दुई ‘प्रधानमन्त्री’लाई पछार्दै ओली विजयी

दुई ‘प्रधानमन्त्री’लाई पछार्दै ओली विजयी


oliनेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलको नेतामा लोकप्रिय नेता केपी शर्मा ओली भारी मतले विजयी बन्नुभएको छ । कुल एक सय त्रिहत्तर मतमध्ये ओलीले अन्ठानब्बे मत प्राप्त गर्नुभयो भने माधवकुमार नेपालको बलियो साथ प्राप्त गर्नुभएकोले उहाँ पचहत्तर (७५) मत पाउन सफल हुनुभएको छ । एमालेका कुल एक सय त्रिहत्तर सभासद्मध्ये ओलीको समर्थनमा बयान्नब्बे, झलनाथ खनालको पक्षमा अठचालीस, माधव नेपाललाई सोधेर मतदान गर्नेहरू बीस तथा वामदेवको समर्थनमा चौध समर्थक रहेको विश्वास गरिन्थ्यो । ईश्वर पोखरेलको पक्षमा पनि चार सभासद् भएको बताइन्छ । जो–जसका जति समर्थक भए पनि मंगलबार (हिजो) सम्पन्न निर्वाचनमा तेइस (२३) मत बढी ल्याएर ओली विजयी बन्नुभएको छ । अब पार्टी अध्यक्षबाहेक एमालेको सम्पूर्ण ‘विङ’को कमाण्डर बन्ने सफलता ओलीलाई प्राप्त भएको छ । झलनाथ खनाल निर्वाचनमा विजयी बन्ने सुनिश्चित नभएकोले प्रतिस्पर्धामा उत्रन चाहनुहुन्थ्यो र केपी ओलीका तर्फबाट सहमतिका निम्ति राखिएको प्रस्तातप्रति सकारात्मक पनि हुनुहुन्थ्यो । तर, माधव नेपाललगायत केहीले आफ्नो पक्षमा अधिकांश समर्थक रहेको भन्दै प्रोत्साहित गरेपछि खनाल ओलीसँग भिड्न तयार हुनुभएको थियो । निर्वाचनमा विजयी बन्ने विश्वासका साथ प्रतिस्पर्धामा उत्रनुभएका खनाल ‘पार्टी अध्यक्ष नै संसदीय दलमा हारेको ऐतिहासिक रेकर्ड’ कायम गर्दै परास्त हुनुभएको छ । यस प्रकरणले एमालेमा केपी ओली सर्वाधिक बलवान हुनुभएको पुष्टि गरेको मात्र मानिएको छैन, खनाल र नेपालसहितका खासखास नेताहरूको पकड पार्टीमा गुमिसकेको सङ्केत पनि दिएको छ । २०६२ सालअघि र त्यसपछिको समयमा एमाओवादीविरुद्ध सशक्त ढङ्गले प्रस्तुत हुँदै आउनुभएका ओलीको विजयलाई उहाँको राजनीतिक अडानको विजयका रूपमा पनि लिइएको छ ।
यस घटनाले पार्टीका प्रमुख नेताहरूबीच विवाद र तनाव उत्पन्न गराएर ‘सर्वमान्य’ हैसियतमा रहँदै आउनुभएका एमाले नेता माधवकुमार नेपाललाई भने नराम्रोसँग ‘एक्स्पोज’ गरिदिएको छ । बुटवल महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बन्न वचन दिएर पनि तटस्थ रहनुभएका नेपालले ओलीलाई खुलेर सहयोग पु-याउनुभएको भए झलनाथको पराजय निश्चित मानिएको थियो । त्यसबेला तटस्थ देखिँदा पनि झलनाथलाई जिताउन सकिने भएकोले नेता नेपाल तटस्थ बनिदिनुभएको थियो । तर, अहिले खुलेरै नलागेसम्म ओलीलाई कमजोर बनाउन नसकिने भएपछि उहाँ आफ्नो सम्पूर्ण सामथ्र्यसहित झलनाथ खनालको मोर्चामा उभिन पुग्नुभयो । खनाल र ओलीबीचको प्रतिस्पर्धा र विवादबाट फाइदा उठाउन नसकिने देखिएपछि माधव नेपाल खनालको कित्तामा उभिएर आफ्नो रक्षा गर्न अग्रसर हुनुभएको बताइन्छ । ओलीसँग खनाललाई संसदीय दलको नेता बनाउनुहुन्न भन्ने र खनालसँग ओलीलाई कुनै हालतमा नेता बन्न दिनुहँुदैन भन्ने माधव नेपाल वास्तवमा आफैँ दलको नेता बन्न चाहनुहुन्थ्यो । सम्भव नभएपछि उहाँ झलनाथलाई दलको नेता बनाउन कस्सिनुभयो । यस घटनाबाट केपी ओलीलाई प्रमुख नेताको हैसियतमा पुग्नबाट रोक लगाउने व्यक्ति माधव नेपाल नै भएको पुष्टि हुन पुगेको छ । माधव नेपालको आफ्नो स्थिति कमजोर भए पनि पार्टीमा उहाँको राज कायम रहँदै आएको थियो । पन्ध्र वर्षसम्म महासचिवको जिम्मेवारीमा रहनुभएका माधवकुमार नेपाल संविधानसभाको पहिलो निर्वाचनमा दुई स्थानबाटै पराजित भएपछि प्रधानमन्त्री बन्नुभएको थियो । पराजित भएको अवस्थामा समेत प्रधानमन्त्री बन्ने मौका पाउनुभएका उहाँले यसपटक दुई निर्वाचन क्षेत्रबाट विजय हासिल गरेपछि सम्भवतः सम्पूर्ण अवसरको ओइरो आफूतिर लाग्ने आशा गर्नुभएको थियो । तर, पार्टीभित्र माधव नेपालको स्थिति अत्यन्त कमजोर देखिएको छ । चुनाव हारेर पनि प्रधानमन्त्री बन्नसक्ने माधव नेपाल यसपालि चुनाव जितेर पनि पराजयको कुण्ठा बोकेर गुज्रनुपर्ने अवस्थामा पुग्नुभएको छ ।