‘तिमी जे चाहन्छौ, म त्यही चाहन्छु’

‘तिमी जे चाहन्छौ, म त्यही चाहन्छु’


bichar– रमेश ग्रहण
आजभोलि हाम्रो मुलुक नेपालमा प्रजातन्त्र अर्थात् लोकतन्त्रको रटान दिनको दुई–चार ठाउँमा नलगाउने राजनीतिकर्मी सम्भवत: कमै होलान् । प्रजातन्त्रको नक्कली नाम लोकतन्त्र हो जसलाई दिनहुँ दुहाईको अस्त्र नबनाइए उनीहरूको ‘पेसा’ धरापमा पर्छ, निद्रा लाग्दैन र राम्ररी खाएको पनि पच्दैन । प्रजातन्त्रमा मानव अधिकार, पे्रस स्वतन्त्रता, विधिको शासन, खुला अथवा पारदर्शी समाज हुन्छ भन्ने जानकारी सबैले राखे तापनि वास्तविक प्रजातन्त्र त्यो हो जहाँ निषेधको राजनीति हुँदैन, स्वतन्त्रतामा सबैको समान हक, अधिकार र पहुँच हुन्छ । आफूलाई जे राम्रो लाग्छ अर्को मानिसलाई पनि त्यस्तै चाहना हुनसक्छ र आफूलाई जे नराम्रो लाग्छ अरूलाई पनि त्यस्तै हुन्छ भनेर बुझ्ने र तद्अनुरूप व्यवहार गर्न सक्ने सामथ्र्य, क्षमता तथा भावना विकसित हुनु नै प्रजातन्त्रमा सबैभन्दा ठूलो गुण हो । यो नै प्रजातान्त्रिक पद्धतिको सौन्दर्य हो । प्राकृतिक न्यायको कसीमा यस्तो विचार र व्यवहार नै सर्वोत्कृष्ट मानव व्यवहार हो र पूर्ण मानवतायुक्त प्रजातन्त्र हो । तर, के आफूलाई प्रजातन्त्रको ज्ञाता वा मसिहा ठान्नेहरूले यी कुराहरू स्वयम् आफैँले बुझ्न सकेका छन् ? बुझ्न चाहेका छन् त ? जो आफैँले प्रजातन्त्रको वास्तविक निचोड वा मर्म बुझ्ने ल्याकत राख्दैनन् तिनले प्रजातन्त्रको बेलिविस्तार लगाउनु, वर्णन वा भाषणबाजी गर्नु यथार्थमा समयको बर्बादी मात्र हो । आफँैले प्रजातान्त्रिक जीवनशैली, सोच, विचार र व्यवहार अङ्गीकार गर्न नसक्नेले अरू कसैलाई पनि प्रजातन्त्रको निष्कर्ष बुझाउन सक्षम हुँदैन । प्रजातन्त्रको परिभाषा घोकाउनु अर्कै कुरा हो भने वास्तविक मानवता र परिणामयुक्त प्रजातान्त्रिक बोली, वचन र व्यवहार नितान्त बेग्लै कुरा हो ।
यही वास्तविक प्रजातन्त्रलाई बुझ्न–बुझाउन नसक्दा र त्यसको दुरुपयोग मात्र हुने गरेकाले विश्वका धेरै सम्भ्रान्त, विकसित र शक्तिसम्पन्न मुलुकहरूमा पनि जनता बेचैन छन्, असन्तुष्ट छन् अनि आक्रोशित पनि छन् । प्रजातन्त्रको आवरणमा कानुनी शासनको साटो कानुनी दासता भएका प्रजातान्त्रिक मुलुकहरू यो विश्वमा धेरै छन् । देश धनी हुँदैमा त्यहाँको समाज सन्तुलित र समानतायुक्त हुन्छ भन्ने छैन । आफूलाई मनपर्ने स्वतन्त्रता अरूका लागि पनि उत्तिकै हुन्छ भन्ने यथार्थ बुझिएन, बुझ्न–बुझाउन सकिएन वा बुझेर पनि बुझ पचाइयो भने त्यो घर, समाज वा मुलुकमा वास्तविक प्रजातन्त्र होइन कि पाखण्ड हावी हुन्छ र स्वत: द्वन्द्वको सुरुवात हुन्छ । वर्तमानमा संसारैभरि यस्तै भइरहेको छ । वास्तविक प्रजातन्त्रमा छलकपट, ढाँट्ने, तिकडमबाजीको कुनै आवश्यकता पर्दैन, किनकि त्यस्तो प्रजातन्त्रमा विश्वसनीय प्रणाली स्थापित रहेको हुन्छ जहाँ सबै प्रकारका मतभेदहरू अटाउँछन्, समानताको सत्य भावनाले सबै विचारलाई एकत्रित तुल्याउन मद्दत गर्दछ । त्यसैले हामी सबैले मनन गर्नुपर्ने तथ्य के हो भने प्रजातन्त्र भन्ने साढे चार अक्षरको यो शब्द उच्चारण गर्न धेरै सजिलो छ, तर आफैँ प्रजातान्त्रिक हुन अर्थात् वास्तविक प्रजातान्त्रिक मन–मस्तिष्क निर्माण गर्न सक्नु एकदमै कठिन कार्य हो । लोभ–लालच, इष्र्या, डाहा गर्नु, अरूको बिगार्नु पुरुषार्थ होइन । त्याग, तपस्या, मानवतानिष्ठ, परोपकार, उद्धार र निष्पक्ष भावनाले वास्तवमा मानिसलाई वीर बनाउँछ, अरूका लागि बाँच्नुपर्छ भन्ने शिक्षा दिन्छ र चरम आत्मसन्तुष्टि प्राप्त भई दीर्घ र सार्थक तथा सफल जीवनको प्रत्याभूति गराउँछ । वास्तविक प्रजातन्त्रमा यस्तै भावनाहरू निश्चित हुन्छन् ।
नेपालमा तीनचोटि प्रजातन्त्र आयो भनिन्छ । हाल विद्यमान लोकतान्त्रिक प्रणाली के हो, कस–कसलाई प्रजातन्त्र आयो अत्तोपत्तो छैन । धनी झन् धनी हुँदै छन्, गरिब झन् गरिब हुँदै छन्, रोजगारी छैन, काम पायो पैसो छैन, पैसो पायो जीविका चल्दैन, सानादेखि ठूलासम्म सबैलाई ढाँट्नै प-या छ, अरूलाई मा-या छन्, आफ्नैलाई पनि पेल्या छन्, उकुसमुकुस वातावरण छ, सक्नेले नसक्नेलाई थिच्या छ, तँ ठूलो कि म ठूलो भन्या छन्, जसरी भए पनि पैसो कमाउने र धनी हुने प्रतियोगिता चल्या छ, चाकरी र चाप्लुसी नगरी अरू त अरू भाँडा माझ्ने काम पनि पाइँदैन, गफाडी र फटाहा बन्न सके सबैतिर नेटवर्क मिल्छ तर इमानदारहरू सधैँ र सबैतिर एक्लो गर्छन्, ठूला–ठूला पदमा पुगेका छन् आफ्ना निकटवर्तीहरूलाई ‘यसो अलि गाँठ आउने काम ल्याउनुस् न हो ।’ भन्नमै व्यस्त छन् । यी सबै हाम्रो मुलुक र समाजका यथार्थ चित्रण हुन् । भद्रगोल नै भद्रगोल जताततै चलिरहेको नेपालमा सार्थक वा वास्तविक प्रजातन्त्रको अर्थ बुझ्ने महामानवहरू कहिले जन्मेलान्, साँच्चै नेपाली जनताको पिरमर्का हटाउने ल्याकत भएका दूरदर्शी राजनेताहरू कहिले पाइएला, कहिले नेपालीको मुहार फेरिएला, वेश्याजस्ता अवसरवादी जमातबाट कहिले मुक्ति मिल्ला ? हे भगवान् कृपा गर्नोस् नेपाली जनतालाई ।