीचमा हेलिएको ।।३।।
हात्तीको दाँत मोटो तर पनि कमलो घाँस खाने त्यसैले
नारीको रूप राम्रो झलमल गहना लाउने झन् उसैले
गैंडा हो स्थूल देही उँगीकन दिनहुँ सुत्छ साह्रै मजाले
हेर्दामा ज्यान सानो गिरिशिखर चढी बोक्छ भारी गधाले ।।४।।
ठूलो–सानो बनेरै हरदिन किन यी गर्दछन् मारकाट ?
तेरो–मेरो भनेरै अलिपछि दुनियाँ झर्दछन् आर्यघाट
ज्ञानीझैं देखिएका ऋषिजन पनि ती भोगमा दौडिएका
भेटिन्छन् मर्न बाँकी घिटघिट रहँदा स्वार्थमा पौडिएका ।।५।।
राम्री होस् आइमाई अलिकति युवती भेटिए दौडिहाल्ने
लोग्ने होस् या त अर्कै पुरुष किन नहोस् स्वार्थमा पौडिहाल्ने
मान्छे होस् पूर्ण पापी तर पनि धनको शान–शौकात कस्तो ?
धर्मात्माचाहिँ आपूm रहीकन तपमा दौडिने सूर्यजस्तो ।।६।।
गोलो आकारको यो बहुविध पृथ्वी लाग्छ होचो र अग्लो
खोटी देखिन्छ धेरै, अलिकति उसमा मात्र पाइन्छ सग्लो
धेरै डाँडा र काँडा, समथर रसिला भाग थोरै जमिन
तीमध्ये पाइने हो चहक–महकको वस्तु केही नवीन ।।७।।
पढ्नेले पाठ सिक्छन् विघटित घटनाबाट सारा यथार्थ
धेरैले ज्ञान लिन्नन् तममय जुनीमै बाँच्न खोज्छन् अनर्थ
टिक्तैनन् साधुसम्म प्रतिदिन पृथ्वी रातमा शून्य बन्छन्
बाँच्ने हो आखिरीमा कवि अझ कविता दीर्घजीवी रहन्छन् ।।८।।
शिक्षा–साहित्य मात्रै सकल मनुजमा गर्छ रक्षा दिमाग
दीक्षा हो मन्त्रजस्तै बहुजन हितमा पार्न सक्ने प्रभाव
शिक्षा–दीक्षा लिएका पठितजन भए मात्र हुन्छन् सुयोग्य
त्यस्ताबाहेकका हुन् बगर–जमिनका तुल्य सारा अयोग्य ।।९।।

कृति–समीक्षा

पढ्नैपर्ने पुस्तक :
जातीय मुक्ति र लोकतन्त्र
‘जातीय मुक्ति र लोकतन्त्र’ बलदीप प्रभाश्वर चामलिङद्वारा लिखित र यसै वर्ष प्रकाशित पुस्तक नेपाललाई ‘एउटा अर्को कोण’बाट बुझ्न चाहनेहरूले पढ्नैपर्ने पुस्तकका रूपमा यसलाई लिन सकिन्छ । पुस्तकले बलदीपको बौद्धिक उचाइ, तर्क क्षमता र ज्ञानको गहिराइको राम्ररी उजागर गरेको छ । आफ्ना कुराहरू सही सावित गर्न बलदीपले प्रस्तुत गर्नुभएका तर्कहरू बेजोड र कतिपय त अखण्डनीय छन् । जातीय मुक्ति र लोकतन्त्रलाई मूल विषय बनाएर लेखिएको यस पुस्तकमा लेखकले जातीय मुक्तिका निम्ति पहिचान र अँत्मसम्मानलाई जति महत्वपूर्ण पहलुको रूपमा उल्लेख गर्नुभएको छ, पुरातनवादी पहिचानको सोचप्रति पनि उहाँले त्यत्तिकै कठोर प्रहार गर्नुभएको छ । साम्यवाद र साम्यवादीप्रति निर्मम ढङ्गले प्रस्तुत हुनुभएका चामलिङका तर्कहरूको खण्डन सायद माक्र्सवादका पण्डितहरूलाई पनि मुस्किलै पर्ला । उहाँ वैचारिक रूपमा परिष्कृत र भावनात्मक रूपले प्रतिबद्ध प्रजातन्त्रवादी भएको पुष्टि यसै किताबले गरेको छ । जातीय मुक्तिका सन्दर्भमा प्रस्तुत तर्क पनि अस्वाभाविक र नाजायज भन्न मिल्ने प्रकारका छैनन् । ‘पहाडी र मधेसी : जातीय नेतृत्वबीचमा अन्तरघुलन’ शीर्षकअन्तर्गत लेखमा बलदीपले लेख्नुभएको छ, ‘अन्य सबै जातिहरूलाई राष्ट्रिय चरित्रको राजनीतिक भूमिका सुम्पिदिने हो भने सङ्घीयताकै कुरा हराउँछ । … मधेस काठमाडौंबाट आतङ्कित हुने होइन र काठमाडौं पनि मधेसप्रति सशङ्कित हुने होइन ।’ जातीय पहिचान र सङ्घीयता विषयक लेखमा उहाँ जातिको पक्षमा उभिनुभएको छ । नेपाललाई राष्ट्र–राज्यबाट राज्य–राष्ट्र बनाउनुपर्छ भन्ने आजको आवश्यकता हो भन्दै उहाँले लेख्नुभएको छ, ‘राज्यमा जनता बस्छ । जनता भनेको जाति नै हो । राज्य एक हिसाबले जातीय नै हुन्छ । यो एउटा मात्र जाति भएको मुलुकमा त्यही जातिको मात्र राज्य हुन सम्भव हुन्छ । तर, बहुजाति भएको मुलुकमा जातीय राज्य बन्न त्यति सहज कुरा हुन्न । अहिलेको सन्दर्भमा जातीय राज्य भनेको कुनै पनि एउटा जातिविशेषको राज्य भनेर सम्झनुपर्ने हुन्छ । कुनै एउटा जातिको जातीय वर्चश्व कायम गराउने राज्य नै जातीय राज्य हो । …वर्तमान नेपाल एकल जातीय राज्य हो… यो मुलुकलाई राज्य–राष्ट्र नबनाइन्जेल नेपाल एक बाहुन–क्षेत्रीको एकल जातीय राज्य नै ठहरिनेछ । वास्तवमा ‘जातीय पहिचानसहितको सङ्घीयता’बिनाको नेपाल एकल जातीय राज्य हो ।’ यसरी नेपाल एकल जातीय राज्य हो भन्ने निष्कर्ष निकाल्नुअघि बलदीपले प्रश्न गर्नुभएको छ– झन्डै एकतिहाइ नेपालको भूभाग अङ्गे्रजलाई बुझाउने सन्धिपत्रमा हस्ताक्षर गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्याय के आदिवासी जनजाति हुन् ? के यो देशको नदीनालाको सार्वभौमिकता विदेशीलाई सुम्पने नेवार थिए ? टनकपुर बुझाउने लिम्बू थिए ?’ यस्ता निर्मम प्रश्न गरेर निश्चित जातीय समुदायमाथि तीर चलाउने उहाँले लेख्नुभएको छ– ‘बाहुन–क्षेत्री नेपालका एक जिम्मेदार समुदाय हुन् । नेपाल निर्माणमा उनीहरूको पनि योगदानलाई भुल्नुहुँदैन । यति हुँदाहुँदै उनीहरू सत्ताको मात्र होइन पहिचानको पनि धनी जाति हुन् । उनीहरूलाई आफ्नो जातिसम्बन्धी कुनै समस्या छैन ।’ आदिवासी जनजातिको परम्परा र उनीहरूमा भएको गुण संरक्षण दिनुपर्छ भनेर भन्नुमा प्रतिगमन सोच नै हो भन्ने लेखकको निष्कर्ष छ । उनीहरूलाई जुन ठाउँमा छ त्यही ठाउँमा राखिरहनुपर्छ भन्ने सोच हो यो भन्दै बलदीपले सटिक टिप्पणीसहित प्रश्न गर्नुभएको छ– ‘जनजातिको पहिचान र परम्पराको नाममा बाघको छाला लगाउने, धनुकाँड भिरेर हिँड्ने, मयुरको प्वाँख सिउरिने, जाँडरक्सी पिइरहने, जनावरको हड्डीको गहना लगाउने, पूरै शरीर नै नढाक्ने वस्त्र लगाउने र रमाइलोको नाममा उही झाँकी मात्र प्रदर्शन र नाचगान मात्र गरिरहने कुराले के सन्देश दिन्छ ? के बाराक ओबामाले हिजो मेरा पितापुर्खाले केन्यामा जे गरे म पनि त्यही गर्छु भनेर जनावरको छाला र जनावरकै हड्डीका गहना लगाएर वासिङ्टनडीसीमा रहेको राष्ट्रपति भवनमा प्रवेश गर्छन् होला ?’
यस्ता अनेक रोचक एवम् सान्दर्भिक प्रश्न र तर्कहरूको सङ्गालो हो– बलदीप प्रभाश्वर चामलिङको पुस्तक ‘जातीय मुक्ति र लोकतन्त्र’ । लेखक अध्ययनशील, बौद्धिक र तार्कित व्यक्तित्व हुनुहुन्छ भन्ने प्रमाण यसै पुस्तकका सामग्रीहरूले दिइरहेका छन् । तथापि कतिपय सन्दर्भमा लेखक जातिवादी सोचबाट मुक्त हुन बाँकी रहेको आभास पाठकलाई हुनसक्छ । जातिवादी सोचबाट पूर्ण मुक्त हुने तहको ज्ञान, दर्शन र चेतना हुँदाहुँदै पनि त्यसरी यदाकदा जातीयताको गन्ध प्रकट हुँदा अलिक खिन्नताभाव महसुस हुनसक्छ । केही मसिना कमी–कमजोरीलाई उपेक्षा गर्ने हो भने हरेक नेपालीले पढ्नैपर्ने पुस्तकको रूपमा बलदीपको यो कृति आएको छ भन्न कञ्जुस्याइँ गरिरहनुपर्ने छैन ।