इन्द्रेणी

इन्द्रेणी


indreniआस्था ओढेर शिरमा– दीपेन्द्रसिंह थापा
उकालो–ओरालो त यात्रा हो
सँगै सुसेल्नु छ
फेदी र शिर
सँगै गुन्गुनाउनु छ
फाँट र भीर ।
हिउँद–बर्खा त भोगाइ हो
हरमौसम
फुल्नु छ आस्था
हरबिहान
खुल्नु छ उज्यालो ।
दुःख–सुख त अनुभूति हो
पग्लनु छ
मनको याम
अग्लनु छ
जीवनको आयाम ।
त्यसैले त –
माटोको महकमा हुन्छु म
बाटोको चहकमा हुन्छु म
आस्था ओढेर शिरमा
आफ्नै विश्वासमा हुन्छु म ।

वेदराज पन्तको ‘दशैँ’ – मुक्तिनाथ शर्मा

वेदराज पन्तका सुलेख म मन पराउँछु
उनका जुनै किताब पढी स्वयम् रमाउँछु
सभ्यता र शास्त्रका कुरा उनी निकाल्छन्
त्यसैगरी सभ्यता बुझेर लेख लेख्छन् ।

मिल्यो दशैँ मलाई जो म बेसरी रमाउँदै
पढँे किताब सर्सरी सुवाक्य भित्रभित्र गई
बुझेर मातृशक्तिको विशिष्ट सृष्टिको कुरो
मनै प्रसन्न भइदियो अहा ! विचित्र यही भयो ।

दशैँ ठूलो छ चाड जो गरिन्छ मातृपुजन
त्यसै गरेर पितृको गरिन्छ श्राद्ध–तर्पण
यिनै कुरा र शक्तिको महत्व बेसरी बुझँे
बुझेर सभ्य संस्कृति स्वयम् रमाउँदै रहँे ।

यहीँ रहेछ शास्त्रका कुरा र मन्त्र–मन्त्रका
रहस्य सृष्टि–चक्रका कुराहरू ठूला–ठूला
प्रशस्ति शक्तिपीठका तथा गणेश गाईका
महासरस्वती तथा नदी पवित्र तीर्थका ।

सबै कुरा अटाइयो किताब नै निकालियो
ठूलो कुरा यही भयो सुसभ्यता चिनाइयो
दशैँ ठूलो छँदै थियो अझै महत्व दर्शियो
बधाई यो छ पन्तमा अहा ! सुकाव्य लेखियो ।

रिडी–काली–मस्र्याङ्दी सलल– रामेश्वर राउत ‘मातृदास’
हृदयमा झझल्को झलल
रिडी–काली–मर्याङ्दी सलल

सेती–काली अङ्गालोमा शीलाशालीग्राम
पवित्र छिन् कालीगंगा संसारकै धाम
मुस्कुराउँदै पिरती गाँसेर
नाच्छिन् काली बिजुली हाँसेर

आशा–उत्सव सङ्गालेर कलकलाउँदै सुरु
खोकिलामा काखीच्यापी साथै ल्याउँछिन रुरु
झर्छिन् काली फनक्कै घुमेर
पावन धाम रिडीलाई चुमेर
हृदयमा झझल्को…

आँधी खोला मनको झोला बिसौनीमा साँघु
स्याङ्जा–पर्वत–गुल्मीबीचमा खेल्छन् शीला फागु
तिम्रो प्रीति मनगंगा साँचेर
राखेको छु शीलाले बाँधेर
हृदयमा झझल्को…