सफल मानिसको खोजी – अधिवक्ता जी.बी. आचार्य

सफल मानिसको खोजी – अधिवक्ता जी.बी. आचार्य


bicharनेपाली काङ्ग्रेसका सभापति एवम् नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइराला एकजना सादा, सरल, सौम्य र शालीन जीवनयापन गर्ने सन्त प्रवृत्तिका व्यक्ति हुनुहुन्छ । नेपाली राजनीतिका अधिकांश राजनीतिकर्मी आर्थिक अनियमितता, भ्रष्टाचार, यौनिक व्याभिचार र दूराचार तथा अन्य विवादमा फसिरहेको समयमा कोइराला यस्ता विवाद र काण्डमा फस्नुभएको छैन । कोइरालाको यही सादा, सरल, सौम्य, शालीन र सामान्य जीवन नेपाली राजनीतिमा लोकप्रिय भए पनि उहाँ नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा शपथग्रहण गरी गद्दीनसीन भएपछि देश र जनताले उहाँबाट गरेको अपेक्षा अलिक ठूलो छ । उहाँले आफ्नो सादा, सरल, सौम्य र शालीन छविलाई कायम त राख्नैपर्छ तर त्यतिले मात्र देशको प्रधानमन्त्रीको रूपमा न त उहाँलाई न्याय गर्न सक्छ न त विभिन्न आन्दोलन र सङ्घर्षमार्फत अभिव्यक्त गरेको चाहना, आकाङ्क्षा अनि त्याग, उत्सर्ग र बलिदानलाई नै न्याय गर्नसक्छ । सत्ता सुखका लागि जस्तोसुकै सम्झौता गर्ने अनि सत्ताबाट बहिर्गमन हुनुपर्ने भएपछि अप्राकृतिक गठबन्धनको रटान दिने यो रोग नेपाली राजनीतिको पुरानो रोग हो । यो त्यही मनोरोग हो, जसले त्यत्रो जनउभारपूर्ण आन्दोलन भएको एक दशक नबित्दै पञ्चहरूलाई सत्तासीन मात्र बनाएन, बरु तिनै जनमारा पञ्चहरूका अगाडि परिवर्तनकारी भनिएका शक्तिहरू केवल भ-याङ मात्र सावित भएको तीतो अनुभव हामीले बटुलेको धेरै भएको छैन । नेपाली नेताको यही सत्तालिप्साले गर्दा दश वर्षमै बहुदल ढल्यो र यति विकृत भएर ढल्यो कि नेताहरूले बहुदलीय प्रजातन्त्रको उच्चारणसमेत गर्न नसक्ने भए र लोकतन्त्र नामको सहारा लिए ।
संविधान निर्माण आफ्नो पहिलो जिम्मेवारी भएको र एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता चुनावमा होमिएका सबै दलले गरेका थिए । संविधान निर्माणलाई जसरी सबै पार्टीका नेताले मुख्य जिम्मेवारी भएको बताइरहेका छन्, अनि रूपमा हेर्दा यो काम जति स्पष्ट, सटिक र आवश्यक छ सारमा यो काम त्यति नै जटिल छ किनभने संविधान निर्माण त चुनौतीपूर्ण छ नै त्योभन्दा बढी चुनौतीपूर्ण छ, त्यसलाई पालना गर्न किनभने कुनै पनि कानुन मानव समाजभन्दा पर बाँच्नै सक्दैन । समाजबिनाको कानुन र कानुनबिनाको समाज कल्पना गर्नसम्म सकिँदैन । विधिको पालनामा नेपाली नेताहरू कति कमजोर छन् भने अँध्यारो रातमा बन्द कोठामा उनीहरूले गरेका निर्णयहरू स्वयम् उनीहरूकै भ्रातृ सङ्गठनहरूले भत्र्सना र विरोध गर्न बाध्य हुन्छन् । किन आजसम्म नेपालमा कुनै पनि जननिर्वाचित सरकारले पूरा समयसम्म शासन गर्न सकेनन् ? त्यसो त नेपाली काङ्ग्रेस नै त्यस्तो पार्टी हो जसले पटक–पटक बहुमत पाएर पनि कहिल्यै पूरा समय सत्ता सञ्चालन गर्न सकेन अनि आफ्नै पार्टीको सरकारलाई बर्खास्त गरिपाऊँ भनी दरबारमा बिन्तीपत्र हाल्न जानेहरू को हुन्, अनि किन तिनीहरूलाई कारबाही हुन सकेन भने इतिहासका प्रत्येक कालखण्डमा किन त्यही प्रवृत्ति दोहोरिइरह्यो ?
देशको राजनीति कति फोहोर छ भन्ने कुरा नेपाल चिकित्साशास्त्र अध्ययन संस्थानमा भएको नियुक्तिलाई मात्र हेरे पनि पुग्छ । आज नेपाली जनता विधिविहीनको कारणले पीडित, व्यथित र प्रताडित छन् । नेपाल चिकित्साशास्त्र अध्ययन संस्थान त एउटा प्रतिनिधि ठाउँ मात्र हो । शिक्षा, कानुन, न्याय, प्रशासन, प्रहरी, सेना यस्तो कुनै क्षेत्र छैन जहाँ नेपाली फोहोर राजनीतिले अव्यवस्था सिर्जना गरेको नहोस् । अनि यस्तै फोहोरी पाराले देश चल्छ ? प्रधानमन्त्री देशको प्रधानमन्त्री हो काङ्ग्रसको मात्र होइन र देश चलाउन राम्रा मानिसको साथ खोज्नुपर्छ । हाम्रा मानिसको होइन । म नेपाली काङ्ग्रसलाई त्यही पार्टीले लिएको एउटा उदाहरण दिन चाहन्छु । ००७ सालको परिवर्तनपछाडि पनि देशमा राणाहरूकै हालिमुहाली थियो । राणाशासन ढले पनि सत्ता त राणाहरूकै हातमा थियो देशमा भर्खर आधुनिक न्याय प्रणालीको सूत्रपात हुँदै थियो भने न्यायालयको स्थापना पनि भर्खर भएको थियो । त्यस्तो अवस्थामा देशलाई एकजना कर्मठ न्यायदाताको आवश्यकता थियो । यसै सन्दर्भमा बी.पी. कोइरालाले दार्जिलिङबाट हरिप्रसाद प्रधानलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्ति दिनुभयो । हरिप्रसाद प्रधानको न्यायसम्पादनले देशमा एउटा स्वतन्त्र न्यायपालिकाको विकासमा टेवा पुग्यो । के त्यतिबेला काङ्ग्रेस पार्टीभित्र कानुन जानेका मानिस नभएर बीपीले त्यसो गर्नुभएको हो र ? अवश्य होइन । काङ्ग्रेसभित्र कानुन पढेका मानिस थिए तर पनि बीपीले योग्य मानिस रोज्ने हिम्मत गर्नुभयो ।
नेपाली राजनीतिमा आपराधिक प्रवृत्ति बढेर गएको छ । हुँदाहुँदा अब त नेपालमा अपराधको राजनीतीकरण भएको हो कि राजनीतिको अपराधीकरण भएको हो छुट्याउनै मुस्किल पर्ने अवस्था सिर्जना भइसकेको छ । काङ्ग्रेस, एमाले वा माओवादी प्रत्येकजसो पार्टीमा शङ्कास्पद चरित्रका व्यक्तिहरू निकै छिटो बढुवा भइरहेका छन् भने त्यागी, कर्मठ, इमानदार र अध्ययनशील मानिसहरू पछाडि पारिँदै छन् । विद्यार्थी सङ्गठनहरूको सम्मेलन स्थलमा हुने गरेका हतियारको प्रदर्शनी यसैको उदाहरण हो । अपारदर्शी चरित्रका व्यक्तिहरूको पार्टी प्रवेश र पार्टी क्रमशः त्यस्तै व्यक्तिहरूको पकडमा फस्दै जाँदा लोकतन्त्र बलियो हुन्छ होला त ?
देशलाई आज एकजना सफल राजनीतिज्ञको खाँचो छ । राजनीतिलाई सही अर्थमा समाजसेवामा बदल्न सक्ने योग्य राजनेताको खाँचो छ । नेपाली काङ्गे्रसले पटकपटक यो मौका पाएको र गुमाएको छ भने यसपटक पनि नेपाली काङ्ग्रेसलाई निर्णायक मोडमा ल्याएर उभ्याएको छ । काङ्ग्रेसका सामु सम्पूर्ण मुलुकलाई दिशा दिने अवसर आइपुगेको छ । त्यसका लागि काङ्गे्रस र यसको मूल नेतृत्व तयार रहनुपर्छ । सन्त प्रवृत्तिले मात्र सफल राजनेता भइँदैन । के थाहा नेपाली काङ्ग्रेसका लागि यो अवसर अन्तिम पनि हुनसक्छ ।