गुप्तबासमा पूर्वराजारानी– बबिता बस्नेत

गुप्तबासमा पूर्वराजारानी– बबिता बस्नेत


babita-basnetराजधानीमा पूर्व श्री ५ बडामहारानी कोमलको जन्मोत्सव मनाउन भव्य तयारी भइरहँदा पूर्वराजदम्पती भने अचानक गुप्तबासमा जानुभएको छ । यही फागुन ५ गते उहाँहरू निर्मलनिवास छोडेर शिवपुरीतर्फ लाग्नुभएको छ । शिवपुरी डाँडापारि खोचमा पूर्वराजाको कुटी रहेको बताइन्छ, जहाँ बेलाबेलामा उहाँ ध्यान गर्न जाने गर्नुहुन्छ । यसपटक पनि उहाँ पूर्वबडामहारानी र आफ्ना सीमित सहयोगीका साथ कुटीबासमा हुनुहुन्छ । टेलिफोनलगायतका कुनै पनि सञ्चारसम्पर्क नहुने उक्त स्थानमा सुरक्षाकर्मी भने साथमा भए–नभएको बुझ्न सकिएको छैन । त्यसो त सहर–बजारमै हिँड्दा पनि हिजोआज पूर्वराजाले सुरक्षाकर्मीलाई सकेसम्म साथ लाने गर्नुभएको छैन । उहाँ करिब दश दिन उक्त एकान्तबासमा रहनुहुने थाहा भएको छ । यही फागुन ७ गते पूर्वरानी कोमलको जन्मोत्सव पर्छ । सामान्यतया उहाँको जन्मोत्सव विभिन्न कार्यक्रमका साथ तीन दिनसम्म मनाउने गरिएको छ । यसपटक पनि उहाँको जन्मोत्सव मनाउन विभिन्न समिति निर्माण भएका छन् र फागुन ७ गते निर्मलनिवासमा गएर शुभकामना चढाउने कार्यक्रमसमेत राखिएको छ । दरबारका अनन्य भक्त राधेश्याम थापालगायतले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कविगोष्ठी, मन्दिरहरूमा पूजाआजा, वृद्धाश्रममा खाना वितरणलगायतका कार्यक्रम राखेका छन् । पूर्वबडामहारानीलाई पूजाको प्रसाद, शौभाग्यका सामान तथा अन्य उपहारहरू चढाउने कार्यक्रम पनि तय गरिएको थियो । तर, अचानक राजदम्पती शिवपुरीतर्फ प्रस्थान गरेपछि ती सबै कुरा दरबारमा पु-याई राजाका स्वकीय सचिव सागर तिम्सिनालाई बुझाउने कार्यक्रम रहेको बुझिएको छ । उहाँमार्फत पूजाको प्रसाद शिवपुरी पुग्ने बताइएको छ ।
यसअघि पूर्वराजाले फागुन ४ गते भारतका कङ्ग्रेस आईका नेता करण सिंहलाई निर्मलनिवासमा भेट्नुभएको थियो । नेता सिंह दरबारका नातेदार हुन् । विगतको भारत भ्रमणमा करण सिंह र पूर्वराजाको दुईपटक नयाँदिल्लीमा ‘लन्च मिटिङ’ भएको थियो । ‘फलो अप मिटिङ’का रूपमा काठमाडौंमा भेट्ने कार्यक्रम तय भएअनुरूप नै उक्त भेटघाट भएको स्रोतले जनाएको छ । गुप्तबासमा जानु एक दिनअघि मात्र राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका उहाँ लगत्तै एकान्तबास जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ । तर, एक सूत्रले जनाएअनुसार, आफ्नो ‘मेडिटेसन’सँगै पूर्वराजा बडामहारानी कोमलका लागि त्यता जानुभएको हो । नियमित चिना देखाउने क्रममा ज्योतिषीले पूर्वबडामहारानीलाई यसपटकको जन्मदिनमा सकेसम्म घरबाट टाढै रहन भनेकाले उहाँहरूले त्यसका लागि शिवपुरीलाई उपयुक्त स्थल मान्नुभएको हो ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्रले आर्थिक संस्कृतिबिनाको राष्ट्रियता र सबै क्षेत्रीय विकासबिनाको प्रजातन्त्र सार्थक नहुने बताउनुभएको छ । ६४औँ प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनताका नाममा शुभकामना सन्देश दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रजातन्त्रमा सबैको समान अवसर, समान कदर र समान प्रकारको विवेक र परख हुन्छ, हुनुपर्छ भन्दै उहाँले भन्नुभएको छ, ‘प्रजातान्त्रिक शासन पद्धतिलाई आमजनताको सुख, शान्ति र समृद्धितर्फ उन्मुख गराउन राष्ट्रका सबै शक्ति, वर्ग एवम् समुदायमा आफ्नो मनोकाङ्क्षाअनुरूप उपयुक्त विधि, नीति र पद्धति कायम गर्नुपर्दछ । विशिष्ट प्रकारको मौलिक राष्ट्रियता तथा राष्ट्रिय परिवेशअनुरूपको सार्थक प्रजातन्त्र हरेक राष्ट्रको सुन्दर आभूषण हो । हाम्रो राष्ट्रियताको मौलिक आदर्शलाई हामीले हाम्रो आफ्नो आर्थिक समृद्धिका निम्ति बढी केन्द्रित बनाउँदै जानुपर्छ । हाम्रो स्रोत र साधनको भरपूर उपयोग गर्दै राष्ट्रिय जगलाई आर्थिक उपलब्धिका आधारमा अझ बढी मजबुत पार्न सक्नुपर्छ ।’