अवसर र चुनौतीको चेपमा सुशील’दा

अवसर र चुनौतीको चेपमा सुशील’दा


bichar– विनोद नेपाल
काङ्ग्रेसमा नेताहरूलाई सम्बोधन गर्ने आफ्नै परम्परा छ । कोइराला परिवारका सदस्यका मात्रै कुरा गर्दा पनि बीपीलाई सबैले ‘सान्दाजु’ भन्थे, गिरिजाप्रसादको नामपछिल्तिर ‘बाबु’ लगाउँथे भने सुशील कोइरालालाई सबैले सुशील’दा भन्छन् । यसबाहेक अरू पनि थुप्रै नेतालाई स्नेह, सम्मान वा अन्य कारणवश यस्तै कुनै थप शब्द जोडेर सम्बोधन गर्ने गरिन्थ्यो । सबैले थाहा पाएको एउटा उदाहरण स्वर्गीय सन्तनेता कृष्णप्रसाद भट्टराई थिए जसलाई स्नेहपूर्वक ‘किसुनजी’ भन्ने चलन थियो । अहिलेका तीन ‘शीर्ष’मध्येका दुई, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई भने ‘जी’ लगाउन थालिएको छ ।
उमेरको हिसाबले देउवा र पौडेल ‘कान्छा कोइराला’ भन्दा केही ‘तन्नेरी’ नै भए पनि काम र पार्टीमा योगदानका हिसाबले उनीभन्दा यी पनि कम छैनन् । बरु एउटा त तीनपटक मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् भने अर्काचाहिँ सभामुख, पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका तर प्रधानमन्त्रीको प्रतिस्पर्धामा भने सत्रपटक असफल भएका व्यक्ति हुन् । हालै सम्पन्न संसदीय दलको नेताको प्रतिस्पर्धामा यिनै ‘दा’ले दुई ‘जी’ हरूलाई किनारा लगाइदिए । एउटा ‘जी’ त उनीसँगको गोप्य मन्त्रणापछि कार्यवाहक सभापति हुनेमा चित्त बुझाएर आफँै छेउ लागे, अर्काचाहिँ प्रतिस्पर्धामा उत्रिएकोमा १६ मतको अन्तरले नै भए पनि ‘दा’ विजयी भएपछि तीनचित खान पुगे । जे होस्, सधैँ अन्तिम घडी पर्खने काङ्ग्रेसले यसपटक संसदीय दलको नेता चयनमा समयमै निर्णय लिएर एकप्रकारले सबैलाई आश्चर्यमा पारेको छ ।
काङ्ग्रेसका प्रायः सबै नेता कुनै न कुनै विवादमा परेका छन् । तर, हालसम्म कुनै सरकारी लाभको पद नलिएका र कुनै पनि विवादमा नपरेका काङ्ग्रेसभित्रकै एक स्वच्छ छविका व्यक्ति हुन् सुशील’दा । गिरिजाप्रसाद कोइरालाले आफ्नो उत्तराधिकारीका रूपमा उभ्याएका कोइरालाको नेतृत्व सशक्त र प्रभावकारी देखिन सकेको त छैन, तर उनको सभापतित्वमा रहेको समय काङ्ग्रेसले फेरि एकपटक मुलुकको पहिलो दल बन्ने मौका पायो जुन आफँैमा गौरवको विषय हो । यसको धेरथोर श्रेय सभापतिको हैसियतमा उनले पाउनु र यही आधारमा उनले सरकारको नेतृत्व गर्ने चाहना राख्नु पनि अस्वाभाविक होइन ।
राजनीति भनेको कुरा बेचेर चर्चामा आउने कर्म हो पनि भनिन्छ । जसले जति धेरै कुरा गर्न सक्छ ऊ त्यति सफल हुन्छ । कुरा बेचेर चर्चामा आउने नेताहरूको बोलवाला चलिरहेको र चल्ने क्रममा सुशील’दा अगाडि आउन सक्ने देखिँदैनन् । किनकि, उनी त्यसरी बोल्दैनन् । अर्थात्, बिकाउ छैनन् उनी । सुशील’दा लागेका काममा लागिरहन्छन् तर खुलेर स्पष्ट कुरा गर्ने उनको बानी छैन । बोली सुन्दा उनी तौलेर बोलेजस्तो भान हुन्छ । तर, उनको दृष्टिकोण पनि स्पष्ट रूपमा बुझ्न सकिन्न । उनको अडान लिने स्वभाव आफ्नो ठाउँमा छ, तर उनीसँग न दमदार भाषण गर्ने कला छ (स्वास्थ्यकै कारण पनि त्यसो गर्न सक्ने अवस्था छैन) न कुनै बैठक वा छलफलमा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्ने क्षमता नै । हाम्रोजस्तो मुलुकमा राजनीति त छलछाम हो । उनीसँग छलछाम गर्ने क्षमता र त्यसखालको चतुरता पनि छैन । यिनै कला र सीपको अभावका कारण दलभित्रबाट त उनले संसदीय दलको निर्विरोध नेता बन्न सकेनन् भने संसदीय दलको नेतामा विजयी भएपछि भावी प्रधानमन्त्रीको रूपमा चर्चामा आएका उनी बाहिरकासँग सहमति खोज्ने र भावी दिनमा गठबन्धन सरकारमा आउन सक्ने समस्याको समाधान गर्नमा पनि ठोस निर्णय लिन र उचित कदम चाल्दै सन्तुलन मिलाउन अनि सबैलाई सन्तुष्ट बनाउन सक्लान् भन्नेमा आशङ्का गर्नेहरूको कमी छैन ।
यस्तै सुशील’दासँग न एक्लै पार्टी हाँक्ने वा सरकारलाई चलाउने क्षमता र अनुभव छ न दलभित्रका असहमत पक्षलार्ई समेटेर लैजान सक्ने सामथ्र्य नै । काङ्ग्रेसभित्रको गुटबन्दी यति गहिरो छ कि त्यसको अन्त्य गर्ने सम्भावना त झन् छँदै छैन उनको नेतृत्व र प्रयासमा, किनकि केही यस्ता व्यक्ति छन् जसले काङ्ग्रेसमा सधैँ आफैँ हालिमुहाली मच्चाइरहन पाइयोस् भन्ने चाहना राख्छन् । तिनले सुशील’दाले भनेका कुरा मानिहाल्ने अवस्था दलमा छैन । संसदीय दलको नेता चयनको क्रममा जे–जस्तो मत आयो त्यसलाई हेर्दा पनि बाह्रौँ महाधिवेशनदेखिका सभापति पदका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्ष कम बलियो छ भन्ने देखिँदैन । बरु त्यो समूह बलियो हुँदै छ भन्ने आभास हुन्छ । जसले सुशील’दालाई आफ्नै दलभित्रको चुनौती सामना गर्नुपर्ने अवस्था छ भने बाह्य चुनौती त झन् कति छन् कति । यही पृष्ठभूमिमा सुशील’दा संसदीय दलको नेतामा निर्वाचित भए पनि रहरअनुसार प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त भएमा सुशील’दाको स्वभाव, पार्टीको अवस्था, निकटस्थहरूका स्वार्थ, अन्य दल र नेताका शैली आदिको कारण उनलाई आफ्नो जिम्मेवारी पूरा गर्न निकै कठिन हुने अनुमान गर्न सकिन्छ ।
जे होस्, सुशील’दाका सामु अवसर र चुनौती दुवै छन् । गुट–उपगुटमा विभाजित काङ्ग्रेसलाई भावनात्मक रूपमा एक बनाउन, कमजोर काङ्ग्रेसलाई सशक्त बनाउन र जनताको मन जित्ने काम गरेर देखाउन सकेमा उनी सफल हुनेछन् । त्यसो गर्न सकेनन्, आफ्नो निर्णय लिन सकेनन्, आसेपासेका इशारामा चल्न थाले, असन्तुष्ट पक्षलाई आफूसँगै लैजाने प्रयत्न नगरी एक्लै हिँड्न खोजे भने त्यसले काङ्ग्रेसलाई नै नोक्सानमा पार्नेछ । काङ्ग्रेसमा काङ्ग्रेसभित्र गुटबन्दी गराएर फाइदा लिनेहरू पनि धेरै छन् । तिनलाई चिनेर काम गर्न सके काङ्ग्रेस बलियो हुने अन्यथा कमजोर हुने भएकाले असन्तुष्ट पक्षलार्ई सन्तुष्ट बनाउनु र काङ्ग्रेसलाई एकाकार बनाउनु उनको प्राथमिकतामा पर्नुपर्छ । सरकार गठन गर्न पाएको अवस्थामा सानो र चुस्त एवम् मितव्ययी सरकार गठन गर्नु बुद्धिमानी हुन्छ । समग्रमा, यसपटक काङ्ग्रेसले मौका पाएको छ । सुशील’दाको कार्यकालमा सुशासनको प्रत्याभूति गराउने र लोकतान्त्रिक संविधान निर्माण गरी जारी गर्नेजस्ता काम हुन सके त्यसको श्रेय काङ्ग्रेसले नै पाउनेछ । यस कुरालाई ख्याल राख्नु काङ्ग्रेस र सुशील’दा दुवैको हितमा हुन्छ ।