फस्न खोजेका थियौँ, उम्कियौँ– मोहन वैद्य

फस्न खोजेका थियौँ, उम्कियौँ– मोहन वैद्य


Mohan_Baidya० अध्यक्षज्यू, तपाईंहरू त पोलिटिकल सिनारियोबाट हराएजस्तो हुनुभयो नि, के गर्दै हुनुहुन्छ ?
– हामी आफ्नो काम गरिरहेका छौँ । अनावश्यक रूपमा कहीँ देखिनुपरेको पनि छैन हामीलाई । जहाँसम्म राजनीतिक परिदृश्यमा नदेखिएको सवाल हो, हामीलाई त्यस्तो लाग्दैन, कसैले त्यस्तो ठान्छ भने हाम्रो भन्नु पनि केही छैन ।
० सुशील कोइराला प्रधानमन्त्री बन्नुभएपछि तपाईंको कुराकानी भयो ?
– एकपटक फोन गरेको थिएँ, खै ! उहाँको पीएमार्फत सम्पर्क हुन सकेन । कुराकानी भएको छैन ।
० तपाईंको नजरमा सुशील कोइराला कस्तो व्यक्ति हो ?
– व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँ पार्टीमा रहेर दुःखकष्ट गरेको असल व्यक्ति हो । तर, पार्टीगत रूपमा हेर्दाचाहिँ नेपाली काङ्ग्रेसले परिवर्तनको पक्षमा काम गर्लाजस्तो लाग्दैन । त्यसैले राम्रो भन्न सकिने आधार भएन ।
० काङ्ग्रेसले परिवर्तनको पक्षमा काम गर्दैन भन्ने तपाईंहरूको पूर्वाग्रह हो कि यथार्थ ?
– यो यथार्थ जगजाहेर नै छ नि, हामीले आरोप लगाएर मात्रै कोही परिवर्तनको विपक्षमा हुने हो र ? पञ्चायती कालमा काङ्ग्रेसले संसदीय व्यवस्थाको पक्षमा आवाज उठाएकोलाई नै परिवर्तनकामी भनेर प्रशंसा गरिरहन त मिलेन नि । अहिले बाध्यतावश गणतन्त्रको पक्षमा आएको देखिएको छ, योचाहिँ सकारात्मक कुरा हो ।
० लोकतान्त्रिक गणतन्त्र स्थापनामा काङ्ग्रेसको भूमिका छैन र ?
– यो त दश वर्षको जनयुद्धले सम्भव भएको हो । अन्य पक्षहरू सहायक कारक मात्रै हुन् ।
० नेपाली काङ्ग्रेसले नचाहेको भए सम्भव थियो त गणतन्त्र ?
– सम्भव थियो या थिएन भनी दाबी गर्न फर्किएर गणतन्त्रभन्दा अघिकै अवस्थामा पुग्नुपर्ने हुन्छ, जो सम्भव छैन । तर, यसमा काङ्ग्रेसको भूमिका पनि सकारात्मक नै रह्यो भन्न हामीलाई कुनै आपत्ति छैन ।
० काङ्ग्रेस तथा प्रधानमन्त्री कोइरालासँग मिलेर जाने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न तपाईंहरू ?
– उहाँहरूले गराएको चुनाव नै बहिष्कार ग-यौँ हामीले । हामीले उठाएका माग तथा प्रस्तावहरूको उपेक्षा गरेर उहाँ आफ्नै तालले अघि बढ्न खोज्दै हुनुहुन्छ र यो संविधानसभाबाट कुनै अपेक्षा हामीले गरेका छैनौँ, बरु यसका विरुद्ध कटिबद्ध छौँ भने उल्टो धारको प्रतिनिधित्व गरिरहेको पार्टी वा व्यक्तिसँग कसरी मिलेर जान सकिन्छ र ?
० तपाईंहरू पनि यस संविधानसभामा समाहित हुनुपर्छ भनिरहेका छन् नेपाली जनता, २६ जनाको कोटाबाट संविधानसभामा गए हुँदैन ?
– यस्तो असम्भव कुरा किन सोधिरहेको ? मौजुदा परिवेशमा कुनै हालतमा पनि यो संविधानसभामा जाँदैनौँ । २६ होइन ६०१ सिट नै दिए पनि यो निरर्थक छ ।
० सरकारले तपाईंलाई मनोनीत ग-यो भने के गर्नुहुन्छ ?
– सरकारले मलाई मनोनीत पनि गर्दैन र गरे पनि म जाने कुरा आउँदैन । म व्यक्ति होइन, पार्टी हो । त्यसरी मलाई या हाम्रा कुनै पनि साथीलाई मनोनीत गर्न खोज्नु र २६ जनाको कोटा दिने कुरा गर्नु भनेको हामीलाई अपमानित तुल्याउनु हो भन्ने हाम्रो बुझाइ छ ।
० देशमा संविधान निर्माण गर्न तपाईंको घोर आवश्यकता परेको छ, थाहा छ तपाईंलाई ?
– आवश्यकता प-यो नि किन नपर्नु ? जनयुद्धकै लागि आवश्यकता प-यो, जनताको जनतन्त्र ल्याउनकै लागि हाम्रो आवश्यकता प-यो । प-यो नि आवश्यकता त ! तर, यस्तो सहमति लत्याएर गरिएको संविधानसभामा त हाम्रो आवश्यकता पर्ने कुरै भएन नि । यदि उच्चस्तरीय प्रकारको सर्वपक्षीय राजनीतिक सभाको आयोजना गरी सहमति खोज्ने विश्वसनीय पहलकदमी लिइन्छ भने राजनीतिक समस्याको निकासका लागि हामी त्यहाँ बहस या छलफल गर्न तयार हुन्छौँ । यो संविधानसभाबाट त कुनै हालतमा निकास ननिस्कने भएकाले हाम्रो सहयोगको दरकार नै भएन । यो संविधानसभाले जनताको संविधान बनाउने कल्पना गर्नै सकिन्न ।
० तपाईंहरूले कल्पना नगरेको काम काङ्ग्रेस–एमालेले साकार गरेर देखाइदिए भने नि ?
– राजनीतिमा सबै कुरा त्यत्तिकै हचुवाको भरमा बोलिँदैन । पात्र र प्रवृत्तिले पनि धेरै कुरा बताइरहेको हुन्छ । काङ्ग्रेस–एमालेले जनताले चाहेकोजस्तो संविधान बनाएर देखाउँछ भन्नु दूधको साक्षी बिरालो बस्छ भनेजस्तै मात्र हो ।
० लोकतान्त्रिक संविधान बनाएर एक वर्षमै देखाउने वाचा गरेको सुन्नुभएको छैन ?
– लोकतन्त्रको पनि आ–आफ्नै परिभाषा छ, उनीहरूले जनताको लोकतन्त्रमा आधारित संविधान बनाउँछन् भनी विश्वास गर्ने आधार नै छैन । उनीहरूले संसद्वादी व्यवस्थामा आधारित संविधान बनाउने होलान्, त्यो हामी मान्दैनौँ । संसदीय व्यवस्थाविरुद्ध हामी सङ्घर्ष गर्दै आएका छौँ भन्ने उनीहरूले अझै बुझेका छैनन् ?
० तपाईंहरू पनि त संसदीय व्यवस्थामा फस्नै लाग्नुभएको होइन र ?
– कसैको विश्वासमा अघि बढ्दा फस्न खोजेका थियौँ तर उम्कियौँ ।
० जनतन्त्रको कुरा गर्नुहुन्छ, आजका जनताले साथ दिन्छन् र भनेको ?
– किन दिँदैनन् ? नेपाली जनताले खोजेकै त्यही हुन्, किन साथ दिँदैनन् ? हामी ढुक्क छौँ ।
० जनमत त काङ्ग्रेस–एमालेकै पक्षमा देखिएको छ नि ?
– अस्तिको चुनावी नौटङ्की हेरेर यसो भनिएको होला, तर यो बुझाइ निरर्थक हो । यथार्थ यो हुँदै होइन । समयले यो सिद्ध गरेर देखाइदिनेछ । हामीलाई चुनावमा जान नदिने ठूलो प्रपञ्च गरियो, नत्र कसको पक्षमा कति जनता छन् भनेर नेपाली जनताले देखाइदिने थिए ।
० त्यो चुनाव बहिष्कार गरेर गल्ती ग-यौँ भन्ने लाग्दैन तपाईंलाई ?
– एकदम लाग्दैन । यति सही काम गरियो कि नगरेको भए ठूलो गल्ती हुन्थ्यो । देखिनेछ कि यो संविधानसभाले जनताको संविधान बनाउन सक्दैन, अनि कुन बाटो मोडिएर परिस्थिति कहाँ पुग्नेछ, धैर्यसाथ समय कुर्नुपर्छ । हामीले त जे ग-यौँ र गरिरहेका छौँ, अत्यन्त सही गरिरहेका छौँ ।
० अब बन्ने संविधानमा तपाईंहरूको सहभागिता हुने अवस्था सिर्जना गर्न राज्य र दलहरूले के लेखिदिनुपर्ला त ?
– कसैको निगाहमा हामीलाई केही चाहिएन । यी दलहरूले जनताको पक्षमा काम गर्ने पनि होइनन् । यदि समस्या समाधान गर्ने र जनताको संविधान बनाउने नै हो भने त उनीहरूले बनाउँछौँ भनी दाबी गरिरहेको संविधान लेखिनुअघि नै सर्वपक्षीय राजनीतिक सभाको आह्वान गरिनुपर्छ त हामीले भनिरहेकै छौँ नि ।
० सर्वपक्षीयमा को–को रहनुपर्ने तपाईंहरूको माग हो ?
– सर्वपक्षीय भनेपछि सर्वपक्षीय नै हुने भयो नि । सबै राजनीतिक दलहरू र अरू शक्तिहरू पनि छन् भने ती पनि, ताकि पछि फेरि कसैले आफ्नो अधिकारका लागि राज्यसँग गुनासो गर्नु नपरोस् । पटक–पटक देश आन्दोलित हुनु नपरोस् ।
० राजा पनि त्यसमा अटाउँछन् ?
– यदि त्यो पक्षसँग पनि शक्ति र जायज कुनै तर्क बाँकी रहेको कसैलाई लाग्छ भने छलफल प्रक्रियामा सहभागी गराउँदा आपत्ति गर्नुपर्ने केही छैन ।
० तपाईंहरू सँगै लडेका साथीहरू अर्थात् एनेकपा माओवादी त छ नि संविधानसभामा, तिनले पनि बनाउँदैनन् जनताको संविधान ?
– बनाउने भए त्यसरी काङ्ग्रेस–एमालेको पुच्छर बनेर त्यहाँ जान्थे ? तिनबाट त झन् बन्दै बन्दैन । तिनको कुनै अर्थ छैन । तिनको के मूल्य छ ? दुईतिहाइ त काङ्ग्रेस–एमालेले नै जुटाएको दाबी गरिरहेको छ भने ती पछुवाको कुनै काम छैन । जनताको लागि लडेको र लडिरहने माओवादी शक्ति त हामी हौँ, जो बाहिरै छौँ । तिनले के गर्ने ?
० मूल माओवादी शक्ति त प्रचण्डकै नेतृत्वको भन्छन् नि विश्लेषकहरू ?
– विचलनकारीलाई कसैले मूल माओवादी भन्छ भने तिनको दृष्टिदोष हो । यसमा हामीलाई धेरै तर्क गरिरहनु पनि छैन । कसी लाउँदा कुन सुन हो र कुन होइन भन्ने छुट्टिइहाल्छ भने हामीले किन टाउको दुखाइरहनु ? उनीहरू ‘माओवादी’ नै हुन् भने पनि विभाजित भएको अवस्थामा उनीहरू त्यहाँ (संविधानसभा) भित्र मूल्यहीन अवस्थामा छन् । वास्तविक रूपमा जनताको संविधान बनाउने शक्ति बाहिर पारिएपछि तिनको कुनै अर्थ छैन ।
० तपाईंहरूलाई बाहिर पारिएको कि तपाईंहरू आफैँ बाहिर बसेको ?
– सहमतिबेगर मनोमानी गर्न थाल्दा प्रतिवाद ग-यौँ, त्यसको सुनुवाइ गरिएन, सहमति खोजिएन, अनि हामी बाहिर बस्यौँ । पारेको हो कि बसेको हो अब आफैँ छुट्याए हुन्छ । सबैको सहमतिबाट अघि बढ्ने भनी अन्तरिम संविधानमा लेख्ने अनि चारदलीय सिन्डिकेट बसेर जे मन लाग्यो त्यही गर्दै हिँड्ने भएपछि लोकतन्त्र कहाँ रह्यो ?
० तपाईं हालै युरोप पुगेर आउनुभयो, त्यहाँको विकास देख्नुभयो होला, अब नेपाललाई विकासको दिशामा लगेर त्यस्तै बनाउने कि सङ्घर्ष र आन्दोलनको कुरा गर्दै यत्तिकै रुमल्लिइरहने ?
– युरोपको विकास पनि आन्दोलन गरेरै भएको हो । आन्दोलन र राजनीतिक क्रान्ति नगरी, त्यो क्रान्ति सफल नभई कसरी सुरु हुन्छ विकास–निर्माण प्रक्रिया र कसरी हुन्छ देश विकास ?
० देशमा क्रान्ति त धेरैपटक भए नि, अब पुगेन र ?
– असफल क्रान्ति धेरै भए, सफल क्रान्तिको खाँचो छ । त्यसपछि मात्र विकास–निर्माणमा स्वतः लम्किन्छ देश ।