सुरक्षाको कारण देखाई राजीनामा दिएका केसी पुनः समितिमा फर्किए

सुरक्षाको कारण देखाई राजीनामा दिएका केसी पुनः समितिमा फर्किए


निर्मला पन्त हत्या छानबिन गर्न गठन गरिएको समितिबाट सुरक्षाको कारण देखाई राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः छानबिन समितिमा फर्किएका छन् ।

पत्रकार सम्मेलनमार्फत समितिको कामकारबाहीप्रति असन्तुष्टि र सुरक्षाको माग गर्दै राजीनामा दिएका केसी गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि एक प्रेस विज्ञप्ति जारी गर्दै पुनः समितिमा फिर्ता भएका हुन् ।

केसीको राजीनामापछि गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा समितिका पदाधिकारी, छानबिन समितिका प्रमुख, गृहसचिव र सचिवालय टिमसँग पछिल्लो परिस्थितिबारेमा गम्भीर छलफल गरेका थिए ।


निर्मला पन्त हत्याको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सोही समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट सदस्य रहेका थिए ।

केसीले पुनः छानबिन समितिमा पुनः फर्किनुअघि जारी प्रेस विज्ञप्तिमा भनेका छन्, ‘छानबिन समितिको म्याद थपलगायतका विषयमा मेरो विमति रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेकोमा मिति २०७५–०५–२७ गते गृह मन्त्रालय, उच्चस्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको सन्दर्भमा मन्त्रालय र मेरोसमेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकाले राष्ट्रसेवकको रूपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहेर भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यलाई पुनः संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आज मिति २०७५–०५–२७ गतेदेखि समितिमा यथावत् रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउँदछु ।’