आत्मनिर्भर नभएसम्म यस्तै हो राजै !

आत्मनिर्भर नभएसम्म यस्तै हो राजै !


bichar– वीरेन्द्रमणि पौडेल
नेपाली सेनासमेत प्रयोग गरेर सम्पन्न गरिएको दोस्रो संविधानसभा निर्वाचनलगत्तैको परिणामपछि नेपाली काङ्ग्रेसका तीन नेता सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सिंहदरबारमा राखिएको प्रधानमन्त्रीको कुुर्सीतिर मुख मिठ्याइमिठ्याई हेरे । त्यो कुर्सीको स्वाद गोडातिनेकपल्ट शेरबहादुरले चाखिसकेका हुन् । गज्जब स्वादिलो र एकप्रकारले इन्द्रैको आसनजस्तै भएर होला उनले यसपटक पनि त्यो कुर्सी पाउन मरिहत्ते गरे, तर कुर्सीमा उक्लने सुरुकै खुड्किलामा ठेस लाग्यो उनलाई । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने लेखिएको काङ्ग्रेसी विधानअनुरूप चुनाव हुँदा १६ मतको फरकमा देउवालाई सुशीलले पछारे । पटकपटक मन्त्री, उपप्रधानमन्त्री र सभामुखसमेत भइसकेका रामचन्द्र पौडेलले पनि एकबारको जुनीमा त्यो प्रधानमन्त्रीको कुर्सीमा बस्ने उत्पातै रहर गरेका हुन् तर कसोकसो यसपटक पनि मेसो मिलेन । सुशीलसँग साउती मारेर के–के जाति सम्झौता गरेर यिनले सुशीललाई सघाए । रामचन्द्र र सुशीलको चोचोमोचो मिल्दा सुशील संसदीय दलको नेता चुनिए ।
जिन्दगीमा कुनै पनि लाभको पदमा नबसेका सुशीलले एकैपटक प्रधानमन्त्री पद ताके । मान्छेको जातै लोभी । यतिबेलाका अधिकांश मान्छे धनलोभ, पदलोभ र स्त्रीभोगको लोभमा चुर्लुम्मै डुबेका छन् । यी तीन मुख्यमुख्य लोभमध्ये कोही केको लोभमा कोही केको लोभमा फसेकै छन् । सुशील कोइरालाले धनको लोभ गरेको देखिएन । न यिनको नाममा घर छ न त कुनै बंैकमा खातासहितको दाम नै छ । यिनले स्त्रीभोगको लोभ गरेको पनि देखिएन । यदि त्यस्तो हुन्थ्यो त एकथान स्थायी खालकी श्रीमती भित्याउन यिनलाई गाह्रो पर्थेन होला । यिनी दाह्रीजुँघा सेतै फुलुन्जेल अविवाहित रहे । विवाह नगरेकै कारण यिनको छोराछोरी छैन, श्रीमती पनि छैन । यिनी प्रधानमन्त्रीको शक्तिशाली पदमा बस्न यदि पाए भने नातापाता, छोराछोरी र श्रीमती नभएका कारण आर्थिक भ्रष्टाचार कम हुने सम्भावना पनि देखिएको छ । तर, यति भईकन लोभकै चर्चा गर्दा यिनले यसपटक प्रधानमन्त्री पदको लोभ गरेका छन् भन्न मिल्ने अवस्था सिर्जना भएको छ । तीन लोभमध्ये कुनै एक लोभमा नफस्ने मान्छे भेटिएन यो देशमा । कृष्णप्रसाद भट्टराईपछि एकजना सुशील कोइराला बाँकी थिए यसपटकदेखि यिनको पनि हावा खुस्कियो । प्रधानमन्त्री पदमा बस्न यिनले पनि रामचन्द्रसँग बेस्सरी रोइकराई गरे । काङ्ग्रेसका सबै सभासद्ले यिनलाई नमस्कार गर्नुपर्छ सभापतिका नाताले र वरिष्ठताका नाताले पनि । तर, संसदीय दलको नेता बन्ने दौडका बखत यिनले काङ्ग्रेसका सबै सांसदका अगाडि हात जोडे । यस्ता प्रमाण बोल्छन्, ‘सुशीलले यसपटक प्रधानमन्त्री पदको लोभ गरे ।’
सुशीलले प्रधानमन्त्री पदको लोभ त गरे तर त्यो कुर्सीमा बस्ने मौका उनलाई आउँछ–आउँदैन यसै भन्न सक्ने अवस्था छैन । कनिकुथी सुशील नेपाली काङ्ग्रेसको संसदीय दलको नेता त भए यति हुँदैमा यिनलाई प्रधानमन्त्री पद त्यसै मिल्नेवाला छैन । नेपाली काङ्ग्रेसको भागमा पुगनपुग दुई सय सदस्य सङ्ख्या छ । बहुमत पु-याउन नेपाली काङ्ग्रेसलाई सयभन्दा बढी सदस्यको समर्थन चाहिन्छ । ८० सिटवाला एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी सरकारमा जान्न भनिरहेको छ । सरकारमा जान्न भन्नुको अर्थ नेपाली काङ्ग्रेसलाई सरकार बनाउन पनि एनेकपा माओवादीले सहयोग गर्दैन भन्ने अर्थ लगाउन हुँदैन । उसले सरकारमा नगई समर्थन मात्र पनि गर्न सक्छ । कहाँ कुन तरिकाले लाभ हुन्छ काङ्ग्रेस–एमालेकै जस्तो राजनीतिक लाइनमा आएपछि प्रचण्ड पनि निकै चतुर भइसकेका छन् । काङ्ग्रेस–एमालेहरूलाई कसरी च्याँखे थाप्दा के–कति राजनीतिक लाभ हुन्छ हिसाब निकाल्न यिनी पनि खप्पिस भइसकेका छन् । बन्दुक र गोलाबारुद अनि सुरुङ र लडाकुको हिसाब गर्न र विरोधीलाई मानसिक झट्का हान्न सिपालु प्रचण्डले ८० सिट सदस्य लिएर पनि काङ्ग्रेस–एमालेहरूलाई तिरिमिरीझ्याइँ पार्न सक्छन् । यिनले काङ्ग्रेससँग सभामुख पदमा सहमति गरेर त्यो पद आफ्नो पोल्टामा पारी समर्थन गर्न पनि सक्छन् । यदि लेनदेनका आधारमा यस्तो निर्णय भए पनि सुशील प्रधानमन्त्री हुन अरू कम्तीमा २५–२६ सिट चाहिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बन्ने कुनै पनि सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताइसकेको छ र सरकारमा नजाने स्पष्ट बताएको छ । प्रचण्डवाला माओवादीसँग तालमेल भएको खण्डमा नपुग २५–२६ सिटका लागि काङ्ग्रेसले सबै भारेभुरे दलसँग अनुरोधका साथ सम्झौता गर्नुपर्नेछ जुन सम्झौता गर्न कठिन मात्रै होइन अनेक प्रकारका झमेलासँग जुध्नुपर्नेछ । साना दलहरूले समेत ‘मालावाला’ मन्त्रालयका लागि बार्गेनिङ गर्नेछन् । कुन दललाई कुनचाहिँ मालावाला मन्त्रालय दिने यो विषयमा समेत ठूलै रडाको मच्चिने निश्चित छ । यो रडाकोले समय पनि निकै खेर फाल्ने छ । प्रचण्डवाला माओवादी र भारेभुरे दलसँग मिलेर सरकार बनाउन नेपाली काङ्ग्रेस सफल भए यो एउटा खालको अवस्था रहनेछ र सुशील कोइराला प्रधानमन्त्रीको कुर्सीमा उक्लिन पाउनेछन् । यो अवस्था नआएमा अर्को विकल्पको खोजी हुनेछ । त्यो विकल्प एमालेको साथसहयोगमा बन्ने सरकार हुनेछ ।
नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टीले प्राप्त गरेका सिटमा सङ्ख्या उतिसारो फरक छैन । झिनो मतान्तरले मात्रै संसद्मा नेपाली काङ्ग्रेस ठूलो सावित भएको छ । यस्तो अवस्थामा नेपाली काङ्ग्रेसको बार्गेनिङ पावर एमालेसँग कमजोर हुनेछ । एमालेले पनि आफूलाई कम्युनिस्ट भन्दै संसदीय ललिपपमा यात्रा गरेको लामै समय भइसकेको छ । ठ्याम्मै काङ्ग्रेस भन्न नमिले पनि ९८ प्रतिशत काङ्ग्रेसकै गुण, अनुहार, हेराइ, नचाइ, कपडामा आइरन लाउने तरिका, गाडी किन्ने, धन कमाउने, मस्ती मार्ने आदि–इत्यादि कर्ममा एकरूपता देखिन्छ । भौतिक सुविधा प्रयोग गर्दा भएको रातो गालामध्ये शेरबहादुर देउवाको गाला रातो कि झलनाथ खनालको भन्ने प्रतिस्पर्धा आयोजना गरियो भने छुट्याउनै नसकिने अवस्था छ । यसरी नेपाली काङ्ग्रेसका नेताभन्दा एमालेका नेताहरू कुनै पनि हालतमा कुनै पनि कोणबाट चतु-याइँ र बठ्याइँको हकमा तल नभएका कारण यिनले यदि नेपाली काङ्ग्रेसलाई प्रधानमन्त्री दिने हो भने हामी पनि जोगी हुन राजनीति गरेका होइनौँ भन्नेछन् र बाँकी मालावाला मन्त्रालय सबै चाहिन्छ भन्नेछन् । यसरी एमालेले काङ्ग्रेसलाई थाल खाऊँ कि भात खाऊँको अवस्थामा पु-याउने छन् भने यस्तो प्रस्तावलाई स्वीकारेर सुशील प्रधानमन्त्रीको कुर्सीमा चढ्ने मनस्थितिमा पुगे भने पनि त्यो खालको सरकार लामो समय टिकाउ हुनेछैन । सरकार चाँडै ढल्नेछ ।
त्यसपछि अर्को सरकारका लागि फेरि लाजमर्दो खेल हेर्र्नुपर्ने हुन्छ । यी दुई अवस्थालाई पार गरेपछि बल्ल सुशील कोइराला प्रधानमन्त्रीको कुर्सीनजिक पुग्नेछन् भने यी दुई अवस्था पार गर्न उनलाई त्यति सजिलो छ जस्तो पनि देखिँदैन ।
कसैले माने वा नमाने पनि यतिबेला नेपाल सामाजिक, आर्थिक र राजनीतिक, सांस्कृतिकलगायत सबै शीर्षकमा कमजोर भएको छ । नेपाल सबै कोणबाट कमजोर भएको यो अवस्थामा नजिकको छिमेकीको नाताले भारतले भरथेग गर्दै आएको छ । सबै खालको भरथेग गरेकैले भारतको नेपाली राजनीतिमा समेत प्रभाव देखिएको छ । नेपाली र कतिपय भारतीय राजनीतिक विश्लेषक भन्छन्, ‘नेपालको प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न भारतको भूमिका रहन्छ ।’
भारत आज पनि हाम्रा लागि दाताको रूपमा रहेको छ । हामीले हामीलाई आवश्यक पर्ने प्रायः हरेक चिज भारतबाट ल्याएका छौँ । कुनै चिज भारतले सित्तैमा दिएको छ, केही चिज हामीले खरिद गरेका छौँ । किनेकै भए पनि हामी भारतनिर्भर भएका छौँ । सीधै भन्नुपर्दा भारत हाम्रो दाता हो । दाताले भनेको पनि धेरै हदसम्म मान्नुपर्ने हुन्छ । यसलाई चाहे कसैले सल्लाह भन्लान् कसैले हस्तक्षेप । आखिर जबसम्म नेपाल हरेक कोणबाट आत्मनिर्भर बन्दैन तबसम्म भारतीय सल्लाह नेपालले मानिरहनुपर्नेछ । यदि यो खालको अवस्थाको अन्त्य चाहना गरिन्छ भने विदेशीको मुख ताक्ने र युवाशक्तिलाई विदेश पठाउने काम आजैदेखि बन्द गर्नुपर्छ । आफूलाई चाहिने सामान भारत र चीनकै पाराले उत्पादन गर्नतर्फ लाग्नुपर्छ, परनिर्भरताबाट मुलुकलाई मुक्त राख्नुपर्छ, तब मात्र कसैको सल्लाह नमानी, नसुनी सरकार बनाउन पाइनेछ ।