विश्व कायल छ तानाशाही जादुसँग

विश्व कायल छ तानाशाही जादुसँग


bichar– अधिवक्ता दामोदर पौडेल
कम्युनिस्ट देश क्युवाका तानाशाह फिडेल क्यास्ट्रो बिमारी भएपछि सत्ता त छोडे तर अरूलाई बुझाउन चाहेनन्, आफ्नै भाइ राहुल क्यास्ट्रोलाई जिम्मा दिए । चे ग्वेभारा क्युवाका नागरिक थिएनन् तर कम्युनिस्टहरूको अनावश्यक उत्साह र भ्रमको समयमा क्युवामा समेत उनलाई राम्रो पद दिने चर्चा थियो । पछि क्यास्ट्रोकै षड्यन्त्रको कारण उनी मारिएका हुन् भनिन्छ । कम्युनिस्टहरूका लागि यो सामान्य देखिँदै आएको छ कि आफ्नो प्रतिस्पर्धीलाई मारिदिने, ‘प्रतिक्रियावादीले मारे’ भनेर रातो झण्डा ओडाइदिने, मुट्ठी कसेर हात माथि उठाउने र कार्यकर्ताको सेन्टिमेन्ट जित्ने, अनि निरङ्कुश शासन गर्ने । नीरकुमारी बुढाका पति, सुरेश वाग्लेजस्ता धेरै माओवादीलाई माओवादीकै सुराकीको आधारमा मारिएको हो भन्ने आरोप जो लागेको छ, यी घटनामाथि तटस्थ भई छानबिन गरे केही त पुस्टि हुँदो हो नै । तर, गर्ने कसले ?
पुनः क्युवातर्फ फर्कौं । क्युवामा कम्युनिस्टले सत्ता लिँदा फिडेल पहिले देशको प्रमुख बने । त्यतिबेलाको दस्तावेज र त्यससँग सम्बन्धित लेखहरूले देखाउँछन् कि उनले राज्यप्रमुख भएर एक वर्ष मात्र बिताउने ढोंग रचेका थिए । उनी शारीरिक रूपले सक्षम हुँदासम्म सत्तामा बसे र नसकेपछि भाइलाई राष्ट्रपति बनाए । पछि भाइ राहुलले पनि सत्ता छोड्ने कुरा गरे । ती दाजुभाइले सत्ता छोड्नुपर्ने बाध्यता उमेरको कारण असक्षम भएर आइपरेको प्रस्टै छ, तर उनीहरूले सत्ता जनतालाई दिँदैनन्, आफन्तकै पोल्टामा थमाउँछन् । जनता त सत्तामा जाने भ-याङ मात्र हुन्, कम्युनिस्टहरूका लागि ।
विश्वभरका राजनीतिज्ञ उस्तै–उस्तै हुन् भन्ने गरिन्छ । हुन पनि नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले पनि लामो समयसम्म प्रधानमन्त्री बन्न चाहेका थिएनन्, तर पद नै त्यस्तो हुँदोरहेछ कि पछि उनले छोड्नै चाहेनन् भन्ने गरिन्छ । यसको पछाडि उनीमाथि उनका सहयोगी र आफन्तहरूको अनावश्यक दबाबले पनि उनलाई पद नछोड्ने अडानमा पु-याइदियो भन्ने पनि गरिन्छ । कोइरालाको वास्तविकता जे भए पनि आखिर विश्वभरका राजनीतिज्ञहरू उस्तै–उस्तै नै हुन् । क्यास्ट्रो, माओ, स्टालिन, नेहरू, इन्दिरा, किम, गद्दाफी, जियाउल हक, मुसर्रफ आदि धेरै यो कोटिमा आउँछन् । दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टन तथा अर्का राष्ट्रपति अब्राहम लिङ्कनलाई आजीवन राष्ट्रपति बन्न आग्रह गर्दा उनीहरूले अस्वीकार गरेका उदाहरण पनि हामीसमक्ष नभएका होइनन्, तर पदमोहको समुद्रमा उनीहरू थोपाजस्तै हुन् । प्रेरणा दिने नाममा उदाहरण बनाउन र कसैलाई चाहना भए सिक्नका लागि उनीहरूको काम छ, तर उनीहरूलाई देखाएर राजनीतिज्ञको प्रवृत्ति यस्तो हुन्छ भन्नु जनतालाई धोका दिनु मात्र हो । बुद्ध, माक्र्स, बीपीहरू पूर्ण समानता र विकासका पक्षमा थिए भन्दैमा सन्तको खोल ओढेका सबै मानिस या आफूलाई त्यागी भनाउने सबै नेताहरू, अझ खासगरी कम्युनिस्टहरू इमानदार हुन्छन् भन्नु त ‘मेरा पिताजीको लामो दाह्री थियो, त्यसैले उहाँ सदा सत्संगी हुनुहुन्थ्यो’ वा ‘लामो दाह्री पालेर पहेँलो वस्त्र लगाउनेहरू सबै साधु हुन्’ भनी विश्वास गरेजस्तै मात्र हो ।
गिरिजाको सम्बन्धमा केही भनेर माथिका उदाहरणहरूको एउटा पाटोलाई मात्र हेर्न भने सकिन्छ । गिरिजाले पद नछोडेको भन्ने हो भने पनि उनले पार्टीको प्रमुख पद नछोड्दैमा उनी सरकारमा सधैँ रहन त सकेनन् । लोकतन्त्रमा गल्ती गर्ने व्यक्ति र दललाई जनताले चाहेमा सजाय दिन सक्दछन् । टनकपुर सन्धि गिरिजाको ठाउँमा कुनै क्यास्ट्रो वा उनको अवस्थामा पुगेको प्रचण्ड, बाबुराम मार्काका कुनै पनि कम्युनिस्टले गरेको भए ‘महान् नेताले गरेको महान् दूरदर्शीपूर्ण कार्य, अहिले खराबजस्तो देखिए पनि तत्कालको परिणामको आधारमा विश्लेषण गर्नु मूर्खतापूर्ण हुन्छ, यसको विरोध गर्नु राष्ट्रियताविरोधी कार्य हो’ भन्ने तर्क र हौवा चलाउन बाध्य पारिन्थ्यो, अन्य गुञ्जाइस नै रहने थिएन । लोकतन्त्रको मर्म यहीँनेर छ र साह्रै महत्वपूर्ण छ ।
विश्वभरका राजनीतिज्ञ उस्तै हुन् भनेर लोकतन्त्रवादी तथा बहुलवादीहरू राजनीतिज्ञलाई स्वेच्छाचारी हुन नदिन बहुलवाद, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम आदिलाई आत्मसात् गर्दछन् भने तानाशाहहरू विभिन्न निहुँमा आफू सत्तामा रहने दाउ मात्र खेल्दछन् । अपवाद भन्ने कि के भन्ने, अहिले कम्युनिस्ट पार्टीको सर्वसत्तावाद चलेको चीनमा पनि केही ठाउँमा स्वतन्त्र र कम्युनिस्ट विचार मान्ने अन्यलाई समेत चुनावमा उठ्ने अनुमति दिइएको छ । हुन पनि कैयन् चिनियाँले भन्न थालेका छन्– लोकतन्त्रबिना प्रगतिलाई स्थायित्व दिन सकिँदैन । तर, चिनियाँहरूलाई यो विडम्बना पक्कै थाहा छ होला कि कम्युनिस्टले खोक्रो बनाएको राष्ट्रवादले गर्दा उचित सजगता र प्रक्रियाबिना छिटो लोकतन्त्रमा फड्को मार्न मात्र प्रयास गर्दा सोभियत रुसको जस्तो हाल हुन सक्छ । माओहरूले गरेको गल्तीलाई अहिलेका चिनियाँ नेताहरूले एकैचोटमा सुधार्न पनि गाह्रो हुन्छ । त्यसैले उनीहरूले क्रमशः ‘लोकतन्त्र’ पनि भनेका छन् ।
हाम्रो देशमा मौलाएका कम्युनिस्ट साथीहरूलाई भने सबैथोक गर्न ‘विदेश’ले सिकाउनुपर्ने हो जस्तो लाग्छ । माओवादीको सातौँ महाधिवेशन सकिएपछि एकजना माओवादी आफन्तजनले भने, ‘अब हामी पनि क्रमशः बहुदलीय पुँजीवादी व्यवस्थाबाटै नेपाली काङ्ग्रेसले भनेजस्तै लोकतान्त्रिक समाजवादमा आयौँ, अब तपाईंहरू पनि हाम्रो दलमा आउने वातावरण बन्यो ।’ उनले झुक्याउन खोजेका हुन् कि उनको ब्रेनवास भएकाले पहिलादेखि नै विवेकशील बाटोमा लागेको राजनीतिक विचारलाई पछि पछ्याउनेहरूलाई ठीक मानेका हुन् ? वा, काङ्ग्रेसको बाटोलाई माओवादीले अङ्गालेमा पनि ठीक लाग्ने गरी उनको ब्रेनवास भएको बाध्यता हो ? यदि कसैलाई रत्नपार्कबाट भोटाहिटी जानु छ भने घन्टाघरतिर लागेर त्रिचन्द्र कलेजबाट जमल हुँदै जान खोज्छ भने ‘त्यता होइन सीधै पश्चिम लाग्नुपर्छ’ भनी सम्झाउन सकिन्छ, तर उसले ‘म आखिर यताबाट पनि भोटाहिटी नै त पुग्ने हुँ नि भन्न थाल्यो भने कसरी उचित मान्ने ?
राजनीतिज्ञ खराब छन् भने वा अन्यत्र कुनै काम गर्न नसकेर बचेको सजिलो बाटो भन्दै राजनीतिमा कोही लागेका हुन्, लोभले लागेका हुन् वा यो आमचरित्र नै हो वा होइन भने पनि राजनीतिज्ञलाई ठीक बाटोमा ल्याउनु आवश्यक छ । कम्युनिस्ट भएकाले राजनीतिज्ञ ठीक हुने वा काङ्ग्रेस भएकाले ठीक हुने भन्ने हुँदैन । यसका लागि प्रक्रिया बलियो बनाउनुपर्छ । त्यो हो– बहुलवाद, अर्थात् सबै शान्तिपूर्ण राजनीति गर्नेहरूको समान हैसियत वा जनताले दिएको हैसियत र आवधिक निष्पक्ष निर्वाचन । यस्ता कार्यको विकल्प खोज्ने कार्य यो वा त्यो किसिमले जनविरोधी तानाशाही लाद्ने सोच हो र विश्वका कतिपय व्यवहारहरूले यही नै देखाएका पनि छन् ।