धरापोन्मुख प्रजातन्त्र !

धरापोन्मुख प्रजातन्त्र !


sampadakeeya६ दशकभन्दा अघिदेखि मनाइँदै आएको ‘प्रजातन्त्र दिवस’ मनाउने कार्य गत वर्ष सरकारी हेलचेक्र्याइँका कारण आयोजना हुन नसकेको मनन गर्दै सरकारले यसपाला परम्परागत ढङ्गबाटै मनाउँदै छ । तर, आजभोलि लोकतन्त्र नामबाट बढ्ता पुकारिन थालेको ‘प्रजातन्त्र’को दिवस मनाइँदै गर्दा मुलुकमा लोकतन्त्र भने खतरामा पर्दै गएको हो कि भन्ने आशङ्का सचेत नेपालीबीच बढ्न थालेको छ । समयको बहावसँगै लोकतन्त्र वा प्रजातान्त्रिक पद्धति झन् विकसित र समृद्ध हुँदै जानुपर्नेमा उल्टै यसरी निराशा छाउनुको कारण के होला ? यो सवालको जवाफ सम्भवतः आमनेपालीको अधिकांश हिस्साबाट एउटै वा एकैप्रकारको आयो भने आश्चर्य मान्नुपर्दैन ।
हो, लोकतन्त्र र अग्रगमनको चर्की–चर्की कुरा गर्ने आजका राजनीतिक दलहरू नै लोकतान्त्रिक प्रणालीको सबलीकरणका सवालमा चुकेका छन् । उनीहरूले आफ्ना बोलीमा ‘लोकतन्त्र’लाई जति प्रेम गरे व्यवहारमा त्यत्तिकै उपेक्षा दर्शाउँदै आए । नेताहरूले लोकतन्त्र वा अग्रगमनको ढ्वाङ फुक्दैमा लोकले त्यसको अनुभूति गर्न सक्छ भन्ने त होइन । शासकको व्यहोरा होस् वा शासितको व्यवहार, व्यवस्था बदलिए पनि बानी–व्यहोरा नबदलिँदासम्म नागरिकको दैनन्दिनीमा परिवर्तन आउन सक्दोरहेनछ । ०७ सालयताका समस्त कालखण्डमाथि सिंहावलोकन गर्दा यही सिद्ध हुन आउँछ, जब कि मुलुकले यस अवधिमा प्रजातन्त्र बहालीका नाममा अनेक खिचडी प्रकृतिका अन्तरिम शासनदेखि पञ्चायती, प्रजातान्त्रिक (लोकतान्त्रिक) र गणतान्त्रिक पद्धतिसम्मको स्वाद चाखिसकेको छ । प्रजातान्त्रिक आन्दोलनको सात दशक गुज्रँदा पनि समयले स्वाभाविक रूपमा ल्याउने परिवर्तनबाहेक राजनीतिक दल, राजनेता र बदलिएका राजनीतिक व्यवस्थाकै कारणचाहिँ नेपाली जनताले कुनै परिवर्तन तथा राज्यले दिने सुशासन, सुसमृद्धि वा विकासका सुस्वादमा रम्न अझै पाएका छैनन् । तसर्थ, विवशताका साथ भन्नैपर्ने हुन्छ, राजनीतिक दल या तिनका नेतृत्वसँग प्रजातान्त्रिक व्यवस्थामार्फत जनतालाई शान्ति, सुव्यवस्था, स्वतन्त्रता, सुरक्षा, विकास र समृद्धिको वास्तविक स्वाद चखाउने क्षमता नै देखिएन । र, तिक्त यथार्थ यो पनि स्वीकार गर्नैपर्छ कि तैपनि यही अक्षम दलीय नेतृत्वबाटै नेपालीले उल्लेखित चाहनाको परिपूर्ति हुने आशा जगाइरहनुपरेको छ । विकल्पविहीनताको उपजलाई स्वीकार नगरेर पनि के गर्ने !
प्रजातन्त्र दिवसको सन्दर्भमा यो पनि उल्लेख्य छ कि कुनै पनि ‘दिवस’ मनाउनुको सार्थकता त्यतिबेला हुन्छ जब त्यसको मर्मलाई व्यवहारमा उतार्ने कोसिस गरिन्छ । दशकौँदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएकै दलभित्र पनि प्रजातान्त्रिक प्रवृत्ति वा संस्कारको नितान्त अभाव भइरहेको गुनासो अद्यापि सुनिन्छ भने आफूलाई ‘लोकतान्त्रिक मार्गमा डो-याउने अभ्यास गर्दै गरेको’ दाबी गर्ने कनिष्ठ दल वा तिनका नेता–कार्यकर्ताको के कुरा !? लोकतन्त्रको सारभूत फल प्राप्तिका लागि लोकतान्त्रिक मर्मको अनुशरण व्यक्ति–व्यक्तिले गर्नु अपरिहार्य ठानिन्छ । तर, हाम्रा अग्रज दल र तिनका नेतागण नै चरम अप्रजातान्त्रिक आचरण र अपारदर्शीपनको सिकार बनेका छन् । फलतः दल–दलीय र अन्तरदलीय द्वन्द्व मौलाउँदो छ । यतिबेला देश जुन जडता वा स्थिरताको सिकार बनिरहेको छ, नेतृत्वमा लोकतान्त्रिक आचरणको अभाव नै यसको प्रमुख कारकतत्व हो भन्नेमा विमति राख्नै पर्दैन । लोकतान्त्रिक आचरणले सुसंस्कृत नेता भएका ठाउँमा यसरी सिङ्गो राष्ट्र अकर्मण्यताको पासोमा च्यापिनैै पर्दैन । नेतृत्व नै लोकतान्त्रिक मूल्य–मान्यताबाट पर सरेको परिवेशमा तिनका कार्यकर्ता र आमनागरिकमा मात्रै लोकतान्त्रिक चरित्र र अभ्यासको अपेक्षा राख्नु मरुभूमिमा पानीको कल्पना गर्नुजस्तो मात्र हो ।
यतिबेला मुलुक राजनीतिक दलहरूबीच शक्ति बाँडफाँडको खिचातानीका कारण गतिहीन बन्न पुगेको छ । वर्ष दिनमा नयाँ संविधान बनाएर जारी गर्ने दलीय प्रतिबद्धता आमनेपालीमाझ फगत एक व्यङ्ग्यका रूपमा रूपान्तरित हुँदै छ । निर्वाचन सम्पन्न भएको तीन महिनामा येनकेन चयन गरिएका प्रधानमन्त्री सात–सात दिन बित्दा पनि विभागीय मन्त्रीहरूको चयन गर्न सकिरहेका छैनन् । सरकार बनेर काम सुरु नहुँदै प्रधानमन्त्रीको उल्टो दिनगन्ती आरम्भ भएको छ । यस्तो परिस्थिति निम्तनु भनेको नेपालको सन्दर्भमा प्रजातान्त्रिक परिपाटी परिपक्व हुने छाँट नदेखिएको या लोकतन्त्र नै धरापोन्मुख भएको द्योतक हो ।