फेरि अर्को रमिता

फेरि अर्को रमिता


nisedhपहिलो संविधानसभा असफल भएपछि मानिसमा छाएको निराशालाई दोस्रो संविधानसभाको चुनावले अलिकति उत्साह दिएको थियो । सुरुमा बडो तामझामका साथ भित्रिएको संविधानसभाको अवधारणा अभ्यास गर्दै जाँदा बद्नामीतर्फ धकेलिँदै गएपछि सर्वसाधारणमा ‘संविधानसभा भनेको त यस्तै त हो नि’ भन्ने छाप परिसकेको अवस्थामा पनि दोस्रो निर्वाचनमा आशावादी भएर जनताले मत खसाएका थिए । विगतको पाठले नेताले अब राम्रो गर्छन् भन्ने लागेकै कारण दोस्रो निर्वाचनमा मत हाल्न सर्वसाधारण लाम लागेका हुन् । विगतमा अनेक बहानाबाजी गरेर मुलुकसँग खेल्न चाहनेहरूलाई पाखा लगाएर पुनः काङ्ग्रेस–एमालेलाई भारी मत दिनुको कारण पनि यी शक्तिले मुलुकलाई सहज रूपमा अगाडि बढाउन र संविधान बनाउन भनेरै हो । संविधानका नाममा यो मुलुकले धेरै समय गुजारिसकेको छ । सबै एकजुट भए केही दिनमै तयार हुने र राम्रो समझदारीका साथ असल नियतले त्यसको प्रयोग भए युगौँयुग त्यसैले काम चल्ने दस्तावेजका नाममा यहाँ धेरै कुरा भएका छन् । संविधान बनाउनु मात्र नभएर त्यसको प्रयोगचाहिँ ठूलो कुरा हो तर यहाँ त बनाउन नै वर्षौं लगाएर संविधानका नाममा मुलुकमा गर्नैपर्ने अन्य धेरै काम छायामा पारिएको छ । त्यति मात्र होइन, विगतको अनुभवले नेताहरूले अब त जनमतको कदर गर्लान् भन्ने ठानिएकोमा पद बाँडफाँडमै अल्झिएर पुनः रमिता देखाउन थालिएको छ । संविधानसभाको मर्मलाई नै मर्माहत बनाउने गरी विगतमा यसको धज्जी उडाइयो । चुनावपछि कसले के पद लिने भनेर हारालुछ मात्र गरिएन प्रधानमन्त्रीको निर्वाचन नै दर्जनौँपटक गरियो । संसद्लाई अविश्वसनीय बनाउन र संविधानसभाबाट अरू जे–जे भए पनि संविधानचाहिँ बन्दैन है भन्ने सन्देश दिन विगतमै गर्नुपर्नेजति सबै प्रयासहरू भइसकेका छन् । यो पृष्ठभूमिमा यसपटकचाहिँ नेताहरूबाट यी सब कामहरू हुने छैनन् भन्ने अपेक्षा गरिएकोमा फेरि त्यही क्रम सुरु भएको छ । र, एउटा सरकार बनाउन त यति लफडा गर्नेले संविधान के बनाउलान् भन्ने सन्देश सर्वसाधारणमा पुगेको मात्र छैन, उनीहरूलाई आफ्नो भोटप्रति दया लाग्ने अवस्था सिर्जना हुँदै गएको छ ।
‘एउटा गृहमन्त्रीका लागि यस्तो लुछाचुँडी गर्नेले मुलुकलाई संविधान दिँदैनन्’ केही दिनअघि कैलालीको कर्णाली चिसापानी हाइवेमा चिया खाँदै मानिसहरू कुरा गरिरहेका थिए । सर्वसाधारणले ठान्ने त्यही ‘जाबो गृहमन्त्री’का लागि यहाँ धेरै समय बित्यो । त्यो समय गृहमन्त्रीका लागि नभएर शक्ति हत्याउनका लागि बितेको हो । मुलुकको राष्ट्रिय सुरक्षामा तलमाथि होला कि भनेर नभई स्रोतमाथिको नियन्त्रणका लागि गरिएको थियो । शक्ति र स्रोतको लुछाचुँडीमा कपाल फुलेर सेता भइसके, आफ्ना कतिपय समकालीनहरूले यो संसार छोडेर गइसके तर हाम्रा नेताहरू अझै यसप्रकारको व्यक्तिगत, गुटगत र पार्टीगत उपलब्धिको मोहबाट टाढा हुन सकेका छैनन् । वामदेव गृहमन्त्री हुन् कि प्रकाशमान या अन्य कुनै कुमार वा बहादुरहरू सर्वसाधारणलाई यो विषयमा कुनै रुचि छैन । मुलुक सहज ढङ्गले अघि बढ्ने, संविधान बन्ने र शान्तिपूर्ण तवरले आफ्नो दुःखसुख गरेर खान पाउने आशामा हिजो लामबद्ध भएर भोट हाल्नेहरूका लागि मुलुकको चिन्ता छ नेताको होइन । कसले कुन पद पायो, पाउँदै छ या पाउनेवाला छ भन्ने कुरासँग कुनै सरोकार छैन । कम्तीमा आफूहरूले अब मुलुकको चिन्ता गर्नु नपरोस्, भावी सन्ततिले यस्तो ठाउँमा के गर्लान् भनेर सोच्नु नपरोस्, बाहिरका मानिसले मुलुकलाई लिएर हाँसो ठट्टा नगरून् या सहानुभूतिको दृष्टि मात्रै नफालून् भनेरै सर्वसाधारणले आफ्नो नेता चुनेर पठाएका हुन् । तर, अब फेरि आफूहरूले छानेका नेताले केही नगर्ने भए पहिलाकै रूप देखाउने भए भन्ने चिन्ताले उनीहरूलाई पछ्याउन थालेको छ र बिहानको तातो चियादेखि बेलुकाको चिसो चियासम्ममा ‘एउटा पदमा हारालुछ गर्नेले मुलुकका लागि के गर्छन्’ भन्ने कुराकानीले निरन्तरता पाउन थालेका छन् । चुनावको परिणामले दिएको खुशी विस्तारै–विस्तारै निराशामा परिणत हुँदै छ । जस–जसले, जहाँ, जुनसुकै रूपमा कुराकानी गर्ने गरेका भए पनि सर्वसाधारण जनताको शङ्का र प्रश्न एउटै छ, सरकार बनाउन त यसो गर्नेले संविधान के बनाउलान् ?
संविधान बनाउन सहज होस् भन्नका लागि साझा सहमतिमा सरकार बनाउन खोज्ने तर त्यही सरकारचाहिँ बनाउन नसक्ने अचम्मको अभ्यासबाट यो संविधानसभाको सुरुवात भएको छ । सबैलाई शक्ति चाहिएको छ, स्रोतमा पहुँच मात्र भएर पुगेको छैन, नियन्त्रण चाहिएको छ । जनताले काङ्ग्रेस र एमालेलाई दुई ठूला शक्तिका रूपमा पुनः उभ्याउनुको कारण गृहमन्त्री या अन्य कुनै राम्रो स्रोत भएको मन्त्रालयका नाममा हारालुछ गरून् भनेर होइन । दुई दल मिलेर मुलुकलाई निकास दिऊन् भनेर हो । मधेसी र माओवादीको गठबन्धनले उनीहरूले आफूलाई पुग्ने कमाइसके अब तिमीहरू कमाओ, गरिखाओ भनेर होइन । जनमतको सम्मान गर्ने हो भने पदको कुरामा हुने विवाद त बाहिर पनि ल्याउन नमिल्ने प्रकारले गरिनुपर्छ । देश कहाँबाट कहाँ पुगिसक्यो । बेराजगारीले युवाहरू मुलुकमा बस्न सक्ने अवस्था छैन । शैक्षिक बेरोजगारी दिन प्रतिदिन बढ्दो छ । उद्योग–व्यवसाय धराशायी हुँदाहुँदा यो अवस्थामा छ । लोडसेडिङले बिजुलीको उज्यालो कस्तो हुन्थ्यो भनेर मान्छेले बिर्सने बेला भइसक्यो । समस्यामाथि समस्या भएको एउटा सानो गरिब मुलुकको गृहमन्त्री त के प्रधानमन्त्री, राष्ट्रपति नै भए पनि के हुन्छ र ? अलिकति मात्रै फराकिलो भएर सोच्ने हो भने जबसम्म मुलुक बन्दैन यहाँ व्यक्ति या कुनै दल बनेर हुनेवाला केही पनि छैन । हामीकहाँ आफ्नो जीवनयापनको सहजतालाई ध्यानमा राखेर काम हुने हुँदा यी सब कुराहरू भएका हुन्, तर अलिकति मात्रै मुलुकप्रति इमानदार नेतृत्व हुने हो भने उसले आफ्नो दलको एउटा निश्चित नेता होइन मुलुक बनाउनका लागि काम गर्छ । हाम्रो पार्टीकै कुनै अमूक पदमा हुनुपर्छ भनेर अडान लिनुभन्दा पनि सामूहिक रूपमा के गर्दा राम्रो हुन्छ भनेर हेर्छ, सोच्छ र सोहीअनुरूपले विचारहरू सार्वजनिक गर्छ । जब बिहानका अखबारमा ‘गृहमन्त्री फलानोजी नै हुनुपर्छ’ भनेर कुनै नेताको विचार छापिन्छ । मुलुकप्रति अलिकति पनि इमानदार जोकोही नागरिक हाँस्छ । हरे यस्ता नेताले यो मुलुकका बारेमा के सोच्लान् भनेर ऊप्रति दया गर्छ । जबसम्म अन्तर्राष्ट्रिय एयरपोर्टहरूमा हाम्रा पासपोर्टहरू निरीह बन्छन् तबसम्म यहाँ कसैले आफूलाई शक्तिशाली नेता ठान्नुको कुनै अर्थ छैन । यो मुलुकमा रमिता धेरै भयो, एउटा गरिब मुलुकको प्रधानमन्त्री हुनुभन्दा धनी मुलुकको सर्वसाधारण नागरिकको हैसियत र सम्मान धेरै हुन्छ त्यसैले नेताज्यूहरू पदको लोलुपताभन्दा कृपया मुलुक बनाउनतिर लाग्नुस् ।