मथुराको बीसखुट्टे दरबार, सम्भावनाको महत्वपूर्ण द्वार

मथुराको बीसखुट्टे दरबार, सम्भावनाको महत्वपूर्ण द्वार


mukti– मुक्तिनाथ भुसाल
नेपालको इतिहासमा अमीट नाम खोपेका जंगबहादुर राणा अर्घाखाँचीको मथुरामा जन्मिएका थिए भन्ने कुरा धेरैले जानकारी नराखेका या हेक्का नपाएका हुन सक्छन् । उनै ऐतिहासिक पात्र जंगबहादुरद्वारा निर्माण गरिएको लामपाटी दरबार अर्घाखाँचीमा संरक्षणको अभावमा अलपत्र छ । नेपालभरकै एक मात्र यो बीसखुट्टे दरबार भत्किने अवस्थामा पुग्दा पनि सोही क्षेत्रबाट चुनाव जितेर संविधानसभा या संसद्मा पुगेका एमाओवादी सभासद् टोपबहादुर रायमाझीको ध्यान पुग्न सकेको छैन । संविधानसभामा पुगेर अनेक मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाइसकेका भविष्य बोकेका नेता रायमाझीले आफ्नै चुनावी क्षेत्रमा रहेको नेपालको ‘इतिहास’ जोगाउनेतर्फ अहिलेसम्म खास ध्यान नदिनु अर्घाखाँची जिल्लाका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागि चासो र उनी स्वयम्को निम्ति पनि प्रतिष्ठाको विषय हो ।
जिल्लाको अर्घा गाविसको खाडामा जन्मिएका रायमाझी सानै उमेरदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका साहसी व्यक्ति हुन् तापनि जिल्लाका समस्या जहाँको त्यहीँ रहेका छन् । एमाओवादीको स्थायी समिति सदस्यसमेत भइसकेका र दोस्रो पुस्ताका प्रभावशाली नेताहरूमध्ये एक मानिने रायमाझी पूर्वप्रधानमन्त्री डा. भट्टराईका विश्वासपात्र मानिन्छन् । खनाल नेतृत्व सरकार र डा. भट्टराई नेतृत्व सरकारमा गरी थोरै–धेरै समय करिब आठवटा मन्त्रालयका मन्त्री बनिसकेका रायमाझीलाई ०६४ सालको निर्वाचनयता जिल्लामा रहेका दलहरूले पनि हराउन सकेका छैनन् । यही क्रमले निरन्तरता लिएमा बाँचुन्जेल रायमाझी अर्घाखाँचीबाट संविधानसभामा पुग्न सक्ने अनुमान लगाउन सकिन्छ । एमाओवादीको सरकार बनेमा गृह वा उपप्रधानमन्त्रीको दाबेदारमा रायमाझी पुग्न सक्ने चर्चा पनि गाउँघरतिर सुन्न सकिए पनि आफ्नै चुनावी क्षेत्रमा जंगबहादुर राणा जन्मिएको र उनले निर्माण गरेको लामपाटी दरबार नेपालकै इतिहासमा एक भएको कुरा उनी र उनका सहयात्रीले बुझ्न सकेको आभास मिल्दैन । रायमाझीले राणाको योगदानलाई बिर्सिएजस्तै भविष्यमा उनको योगदानलाई पछिल्लो पिँढीले बिर्सिएमा उनको आत्मामा पनि नैराश्यता आउने कारण जंगबहादुर राणाबारे थप जानकारी गराउने प्रयास आजको लेखनीको मूल विषय बनेको छ ।
लामपाटी दरबारका बारेमा सबैका आ–आफ्ना राय रहेका छन् । कोही भन्छन्, जंगबहादुर राणा यही दरबारमा जन्मिएका हुन् त आफू जन्मिएको स्थान भएकै कारण जंगबहादुरले यो दरबार बनाएका भन्ने पनि धेरै छन् । जंगबहादुर राणा अर्घाखाँचीको मथुरामा जन्मिएको यथार्थतामा भने दुईमत पाउन सकिँदैन र यही नै वास्तविकता हो । बाङ्ला गाविसको मथुरामा जंगबहादुर राणा जन्मिएको प्रमाण कीर्तिपुर विश्वविद्यालयभित्रको २७ नम्बर कोठामा पुगी दुई हजार सालभन्दा अगाडिका इतिहास खोज्ने हो भने भेटाउन सकिन्छ । यसरी खोज्ने क्रममा पहिला रिडी अनि अर्गेली भुरे राजा त्यसपछि अर्घाखाँचीको बाङ्ला मथुरा भन्ने ठाउँमा जंगबहादुर जन्मिएको कुरा घरबुनाले बानेको मुठ्ठाको पहाडिया कागजमा उल्लेख गरिएको कुरा आफ्नै आँखाले देखेर आएका स्थानीय बूढापाकासहित स्वामी कुशलानन्द सरस्वतीले जानकारी गराएका छन् । त्यसैगरी वयोवृद्ध समाजसेवी तथा विद्वान् नारायण शास्त्री पनि जंगबहादुर मथुरामा जन्मिएको दाबा गर्छन् । शास्त्री हाल जिल्लाको पाणिनी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रहेका छन् ।
वास्तविकताको गहिराइमा पुग्दै गर्दा जंगबहादुरका बाबुको दैलेखमा जागिर भएको कारण आफ्नी दुलहीलाई नेपाल (हालको काठमाडौं)बाट दैलेखमा पु-याएका र दुलही गर्भवती बनेकी कारण केही सहेलीका साथ नेपाल जान दैलेखबाट पठाउने क्रममा उनी अर्घाखाँचीको मथुरामा आउनासाथ बिमारी परिन् र मथुराको चौपारीमै छोरा जन्माइन् । एक रात उक्त चौपारीमा बास बसेपछि अर्को दिन नवजात छोरालाई लिएर जिल्लाकै बल्कोट चौपारीमा बसी विधिपूर्वक न्वारान सम्पन्न गरी आफ्नो छोरा अर्थात् जंगबहादुर राणालाई लिई रिडी हुँदै डुङ्गा चढेर स्याङ्जा, पोखरा, लमजुङको बेसीशहर हुँदै नेपाल पुगेकी थिइन् । कालान्तरमा जंगबहादुर राणा मुलुकको प्रधानमन्त्री बनेपछि आफ्ना जेठान शहन सिंह कर्नेललाई मथुरामा पठाए र उनको इच्छाअनुसार दश महिना आफूलाई कोखमा राखी जन्म दिने आमाको सम्झनामा नेपालकै एक मात्र बीसखुट्टे दरबारको निर्माण गराए । आमाले बास बसेका स्थानहरू, जस्तै ः बल्कोटमा पौवा, पोखराभन्दा अगाडि दर्शनढुङ्गामा पौवा, लमजुङको बेसीशहर जाँदा ढुङ्गे गुफाभन्दा अगाडि रानीपोखरीमा पौवा निर्माण गराए । सबै पौवाका एउटै डिजाइन भए पनि बीसखुट्टे दरबार भने उनी आफू जन्मिएको स्थान मथुरामा मात्र पाउन सकिन्छ । काभ्रेपलाञ्चोकदेखि पनौती जाने बाटोको चोकमा, काठमाडौंमा र ललितपुरलगायतका स्थानमा उनले पौवा वा दरबार बनाएका भए पनि यो नै नेपालको एक मात्र बीसखुट्टे दरबार भएको कुरा आफ्नो प्रवचनमा योगी नरहरिनाथले समेत उल्लेख गरेको कुरा यहाँ स्मरणीय छ ।
स्थानीय बूढापाकाको भनाइअनुसार सुरुवातमा हालका टन्डनहरू खत्री र जंगबहादुर कुँवर थिए । जंगबहादुरकै पालामा खत्रीलाई टन्डन र कुँवर अर्थात् आफूलाई राणा बनाएको कुरा उल्लेख गरिएको थप प्रमाण प्राप्त भएको छ । राजा रणबहादुर शाहको हत्या गर्ने शेरबहादुर शाहलाई तत्कालै काटेर मार्ने बालनरसिंह कुँवरजस्ता साहसी व्यक्तिका छोरा जंगबहादुर कुस्ती खेल्ने, बन्दुक चलाउने, धनु चलाउने, घोडसवार गर्नेजस्ता कार्यमा सानै उमेरदेखि नै आफ्नो बुबाबाट दक्ष बन्दै गएका थिए । राजा राजेन्द्रविक्रम शाह सिकार खेल्न जाँदा जिउँदो हात्ती पक्रने काम गरेर चर्चामा आएका जंगबहादुर राजा–रानीको प्रियपात्र बन्नका लागि तत्कालीन प्रधानमन्त्री अर्थात् उनैका साख्खै मामा माथवरसिंह थापाको हत्या गरी दरबारको नजिक पुगेको इतिहासमा उल्लेख गरिएको छ । कान्छी महारानी राज्यलक्ष्मीदेवीका प्रमुख सल्लाहकार गगनसिंहको २४ सेप्टेम्बर १८४६ मा रहस्यमय हत्या भएपछि हत्यारा पत्ता नलागुन्जेलसम्म अन्नपानी नखाने निर्णयसहित रानी कोतमा प्रवेश गरी सबै निजामती, फौजी र भारदारलाई बोलाउन लगाएकी र राजा राजेन्द्रले आफ्नी रानीको क्रोध नियन्त्रण नगरी त्यहाँबाट पन्छिएका कारण जंगबहादुरको चलाखीमा प्रमुख भारदारहरूलाई खतम गराएका, अनि उनी शक्तिशाली व्यक्तिका रूपमा प्रमुख पद पाएर महारानी राज्यलक्ष्मीदेवीको विश्वासपात्र बन्न पुगेका थिए भन्ने इतिहास त सबैले बुझेकै छन् ।
संक्षेपमा भन्नुपर्दा मुलुकका शक्तिशाली मानिने भारदारहरूलाई चतु-याइँका साथ समाप्त पार्दै तत्कालीन राजा र सर्वशक्तिमान महारानीको शक्तिसमेत निस्तेज तुल्याइदिएका र आफूलाई ‘श्री ३ महाराज’ घोषणा गराई आफ्नै वंशमा राज्यको शासन व्यवस्था सीमित गराउन सक्ने आँटिला व्यक्तिको जन्म भएको स्थानमा निर्माण गरिएको दरबार भावी पुस्ताका लागि पनि जोगाइराख्नुपर्दछ भन्ने सोचअनुरूप जंगबहादुर राणाले निर्माण गरेको दरबारको यथार्थ जानकारी गराउने चेष्टा गरिएको हो । र, यही कार्यका लागि नेता रायमाझीलाई झकझक्याउने प्रयत्न गर्न खोजिएको पनि हो । राजनीतिक यात्रामा हासिल भएका सफलतालाई जनताका सामु रायमाझीले कसरी प्रस्तुतीकरण गर्दै अगाडि बढ्ने हुन्, यसले नै इतिहासमा उनको स्थान निर्धारण गर्छ । वि.सं. १९३४ मा देहान्त भएका जंगबहादुर राणाद्वारा जन्मस्थलको सम्झनामा निर्माण गरिएको उनको घरमा हाल कोही पनि बस्दैनन् । छरछिमेकले घाँसदाउरा राख्नुको अलावा जीर्ण भित्ता र दयनीय छानाको कारण अब सदाका लागि बीसखुट्टे दरबारको अस्तित्व मेटिने खतरामा रहेको छ । ०८ सालभन्दा अगाडि दरबारनजिकै पानीको पोखरी र थुप्रो जमिन भएको भए पनि हाल पोखरी भेटाउन सकिँदैन र जमिन पनि साँघुरिँदै गएको छ । राजा महेन्द्रले जिल्ला भम्रणको क्रममा यो दरबारमा रात बिताएको स्मरण स्थानीय बूढापाकाहरू गर्दछन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोरुसिङे चोकदेखि करिब ६८ किलोमिटर पक्की सडक र करिब १२ किलोमिटर ग्राभेल सडकको यात्राद्वारा लामपाटी दरबारमा पुग्न सकिन्छ । यो ऐतिहासिक स्थानमा पुग्दा अर्घाखाँची जिल्लामा जनप्रतिनिधिहरू नै नभएका हुन् कि भन्ने दरबार वरपरको दृश्यले सोच्न बाध्य बनाउँछ ।
यस ऐतिहासिक यथार्थको मनन गर्दै अर्घाखाँचीको मथुरामा जंगबहादुर राणा जन्मिएका र बीसखुट्टे लामपाटी दरबार नेपालकै एउटा महत्वपूर्ण निशानी हो भन्ने कुरा प्रचारका साथ यसको संरक्षणमा सरोकारवालाले ध्यान दिने हो भने अर्घाखाँचीलाई मात्र नभएर सिङ्गो मुलुकले नै पर्यटन विस्तार गरी लाभ लिन सकिन्थ्यो कि ? नेपाल सरकारले गाविसलाई दिने बजेटबाट दरबारको भौतिक पूर्वाधार मर्मतसम्भार गर्नेदेखि पर्यटन विकासका लागि लगानी गर्न सक्ने अख्तियारी गाविससँग सुरक्षित हुँदाहँुदै पनि हालसम्म लामपाटी दरबारको मर्मत सम्भारमा गाविस र जिविसबाट चारआना बजेट नछुट्याउनुलाई चरम लापरबाहीकै एउटा उदाहरणका रूपमा अथ्र्याउन सकिन्छ ।
अन्त्यमा, जिल्लामा विभिन्न पार्टीको झन्डा बोक्ने नेताहरू त धेरै छन् । यस हिसाबमा गाउँठाउँ बनाउने जिम्मेवारी सबैको नै हो । तर, क्षेत्रबाट प्रतिनिधित्व गरेको नाताले टोपबहादुर रायमाझीको विशेष दायित्वमा बीसखुट्टे दरबारको संरक्षण र यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने जिम्मेवारी पर्न आएको छ भन्नु अन्यथा ठहरिन सक्दैन । लामो राजनीतिक जीवन बिताएका रायमाझी आफूले जानकारी पाएसम्मका उपयुक्त कुरामा लगानी भित्याउन रुचाउने व्यक्तित्वका रूपमा पनि चिनिन्छन् । ४० वर्षयताको इतिहासमा सबैभन्दा ठूलो बजेट जिल्लामा ल्याएका भन्ने चर्चासमेत उनकै नाममा हुन थालेको परिवेशमा लामपाटी दरबारजस्ता महत्वपूर्ण इतिहास बोकेका स्थानहरू ओझेलमा राखिनु कतै रायमाझीलाई नै असफल बनाउने चाल उनैका सहयात्रीहरूबाटै चलिएको त छैन भन्ने आशङ्का पनि कतिपयले व्यक्त गर्न थालेका छन् । राजनीतिमै आफ्नो जीवन समर्पण गर्न लागेका रायमाझीले अब सोच्नैपर्छ र इतिहासलाई मनन गरी समयअनुसार चल्न सक्नुपर्दछ । आफ्नो राजनीतिक भविष्य र इतिहासमै नाम सुरक्षित गर्नका लागि पनि बीसखुट्टे लामपाटी दरबारको मर्मत–सम्भार एवम् प्रचारप्रसार कार्य उनका लागि एउटा सशक्त माध्यम बन्न सक्छ ।