अन्तरविचारहरू

अन्तरविचारहरू


antarbicharप्रचण्ड नालीमा झरिसके– सीपी गजुरेल (उपाध्यक्ष, नेकपा–माओवादी)
० तपाईंको पार्टीभित्र प्रचण्डकै पछि लाग्ने सोच विकसित हुँदै छ भनिन्छ नि, यस्तो अवस्था आएको हो र ?
– कुनै सार्वजनिक कार्यक्रममा हाम्रा पार्टीका नेताहरूको भेट प्रचण्डसँग भएको र त्यहाँ पार्टी एकताबारे हल्काफुल्का सन्दर्भ कसैले उठाएको आधारमा यस्ता सवाल पैदा भएका होलान् । वर्तमान परिस्थितिका आधारमा भन्नुपर्दा त प्रचण्डको पछि लाग्ने भन्ने कुरा त हाम्रो पार्टी या हाम्रा साथीहरूबीच कल्पना पनि हुन सक्दैन । प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन या क्रान्तिलाई अकल्पनीय घात गरेकाले त हामीले आफ्नो बाटो तय गर्नुपरेको हो । यो त जगजाहेर छ नि । अब प्रचण्डमा कति सकारात्मक परिवर्तन आयो र उनीसँग एकताको कुरा गर्नुप-यो ? हाम्रो बुझाइमा त प्रचण्डहरू झन्–झन् पतनको बाटोमा गइरहेका छन् ।
० तपाईंको पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकमा अध्यक्ष मोहन वैद्यले पार्टीएकताको प्रस्ताव ल्याउनुभएको होइन र ?
– एउटा बलियो कम्युनिस्ट पार्टी नेपालमा आवश्यक छ भन्ने कुरा हामीलाई हरदम लागिरहेको छ र यसबारेमा जहिले पनि हामीले वकालत गर्दै आएका पनि छौँ । दुईतिहाइ जनता कम्युनिस्टको पक्षमा भएर पनि कम्युनिस्टले नै कुनै उपलब्धि हासिल गर्न नसकेको बडो विचित्र र विडम्बनाको अवस्थाबाट नेपालका कम्युनिस्टहरू गुज्रिरहनुपरेको छ । यस परिस्थितिको मूल्याङ्कन गर्दै पार्टी बैठकमा वास्तविक कम्युनिस्टहरूसँग एकताका कुरा त उठिरन्छन्, यो कुनै अस्वाभाविक विषय भएन । तर, हाम्रो अध्यक्षसँग प्रचण्डको कहीँकतै सन्दर्भवश भेट भएको विषयलाई लिएर अतिरञ्जनायुक्त हल्ला गरिनुचाहिँ निरर्थक कुरा हो ।
० बलियो कम्युनिस्ट शक्ति आवश्यक परेकोले प्रचण्डजस्ता प्रभावशाली व्यक्तिको नेतृत्वमा पार्टी एकता गर्ने मनसुवा फेरि तपाईंहरूमा पलाएको हुन सक्दैन र ?
– प्रचण्ड त उनको आफ्नै पार्टीभित्र पनि असफल भइसके । एमाओवादीभित्रै उनलाई अब नेता मानेर अघि बढ्न सकिँदैन, नेतृत्व परिवर्तन नगरे एमाओवादी नामेट हुने अवस्थामा पुग्छ भन्ने आवाज त त्यहीँभित्रै उठेको सबैले सुनेकै कुरा हो । यो यथार्थबीच नेपाली कम्युनिस्ट आन्दोलन या कम्युनिस्ट पार्टीहरूको नेतृत्व अब प्रचण्डले गर्नै सक्दैनन् । उनलाई नेता मानेर बृहत् कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्छ भन्ने सोच कुनै पनि विवेकी कम्युनिस्टले पाल्नै सक्दैन वर्तमान अवस्थामा ।
० त्यसोभए यतिखेर त्यस्तो नेतृत्व कसले गर्न सक्छ त ? अर्थात्, पार्टीएकता हुन्छ भने कसको नेतृत्वमा होला त ?
– जसको विचार सही छ, जसले वर्गसङ्घर्षमा सही धारणा राखेको छ, जो कम्युनिस्ट आन्दोलनमा पूरा इमानदारीका साथ अघि बढिरहेको छ, त्यही पार्टीको लिडर नै कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता रहन्छ नि ।
० यसको मतलब मोहन वैद्यलाई नेता बनाएर तपाईंहरू पार्टीएकताको प्रस्ताव गर्दै हुनुहुन्छ, होइन त ?
० कसैसँग एकताको कुरा गर्नुपर्दा हामी त्यसरी व्यक्तिको सर्त राखेर कुरा गर्ने पक्षमा छैनौँ । तथापि, नेपालको सन्दर्भमा भन्नुपर्दा कम्युनिस्ट आन्दोलनलाई सही ढङ्गले अघि बढाउन सक्ने, विचार राजनीतिका साथै सङ्घर्षको सही योजना वा कार्यक्रम दिन सक्ने पार्टी त नेकपा–माओवादी नै त देखियो ।
० तपाईं यस्तो दाबी गर्नुहुन्छ, तर नेकपा–माओवादीलाई त जनताले पत्याएजस्तो देखिएन नि ?
– अस्ति मङ्सिरमा भोट हाल्दाको कुरा गर्न खोजिएको होला । तर, हिजो चुनावमा भाग लिएको पार्टीले नै पच्चीसबुँदे सहमति गलत थियो भन्न थालेको यथार्थ यहाँनेर हेक्का राख्नुपर्ने हुन्छ । कुनै एउटा प्रसङ्गविशेष र परिस्थितिविशेषका आधारमा कोसँग जनताको कति साथ छ–छैन भनी समग्र मुल्याङ्कन गरिनु उपयुक्त हुँदैन । समयले यो सिद्ध गर्ने नै छ ।
० एमाओवादीसँग एकता गर्न के–कस्ता प्रस्ताव या योजना गर्दै हुनुहुन्छ त तपाईंहरू ?
– हामी क्रान्तिकारीहरूको ध्रुवीकरणको पक्षमा छौँ र कुनै पनि पार्टीप्रति ‘बायस’ छैनौँ । एकता नै गर्ने हो भने एकीकृत माओवादीले सर्वप्रथम हेटौँडा महाधिवशनको निर्णय खारेज गर्नुपर्छ । किनकि, त्यो उसको एउटा भडकावपूर्ण निर्णय थियो । यो उनीहरूले स्वीकार गर्नैपर्छ । त्यसपछि बल्ल एकताका लागि वार्ता आरम्भ हुन सक्छ ।
० हेटौँडा महाधिवेशनबाट एमाओवादीले लिएका निर्णय पुनर्विचार गर्नुप-यो, फिर्ता लिनुप-यो या के गर्नुप-यो त एकताका लागि ?
– केको पुनर्विचारको कुरा नि ? त्यो त सोझै खारेज गर्नुप-यो उनीहरूले पार्टीगत आत्मालोचनाका साथ । त्यो नै सबैभन्दा ठूलो बाधक हो एकताको सवालमा । त्यो एमाओवादी नेतृत्वको गम्भीर विचलन र भडकाव हो ।
० तर, प्रचण्ड–बाबुरामहरूले त हेटौँडा महाधिवेशन एउटा ऐतिहासिक महाधिवेशन हो भनेर दोहो-याएको दोहो-यायै छन् त ?
– हो–हो । त्यो एकदम ‘ऐतिहासिक’ महाधिवेशन हो । ऐतिहासिक त हो तर पतनका लागि एतिहासिक सिद्ध भयो त्यो । अगाडि बढ्न होइन पछिल्तिर घचेटिएर खाल्डोमा पर्न ऐतिहासिक भएकाले नै हामीले त्यसलाई सर्वप्रथम खारेज गरेर मात्र एकताको कुरा सुरु हुन सक्छ भनेका हौँ ।
० त्यो महाधिवेशनले त बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा गर्ने, लोकतन्त्रप्रति प्रतिबद्ध रही लोकतान्त्रिक प्रणालीलाई सुदृढीकरण गर्नेजस्ता निर्णय लिएको थियो, आजको विश्वपरिवेशमा त यो निकै उत्तम निर्णय होइन र भन्या ?
– त्यो नीति उहिल्यै मनमोहन अधिकारी र अहिलेका एमालेले लिएको नीति हो । कुन नौलो कुरा गरेको हो र त्यसलाई ऐतिहासिक भनेर तारिफ गर्नुप-यो ?! त्यो नीति लिएर एमाले अहिले कहाँ पुगेको छ देखिएको छैन र ? कम्युनिस्ट आन्दोलनलाई धराशायी पार्न यस्तै–यस्तै तथाकथित लोकतान्त्रिक नीतिले त भूमिका खेल्यो नि । यसले राष्ट्रलाई सही मानेमा के–कति योगदान दियो त ?
० समग्रमा बुझ्नुपर्दा हेटौँडा महाधिवेशनबाट एमाओवादी पछि हट्यो भने तपाईंहरू एकता गर्नुहुन्छ होइन प्रचण्डसँग ?
– त्यहाँबाट पनि पछि हट्यो भने त कहाँ पो पुग्ने हो त्यो ! हामीले त ऊ अगाडि बढ्यो भने… भन्न खोजेको हो । त्यो महाधिवेशनका निर्णयलाई खारेज गर्नुप-यो, यदि उनीहरू साँच्चै एकताको पक्षधर हुन् भने त्यो महाधिवेशनको निर्णय भडकावमा गएको थियो भनेर स्वीकार गर्न सक्नुप-यो । त्यति गर्न सक्दैनन् भने हामीसँगको कुरा त परै छाडौँ, उनीहरूले अब एकता र एकीकरण गर्ने भनेको एमालेहरूसँग हो ।
० आजको परिवेशमा तपाईंले भनेकोजस्तो जनवादी क्रान्तिका कुरा नेपाली जनता चाहँदैनन्, जनता त लोकतन्त्र बलियो भएको हेर्न चाहन्छन्, यो हेक्का छैन तपाईंहरूलाई ?
– हामीले चाहेको पनि लोकतन्त्र नै हो र लोकतन्त्रकै सुदृढीकरण हो । यहाँ लोकन्तत्रलाई पनि विभिन्न अर्थमा परिभाषित गरिन्छ । हामीले चाहेको ९५ प्रतिशत जनताको लोकतन्त्र हो, अहिलेको ‘लोकतन्त्र’ पाँच प्रतिशतका लागि मात्र भएको छ । पाँच प्रतिशतले पन्चानब्बे प्रतिशतलाई जबर्जस्ती परिबन्दमा पारेर भ्रमपूर्ण किसिमले मान्न लगाएर कसरी लोकतन्त्र हुन्छ भन्ने हाम्रो भनाइ हो । अन्ततः जनता पाँच प्रतिशतको कुरा नमानेर पन्चानब्बे प्रतिशतमै आउनेछन् भन्ने हाम्रो दृढविश्वास हो ।
० त्यसो भए तपाईंहरू कुन–कुन पार्टीसँग एकता गर्दै हुनुहुन्छ त ?
– अहिले हाम्रो पार्टीएकताको कुरा भएको नेकपा (एकीकृत)सँग हो । सिद्धान्तनिष्ठ एकताको कुरा सुरु भएर करिब–करिब एकताको नजिक हामी पुगिसकेका छौँ । यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग पनि एकताको वार्ता चलिरहेको छ र उहाँहरूसँग पनि एकता सम्भव हुन्छ । जहाँसम्म एमाओवादीको कुरा छ, हेटौँडा महाधिवेशनको निर्णय खारेज गरेर विगतमा गरेका गल्तीहरू सच्याउनेतिर उनीहरू लागे भने, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादतिर लाग्नु गलत थियो भनेर सार्वजनिक रूपमा स्वीकार गरी उनीहरू आउँछन् भने एकताको वार्तासम्म चाहिँ सुरु हुन सक्छ ।
० प्रचण्ड आजका दिनमा कैयन पक्षसँग भेटघाट र बैठक गरिरहेका छन्, तपाईंको पार्टी–अध्यक्ष मोहन वैद्यलाई पनि भेटेर उनले कुराकानी त गरेकै हुन् नि, होइन ?
– प्रचण्डले विभिन्नथरी मानिसहरूसँग भेट्दै बैठक गरी हिँड्नुलाई यहाँका मिडियाहरूले के–के न भनिठान्दै ‘प्रचण्ड डाइनामिक पर्सनालिटी’ भनेर प्रचार गरिदिएका मात्र हुन् । उनी कस्ता डाइनामिक भन्ने हामीले बुझेका छौँ । डाइनामिक हुँदाहुँदै उनी अब कस्ता ‘डाइनामिक’ भए भने रछ्यान–नालामै पुगिसके प्रचण्ड । सबैतिर चहार्दाचहार्दै उनी फोहोर नालामै झरिसकेकाले अब उनलाई ‘प्रचण्ड गतिशील नेता’ भनेर मिडियाले प्रशंसा गर्नु आफ्नै स्तर घटाउनु मात्र हो ।

पार्टीले सात–दश दिनमै एक्सन लिनुपर्छ– टेकराज पौडेल (केन्द्रीय सदस्य, नेपाल तरुण दल)
०३१ सालमा बाग्लुङको बोहोरा गाविस–२ मा जन्मिएका टेकराज पौडेल हाल नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा राजनीतिक जिम्मेवारी निभाइरहेका छन् । ओठमा जुँगाको रेखी बस्दै गर्दा ०४५ सालमा नेविसङ्घको राजनीतिबाट राजनीतिमा प्रवेश गरेका पौडेल ०५३ सालमा उच्च शिक्षा हासिल गर्न काठमाडौं आएलगत्तै शिक्षा क्याम्पसको स्ववियु सभापति बन्न सफल भए । ०५७ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बनेका उनी ०६० सालसम्म सङ्घको सहमहामन्त्री बन्न सफल भएका थिए । नेपाली काङ्गे्रसका सशक्त भ्रातृ सङ्गठनका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रदीप पौडेल, तरुण दलका अध्यक्ष महेन्द्र यादव, महिला सङ्घका अध्यक्ष अम्बिका बस्नेतले समयमै महाधिवेशन गर्न नसकेको आरोप पार्टी नेतृत्वले लगाएर विघटन गरी ६ महिनाभित्र महाधिवेशन गर्नका लागि नेविसङ्घका रञ्जित कर्ण, तरुण दलका उदयशमशेर राणा र महिला सङ्घका डिला सङ्ग्रौलालाई जिम्मा लगाएको वर्षौं भइसक्दा पनि महाधिवेशन हुन नसकेको परिवेशमा तरुण दलका नेता टेकराज पौडेलसँग महेन्द्र पाण्डेयले महाधिवेशन र वर्तमान राजनीतिबारे गरेको कुराकानीको सारसङ्क्षेप ः
० ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट निर्देशनका साथ जिम्मा पाउँदा पनि काङ्गे्रसका तीन भ्रातृ सङ्गठनले महाधिवेशन गर्न किन नसकेको होला ?
– लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घको नियमित महाधिवेशन हुन नसकिरहेको अवस्थामाथि विचार गर्दै पार्टीले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो । यसक्रममा पुरानो समितिलाई विघटन गरी नयाँ तदर्थ समिति गठन गरिएको थियो । नवगठित तदर्थ समितिले समेत विभिन्न वहानाबाजी गरेर अहिलेसम्म महाधिवेशन गर्न सकिरहेको छैन, यो दुःखद् कुरा हो । समयमै महाधिवेशन नहुँदा नेतृत्वमा पुगेर काम गर्ने जोशजाँगर बोकेका हामीजस्ता कार्यकर्ता निराश हुनु स्वाभाविक हो । पार्टीले दिएको निर्देशनअनुसार महाधिवेशन गर्ने निर्णय गर्दै हामीले अध्यक्षलाई जिल्ला समितिका विवाद मिलाएर अघि बढ्न आग्रह पनि ग-यौँ, तर उहाँबाट त्यस्तो नभएपछि महाधिवेशन रोकिएको हो । पार्टीले पनि निर्देशन दिएपछि जिम्मेवारी सकिएको ठान्यो, घचघच्याउने काम गरेन । यसकारण पनि महाधिवेशन लम्बिएको हो ।
० सबै भ्रातृ तथा शुभेच्छुक संस्थामा देउवापक्षीय नेताहरूले पकड जमाउन थालेपछि बाँकी रहेका भ्रातृ सङ्गठनका महाधिवेशन नगरेर निष्क्रिय पारिएको चर्चा पनि सुनिन्छि नि, सत्य के हो ?
– भ्रातृ सङ्गठनको नेतृत्वमा कसले जित्छ या हार्छ भन्ने चिन्तनबाट पार्टी नेतृत्वले महाधिवेशन नगरेको भन्ने कुरा मान्न म तयार छैन । यस्ता गलत हौवा पिटाइरहेकै समयमा पार्टी नेतृत्वले तुरुन्त महाधिवेशन गर्नेतिर ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ ।
० यसको मतलब पार्टीबाट नभएर तरुण दलकै अध्यक्षबाट महाधिवेशनलाई पछि धकेल्ने काम भएको हो त ?
– हेर्दा त्यस्तै देखिएको छ । अध्यक्षले महाधिवेशनबारे जति चिन्ता र चासो देखाउनुपर्ने थियो, तर त्यो शून्य नै छ भन्दा फरक पर्दैन । अध्यक्षले चासो नदेखाए पनि पार्टीले तुरुन्त समय–सीमा तोकिदिएर उक्त समयमा नभए विकल्प खोज्ने चेतावनी दिनुपर्ने थियो । अध्यक्ष त तरुण दलको महाधिवेशनका निम्ति नभई संविधानसभाको स्वाद लिनेतिरै मात्र केन्द्रित हुनुभएको छ ।
० पार्टीले कुनै कदम नचाल्नुका पछाडि पूर्वनेतृत्वप्रति पूर्वाग्रही भएको भन्न मिल्छ ?
– पूर्वाग्रही नै भएको भन्न अलि मिल्दैन । तर, सत्य के हो भने समयमै महाधिवेशन नहुँदा हामीजस्ता स्वाभिमान र नैतिकताको राजनीति गर्नेहरूलाई नैतिक सङ्कट उत्पन्नचाहिँ गराइदिएको छ । नेविसङ्घ, तरुण दलका अध्यक्षहरू सभासद् पनि भइसकेको अवस्थामा उहाँहरूले कि त तुरुन्त महाधिवेशन गर्नतिर लाग्नुपर्छ होइन भने छाडेर मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने आमकार्यकर्ताको भनाइ छ । उहाँहरूले नैतिकता प्रदर्शन गरेर छिट्टै अधिवेशन गर्नेतिर लाग्नुभएन भने महिना होइन अब हप्तादिनमै छुट्टै एक्सन लिनुपर्छ भन्ने मेरो मान्यता छ ।
० काङ्गे्रसले तरुण दलबाट जे अपेक्षा राखेको थियो त्यो पटक्कै हुन सकेन भनिन्छ नि, हो ?
– विगतमा तरुण दलले के ग-यो के गरेन भन्ने व्याख्या गर्न चाहन्न । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यसपटक देशभरका तरुणहरू जीवनमरणको सवाल बनाएर लागेकोचाहिँ मलाई थाहा छ । अरू पार्टीका युवासङ्घले जस्तै विकृति र विसङ्गतिमा तरुण कार्यकर्ता फसेनन् । विगतका निर्वाचनमा जसरी नेविसङ्घ अत्यन्तै क्रियाशील हुन्थ्यो, संयोगले हो कि यसपटक सारा युवा ‘तरुण’ हुन खोजेको महसुस मैले गरेँ ।
० जसले नेतृत्व पायो त्यसैले पेवाजस्तै बनाएर महाधिवेशन नगर्दा काङ्गे्रसमा नेतृत्व विकास कसरी होला त ?
– दुई–तीन वर्षमा हुने महाधिवेशन वर्षौंसम्म नहुने र त्यहाँबाट आउने नेतृत्व जाम भएकै कारण सिङ्गो पुस्ता नै नेतृत्वबाट वञ्चित हुन पुगेको छ । सक्षम मान्छे अनेक कारणबाट पछि पर्न गएका छन् । यो ठूलो राजनीतिक अपराध हो । त्यसको दूरगामी असर पर्ने निश्चित छ ।
० चित्त नबुझेपछि राजीनामा गरेर देशभरका कार्यकर्तासामु जान किन सक्नुहुन्न तपाईंहरू ?
– राजीनामा दिन हामी तयार थियौँ, तर राजीनामा नै समस्याको समाधान होइन भनेर हामी बसेका हौँ । हामीले राजीनामा दिँदा गुट–उपगुटका कुरा उठ्ने भएकाले पनि यसरी बस्न बाध्य भएका हौँ । अब छिटोभन्दा छिटो महाधिवेशनको बाटोतिर जान नेतृत्वले सोचेन र निर्णय गरेन भने बाध्य भएर विकल्प सोच्नेछौँ ।
० काङ्गे्रसले अरूलाई प्रजातन्त्रको पाठ पढाउँछ तर स्वयम् आन्तरिक प्रजातन्त्रमा ज्यादै कमजोर भएको आरोप लागेको छ, के भन्नुहुन्छ ?
– आन्तरिक प्रजातन्त्रमा काङ्ग्रेस पूरै कमजोर छ भनेर त म भन्दिनँ तर कमजोरीहरू छन् ।
० काङ्गे्रस भ्रातृ सङ्गठनका नेताहरू बिहान नेताको चाकडीमा र साँझमा भट्टीमा लठ्ठिने गरेको आवाज पार्टीभित्रैबाट उठ्न थालेको छ नि, के भन्नुहुन्छ ?
– यो कुरा सत्य हो भनेर म भन्दिनँ, तर पूरै असत्य पनि भन्न सक्दिनँ । हावा नलागी पात हल्लिँदैन भनेझैँ नेताहरूले पनि त्यसै यस्तो आरोप त लगाएका होइन होलान् । को–को युवा यसरी हिँड्छन् भनिदिएको भए हामीजस्ता नैतिकताको राजनीति गर्नेलाई साह्रै सजिलो हुने थियो । बोरामा एउटा आलु कुहिँदा सबै गन्हाउँछ भनेझैँ कुहिएको आलु पहिचान गरेर फाल्नुपर्नेमा सबैलाई आरोप लगाउनु गलत हो ।