सुकिला महिलाको कथा

सुकिला महिलाको कथा


nisedhनेपाली समाजमा सम्बन्धलाई हेर्ने दृष्टिकोणहरू बदलिँदै छन् । कुनै बेला पश्चिमा संस्कृति मानिने सम्बन्धविच्छेद अहिले घरघरको कहानीझैँ बन्न थालेको छ । खान–लाउनभन्दा पनि मानिस सम्बन्धको समस्यामा छन् । पुराना कतिपय मूल्य–मान्यतालाई तोड्दै नयाँ मूल्य–मान्यता स्थापित गर्नुपर्ने परिस्थितिमा पुगेको नेपाली समाजमा सम्बन्धहरू सङ्क्रमणकालमा छन । प्रेमी, प्रेमिका, श्रीमान्, श्रीमती जे भने पनि अलग परिवेशमा हुर्किएका दुई व्यक्ति एक–अर्काको बनेर एकै ठाउँ बस्नु या पछि बनेको त्यो सम्बन्धलाई बजबुद बनाउनु भनेको अन्ततः आफ्नोपनको अनुभूति नै हो । र अनुभूति भन्ने कुरा मानिसको बुझाइको स्तर (लेभल अफ अन्डरस्टान्डिङ) मा भर पर्छ । हिलारी क्लिन्टनको भनाइमा महिलाको इतिहास मौनताको इतिहास हो । हाम्रा धेरै आमा, दिदी, बहिनीहरूले जीवनमा सहनै नपर्ने धेरै कुरा सहेर बसे । तर, अहिले बिस्तारै–बिस्तारै मानिसहरू बोल्न थालेका छन र मौनता तोडिन थालेको छ । यही बदलिँदो परिवेशलाई लिएर साहित्य सिर्जना हुन थालेको छ र सिनेमाहरू निर्माण हुन थालेका छन् । साहित्य र सिनेमा यी दुवै कुराले तात्कालीन समाजको प्रतिनिधित्व गर्छन् भन्ने मान्यता राखिन्छ । नमिलेका संवाद, नाटकीय प्रस्तुति, अनावश्यक ठाउँमा डाङडाङ डुङडुङ नेपाली सिनेमाको बारेमा नेपाली दर्शकको बुझाई यस्तै छ । तर, अहिले केही राम्रा चलचित्र बनिरहेका छन् जसले यसप्रकारको बुझाइलाई तोड्दै फरक दृटिकोण बनाउन सफल भएका छन् । आमनेपाली सिनेमाको छवि बोकेर ओहो तीन घन्टा कसरी बिताउने होला भन्ने सोच्दै ‘मेघा’ हेर्न हलमा भित्र छिरियो भने त्यो गलत हुनेछ । नेपाली समाज मात्रै होइन, समाजको ऐना भनेर मानिने चलचित्रहरूका खाका र भाका पनि बदलिरहेका छन् । नयाँ लेखक र निर्देशकसँगै वास्तविकतालाई आत्मसात् गर्ने प्रकारका अवधारणा पनि भित्रिरहेका छन् ।
‘मेघामा जस्तो होला है अलि ख्याल गर’ मेघा हेर्नेहरूबीच हिजोआज यस्तो संवाद चल्न थालेको छ । प्रायः हिन्दी सिनेमाका संवादहरू मात्रै बोल्ने या कण्ठ पार्ने नेपाली युवा जमातले नेपाली सिनेमा हेर्न जानु आफैँमा ठूलो कुरा हो, त्यसको चर्चा गर्नु त झनै प्रशंसनीय कार्य । किनभने हलमा गएर नेपाली सिनेमा हेर्ने भन्ने कल्पनै नगर्नेहरू पनि सहरमा धेरै छन् जो कुनै नयाँ हिन्दी सिनेमा कहिले आउला भनेर कुरेर मात्र बस्दैनन् अब यति दिन पछि आउँछ भनी दिन गन्दै बस्छन् । नेपाली सिनेमा अत्यन्त नाटकीय हुने र कथा पनि त्यति मन छुने नहुने भएका कारण मध्यमवर्गीय र उच्चवर्गीयका रोजाइमा नेपाली सिनेमा नपर्ने गरेका हुन् भनिन्छ । निम्नमध्यम वर्ग र निम्न वर्गबीच भने नेपाली सिनेमाले हिजो पनि ठाउँ लिएको थियो र आज पनि त्यत्तिकै स्थान लिइरहेको छ । यसैलाई आधार मानेर लेख्नेदेखि निर्माण गर्नेसम्मले अहिलेको फरक पुस्तालाई समेट्ने गरीभन्दा पनि उही पुरातन सोचबाट निर्देशित भएर सिनेमा बनाइरहे । तर, केही समययता भने फरक धारका नेपाली चलचित्रले बजारमा राम्रो स्थान पाइरहेका छन् । यही क्रममा कामकाजी महिलाको प्रतिनिधित्व गर्दै मेघा आएको छ जसले बदलिँदो समाजमा बदलिँदो भूमिकालाई मात्र समेटेको छैन, बदलिँदा सम्बन्धहरूलाई पनि केलाएको छ । कुनै बेला थियो हाम्रा आमा, हजुरआमाहरू घरमै बस्थे । ‘घरमै बस्थे’ भन्ने इतिहासको बुहार्तन खपिनसक्नु थियो । अहिले पनि हाम्रा धेरै आमा, दिदी, बहिनीहरू दिनको १४/१५ घन्टा काम गरेर ‘घरमै बस्छन् ।’ उनीहरूले भोग्ने दुःख र ‘अफिस जाने’ या कामकाजी महिलाले झेल्ने तनाव कतिपय समान छन् भने कतिपयचाहिँ नितान्त फरक । हिजो हाम्रा आमाहरूको बुझाइको स्तर फरक थियो । ‘छोरी भएर सहनुपर्छ, पाले पुन्य, मारे पाप’ भन्ने मूल्य–मान्यताबाट निर्देशित भएर जीवन अघि बढेको थियो । आजका महिलाले जीवन र सम्बन्धलाई हेर्ने दृष्टिकोण फरक छ । तर, यो दृष्टिकोण महिलाको मात्रै बदलिएको हो कि भन्ने भान पनि हुन्छ कहिलेकाहीँ । शायद त्यही भएर सम्बन्धहरू सङ्कटमा छन् । मेघाले यस्तै कुरा समेटेको छ । कामकाजी महिलाका ‘अफिसियल बुहार्तन’ बाहिर देखिएभन्दा फरक छन् । मिलाएर लुगा लगाई चट्ट परी गाडी चलाएर घरबाट निस्कने या परैबाट फुट स्टेप चिनिने गरी टक–टक गर्दै हिल जुत्तामा हिँड्ने महिलाका कहानीहरू वास्तवमा बाहिर आएकै छैनन् । नारीप्रधान भनेर कतिपय सिनेमाहरू बने पनि ती ‘सुकिला–मुकिला’ महिलाका कहानी समेटेर जस्ताको तस्तै प्रतिबिम्ब झल्कने गरी सिनेमाहरू बनेकै छैनन् । आधुनिक महिलाका नाममा अरूसँग सम्बन्ध बढाएको, मादकपदार्थ खाँदै हिँडेकाजस्ता दृश्यहरू कहीँ–कतै देखिए पनि कामकाजी महिलाको आमकहानी त्यो पटक्कै होइन । ‘मेघा’ले कामकाजी महिलाको एउटा पाटोलाई समेट्ने कोसिस गरेको छ । सम्बन्धको दुनियाँमा नेपाली समाजको बदलिँदो परिवेशलाई प्रतिबिम्बित गरेको छ ।
मेघाकी निर्देशक सम्झना उप्रेती रौनियार पद्मकन्यामा पढ्दा राजनीति गर्थिन् भने यसका कार्यकारी निर्माता विकास रौनियार चर्चित फोटो पत्रकार हुन् । फरक पारिवारिक र व्यावसायिक पृष्ठभूमिबाट आएका यी जोडीले चलचित्र निर्माण गर्नुअघि यो क्षेत्रमा आफ्नो पृष्ठभूमि बनाउनलाई निकै मिहिनेत गरे । सम्झनाले मुम्बईसम्म पुगेर सिनेमा निर्देशनका विषयमा पढेर आइन् । पढ्ने क्रममा अभ्यासहरू पनि गरिन्, मुम्बईमा सिनेमा निर्देशन पढ्दै गर्दा उनमा नेपालमा गएर यसलाई व्यवहारमै उतार्छु भन्ने दह्रो विश्वास पलायो र फर्किएर काम सुरु गरिन् । विकासले पनि सम्झनालाई साथ दिन फोटो पत्रकारिताको सक्रिय जीवनलाई पन्छाउँदै आफूलाई मेघामै केन्द्रित गरे । यता सिर्जनासिंह योञ्जनले आफ्ना बाबु गोपाल योञ्जनका गीतलाई अझ कसरी अजर, अमर बनाउन सकिन्छ भनेर काम गरिन् । उनी मेघाको संवाद लेखनमा पनि खटिन् । परिणाम, जीवनको हरेक मोडमा तिमीले मलाई भेट… यति चोखो यति मीठो दिउँला तिमीलाई माया… जस्ता रेडियोमा सुन्नमै सीमित गीत चलचित्रमा देखिने मात्र भएनन्, परिष्कृत नै भए । यसमा खेल्ने कलाकारहरूले पनि सिनेमालाई सकेसम्म नाटकीयपनबाट टाढै राख्ने कोसिस गरेका छन् । वास्तविक कहानीको रूपमा सिनेमा सरसरर्ती अगाडि बढेको छ । समग्रमा भन्नुपर्दा नेपाली सिनेमा पनि हलमा गएर हेर्न लायक बन्न थाले है भनाउन मेघा सफल भएको छ ।