सांस्कृतिक विचलन

सांस्कृतिक विचलन


nisedhराजनीतिमा महिला हिंसासम्बन्धी अनुसन्धानको सिलसिलामा एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास गोदावरी पुग्दा अन्य नेताहरूकोमा भन्दा फरक प्रकारको वातावरण देखियो । नेता श्रेष्ठ व्यस्त भएका कारण एकछिन अर्को कोठामा बस्न आग्रह गरियो । कोठाभित्र छिर्न नपाउँदै एउटी बडो स्मार्ट युवतीले अभिवादन गर्दै चिया–कफी के लिनुहुन्छ ? भनेर सोधिन् । चिया–कफीको रोजाइपछिको उनको प्रश्न थियो– चिनी, दूध ? त्यसपछि उनी फोनमा नेताजीको समय व्यवस्थापनमा व्यस्त भइन् । फोनमा कसैसँग उनी भन्दै थिइन्– आज अलि व्यस्त हुनुहुन्छ, उहाँलाई म कुरा राख्छु, भोलितिर गरौँ न । हामी त्यहाँ पुग्नुअघि एनेकपा माओवादीका शक्ति बस्नेतलगायतका नेताहरूको मिटिङ रहेछ, उहाँहरू बाहिरिएपछि हामी भित्र गयौँ । नेता श्रेष्ठले परिचय गराउनुभो– उहाँ सुशन, मेरो सेक्रेटरी । सुशनले म उहाँलाई चिन्छु नि भनेपछि मैले हामीबीच बेलाबेलामा कुरा हुने गरेको बताएँ । नेता प्रकाश (नारायणकाजी) परराष्ट्रमन्त्री हुँदा महिला पत्रकारसँग भेटघाट गर्नुप-यो मन्त्रीज्यूले तपाईंसँग सल्लाह गर्नु भन्नुभएको छ, कहिलेलाई गरुँ ? भनेर सुशनले फोन गरेकी थिइन् । त्यसपछि पनि कति जनासँग भेटघाट गर्ने होला ? एजेण्डाहरू के–के हुन सक्छन् ? भनेर फलो अप कल आइरह्यो । खै के–के भयो सो कार्यक्रम गर्ने भन्दाभन्दै पर सर्दै गयो र पछि एमाओवादी सरकारबाट हटेपछि कुरा त्यसै सकियो । त्यतिबेला यो पङ्क्तिकारलाई प्रकाशजीले कस्तो प्रोफेसनल सेक्रेटरी राख्नुभएको रहेछ भन्ने ‘इम्प्रेसन’ रह्यो । पछि प्रकाशनिवास गोदावरीमा हामी कुरा गर्दागर्दै उनले ढोकाबाटै भनिन्, ‘लीलामणि पोख्रेल र अन्य केही कमरेडहरू आइसक्नुभएको छ, पल्लो कोठामा हुनुहुन्छ । ३ बजेपछि अर्को मिटिङ छ, चिया–कफीका लागि भनिसकेकी छु । छलफलको विषयमा कुरा भएको छैन, म जरुरी काम परेर बाहिर जान लागेकी छु ।’ नेताजीलाई यति ब्रिफ गरेर उनी बाहिर निस्किइन् । आफँैले गाडी ड्राइभ गरेर निस्कँदै गरेको देखेपछि एउटा पूर्ण ‘इन्डिपेन्डेन्ट’ महिलाको छवि मैले उनमा पाएकी थिएँ ।
अहिले एनेकपा माओवादीको बैठकमा सांस्कृतिक विचलन आएको भन्दै उनको पनि नाम नेता प्रकाशसँग जोडिएको र त्यसमा सुशनले असाध्यै चित्त दुखाएको भन्ने कुरा सार्वजनिक हुँदा के गर्नुपर्ने राजनीतिक दलहरू केमा अल्झिरहेका छन् जस्तो लाग्यो । माओवादी एक हुँदैदेखि सांस्कृतिक विचलनको कुरा यो पार्टीमा खुव उठ्ने गरेको हो । कम्युनिस्ट भाषामा महिला र पुरुषबीचको असामान्य सम्बन्धलाई सांस्कृतिक विचलनको रूपमा परिभाषित गरिन्छ । विश्वमा यसप्रकारको सांस्कृतिक विचलनमा परेका व्यक्तिमा स्वयम् माओत्सेतुङलाई मानिन्छ । युवतीहरूसँगको सम्बन्धमा कमजोर मानिने उनका चारवटी श्रीमती थिए । क्युवाका शक्तिशाली कम्युनिस्ट तानाशाह फिडेल क्यास्त्रोलाई नजिकबाट बुझ्नेहरूले उनलाई पनि सांस्कृतिक रूपमा विचलित मान्छेका रूपमा चिन्ने गर्छन् । नेपालमा चाहिँ मोहनविक्रम सिंह, रामबहादुर थापा बादल, राम कार्कीलगायतका नेताहरू सांस्कृतिक विचलनको आरोपमा कारबाही भोगिसकेका नेताभित्र छन् । यता नेकपा एमालेमा पनि भीम आचार्यदेखि झलनाथ खनालसम्मै कुरा भने नउठेको होइन, तर एमालेमा यही शीर्षकमा कारबाही भने हुने गरेको छैन । यसपटक एनेकपा माओवादीमा भने यो कुरा जोडतोडले उठेको भनी सार्वजनिक भएको छ । चुनावी समीक्षा गर्न बसेको बैठकदेखि वर्तमान परिस्थितिबारे कुराकानी हुँदासम्म पार्टीका केही नेताबारे कुरा उठेको बताइएको छ । प्रचण्डपुत्र प्रकाशलाई यी सबैमध्ये बढी आलोचनाका पात्र बनाइएको छ । पार्टीमा उनको पुनर्आगमनका बेला चुपचाप बस्ने महिला तथा पुरुष कामरेडहरूले अहिले आएर उनको सांस्कृतिक विचलनले पार्टीलाई अप्ठ्यारो स्थितिमा पु-याएको निष्कर्ष निकालेका छन् । यसलाई पनि बलेको आगो ताप्ने प्रवृत्तिकै रूपमा लिनुपर्छ शायद । अहिले यदि नेता प्रचण्डको शक्ति पहिलाकै अवस्थामा हुँदो हो त प्रकाशको विचलन देखिने थिएन । किनभने यो निकै पुरानो विषय हो, कारण उनीसँग नाम जोडिएकी महिलाले चुनाव लडीकन पराजयसमेत भोगिसकेकी छिन् । यदि उनले जितेको भए पनि शायद अहिले यो कुरा चुपचाप सकिने थियो होला । अप्ठ्यारो परेको बेला सबै प्रकारका दु:खहरू मानिसको जीवनमा एकैपल्ट आउँछन्, बिर्सिएका कुराहरू पनि सम्झिन्छन् र नराम्राबाहेक राम्रा कुरा देखिँदैनन् भनिन्छ, शायद प्रचण्डको जीवनमा पनि अहिले त्यस्तै भएको छ । शक्तिमा हुन्जेल उहाँ र उहाँको परिवारलाई नराम्रो देख्नेहरू कमै थिए ।
भनिन्छ, मानिस दरिद्र हुँदै गएपछि ससानो कुरामा अल्झिन्छन् या कुनै विषय नै बन्नु नपर्ने विषयलाई अघि सारेर निहुँ खोज्छन् । अहिले एमाओवादीमा त्यस्तै भएको देखिन्छ । मुलुकको भविष्यको जिम्मा लिएर अघि बढेका राजनीतिक दलका लागि यो मुलुकमा गर्नुपर्ने धेरै कुरा छन् । सत्ता मात्रै सम्पूर्ण जिम्मेवारी र प्राप्ति होइन । यो मुलुकका तमाम बेथितिलाई सुधार गर्न प्रतिपक्षमा बस्नेको ठूलो भूमिका हुन्छ । चुनावी समीक्षा नै गर्दा पनि कुनै नेताले महिला सेक्रेटरी या सल्लाहकार राखेकै कारणले व्यापक क्षति भएको होइन न त भविष्यमै हुनेवाला छ । ठूला–ठूला नीति, योजना बोकेर मुलुक बनाउनअघि सर्ने मात्र होइन वर्ग, क्षेत्र, भूगोल सबैमा समानता देख्नेहरूका लागि त झन् यस्ता विषयहरू आफैँमा गौण हुनुपर्ने हो । यदि भएछ नै भने पनि कोसँग कसले आँखा जुधायो, कसले कसलाई आँखा झिम्क्यायो या कसले कसको हात अलि नरम तरिकाले समायो भनेर बहस गर्नुको साटो अब पार्टीलाई कसरी बजबुद बनाउने, जनताको मन जित्ने काम कसरी गर्ने भन्नेबारेमा केन्द्रित गर्नु आवश्यक देखिन्छ । महिला हुन् या पुरुष सम्बन्धका नाममा अन्याय भने हुनुहँुदैन । फेरि जग बलियो भए कसैसँग सम्बन्ध बढ्नु र छुट्टिनुले खासै फरक पनि पार्दैन । बेलायतजस्तो ठाउँमा राजकुमार चाल्र्सले केमिलालाई विवाह गर्दा त्यो संस्थालाई केही फरक पारेन । त्यसैले कसैको व्यक्तिगत सम्बन्धले पार्टीलाई असर ग-यो भन्नु त्यति तर्कपूर्ण देखिँदैन । व्यक्तिगत आचरणको परिणाम प्राय: मानिसले व्यक्तिगत रूपमै भोगिरहेको हुन्छ न कि संस्थाले । यदि प्रकाशले गलत गरेका भए प्रकाशले नै व्यक्तिगत रूपमा तनाव भोग्नुपर्छ न कि प्रचण्डले । छोरालाई लिएर नेता प्रचण्डलाई ह्युमिलिएसन गर्न मिल्दैन । छोराछोरी, भाइ–भतिजाले कहाँ के–के गर्दै हिँड्छन् त्यसको दोष अभिभावकलाई दिनुको कुनै अर्थ छैन । वास्तवमा कसैको चरित्र हत्या गर्ने या कसैको मानमर्दन गर्ने उद्देश्यले औपचारिक बैठकमा यसप्रकारका कुरा उठाउनु पनि आफैँमा सांस्कृतिक विचलन हो ।