राष्ट्रप्रमुखलाई किन अपमान गर्दै छ एमाले ?

राष्ट्रप्रमुखलाई किन अपमान गर्दै छ एमाले ?


bichar– त्रिभुवनचन्द्र वाग्ले
किसुनजी जस्तो सन्तनेताले भन्नुभएथ्यो– गधालाई धोएर गाई हुँदो रहेनछ । उहाँले यो प्रसङ्ग ०४७ पछि एमालेले देखाएको उत्ताउलो राजनीतिक गतिविधिका अनुभवलाई सङ्गालेर भन्नुभएको थियो । किसुनजीलाई राम्रो जानकारी थियो– काङ्ग्रेसले गरेको ०४६ को जनआन्दोलनमा साथ दिएका वामपन्थीहरू उहाँ नेतृत्वको सरकारमा सहभागी थिए । आन्दोलनका सहयोगी र सरकारका सहकर्मीलाई लक्षित गर्दै किसुनजीले किन यस्तो विचार व्यक्त गर्नुभयो ? किसुनजीको भनाइ अहिले पनि प्रिय लाग्दैन । ‘वचने किं दरिद्रता’ भन्ने चाणक्य नीतिका ज्ञाता किसुनजीले कुन पीडा र निष्कर्षमा यसो भन्नुभयो, अहिले उहाँसँग सोध्न सक्ने अवस्था छैन । किसुनजीले भोगेका र अहिलेको नेपाली वामराजनीति खासगरी एमालेको गतिविधिको समीक्षा गर्ने हो भने किसुनजीले जे निष्कर्ष प्रस्तुत गर्नुभएको थियो, त्यो कुनै भावावेश थिएन । फगत क्षणिक आक्रोश र आक्षेप थिएन भन्न सकिन्छ । प्रतीक वा दृष्टान्त जे दिए पनि उहाँको निष्कर्ष थियो– सतत् प्रयास गरे पनि नेपालका कम्युनिस्टलाई प्रजातन्त्रवादी बनाउन सकिँदैन । हुन पनि अहिले नेपाली कम्युनिस्टहरू संसद्वादी त भएका छन् तर प्रजातन्त्रवादी हुन सकेका छैनन् । केही कम्युनिस्टले त लाजले आफूलाई संसद्वादी पनि भनेका छैनन् । संसद्को नाम जे राखे पनि बहुमत, अल्पमत, अध्यावधि निर्वाचन, शक्तिको पृथकीकरण र सन्तुलनलाई स्वीकारपछि त्यो व्यक्ति वा शक्तिलाई ‘संसदीय’ भनिरहनुपर्दैन । किसुनजीको निष्कर्ष यही हो यहाँका वामपन्थीहरू सत्तामा जान संसद्वादी त भए तर प्रजातन्त्रवादी हुन सकेनन् ।
आफूलाई संसद्वादी नभनेको एमाओवादीसँग संसदीय चरित्र खोज्नु बेकार छ । ऐंजेरूको झ्याङगमा काँक्रो खोजेजस्तो तर आफूलाई प्रजातन्त्रवादी र संसदीय शक्ति भन्ने एमालेले संसदीय चरित्र नदेखाउनुलाई उसको बनोटमा रहेको केमिकल कम्पोजिसनको खोट भन्नुपर्ने हुन्छ । एमालेमा रहेको यही केमिकल कम्पोजिसनले समयानुकूल कहिले नारायणहिटी त कहिले माओवादीतिर झुक्ने गरेको उदाहरण स्थापित गरेको छ । डा. बाबुराम भट्टराईको शब्दमा एमालेको लिङ्ग पहिचान हुन नसक्नुमा यो पनि एउटा कारण हो । सार्वभौभ नेपाली जनताले निर्वाचित गरी पठाएका सभासद्ले बनाई हस्ताक्षर गरेको संविधान कसले प्रमाणीकरण गर्ने भन्ने विवादमा पनि एमालेको केमिकलमा पोलोराइजेसन देखिएको छ । नेपाली जनताका प्रतिनिधिले पठाएका सभासद्ले बनाएको संविधानमा व्यक्ति डा. रामवरण यादव वा सुवास नेम्वाङ कसैले पनि हस्ताक्षर वा प्रमाणित गर्नु आवश्यक छैन । संसद्ले बनाएको संविधान कसैले प्रमाणित गरिरहनुपर्दैन । बनाउनेले नै प्रमाणित गरिसकेको हुन्छ । संसद्ले संविधान बनाउनु वा प्रमाणित गर्नुको अर्थ आमनेपालीले प्रमाणित गर्नु हो । यो भनेको प्रजातन्त्रमा आफैँले आफूलाई शासन गर्नु भनेको पनि हो । तर, मुलुकमा संविधानले राष्ट्रप्रमुख, उसको जिम्मेवारी, दायित्व, अधिकार र मर्यादा तोकेको छ । राष्ट्रप्रमुख व्यक्ति होइन संस्था हो । त्यसैले प्राकृतिक व्यक्ति डा. रामवरण यादव र राष्ट्रप्रमुखलाई भिन्न दर्शनमा बुझ्नुपर्दछ । जब राष्ट्रप्रमुखलाई संविधानको संरक्षक भनिन्छ भने त्यो संविधान निर्माणको कुनै न कुनै प्रक्रियामा उक्त संस्थालाई संलग्न गराउनु गृहमन्त्रीको दाबी र सत्तादोहनको जस्तो सौदाबाजी मात्र होइन । त्यसमा पनि वर्तमान अन्तरिम संविधानले संसद्बाट तयार हुने त्यस्ता लिखतको प्रमाणित गर्ने जिम्मेवारी राष्ट्रपतिलाई नै दिएको अवस्थामा एमालेले विवादको नयाँ विषय जन्माएको छ । एमाले अन्तरिम मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको पथमा गएको छ ।
रेग्मीले नेपाली राजनीतिमा औसत इमानदारी र क्षमता देखाउनुभयो । निर्वाचन सम्पन्न गर्ने कार्यको नेतृत्व दलहरूले दिए, उहाँले लिनुभयो । यसमा उहाँको सैद्धान्तिक पक्षबाट हुन सके पनि व्यक्तिगत रूपमा आलोचना हुन सक्दैन । उहाँजस्ता संविधान र कानुनको भाषा मात्र होइन भाव पनि बुझेको मानिसले सिडिओ सा’वले स्वीकृत गर्ने एनजीओको विधानजस्तो लकिरको फकिर गरेर आफैँ संविधानसभाको बैठक बोलाउनुभयो । त्यसो गर्नुमा पनि एमालेको माग र समर्थन थियो । वर्तमान संविधान संशोधन गरेर अध्यक्ष भएको अनुभव लिएका रेग्मीले संविधान संशोधन गरी संविधानसभाको आह्वान गर्ने दायित्व राष्ट्रप्रमुखलाई दिएर सो पदको गरिमा उचो राखौँ भनेका भए रेग्मीको उचाइ बढ्ने नै थियो । नेपालको संवैधानिक इतिहास निर्माण र प्रक्रियामा उहाँको नाम प्रसंशित हुने थियो । दलहरूले दिएको कुर्चीमा बसुन्जेल उहाँलाई शक्तिशाली भएको भान पनि प-यो होला, त्यो रजगजमा यस्तो हुनु अस्वाभाविक पनि भएन । तर, उहाँले निर्वाचन गराएँ भनेर जुन गर्व गर्नुहुन्छ, राष्ट्रप्रमुखको गरिमा धुमिल गर्ने कामको सुरुवात र नेतृत्व पनि गर्नुभयो भनेर उहाँका बारेमा दोहोरो इतिहास बन्नेछ । रेग्मीलाई राजनीति गर्नु थिएन । उहाँ, प्रमाणमा, लिखतमा विश्वास गर्ने फाँटमा हुर्केको मान्छे । आफ्नै आँखाअगाडिको हत्यालाई पनि प्रमाणको अभावमा भवितव्य भन्नुपर्ने पेसामा दीक्षित उहाँ र राजनीतिक शक्ति एमालेको पथ एउटै हुनुहुँदैथ्यो । आफ्नै पार्टीका दुईजना नेता शीतलनिवासको कुर्ची ताकेर दौरासुरुवाल सिलाउँदै गर्दा उनीहरूकै गरिमाका लागि मात्र पनि एमालेले संविधानसभा आह्वान गर्ने र संविधान प्रमाणीकरण गर्नेजस्ता काम राष्ट्रिपतिलाई दिनुपर्दथ्यो । उनीहरू राष्ट्रप्रमुखको संस्थालाई सम्मान गर्दैनन् भने पनि कमरेड खनाल वा नेपालका सम्मानका लागि राष्ट्रपतिका पक्षमा उभिएको भए हुन्थ्यो नि । राजनीतिका लघुमानव र लिलिपुट चरित्रलाई राष्ट्रप्रमुखले सम्मान गरिरहनुपर्ने तर राष्ट्रप्रमुखलाई उनीहरूले तासिरहने प्रवृत्तिले मुलुकको प्रजातन्त्रलाई कहाँ पु-याउँछ ।
‘कमरेड …..शिरोमणि’हरूले गृह मन्त्रालय नपाउँदासम्म राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्छ भन्ने एमालेले कुन आधारमा संसद्बाट राष्ट्रपतिलाई अनुमोदन गर्नुपर्छ भन्ने ‘नाक–बचाउ’ निष्कर्षमा पुग्यो । यी सब सत्तादोहनका सौदाबाजी थिए, तर यस्ता सौदाबाजीले मुलुकको गरिमामा ह्रास आउँछ भन्नेमा पनि एमाले गणले सोचिदिए हुन्थ्यो । एकैछिन भने पनि सत्तादोहन र पदारोहणको स्थायी चिन्तनबाट मुक्त भएर राष्ट्र र राष्ट्रप्रमुखको गरिमाबारे सोचिदियो भने एमालेका सन्दर्भमा न त डा. बाबुराम भट्टराईले भन्नुभएजस्तो लिङ्ग पहिचानमा द्विविधा हुनेछ न त किसुनजीको प्रयास नै बेकम्बा हुने थियो । एमालेको फोसिल, केमिकल वा रसायनमा रहेको न्युक्लिसयले उसलाई राष्ट्रप्रमुख भनेको डा. रामवरण यादव होइन भन्ने बुझ्न असहज भइरहेको छ । उसको गुरुकुलमा यस्ता विषयलार्ई पार्टीको चस्माले मात्र हेर्न सिकाइने भएकाले जबतक उनीहरूले त्यो चस्मा पुकाल्दैनन् उनीहरूका लागि के राष्ट्रप्रमुख के रामवरण अर्थात् के हलुवा के बालुवा ।
संविधान र सर्वोच्च अदालतले वर्तमान राष्ट्रपति नै संविधान जारी नहुँदासम्म राष्ट्रपति रहने भनी स्पष्ट गरेको अवस्थामा संसद्ले अनुमोदन गर्ने भनेको के हो ? के संसद् विधान र सर्वोच्च अदालतभन्दा बाहिर बहकिन मिल्छ ? कुनै एउटा रूखको ठेटोलाई जनै लगाइदिएर हाम्रो संसद्ले ब्रतबन्ध गरेको भनी अनुमोदन गरिदियो भने त्यो ठुटो ‘द्विज’ हुन सक्दछ ? अन्यथा अनुमोदन गर्ने प्रक्रिया र आवश्यकता पनि संविधान र प्रचलित कानुन मूल्य–मान्यताको कसीमा अनुमोदित हुनुपर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । के हो अनुमोदन ? राष्ट्रिपतिले आह्वान गरेका संसद्को रोस्ट्रममा उभिएर ‘संसद्ले राष्ट्रपति चिन्दैन भन्नु छोराले बाबु नचिन्नुजस्तै हो । हामी यस्तै विक्षिप्त मानसिकताले ग्रस्त राजनीतिक संस्कृतिमा फस्ने कि नफस्ने कुरो यहाँ छ । प्रमाणीकरण र डा. रामवरण यादव त प्रतीक मात्र हुन् ।