फन टाइम

फन टाइम


funtime‘त्यो त अवार्डको नाममा घोटाला हो’
सिनेमाको पर्दामा अभिनेत्री रेखा थापा जसरी निडर, निर्भीक र साहसिलो भूमिकामा देखापर्छिन्, त्यसैगरी सिनेमाभन्दा बाहिर पनि उनको व्यवहार, बोल्ने शैली त्यस्तै हुने गरेको छ । मलेसियामा हालै सम्पन्न फिल्म अवार्डमा पनि उता नगएर उनले नेपालमै रहँदा पनि अवार्ड पाएका अभिनेत्रीहरूभन्दा बढी चर्चा र परिचय बटुलिन् । ‘नेफ्टा फिल्म अवार्ड’ले प्राविधिकहरूको शोषण गरेको र उनीहरूलाई अन्यायमा पारेको अभिव्यक्ति दिएकी रेखासँग यिनै कुराहरू खोतल्ने प्रयास गरियो ।
० रेखा थापा किन विवादमा ?
– विवादमा होइन, गलत कुराहरूको भण्डाफोर गरेकी हुँ ।
० फिल्म अवार्डमा त्यस्तो गलत के भएछ र ?
– चलचित्र प्राविधिक सङ्घले गरेको अवार्डमा प्राविधिकहरूकै मानमर्यादा गरिएन अनि उनीहरूको शोषण गरियो ।
० त्यो त सङ्घको कुरा हो । तपाईंको टाउको किन दुख्यो ?
– दुख्छ नि । एउटै क्षेत्र भएपछि प्राविधिकहरूलाई अलग राख्न अरूले सक्लान् तर म सक्दिनँ । अनि नेपालमा चलचित्र क्षेत्रलाई यो ठाउँमा पु-याउन चलचित्र प्राविधिकहरूको ठूलो हात छ । उनीहरूको अवमूल्यन गरेको म हेर्न सकिनँ ।
० कसरी भयो अवमूल्यन ?
– त्यो अवार्डमा मलेसिया जान पाउनेहरूमा कति थिए चलचित्र प्राविधिकहरू ? आयोजकले नाम भन्न सक्दैन । प्राविधिकहरूको नाममा आफ्ना श्रीमतीलाई प्लेन चढाएर मलेसिया लाँदैमा अवार्ड सफल हुन्छ ? चलचित्र प्राविधिक सङ्घसँग आबद्ध सदस्यहरू नै जान पाएनन् अवार्डमा । केही बाठाहरू उडे अरू हेरेको हेरै ।
० तपार्इंको नामचाहिँ कसरी दुरुपयोग भयो नि ?
– मलाई थाहा नै नदिईकन मेरो अनुमतिबिना प्रचारसामग्रीमा फोटो हालियो । म पछि रेखा फाउन्डेसनको कामले गर्दा नजाने भएपछि रेखाले धोका दिइन् भनेर हल्ला गरियो । धोका मैले होइन एउटी सेलिबे्रटीको तस्बिरको गलत प्रयोग गरेर उनीहरूले ठूलो गल्ती गरेका छन् । बाहिर देशमा भएको भए मुद्दा लाग्दथ्यो र लाखौँ तिर्नुपर्दथ्यो उनीहरूले ।
० अवार्ड त तपाईंलाई दिन्छु भनेका थिए रे नि ?
– त्यस्तो पनि अवार्ड हुन्छ । पहिले नै यसलाई र उसलाई दिने भनेर निश्चित भएको अवार्ड कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । नेफ्टा अवार्डको कुनै विश्वसनीयता नै रहेन ।
० खासमा रेखाको चित्त नबुझेकोचाहिँ कहाँ हो ?
– एक त मेरोबारेमा गलत प्रचार, अर्को कुरा चलचित्रमा दिनरात भनेर काम गर्ने प्राविधिकहरूको शोषण । वास्तविक प्राविधिकहरू त्यो अवार्डमा जानबाट वञ्चित भएका छन् । जसले अवार्ड पाए उनीहरूलाई हार्दिक बधाई र कार्यक्रममा सहभागी हुन आउनुभएका दर्शकहरूलाई धन्यवाद ।

पुनः जुर्मुराए स्रष्टा चौधरी
पछिल्लो समय नेपाली साहित्यमा एक चर्चित गीतकार तथा कविका रूपमा उदाएका वसन्त चौधरी पूर्वघोषित कार्यक्रमअनुसार पुनः विश्व काव्य–यात्रामा सरिक हुने भएका छन् । स्रष्टा चौधरीको यस वर्षको विश्व काव्य–यात्राको नेपाल श्रृङ्खला यही माघ २७ गते सोमबार ४ बजेदेखि काठमाडौंस्थित मण्डला नाटकघरमा एकल काव्यवाचनबाट सुरु गरिने बताइएको छ ।
उक्त एकल काव्यवाचन कार्यक्रममा नेपाली साहित्यका सुपरिचित करिब २ सय जनाको सहभागिता रहने कार्यक्रम आयोजक श्री लूनकरणदास–गङदेवी चौधरी साहित्य कला मन्दिरले जनाएको छ । सन् २०१४ को कवि चौधरीको विश्व काव्य यात्राको पहिलो खुड्किलो यही हुनेछ भने २७ गतेको उक्त विशेष कार्यक्रममा उनले आफ्ना नवीनतम् एवम् केही पुराना काव्य रचनाको एकल वाचन गर्नुका साथै उनको साहित्यिक यात्रा तथा विविध रोचक पक्ष समेटी निर्मित वृत्तचित्र समेत प्रदर्शित हुनेछ ।
‘सिजी इन्टरटेन्मेन्ट’सम्बद्ध आरपी मैनालीका अनुसार हालसम्म तय गरिएका चौधरीका विश्व काव्य यात्राका अन्य श्रृङ्खलाहरूमा आगामी मार्च ०८ शनिबारका दिन अमेरिकाको डेनवर शहरमा, मार्च ०९ मा अमेरिकाकै न्यूयोर्क शहरमा र मार्च १६ मा फ्लोरिडा राज्यमा हुने तय भएको बताइएको छ । त्यसरी नै आगामी मई महिनामा जापानस्थित नेपाली राजदूतको निमन्त्रणा कवि चौधरीले त्यहाँ आफ्ना साहित्यिक बान्कीहरू पस्कने छन् ।

सेतो बाघ अब पर्दामा
चलचित्र निर्माणको मामिलामा निकै चिन्तनशील र गहन मानिन्छन् नीर शाह । अफर आएका नियमित प्रकृतिका चलचित्रहरूमा अभिनय गरे तापनि शाह आफूले निर्माण गरेका र गर्ने चलचित्रहरूको विषय भने गहन र ओजस्वी नै खोज्ने गर्छन् । पे्रमपिण्ड, वसन्तीजस्ता उच्चकोटीका सिनेमा निर्माण गरेका शाह अब फेरि लामो समयको ग्यापपछि पुनः चलचित्र निर्माणमा फर्किएका छन् ।
यसपटक नीर शाहले फेरि रोजेका छन्– डायमण्डशमशेरकै उपन्यासलाई । राणाका वसन्तीलाई सिनेमा बनाएका शाहले फेरि राणाकै अर्को उपन्यास सेतो बाघलाई सिनेमाको रूपमा दर्शकहरूमाझ ल्याउने भएका छन् । उल्लेखनीय कुरा के छ भने सेतो बाघ सिनेमाको रूपमा मात्र नभएर टेलिचलचित्रको रूपमा पनि दर्शकहरूमाझ आउने भएको छ । सेतो बाघको काठमाडौंमा आयोजित एक समारोहबीच निर्माणको घोषणा गरियो । शाहले यसमा कथाको मर्मलाई ध्यानमा राख्दै रंगमञ्चका होनहार कलाकारहरूलाई बढी मात्रामा स्थान दिएका छन् ।

सिनेमा होइन पढाइ
चलचित्र रिलिजको मुखमा आएर प्रोड्युसरकी नायिका श्वेता भट्टराईबारे चर्चा चल्यो– अब उनी विवाह गर्दै छिन् । सिनेमा क्षेत्र पनि छाड्दै छिन् उनले । बजारमा यस्तो चर्चा चलिरहेकै समयमा पोखरेली यी सुन्दरी अभिनेत्री श्वेताले घटना र विचारसँग यी हल्ला गलत भएको बताइन् । उनले थपिन्, ‘मैले केही समय सिनेमा क्षेत्रबाट विश्राम लिएको कुरा सही हो । त्यो विश्राम अध्ययनका लागि थियो । तर, त्यही कुरालाई लिएर यी दुई कुरा बजारमा आए ।’
आफूले अभिनय गरेको पछिल्लो चलचित्र प्रोड्युसरको प्रचारप्रसारका लागि पोखराबाट काठमाडौं आएकी श्वेताले अध्ययनकै लागि केही सिनेमा छाडेको कुरालाई पनि लुकाइनन् । विवाहकै प्रसङ्गमा उनले थपिन्, ‘विवाह त गर्नुपर्छ तर अहिले होइन । दिन आइहाल्छ नि ।’
यसअघि रिदम नामक सफल चलचित्र दिएकी श्वेता अन्य केही हिरोइनहरूजस्तै सिनेमा खेल्नकै लागि पढाइलाई तिलाञ्जली दिने सोचमा छैनन् । उनले बुझेकी छिन् कि शिक्षाभन्दा ठूलो अरू छैन । फिल्म त पछि पनि खेल्न सकिन्छ, तर पढाइ भनेको समय बितेपछि सकियो । त्यसैले पढाइलाई महत्व उनले बताइन् ।

दीपकको ‘माधुर्य’ विमोचित
गीतकार दीपक सापकोटाको नयाँ गीति एलबम ‘माधुर्य’ सार्वजनिक भएको छ । मङ्गलबार राजधानीमा आयोजित एलबम विमोचन कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतज्ञ चन्द्रराज शर्मादेखि यतिबेलाका चर्चित संगीतकार राजु सिंहसम्मको उपस्थिति थियो । यस्तै, लायन भरतलाल श्रेष्ठ, लियो भीम भट्टराई, विशालबजार कम्पनीका अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ, गायक एवम् संगीतकार भोजराज प्रसाईंलगायत विभिन्न क्षेत्रका व्यक्ति–व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रमका अतिथिहरूले विमोचित एलबम ‘माधुर्य’को मुग्धकण्ठले प्रशंसा गरेका थिए ।