महाशिवरात्रि पर्वको आध्यात्मिक महत्व

महाशिवरात्रि पर्वको आध्यात्मिक महत्व


bichar– ब्रह्माकुमार रामसिंह ऐर
पुरातन हिन्दू धर्मावलम्बीहरूको मान्यता छ कि शिव परमात्मामा सिर्जना र संहार गर्ने दुवै क्षमता हुन्छ । साथै यस्तो पनि मान्यता छ कि शिव अशुतोष हुनुहुन्छ अर्थात् छिट्टै र सजिलैसँग प्रसन्न भइहाल्नुहुन्छ । यही भावनाको आधारमा भक्तहरू शिवमाथि जल चढाउने र उहाँको पूजा गर्ने गर्दछन् । तर, प्रश्न उठ्दछ कि जीवनपर्यन्त शिवको पूजा गरेर वा प्रत्येक वर्ष शिवरात्रिमा श्रद्धापूर्वक जागरण व्रत इत्यादि गरेर पनि मानिसका पापकर्म र सन्तापहरू किन मेटिँदैनन् ? मानिसलाई मुक्ति र जीवन मुक्ति किन मिल्दैन ? सुख, शान्तिको राज्य भाग्य किन मिल्दैन ? आखिर शिवलाई खुशी पार्ने कुन त्यस्तो सजिलो विधि छ ? शिवरात्रिको वास्तविक रहस्य के हो ? हामी शिवरात्रिलाई सही अर्थमा कसरी मनाऔँ ? शिवको रात्रिसँग के सम्बन्ध छ ? यी सबै प्रश्नले शिवरात्रिको आध्यात्मिक रहस्यलाई उद्घाटन गर्दछन् ।
शिवरात्रि फागुनको कृष्ण पक्षको अन्तिम रात्रिको एक दिन पहिले मनाइन्छ र परम्पिता परमात्मा शिव भगवान् पशुपतिनाथको अवतरण पनि यस धरामा कलियुगको पूर्णान्तको केही वर्ष पहिले भएको थियो । त्यतिबेला सम्पूर्ण संसारमा अज्ञानको अन्धकार छाएको थियो । त्यसैले शिवको सम्बन्ध रात्रिसँग जोडिदिएको छ र परमात्मा शिवको रात्रिमा पूजा गर्नुलाई ठूलो महत्व दिइएको छ । श्रीनारायण तथा श्री राम आदि देवताको पूजा भने दिनमा हुने गर्दछ किनकि श्री राम र श्री नारायणको जन्म क्रमशः सत्ययुग एवम् त्रेतायुुगमा भएको थियो । मन्दिरमा ती देवतालाई रात्रिको समयमा सुताउने दिनमा जगाउने चलन छ । तर, परमात्मा शिवको पूजाका लागि भने भक्तहरू स्वयम् पनि रात्रिमा जागरण गर्दछन् ।
आज उल्लेखित रहस्यलाई न जनानाका कारण केही आस्थावानहरू शिवलाई तमोगुणका अधिष्ठाता मान्दछन् त्यसैले उहाँको पूजा रात्रिमा हुन्छ भन्ने गर्दछन् । तर, यो मान्यता वास्तवमा सत्य होइन । शिव परमात्मा तमोगुणका अधिष्ठाता न भएर तमोगुणका संहारक हुनुहुन्छ । यदि उहाँ तमोगुणका अधिष्ठाता हुनुहुन्थ्यो भने उहँँलाई शिव कल्याणकारी, पापकटेश्वर, मुक्तेश्वर आदि नामले पुकार्नु नै निरर्थक हुन जान्छ । शिवको कर्तव्य नै आत्माहरूको कल्याण गर्नु हो । अतः कल्पकल्प शिव परमात्माले अवतरित भएर सबैको दुःख पाप हरण गर्नुभएको थियो जसको यादगारमा नै शिवरात्रि पर्व मनाइन्छ ।
महाशिवरात्रिको विषयमा एक मान्यता छ कि यस रात्रिमा परमात्मा शिवले महासंहार गराउनुभएको थियो । अर्को मान्यता छ कि यस रात्रिमा एक्लै परमात्माले अम्बा इत्यादि शक्तिबाट सम्पन्न भएर रचनाको कार्य आरम्भ गर्नुभएको थियो । तर, प्रश्न उठ्दछ कि शिव त स्वयम् ज्योतिर्लिंगम् तथा अशरीरी हुनुहुन्छ । उहाँले संहार कसद्वारा गराउनुहुन्छ र नयाँ दुनियाँको स्थापनाको स्पष्ट रूपरेखा के हो ?
ज्योतिस्वरूप परपिता शिव प्रजापिता ब्रह्माद्वारा सतोप्रधान सृष्टिको स्थापना र शंकरद्वारा कलियुगी तमोप्रधान सृष्टिको महाविनाश गराउनुहुन्छ । कलियुगको अन्तमा ब्रह्माको मानवी शरीरमा प्रवेश भएर उहाँको मुखद्वारा ज्ञान प्रदान गर्नुहुन्छ । त्यसैले शिवलाई गंगाधर र सुधाकर अमृत दिनेवाला पनि भनिन्छ । प्रजापिता ब्रह्माद्वारा जो कन्या र माताहरू शिवको ज्ञान गंगामा स्नान गर्दछन् अथवा ज्ञानसुधाको रसपान गर्दछन् तिनीहरू नै शिव शक्तिहरू अर्थात् अम्बा, दुर्गा, सरस्वती आदि नामले विश्वविख्यात हुन्छन् । यिनीहरू नै चैतन्य ज्ञान गंगा बनेर ब्रह्माकी मुखपुत्री शिवको सन्देश दिँदै जनजनलाई पावन बनाउने कार्य गर्दछन् । त्यसैले शिवलाई नारीश्वर पतित पावन अथवा पापकटेश्वर पनि भनिन्छ । यसरी परमात्माले मानव आत्माहरूलाई विकाररूपी विषबाट मुक्त गरी उनीहरूको देहअहंकारलाई तोडी शिवलोकमा फिर्ता लैजानुहुन्छ । यो दिव्य कर्तव्य कलियुगको अन्तमा अज्ञानरूपी रात्रिका बेला शिव परमात्माद्वारा नै सम्पन्न हुन्छ ।
वास्तवमा शिवरात्रि एक अत्यन्तै महत्वपूर्ण वृत्तान्तको स्मरणोत्सव पर्व हो । यो सम्पूर्ण संसारका मनुष्य आत्माका पारलौकिक परपिता परमात्माको दिव्य जन्म वा अवतरणको दिन हो र सबैको मुक्ति–जीवनमुक्ति प्राप्तिको याद दिलाउने श्रेष्ठ पर्व हो । साँच्चै शिवरात्रि अन्य सबै पर्वहरूको तुलनामा अन्यन्तै सर्वोत्कृृष्ट पर्व हो । किनकि यो पर्व देवताका देवता धर्मपिताका पनि पिता सद्गतिदाता परम्पिता परमात्मा परम्कल्याणकारीको दिव्य जन्मोत्सव हो ।
त्यसैले यस पर्वलाई संसारका सबै मानिसले अति रुचि र हर्षले मनाउनुपर्छ । तर, वर्तमानमा मानव आत्माहरूलाई परम्पिता परमात्माको यथार्थ परिचय नहुनाका कारण र शिवलाई नामरूप नभएको मान्नाका कारण शिवजयन्तीको महत्व कम हुन पुगेको छ र मानिसहरू धर्मको नाममा ईष्र्या र लडाइँ झगडा गरिरहेका छन् ।
श्रद्धालु भक्तहरू शिवरात्रिका दिन पूरै रात जागरण गरेर बस्दछन् तथा निद्रा, आलस्य र मादकताले लट्ठ नपारोस् भनेर अन्न आदि खाँदैनन् । यस उपासनाबाट भगवान् शिव प्रसन्न हुनुहुन्छ भन्ने सोच्दछन् । तर, मानव आत्माहरूलाई तमोगुणमा सुताउने वा रुवाउने मादकताका कारण भने पाँच विकार हुन् । जबसम्म मानिसहरू यी विकारहरूको त्याग गर्दैनन् उनीहरूको आत्मा पूर्ण रूपमा जागृत हुन सक्दैन । त्यस अवस्थासम्म अशुतोष भगवान् शिव उनीहरूमाथि प्रसन्न हुन सक्नुहुन्न । किनकि परमात्मा शिव स्वयम् विकारनासक, विषहर हुनुहुन्छ । अतः उहाँ सबैलाई काम, क्रोध, लोभ, अहंकारजस्ता विकारबाट मुक्त भएको देख्न चाहनुहुन्छ । अर्को कुरा फागुन कृष्ण पक्षको चतुर्दशीका दिन रात्रिमा मनाइने शिवरात्रि महोत्सव कलियुगको अन्तिम कालको प्रतीक हो । जुन बेला परमात्माले मानव आत्माहरूलाई ज्ञान दिएर कल्याणको पात्र बनाएको थियो ।
वास्तवमा शिवरात्रिको ब्रतलाई पूरा वर्षभरि नै मनाउनुपर्छ किनकि वर्तमान संगमयुगमा परमात्माको अवतरण भइसकेको छ । यस कलियुगी दुनियाँको महाविनाशका सामग्री एटम, हाइड्रोजन, नाइट्रोजन बमका रूपमा तयार भइसकेका छन् । साथै परमात्माद्वारा विश्व नवनिर्माणको कर्तव्य पनि सम्पन्न भइरहेको छ । अब महाविनाशको समयसम्म पवित्रता ब्रह्चर्य ब्रतको पालना गरौँ ताकि मनोविकारहरूमाथि ज्ञान योगद्वारा विजय प्राप्त गर्न सकियोस् । यो नै महाब्रत हो जो शिवब्रतको नामले प्रसिद्ध छ । यो नै वास्तवमा शिवको मन्त्र (मत) तथा तारक मन्त्रको हो । यसै मन्त्रबाट मनुष्य आत्माहरू यस संसाररूपी विषय सागरबाट तरेर, मुक्त भएर शिवलोकमा फर्किन्छन् । वर्तमानमा परमात्मा शिवले ज्ञान र योगको शिक्षा दिएर हामी मनुष्य आत्माहरूलाई पावन बनाइरहनुभएको छ । यहाँहरू सबै पनि परमात्माका साथमा सही शिवरात्रि मनाएर आफ्नो जन्म–जन्मान्तरको श्रेष्ठ भाग्य प्राप्त गर्न सक्नुहुन्छ । सबैमा शिवरात्रि पर्वको मंगलमय शुभकामना ।