फोनबाट फकाएपछि सुमिना हायहाय !!-राजन घिमिरे

फोनबाट फकाएपछि सुमिना हायहाय !!-राजन घिमिरे


सुमिना घिमिरे यतिबेला विशेष चर्चामा छिन् । उनको क्षमता, कार्यदक्षता र उपस्थिति हेर्दा बढी नै चर्चामा आइरहेकी छिन् उनी । एउटा पनि सिनेमा रिलिज नभईकन फटाफट एकपछि अर्को सिनेमा हात पार्नु सुमिनाका लागि अहिलेलाई रामै्र देखिए तापनि उनको क्यारियरमा भने दीर्घकालीन असर पर्ने देखिन्छ ।
त्यसो त, निर्माता-निर्देशकहरूले सुमिनामा त्यस्तो के देखेका छन् खै ? फटाफट आफ्नो सिनेमामा लिइरहेका छन् । यसमा कमजोरी उनीहरूकै देखिन्छ, जब कि सुमिनाले अभिनय गरेको एउटा सिनेमा नराम्रो भइदियो भने त्यसको असर अन्य सिनेमाहरूमा पनि पर्ने निश्चित छ । एकपटक नायक अर्जुन कार्कीको क्यारियरमा पनि यस्तै भएको थियो । एउटा पनि सिनेमा रिलिज नभईकन अर्जुनले एकपछि अर्को गरेर १९ वटा सिनेमा हात पारेका थिए । तर, पछि उनको कुनै पनि सिनेमा चलेनन् र आज अर्जुनलाई सिनेमाकर्मीहरूले खोज्नुपर्ने अवस्था आएको छ । गुमनाम छन् अर्जुन ।
सुमिनाको पनि यही हालत नहोला भन्न सकिन्न । ‘फलानोले लिएछ हामी पनि लिउँm न’ भनेर सिनेमामा नातावाद र कृपावादलाई प्राथमिकता दिने सिनेकर्मीहरूको बाहुल्यकै कारण सङ्ख्या मात्र बढाउने उद्देश्य बोकेका सुमिना जस्ता कलाकारहरूको हावी भइरहेको छ अहिले । कलाकारिता क्षेत्रमा योगदान, निरन्तरता अनि त्यागको कुरा गर्ने हो भने त जिरो प्वाइन्ट पनि पाउँदिनन् सुमिनाले । तर, उनमा के जादु छ अनि उनले के जादु छरिन् र उनलाई आफ्नो सिनेमामा लिन सिनेकर्मीहरू आतुर देखिन्छन् ? कुरा बुझिसक्नु छैन ।
भूमिका फिट होस् या नहोस्- सिनेकर्मीहरूलाई खासै मतलब छैन । उनीहरू कुनै नायिकाले यसो जिस्किएर मायाले फोन गरिदियो भने उनीहरूको निम्ति त्यो हिरोइन ‘वाहवाही’ हुन्छिन् अनि ‘फलानी त गजवकै रहिछिन् नि’ भनेर प्रचारप्रसार सुरु गर्न थाल्छन् । सुमिनाको हकमा पनि यस्तै भएको कुरा निर्माताहरू बताउँछन् । परिचय भएको होस् या नहोस् सुमिना निर्मातालाई फोन गरिहाल्छिन् र भन्छिन्, ‘खै ! हाम्रो त वास्तै छैन । यसो हामीलाई पनि अवसर दिनुपर्‍यो नि ।’ हिरोइनको यस्तो भाषा सुनेपछि के चाहियो र ! सर्वस्व नै पाएजस्तो गरी ‘सुमिना हायहाय…’ भन्न थालिहाल्छन् निर्माताहरू ।
त्यसो त यात्रा लामो समय र टाढासम्म तय गर्नु छ भने यो कुरामा नायिका स्वयम् सुमिना घिमिरेले पनि मनन गर्नुपर्ने अवस्था छ । आज पायो भन्दैमा निर्देशक, ब्यानर अनि भूमिका नै नहेरीकन फटाफट सिनेमा खेल्दा आज जसरी सिनेमाको सङ्ख्या बढेको छ त्यसैगरी भोलि फ्लप सिनेमाको सङ्ख्या नबढ्ला भन्न सकिन्न । यसै कारणले पनि सुमिनाजी अहिले असार-साउन भेल भएर देखा नपर्दा राम्रो होला किनकि यो भेल चाँडै सुकिहाल्छ । यो हाम्रो सुझाव हो । मँन्ने या नमान्ने तपाईंको जिम्मा ।

शुभेच्छाको शुभ चिताउँदा…
गत अङ्कमा घटना र विचारको फन टाइन स्तम्भमा शुभेच्छा थापाको बारेमा लेखिएको थियो- बुढेसकाल हुने बेलामा नाङ्गैभुतुङ्गै । यो पढेपछि शुभेच्छाको साँच्चै चित्त दुखेछ । ‘मेरोबारेमा त्यस्तो लेख्न नहुने । मेरो चित्त दुखेको छ,’ आफ्ना सहकर्मीहरूसमक्ष उनले यस्तै भनिछिन् । अनि उनलाई सुझाब दिएछन् सहकर्मीहरूले, ‘एकपटक कुरा गरे हुन्छ नि के भो र ।’ तर शुभेच्छाले कुरा गर्ने आँट गरिनन्, बरु उनी भन्दै हिँड्न थालिछिन्, ‘म आफ्नै नामले चिनिन चाहन्छु । कसैकी भाउजू वा देउरानीको नाताले चिनिन चाहन्नँ । म आफैं सङ्घर्ष गरेर अगाडि बढेकी छु ।’
बताइएअनुसार नायिका झरना थापाकी देउरानी हुन शुभेच्छा भन्ने अंशप्रति उनको ‘कमेन्ट’ रहेछ । त्यसो त उनी आफ्नै नामले चिनिन चाहे तापनि अन्तत: नाता जोड्दा त शुभेच्छा झरना थापाकी देउरानी नै हुन् नि ! यो पारिवारिक नाता त कसरी मेटिन्छ र ? होइन र शुभेच्छाजी । तपाईं र झरना थापाबीचको सम्बन्ध जे- जस्तो रहे तापनि मिडियाकै कारण तपाईंहरू दुईबीचको सम्बन्ध त अब दर्शकहरूलाई पनि थाहा भइसक्यो । त्यसैले वास्तविकता वा भएको कुरा आउँदा चित्त नदुखाएको भए राम्रो हुन्थ्यो कि ? हामीले त भएको कुरा मात्र लेखेका हौँ । त्यति चर्चित नायिकाको देउरानी भनेर लेख्दा त तपाईं खुसी हुनुपर्ने होइन र ? हामीलाई त त्यस्तै लाग्छ । अब तपाईंलाई कस्तो लाग्छ खै –

लिथुवानियाली चलचित्र काठमाडौंमा
लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रामेश्वर सापकोटाले एउटा उल्लेखनीय कार्य गरेका छन् । नेपालको कला संस्कृति एवम् चलचित्रलाई लिथुवानियामा लगेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सापकोटाको पहलमा काठमाडौंमा नेपाल लिथुवानिया चलचित्र महोत्सव हुने भएको छ । महोत्सव वैशाख ३०, ३१ र जेठ १ गते काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजना हुँदै छ ।
नेपालका लागि लिथुवानियाका वाणिज्यदूतसमेत रहेका रामेश्वर यस्तो महोत्सवले दुई देशबीचको संस्कृति आदान-प्रदान गर्ने मामिलामा सहयोगी हुने कुरा बताउँछन् । ‘नेपालमा उताको चलचित्रको महोत्सव गरेजस्तै उता हामी नेपालको चलचित्रको महोत्सव पनि गर्ने छौँ । यो सुरुवात हो, अब एकसाथ अगाडि बढ्दै छौँ,’ सापकोटाको भनाइ छ ।
महोत्सवमा लिथुवानिया र नेपालका पाँच-पाँचवटा चलचित्र छानिने छन् भने त्यसमध्येबाट उत्कृष्ट एक नेपाली कलाकारलाई उताको चलचित्र र उताको एक कलाकारलाई यताको चलचित्रमा अवसरसमेत दिइने भएको छ । ‘जनताको आयस्रोत र विकासका हरेक पक्षबाट लिथुवानिया अगाडि छ । हामीले त्यहाँको चलचित्रको छायाङ्कन नेपालमा ल्याएर गराउन सक्यौँ भने पनि धेरै फाइदा हुन्छ,’ नेपालका लागि लिथुवानियाका वाणिज्यदूत रामेश्वर सापकोटाको भनाइ छ ।
चलचित्र निर्देशक विमल पौडेल यो महोत्सवका संयोजक हुन् । उनका अनुसार महोत्सवप्रति जनचासो बढेकोमा महोत्सव सफल हुनेछ भने दुई देशबीच भाइचाराको सम्बन्धलाई पनि विस्तार गर्नेछ ।

सञ्चारमन्त्रीसँग गुनासो
आफूलाई भेट्न आएका चलचित्रकर्मीहरूसमक्ष सञ्चारमन्त्री अग्नि सापकोटाले पहिले नै भदिदिए, ‘चलचित्र तपाईंहरूको क्षेत्र हो । यसबारे म अनविज्ञ छु । यो मामिलामा हामी एकसाथ अगाडि बढ्नुपर्छ ।’
सञ्चारमन्त्रीको यो प्रतिक्रिया आएपछि चलचित्रकर्मीहरू निकै हौसिए अनि उनीहरूले कुरा राखे, ‘नेपाली चलचित्रकर्मी अनि चलचित्रहरूलाई विदेशी चलचित्रहरूले मारिरहेका छन् । सरकारी नीति पनि पारदर्शी र स्पष्ट नभइदिँदा अन्योलमा छ नेपाली चलचित्र ।’
चलचित्र विकास बोर्ड स्वायत्त नहुँदा निकै गाह्रो भएको गुनासो पोख्दै चलचित्रकर्मीहरूले सञ्चार मन्त्रालयभित्रैबाटै अन्योलमा पार्ने अनि गुमराहमा राख्ने काम भएको र त्यस्तालाई चिन्नुपर्ने कुरातर्फ जोड दिएका थिए ।
युवराज लामा, गणेश भण्डारी, चेतन सापकोटा, शिवजी लामिछाने, विमल पौडेल, मौसमी मल्ल र दीपक श्रेष्ठलगायतले सञ्चारमन्त्री अग्नि सापकोटासमक्ष गुनासो पोख्दा मन्त्री सापकोटाले यो पक्षमा आफू सकारात्मक भएको बताउनुभएको थियो ।
निकै सहज र फरासिलो व्यवहारमा प्रस्तुत भएका सञ्चारमन्त्री सापकोटाको व्यवहारबाट चलचित्रकर्मीहरू निकै आशावादी देखिएका थिए भने उनीहरू भन्दै थिए, ‘सुनुवाइ होलाजस्तो छ ।’