प्रचण्डको भ्रमण केपीविरुद्ध लक्षित !

प्रचण्डको भ्रमण केपीविरुद्ध लक्षित !


नेकपाका सहअध्यक्ष प्रचण्डको भारत भ्रमण उनी स्वयम्ले अपेक्षा गरेकोभन्दा ‘भव्य र सफल’ भएको छ । औपचारिक घोषणा नगरिए पनि प्रचण्डलाई ‘स्टेट भिजिट’सरहको सम्मान दिइएको नयाँदिल्लीस्थित समाचार सूत्रहरूले जनाएका छन् । कुनै पनि पूर्वप्रधानमन्त्रीहरूलाई दिने गरिएकोभन्दा ज्यादा सम्मान र महत्व यसपटक प्रचण्डले पाए ।

उनी भदौ २१ गते नयाँदिल्ली पुगेर २४ गते नेपाल फर्किएका हुन्, नयाँदिल्लीमा रहँदा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री राजनाथसिंहलगायतका उच्च तहका नेता, नेपाल मामिलाका जानकार तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । प्रचण्डलाई त्यहाँ भावी प्रधानमन्त्रीका रूपमा लिइएको थियो र, उनले पनि भारतीय नेता तथा अन्य उच्चाधिकारीहरूसँगको भेटमा दुई वर्षपछि केपी ओलीले आफूलाई पद हस्तान्तरण गर्ने सम्झौता भएको जानकारी गराएका थिए ।

भारतको प्रसिद्ध दैनिक हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा समेत केपी ओलीले दुई वर्षपछि आफूलाई पद हस्तान्तरण गर्ने सहमति भएको र सहमतिबमोजिम पद हस्तान्तरण नगरे के गर्ने हो त्यतिबेलै निर्णय लिने भनी प्रचण्डले चेतावनीको भाषा प्रकट गरेका छन् । प्रचण्डले भारतीय नेता र उच्चाधिकारीहरूसँगको भेटवार्ताका क्रममा आफू भारत भ्रमणमा रहेको बेला पारेर केपी ओलीले ‘सैन्य अभ्यासमा सहभागी नहुने’ र ‘चीनको बन्दरगाह प्रयोग गर्न पाउनेसम्बन्धी निर्णय लिएकोमा’ असन्तुष्टि प्रकट गरेका थिए ।

प्रचण्डले आफ्नो भारत भ्रमणलाई प्रभावित गर्न र भारतसँगको आफ्नो समझदारीलाई भ्रमित गर्नका निम्ति सैन्य अभ्यास र चिनियाँ बन्दरगाहसम्बन्धी केपी ओलीले निर्णय लिएको जिकिर गरेका थिए । प्रचण्डले ‘आफू भएको भए यसप्रकारका निर्णय नहुने’ इम्प्रेसन पनि भारतीय संस्थापनलाई दिएका छन् । र, भारतले प्रचण्डलाई फेरि एकपटक विश्वास गरेको देखिएको छ ।

एक सूत्रले जनाएअनुसार प्रचण्ड र उपेन्द्र यादवबीच पनि नयाँदिल्लीमा विशेष भेटवार्ता भएको थियो । विश्व स्वास्थ्य सङ्गठन (WHO) को आयोजनामा भएको दुईदिने कार्यक्रम सकिएपछि पनि यादव प्रचण्डसँगको विशेष वार्तालापका लागि दिल्लीमा बसेका थिए र उनी प्रचण्ड फर्किएकै दिन दिल्लीबाट काठमाडौं फर्किएका हुन् । उपेन्द्र यादवलाई नेकपामा सामेल गराउन प्रचण्डले विशेष जोडबल लगाउँदै आएका छन् । एकलौटी पार्टी अध्यक्ष पद प्राप्त गर्न र कदाचित पार्टी विभाजन गर्नुपर्ने अवस्थामा उपेन्द्र यादव सहयोगी बन्न सक्ने भएकोले प्रचण्डले यादवसँगको पार्टी एकतालाई उच्च प्राथमिकतामा राखेको बताइन्छ ।

उपेन्द्र यादवलाई नेकपामा सामेल गराउन प्रचण्डले विशेष जोडबल लगाउँदै आएका छन् । एकलौटी पार्टी अध्यक्ष पद प्राप्त गर्न र कदाचित पार्टी विभाजन गर्नुपर्ने अवस्थामा उपेन्द्र यादव सहयोगी बन्न सक्ने भएकोले प्रचण्डले यादवसँगको पार्टी एकतालाई उच्च प्राथमिकतामा राखेको बताइन्छ ।

भनिन्छ, केपी ओलीको स्वास्थ्यको विषयलाई लिएर पनि प्रचण्ड विशेष रूपले ‘चिन्तित’ छन् । पाँचवर्षे कार्यकालको आधा समय (अढाई वर्ष) केपीलाई प्रधानमन्त्री बनाउने र त्यसपछिको समयमा आफू प्रधानमन्त्री बन्ने सहमति भएकोले केपीको स्वास्थ्यस्थिति अढाई वर्ष नपुग्दै कमजोर बन्यो र उनले पद छोड्नुपर्ने स्थिति आयो भने केपीका लागि छुट्याइएको समय (अढाई वर्ष) ‘एमाले’ ले नै लिन सक्ने आशङ्काले प्रचण्डमा केपीको स्वास्थ्यस्थितिलाई लिएर ‘चिन्ता’ हुन थालेको बुझिन्छ ।

साढे दुई वर्षपछि मात्र आफू प्रधानमन्त्री बन्ने भनी सहमति भएकोले त्यसभन्दा पहिले नै पद खाली भएमा प्रधानमन्त्री पद आफूलाई हात लाग्न नसक्ने बुझाइ प्रचण्डको छ । त्यसैले केपीपछिका प्रधानमन्त्री बन्न, आगामी महाधिवेशनबाट अध्यक्ष छानिन र दुवै जिम्मेवारी प्राप्त गर्न असफल भएमा पार्टी विभाजन गराउनका लागि समेत उपेन्द्र यादवको समूहलाई पार्टीमा समाहित गर्न आवश्यक पर्ने निष्कर्षमा प्रचण्ड रहेका छन् । आफ्ना त्रिपन्न सांसदमा उपेन्द्र यादवका सत्र थपिएर सत्तरी पुग्ने र त्यसमा वामदेव गौतम तथा झलनाथ खनाल समर्थकहरूको समेत साथ प्राप्त हुँदा ‘पद पाउन’ र ‘पार्टी विभाजन गराउन’ सकिने विश्लेषण प्रचण्डबाट भइरहेको बुझिन्छ । प्रचण्डको यसप्रकारको योजनामा केपी ओली र माधवकुमार नेपाललगायत ‘एमाले कित्ता’ कसरी सहयोगी बन्ने हुन् त्यसको तस्बिर स्पष्ट बनिसकेको छैन ।

प्रचण्डले केही महिनाअघिदेखि नै आफू भारतको भ्रमणमा आउन चाहेको बताउँदै विभिन्न सम्पर्क सूत्रमार्फत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए र, भारतचाहिँ प्रचण्डको भ्रमणप्रति खासै अभिरुचि नलिएजस्तो देखिन्थ्यो । प्रचण्डले प्रयास गरेको करिब ६ महिनापछि उनको भारतमा भ्रमण मात्र भएन, विशेष भ्रमण भयो र भ्रमणपश्चात् प्रचण्ड ‘ऊर्जावान’ भएका छन् । केपीपछिको पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न अब कसैले रोक्न सक्नेछैन भन्ने आत्मविश्वास प्रचण्डमा जागृत भएको महसुस उनका निकटवर्तीहरूले गरेका छन् । प्रचण्डको स्थिति र मनस्थिति बुझेर एकीकृत कम्युनिस्ट पार्टीका हिमायतीहरूमा भने एकप्रकारको त्रास र आशङ्का पैदा भएको छ ।