खेलकुदको विकासका लागि ‘नजिर’को अपरिहार्यता

खेलकुदको विकासका लागि ‘नजिर’को अपरिहार्यता


sportराजनीतिक हस्तक्षेप होइन
प्रजातन्त्रको उदयपश्चात् अर्थात् ०४६ पछि पनि राष्ट्रिय खेलकुद परिषद्लाई पञ्चायती शासनकालमा प्रयोग भएका नीति र संरचनाबमोजिम अघि बढाउने प्रयास गरिएको थियो । तर, पछि त्यसविरुद्ध उठेका आवाज र प्रतिक्रियाले नेपाली खेलकुदलाई नयाँ ऐन–कानुनबमोजिम अगाडि बढाउने प्रयासस्वरूप खेलकुद विकास ऐन, ०४८ को निर्माण कार्यपालिकाको पहलमा व्यवस्थापिकाद्वारा हुन पुग्यो । अन्तत: श्री ५ बाट अन्तिम लालमोहर लगाएपछि उक्त ऐन खेलकुद विकासका लागि कानुनी आधार बनेको थियो । ढिलै भए पनि खेलकुद विकास ऐनको व्यवस्थापश्चात् खेलकुदमा स्थिरता र विकासको आशा गरिएको थियो । तर, विडम्बना ! खेलकुदलाई समयसापेक्ष रूपमा अगाडि बढाउन नसकेको खेलकुद विकास ऐन केही समयपछि नै आफैँमा अपर्याप्त भएको पाइयो । खेलकुद विकास ऐन, ०४८ लाई सही रूपमा कार्यान्वयन पनि गरिएन र ०४६ को परिवर्तनको मूल भावनालाई प्रतिबिम्बित गर्न सकेको पनि पाइएन । तथापि, मुलुकको सर्वाङ्गीण र सर्वकालीन विकासका लागि ०४६ पछि खेलप्रेमी र खेलकर्मीहरूले जुन अपेक्षा राखेका थिए त्यो एउटा ऐनको तर्जुमाबाट मात्रै सम्भव थिएन भन्ने बुझ्नुपर्ने थियो, त्यसमा बुझ पचाइयो । परिणाम अहिलेसम्म खेलकुद लथालिङ्ग र भताभुङ्ग अवस्थामा छ ।
यस परिप्रेक्ष्यमा हेर्दाखेरि नेपालको खेलकुद विकासमा प्रमुख बाधकतत्वको रूपमा खेलकुद विकास ऐन नै रहेको पुष्टि हुन्छ । खेलकुद विकास ऐनलाई बन्धक राखेर नै सरकारको नेतृत्व परिवर्तनगलत्तै राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व परिवर्तन गर्ने परम्परा बसेको छ । तसर्थ खेलकुदको नेतृत्व नै अस्थिर हुने कारकतत्व खेलकुद विकास ऐन नै बनेको कारणले यो ऐनलाई समयानुकूल र समयसापेक्ष ढङ्गमा परिवर्तन गर्नुपर्ने देखिन्छ । खेलकुद विकास ऐनमा परिवर्तनको आवश्यकता औँल्याउनुको कारण यो ऐन सम्पूर्णतामा नै गलत छ भन्न खोजिएको अवश्य होइन, तर खेलकुदमा निश्चित महत्वपूर्ण संस्थामा स्थायी नेतृत्व दिने सवालमा मौन रहेको ऐनलाई सरकारैपिच्छे फेरिने मन्त्रीहरूले मनोमानी ढङ्गबाट परिवर्तन गर्न सक्ने प्रावधानलाई हटाएर मन्त्रीलाई होइन, ऐनलाई बढी अधिकारसम्पन्न गराउनुपर्छ । संविधानअनुसार मुलुकमा कानुनको शासन हुनुपर्ने हो र हुनुपर्छ । खेलकुद विकासमा पनि खेलकुद विकास ऐनको शासन हुनुपर्छ । तर, यहाँ राजनीतिक पार्टीहरूले गलत शासन सञ्चालन गरिरहेका छन् । मन्त्रीलाई ऐनले सञ्चालन गरिरहेको छैन कि मन्त्रीले आफूअनुकूल ढङ्गले व्याख्या गरिरहेको अवस्था छ । यो गलत परिपाटीलाई अन्त्य गर्न ऐनलाई मजबुत र सर्वशक्तिमान गराउनुपर्छ । जबसम्म ऐन आफैँमा सर्वशक्तिमान हुँदैन तबसम्म खेलकुदको अन्योल समाप्त हुने देखिँदैन ।
राजनीतिले गाँजेको खेलकुदले अहिलेसम्म उन्मुक्ति पाउन सकेको छैन । ०४६ देखि राजनीतिक पार्टीको जाँतोमा निरन्तर पिसिँदै आएको खेलकुदको हालत अहिले पनि उस्तै छ । राजनीतिक पार्टीहरू खेलकुदको स्थायित्व र विकासभन्दा पनि खेलकुदमा राजनीतिलाई बढावा दिइरहेका छन् । वर्तमान अवस्थाको परिदृश्य पनि यस्तै देखिएकोे छ । खेलकुदमा राजनीतिक हस्तक्षेपका कालो बादल मडारिन थालेको छ । जुन बेला जे पनि हुनसक्ने अनुमान र अड्कल काटिन थालेका छन् । सरकार परिवर्तनसँगै खेलकुदमा देखिएको यो नौलो दृश्यले पुन: खेलकुद चर्चाको शिखरमा पुगेको छ । एमालेले युवा तथा खेलकुद मन्त्रालय सम्हालेपछि बढेको यो सरगर्मीले खेलकुदलाई तताएको मात्र नभई अन्योलको वातारणसमेत सिर्जना गरिदिएको छ । परम्परागत रूपमा खेलकुदमा हुने राजनीतिक नियुक्तिलाई एमालेले आफ्नो प्रमुख हतियार बनाउँदा वर्तमान राखेपका सदस्यसचिव युवराज लामाको कुर्सी दाउमा लागेको छ । सदस्यसचिव लामालाई बहिर्गमन गराउन एमालेले राजनीतिक दाउपेचको पासा फ्यालिसकेको छ, जसलाई उसले आफ्नो मान, सम्मान र प्रतिष्ठाको विषयसमेत बनाएको छ । एमालेको कुरा सोझो छ– ‘जसको मन्त्रालय त्यसैको सदस्यसचिव । हिजो लामा पनि त्यसरी नै आएका हुन्, आज हामी पनि त्यसरी नै जान चाहन्छौँ, यो कुरा लामाले बुझ्नुपर्छ र मार्गप्रसस्त गर्नमा सहयोग गर्नुपर्छ ।’
इतिहासलाई साक्षी राख्दा राजनीतिक हस्तक्षेपको बुटमा जहिले पनि खेलकुद पिसिँदै आएको कसैबाट छिपेको छैन । पानीजस्तो सङ्लो खेलकुदको नकारात्मक पाटो पनि यही हो । जसले खेलकुदलाई धमिलो मात्र नभई दूषितसमेत बनाउँदै आएको छ । यो विष वमन खेलकुदले नचाहेर पनि स्वीकार गर्नुपर्ने बाध्यता छ र गर्दै आइरहेको छ । राजनीतिक शक्तिका अगाडि जहिले पनि बिचरा बन्दैै आएको खेलकुदले अहिले पनि आत्मसमर्पण गरे अन्यथा मान्नुपर्ने छैन । तर, यस्तो नियति खेलकुदले कहिलेसम्म भोग्ने त्यो भने गम्भीर विषय बनेको छ । शक्तिका पुजारीहरू खेलकुदलाई परम्परागत रूपमा चलाउन चाहन्छन्, त्यसमा उनीहरूको राजनीतिक स्वार्थ लुकेको छ । यसो भन्दैमा खेलकुदले सधैँ आफ्नो अस्मिता लुटाउन लम्पसार पर्नुपर्छ भन्नेमा सायदै कसैको सहमति होला । त्योबाहेक पनि निकासका कुरा छन् जसले खेलकुदलाई सहजै वैतरणी तराउन सक्छ, त्यो हो ‘नजिर’ । परिवर्तनकामीहरूले हिजो त्यस्तो थिएन, आज हुँदैन भन्नुभन्दा पनि खेलकुदको स्थायित्व र विकासका लागि थोरै त्याग गरे पुग्छ । खेलकुदमा एउटा पद्धतिको विकास हुनुपर्छ, जसलाई सबै राजनीतिक पार्टीले नजिरको रूपमा कायम गर्न सक्नुपर्छ । यसपछि सरकारले खेलकुदमा गरेको नियुक्तिको निर्णयमा कहिल्यै प्रश्न तेर्सिने छैन । जुन दलको प्रधानमन्त्री, खेलकुदमन्त्री आए पनि राखेपको कार्यसमितिले आफ्नो कार्यकाल पूरा गर्न पाउनेछ । भविष्यमा यसलाई नजिरको रूपमा स्थापना गर्न अहिलेदेखि नै सत्ता–सङ्घर्षभन्दा पनि बाँडफाँड र सहमतिको कुरा गरेर अगाडि बढ्दा खेलकुदका लागि कल्याण हुने देखिन्छ ।
यतिबेला मुलुकमा भएको राजनीतिक परिवर्तनले काङ्ग्रेसलाई खेलकुदको संरक्षक, एमालेलाई खेलकुदको नेतृत्व र एमाओवादीलाई सशक्त प्रतिपक्षको भूमिकामा राखेको छ । यसको अर्थ सबै पार्टीले खेलकुदको विकासका लागि उत्तिकै महत्वपूर्ण जिम्मेवारी पाएका छन् । यसर्थमा खेलकुदको विकासका लागि मेरुदण्ड मानिएको राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वमा एमालेको हकअधिकार लाग्छ । उसले राखेपको नेतृत्वमा दाबी गर्नु मनासिव र जायज ठहर्छ पनि । एमालेले यसका लागि आफ्नो खेलकुद भ्रातृ सङ्गठन नेपाल खेलकुद महासङ्घलाई जिम्मेवारीसमेत दिइसकेको अवस्था छ । महासङ्घले पनि संस्थागत निर्णय गर्दै यसको गोप्य जानकारी पार्टीमा गराइसकेको जानकारीमा आएको छ । महासङ्घले उम्मेद्वारी चयनको खुलासा नगरे पनि राखेपको नेतृत्व सम्हाल्न खेलकुदमन्त्रीझैं योग्य व्यक्ति आउन लागेको दाबी गरेको छ । यस्तो अवस्थामा अहिले बल सदस्यसचिव युवराज लामाको कोर्टमा पुगेको छ । उनी बुझ्ने मान्छे हुन्, अब कस्तो निर्णय लिन्छन्, त्यसैको प्रतीक्षामा एमाले बसेको महासङ्घ सूत्रबाट थाहा भएको छ ।
सदस्यसचिव युवराज लामाको कार्यकाल मात्र १५ महिना बाँकी रहेको अवस्थामा भएको सरकार गठनले लामा अहिले नैतिक र राजनीतिक दबाबमा परेका छन् । र पनि, राजीनामा दिने वा खेलकुद छोड्ने मनस्थितिमा उनी छैनन् । उनी मन्त्रिपरिषद्को निर्णय र सम्माननीय सर्वोच्च अदालतको फुल बेन्चले गरेको निर्णयप्रति विश्वस्त हुँदै आफ्नो बाँकी रहेको कार्यकाल पूरा गर्न चाहेको देखिन्छ । सर्वोच्चको सम्मानका लागि पनि खेलकुदमा राजनीतिक हस्तक्षेप नहुने कुरामा लामा ढुक्क छन् । अझ निजगढ बाराका छिमेकी पुरुषोत्तम पौडेल युवा तथा खेलकुदमन्त्री बनेपछि लामाको विश्वासको त्यान्द्रो अझ तन्किएको छ । मन्त्री पौडेलले राखेपले आयोजना गरेको स्वागत कार्यक्रममा सञ्चारकर्मीहरूले ‘अब खेलकुदमा के हुन्छ ?’ भनेर सोधेको सवालमा सबै कुरा कानुनसम्मत हुने, कानुनभन्दा माथि कोही नहुने, आफूले पनि कानुनको सम्मान गर्ने र कानुनको अपहेलना गर्नेलाई बाँकी नराख्ने स्पष्ट कुरा राखेपछि सर्वोच्चको निर्णयमा कुनै आँच नआउने अनुमान लगाउन सकिन्छ । यसो भएमा लामाले आफ्नो चारवर्षे कार्यकाल पूरा गर्न पाउनेछन् भने एमाले खेलकुदलाई हाँक्न अझै १५ महिना कुर्नुपर्नेछ ।
तर, राजनीतिक शक्ति र कानुनी शक्तिको लडाइँमा पटक–पटक एकले अर्कालाई परास्त गरेको इतिहास हाम्रोसमक्ष छ । वर्तमान अवस्थामा नयाँ सरकार गठनसँगै पुन: खेलकुदमा राजनीतिक शक्ति र कानुनी शक्ति आमनेसामने देखिएका छन् । कानुनी राज्यका लागि यो शुभसङ्केत नभए पनि प्रतिष्ठाको लडाइँका लागि भने अहम् बनेको छ । विगतका कालखण्डलाई फर्केर हेर्दा खेलकुदको गठन–पुनर्गठनमा राजनीति नै हावी देखिएको छ । बागदरबारदेखि त्रिपुरेश्वरसम्मको खेलकुदको ५५ वर्षे यात्रामा कहिले दरबार, कहिले पञ्चायत त कहिले राजनीतिक दलहरूकै सोच र संस्कारले मान्यता पाएको छ । यहाँ राम्रो र नराम्रोको मूल्याङ्कनभन्दा पनि कसले खेलकुदलाई हडप्ने त्यसमै तँछाड–मछाड भएको छ । तसर्थ भोलि खेलकुदमा कानुनभन्दा राजनीतिको पलडा भारी भयो भने अन्यथा मान्नुपर्ने छैन । यो सतीले सरापेको देश हो, यहाँ राम्रो काम गर्नेको कहिल्यै भलो हुन्न । भोलि राजनीतिक हस्तक्षेपबाट अप्रिय निर्णय भयो भने लामाले पनि भीम मल्ललाई सम्झेर चित्त बुझाउनुबाहेक अर्को विकल्प रहने छैन ।

एमालेमा सदस्यसचिवका लागि तीव्र प्रतिस्पर्धा
नयाँ सरकार गठनसँगै एमालेमा सदस्यसचिवका लागि निकै प्रतिस्पर्धा देखिएको छ । सदस्यसचिवको आकाङ्क्षीमा नेपाल खेलकुद महासङ्घका पदाधिकारीहरूदेखि खेलकुद सङ्घका पदाधिकारी र हालै सम्पन्न दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ पराजित उम्मेवारसमेत देखिएका छन् । बास्केट बल सङ्घका अध्यक्ष टेन्डी शेर्पा, राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिना, भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङ, करातेका पुरेन्द्रविक्रम लाखेले आवरणमा चर्चा पाए पनि वास्तविक सदस्यसचिवको चयन भने एमाले गोप्य राखेको छ । सदस्यसचिवको चयनको जिम्मेवारी पार्टीले महासङ्घलाई दिएपछि महासङ्घले संस्थागत निर्णय गर्नुभन्दा पहिले नै आफूलाई सदस्यसचिव भन्दै हिँडेकाहरू अहिले ‘हिस्स बूढी हरिया दाँत’जस्तै भएका छन् । त्यसैले अहिले उनीहरू महासङ्घ र पार्टीलाई सराप्दै खेलकुदको चक्कर काट्न छोडेका छन् भने तीमध्ये कतिपयले आफ्नो मोबाइलको स्विचसमेत अफ गरेका छन् । स्मरण रहोस्, आफू सदस्यसचिव बन्ने कुनै सुरताल नदेखेपछि ती आकाङ्क्षीले राखेपका सदस्यसचिव युवराज लामालाई फोन गर्दै खेलकुद नछोड्न आग्रहसमेत गरेको थाहा भएको छ ।

सदस्यसचिवले लोकसेवा पास गरेर आएको हँुदैन
राखेपका पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले कुनै पनि सदस्यसचिवले लोकसेवा पास गरेर नआएको बताएका छन् । सदस्यसचिवको नियुक्ति विशुद्ध राजनीतिक हो, त्यो सरकार परिवर्तनसँगै समाप्त हुन्छ । श्रेष्ठले आफूले राजनीतिक परम्परालाई कायम राख्न राखेप छोडेको र सदस्यसचिव युवराज लामाले पनि त्यही परम्परालाई कायम राख्दै खेलकुद छोड्नुपर्ने प्रस्ट पारेका छन् । श्रेष्ठले उहाँ बुझेको र कलाकार मान्छेसमेत भएकाले आफ्नो कलाकारिता देखाउनेमा आफू ढुक्क भएको बताए । लामाले मार्गप्रसस्त गर्नुपर्छ, यसैले उहाँलाई राम्रो गर्छ भन्दै उहाँले छिट्टै नैतिकताको आधारमा खेलकुद छोड्नेमा आफू विश्वस्त रहेको बताएका छन् । श्रेष्ठले भने– एमाओवादी पार्टी प्रतिपक्षमा बस्ने उहाँचाहिँ कुर्सीमा बस्ने लालसा देखाउनु राजनीतिक आचरणविरुद्ध हुन्छ । तसर्थ एमाले पार्टीले राजनीतिक हस्तक्षेप गर्नुअघि नै लामाले खेलकुद छोडे उनको र खेलकुदको कल्याण हुनेछ ।

लामालाई ‘सर्वमान्य’ नेता बनाइने
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई खेलकुदको सर्वमान्य नेता बनाउने तयारी भइरहेको जानकारीमा आएको छ । आफ्नो ३३ महिने कार्यकालमा खेलकुदलाई नयाँ दिशा दिन सफल भएकोमा लामालाई सर्वमान्य नेता बनाउन लागेको बुझिएको छ । राखेप पुनर्गठन गरिने चर्चा चलिरहेको अवस्थामा काङ्ग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरूबीच यसबारेमा छलफल भएको सुनिनमा आए पनि सत्यतथ्य भने बाहिर आएको छैन । सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ, कानुनसम्मत लामालाई हटाउन सकिँदैन, लामालाई हटाए खेलकुदमा अझ अराजकता भित्रिन्छ भन्ने मान्यताअनुरूप यसो गरिन लागेको थाहा भएको छ । तर, यसबारेमा लामासँग प्रतिक्रिया माग्दा उनले आफूलाई यसबारेमा कुनै जानकारी नभएको प्रस्ट पारे । आखिर एक तहबाट निर्णय हुनु नै पर्ने हो, शीर्ष नेताबाट निर्णय भए राम्रो । उहाँहरूले जे निर्णय गर्नुहुनेछ त्यो खेलकुद र कानुनको हितमा हुनेमा आफू विश्वस्त रहेको बताए । यो विषयमा राखेप कर्मचारी सङ्घ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घसँग सम्पर्क गर्दा उनीहरूले अनिविज्ञता प्रकट गरे ।

खेल समाचार

अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर्स ट्रेनिङ कोर्स हुने
राष्ट्रिय तेक्वान्दो युनियन, नेपाल र विश्व तेक्वान्दो प्रधान कार्यालय कुकिवनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर्स ट्रेनिङ कोर्स जुलाई ३० देखि अगस्ट ३ तारिखसम्म काठमाडौंमा हुने भएको छ । कोर्समा नेपालबाट सयजनाको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा युनियनका महासचिव राजकुमार कार्कीले जानकारी गराएका छन । उनका अनुसार २० देखि २५ अन्य राष्ट्रबाट करिब ५० जनाको सहभागिता रहनेछ । राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घ सहआयोजक रहेको कोर्समा सहभागी हुनेले २० देखि २५ हजार रुपैयाँसम्म प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । तेक्वान्दोको अत्यन्त महत्वपूर्ण मानिने यस प्रकारको कोर्स नेपालमा दोस्रोपटक हुन लागेको हो । यसअघि गत भदौ १९ देखि २३ गतेसम्म उक्त कोर्स काठमाडौंमै भएको थियो । त्यतिबेला नेपालका ७० र ११ विदेशी गरी ८१ जनाले उक्त कोर्समा सहभागिता जनाएको महासचिव कार्कीले जानकारी गराएका थिए । युनियनका अध्यक्ष शिव कोइरालाले नेपालमा नै यसप्रकारको कोर्स आयोजना हुनु आर्थिक हिसाबले पनि नेपाली सहभागीका लागि धेरै भार कम हुने बताए । युनियनका प्रमुख प्रशिक्षक एकनाथ थापाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई अझ दरिलो बनाउन कोर्स महत्वपूर्ण सावित हुने बताएका थिए ।

शारीरिक सुगठनमा नेपाललाई दुई स्वर्ण
पाकिस्तानको लाहोरमा हालै सम्पन्न १०औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण जितेको छ । दुई नेपाली खेलाडी सहभागी प्रतियोगिताको पुरुष ६० केजीमा सुजन तामाङ र ६५ केजीमा ज्ञाननारायण महर्जनले नेपाललाई स्वर्ण दिलाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

मकाउका पूर्वखेलाडीद्वारा खेलसामग्री प्रदान
मकाउस्थित नेपाली तेक्वान्दोका ३९ पूर्वखेलाडीले राष्ट्रिय प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडी–प्रशिक्षक तथा नेपाल प्यारा तेक्वान्दोमा प्रशिक्षणमा रहेका द्वन्द्वपीडित खेलाडीलाई एक लाख ३४ हजारबराबरको खेल–सामग्री प्रदान गरेका छन् । खेलाडीलाई मकाउबाट नेतृत्व गरेर आएका प्रेमबहादुर भुजेलले ट्रयाकसुट प्रदान गरेका थिए । सोही कार्यक्रममा भुजेलले नेपाल प्यारा तेक्वान्दो कमिटीका अध्यक्ष जनार्जन ढुङ्गेललाई खेल–सामग्री तथा द्वन्द्वपीडित खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए । भुजेल दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण विजेता खेलाडी हुन् । प्रशिक्षकद्वय संगीना वैद्य र दीपक विष्टलाई मकाउको तर्फबाट महासचिव दीपराज गुरुङले ट्रयाकसुट प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष प्रदीप जोशीले भजन गाउने मुखभन्दा सेवा गर्ने हात नै प्यारो हुन्छ भन्दै खेलप्रतिको माया मकाउका खेलाडीले साङ्केतिक रूपमा आफ्नो कर्तव्य निभाएको बताए । त्यस्तै महासचिव दीपराज गुरुङले यसप्रकारको कार्यले खेलाडीको मनोबल बढाउनुको साथै खेलकुद जगत्मा सकारात्मक सन्देश जाने बताए । नेपाल तेक्वान्दो सङ्घ विदेश विभागका सचिव पूर्णसिं बोहराले सञ्चालन गरेको कार्यक्रममा १९८६ को एसियाडमा तेक्वान्दोबाट कास्य विजेता खेलाडी रामबहादुर घच्केलगायतको उपस्थिति रहेको थियो ।

जितबहादुर र चाहना सम्मानित
अरनिको आवासीय मावि, भोटेबहालले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी र चौथो विश्व जुनियर उसु च्याम्पियनसिपकी पदक विजेता चाहना बमजन लामालाई हालै नगद पुरस्कारसहित सम्मान गरेको छ । अरनिकोको वार्षिक खेलकुद दिवसको समापनका अवसरमा हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण योगदान पु-याएकोमा उनीहरूलाई सम्मान गरिएको हो । अरनिकोका प्रिन्सिपल सञ्जय योञ्जनले दुवैलाई समान १०–१० हजार नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । विगतमा वार्षिक खेलकुद दिवसकै अवसर पारेर अरनिकोले बक्सिङका दीपक महर्जन, तेक्वान्दोकी संगीना वैद्य र फुटबलका सागर थापालाई पनि नगदसहित सम्मान गरिसकेको छ ।
जितबहादुरले फिलिपिन्सको मनिलामा १९७३ मा भएको पहिलो एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा कास्य जितेका थिए । त्यो पदक नै नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेको पहिलो पदक हो । १९७५ मा दक्षिण कोरियाको सिओलमा भएको त्यसै प्रतियोगिताको दोस्रो संस्करणमा पनि जितबहादुरले कास्य जितेका थिए । जर्मनीको म्युनिखमा भएको २०औँ ओलम्पिकमा सहभागिता जनाइसकेका जितबहादुरले छैटौँ, सातौँ र आठौँ एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गरेका थिए । आठौँ एसियालीपछि जितबहादुरले खेलाडी जीवनबाट सन्न्यास लिएका थिए । त्यस्तै चौथो विश्व जुनियर उसु च्याम्पियनसिपमा चाहनाले कास्य जितेकी थिइन् । विश्व जुनियर च्याम्पियनसिपममा कुनै पनि नेपाली उसु खेलाडीले प्राप्त गरेको उक्त पदक पनि पहिलो हो । सोही च्याम्पियनसिपको तेस्रो संस्करणमा पनि चाहना सहभागी थिइन् । छैटौँ एसियाली जुनियर उसु च्याम्पियनसिप र बाह्रौँ विश्व सिनियर उसु च्याम्पियनसिपमा चाहना चौथो भएकी थिइन् । चाहना २०६९ को पल्सर युवा वर्ष खेलाडी तथा २०६९ कै युवा खेलकुद प्रतिभा पुरस्कार (एक लाख नगद पुरस्कार) को अवार्ड विजेता हुन् ।

दीक्षा रेसमान्डु रेसिङ च्याम्पियन
दीक्षा श्रेष्ठ दोस्रो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत रेसमान्डु २ (मोटरसाइकल रेसिङ च्याम्पियनसिप) को महिला स्कुटर रेसिङतर्फ च्याम्पियन बनेकी छिन् । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको प्रतिस्पर्धामा सुभानी थापा दोस्रो र सीता सिलवाल तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाए । पर्वतीय खेलकुद महासङ्घ, नेपालको तत्वावधानमा नेपाल अटोमोबाइल खेलकुद सङ्घ (नासा) द्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ एक सय ९७ सीसीसम्म विवेश श्रेष्ठ पहिलो, विप्लव श्रेष्ठ दोस्रो र निहालमान जोशी तेस्रो स्थानमा रहे । पुरुषकै एक सय ९७ सीसीमाथि सौरभमान श्रेष्ठले स्वर्ण, राज श्रेष्ठले रजत र समित थापाले कास्य जिते । दुवै स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार जितेका थिए । गत संस्करणमा शीर्ष तीन स्थान हात पार्ने र अन्तर्राष्ट्रिय तालिम प्राप्त खेलाडी मात्र सहभागी हुन पाउने राष्ट्रिय च्याम्पियनसिपतर्फ सेनविल्सन मोक्तानले शीर्ष स्थान कब्जा गरे । विक्रम थापा दोस्रो भए भने सरस रायमाझीले तेस्रो स्थानमा चित्त बुझाए । सेनविल्सनले काठमाडौं–बैंककको राउन्ड टिकट पुरस्कारस्वरूप पाए

तेक्वान्दो विजेतालाई पाँच सय डलर
नेपालमा तेक्वान्दो खेलको विकास, विस्तार तथा समाजमा लुकेका प्रतिभाको उजागर एवम् खेलाडीलाई अवसर तथा हैसला प्रदान गर्ने उद्देश्यले तेस्रो नेसनल प्रोफेसनल तेक्वान्दो च्याम्पियानसिप फागुनको अन्तिम साता सञ्चालन हुने प्रतियोगिता संयोजक घमबहादुर थापाले जानकारी गराएका छन् । टीभीएस कम्पनीको सहयोग तथा मध्यामाञ्चल आईटीएफ तेक्वान्दो सङ्घको आयोजनामा फागुन २९ देखि चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले पाँच सय अमेरिकन डलर, दोस्रोले दुई सय ५० डलर र तेस्रोले एक सय ५० डलर प्राप्त गर्नेछन् । नयाँ बसपार्कमा हुने प्रतियोगितामा पुरुषको ५५ देखि ६० तौल समूहमा २५ बाउटको खेल हुने आयोजकले जनाएको छ ।

भक्तपुर जिम्न्यास्टिक महोत्सव सम्पन्न
पूर्ण स्वास्थ्य उपयुक्त शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ भक्तपुर डबलीमा प्रथम भक्तपुर जिम्न्यास्टिक महोत्सव सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गनुभएको महोत्सवमा १९ स्कुलका सात सयभन्दा बढी खेलाडीले जिम्न्यास्टिकको प्रारम्भिक अभ्यासबारे प्रदर्शनी गरेका थिए । सो अवसरमा राष्ट्रिय विद्यालय जिम्न्यास्टिक सङ्घका अध्यक्ष विनोद लामालगायतको उपस्थिति रहेको थियो ।

खेलक्षेत्र पछिपर्नु दुर्भाग्य – उपप्रम गौतम
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपाल खेलकुद क्षेत्रमा पछिपरेकै करण अन्य क्षेत्रमा पनि पछि परेको बताएका छन् । नेपाल खेलकुद महासङ्घले हालै आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा गौतमले खेल क्षेत्रमा लगानी बढाउन र सम्बन्धित मन्त्रालयलाई समन्वय गर्न आफूले सक्दो पहल गर्ने बताए । सो अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले खेल क्षेत्रमा कुल बजेटको कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्न पहल गर्ने बताए । मन्त्री पौडेलले भौतिक संरचना र प्रशिक्षणलाई व्यवस्थित गर्न आफू लागिपर्ने बताउँदै काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला आवश्यक छ, त्यसका लागि पहल गर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले विगतमा गौतम उपप्रधानमन्त्री हुँदा सातदोबाटो खेलकुद परिसरका लागि एक सय ३६ रोपनी जग्गा उपलब्ध गराएको स्मरण गराउँदै यसपटक पनि उहाँकै नेतृत्वमा खेलकुदमा यस्तै प्रकारको सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए । सो अवसरमा खेलकुद महासङ्घका महासचिव लामा टेण्डी शेर्पा, शिक्षासेवी रामप्रसाद दाहाललगातले उपप्रधानमन्त्री गौतम र मन्त्री पौडेलको कार्यकाल सफलताको कामना गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री गौतम र मन्त्री पौडेललाई सम्मान गरिएको थियो ।