‘स्वनामधन्य’ प्रसाईंले फेसबुकमा यस्तो किन लेखे ?

‘स्वनामधन्य’ प्रसाईंले फेसबुकमा यस्तो किन लेखे ?


bichar– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
गएको माघ ३ गते सनकसिंह राई, केर्मिला राई र म बा.अ.च ५७५२ नं. को गाडीबाट विराटनगर गयौँ । यो गाडी राईजीको निजी हुनाले हामी रोकिँदै र दौडिँदै हिँडेका थियौँ । राईजीको हेटौँडामा पनि जग्गा रहेछ । हामी त्यहाँ पनि केहीबेर अलमलियौँ । यताबाट हामी हिँड्दा पौने ७ बजिसकेको थियो । थानकोटको बाटो जाँदा ढिलो हुने भएकाले हामी दक्षिणकालीको बाटो हुँदै भीमफेदी निस्कियौँ । त्यो बाटोमा खालि सुमो गाडी मात्र चल्दा रहेछन् । बाटो साँघुरो भएकाले सुमोको निकै ठूलो दबदबा चल्दो रहेछ । धन्न हाम्रा राईजी शान्त र मिजासिला व्यक्ति भएकाले झगडामा फस्नुपरेन । अहिले पनि पूर्व–पश्चिम राजमार्ग अव्यवस्थित रहेछ । ठाउँ–ठाउँमा बिग्रे–भत्केको र साँघुरो बाटोले बेला–बेला गाडी जाम हुँदा रहेछन् । बाटामा कुकुर, गाई र हाँस, कुखुराहरू तथा बाख्रा–पाठाहरू त्यसै छाडा छोडिएका हुँदा रहेछन् । नभन्दै हामी चढेको गाडीले फर्किंदा एउटा कुकुर कच्याक्कै पारिदियो । ठाउँ–ठाउँमा प्रहरीहरू त थिए तर यात्रुबाहकका लागि व्यवस्थाचाहिँ राम्रो थिएन । हेटौँडामा सुरुङमार्ग पनि बन्दै रहेछ । यो पूरा तयार भएपछि काठमाडौं एक–डेढ घण्टामा आउ–जाउ हुने रहेछ । यसरी विभिन्न ठाउँको अवलोकन गर्दै हामी इटहरी पुग्यौँ । म विराटचोकमै ओर्लिएँ । राईदम्पतीचाहिँ दमकतिर लाग्नुभो । केर्मिलाजीको टाउकाको बिमार भएकाले ४ गते शनिबार सिलिगुडीको च्याङ्स् अस्पताल जानुभयो । यो अस्पताल च्याङ नाम गरेकी चिनियाँ महिलाले खोलेकी रहिछिन् । उनी चिनियाँमूलकी भारतीय नागरिक हुन् । यो अस्पतालमा प्राय: सबै किसिमको उपचार हुँदो रहेछ । भारतका राम्रा अस्पतालमध्ये यो पनि एउटामा पर्दो रहेछ ।
म भने विराटनगरतिर बरालिँदै थिएँ । यो फेसबूक भन्नेले जताततै मार्केट लिएको रहेछ । त्यहाँ साथीहरूले यसबारे निकै रोमाञ्चक कुराहरू देखाए । एउटाचाहिँ आफ्नै विषयमा नकारात्मक लेखिएको लेख पढ्दा म छाँगाबाट खसेजस्तै भएँ । नरेन्द्रराज प्रसाईंको नामबाट लेखिएको त्यो आर्टिकलको शीर्षक थियो– परपीडक र परजीवी दुई निधिहरू ! एउटा निधि यज्ञनिधि र अर्कोचाहिँ म रत्ननिधि । यो पढेपछि नरेन्द्रराजप्रति मेरो जुन आस्था र विश्वास थियो, त्यो सबै गयो । किनकि सबैलाई थाहा छ– यज्ञनिधि दाहाल अहिले जीवन–मरणको दोसाँधमा छन् । २०५६ तिर फेरेको मिर्गौलाले काम गर्न छाडेर उनी २÷४ वर्षदेखि ओछ्यानको ओछ्यान छन् । उनी रेडियो नेपालमा साहित्य–संसार चलाउँथे जुन त्यसबेला चर्चित थियो । उनको गला यति मधुर र सुरिलो थियो, एकपल्ट सुनेपछि जो–कोही पनि मोहित बन्थ्यो । उनी भानु माविमा नेपाली विषयको शिक्षक पनि थिए । वास्तवमा उनको घरको आर्थिक स्थिति त्यति बलियो थिएन । आपूले जागिर खाएपछि त्यसैको पैसाले सुधा आचार्यसित विवाह गरेका थिए । सुधाजी राम्रो भजनगायक र जर्मनी प्रोजेक्टमा काम गर्ने भएकाले कमाइ पनि राम्रै थियो । दुवैजनाले खटेर काम गरेको पैसाले घर बनाएका हुन् । फेरि नरेन्द्रजी काठमाडौं आउँदा केही थिएन । उनका जेठो दाजु दीर्घराज प्रसाईं रापंस भएकाले भाइलाई पनि यतै खुट्टा टेकाइदिएका हुन् । हाल नरेन्द्रजीको घर भएको जग्गा खुदै दीर्घराजकी धर्मपत्नी लुमणि प्रसाईंका नाममा थियो । केही पैसा मात्र लिएर त्यो जग्गा देवरलाई दिएको बुझिन्छ । नरेन्द्रजीको उषा जोशीसित प्रेमविवाह भएको थियो । त्यो पनि दीर्घराजजीले थाहा नपाएको भए यो प्रेम वियोगान्तक हुनसक्थ्यो । वास्तवमा दरबारदेखि विभिन्न ठाउँमा दाइ रापंस भएकै नाताले नरेन्द्रजीको पहुँच बढेको हो । एक समय अच्युतरमण अधिकारी, डा. तुलसीप्रसाद भट्टराई, दाहाल यज्ञनिधि र नरेन्द्रराजबीच राम्रो दोस्ती थियो । उनीहरू उन्नयन परिवारमा थिए । अच्युतरमण अधिकारीले नरेन्द्रजीलाई राष्ट्रिय विभूति मोतीराम भट्ट पुरस्कारका लागि सिफारिस गरेबापत यो परिवारमा फुट आयो । त्यो परिवारमा नरेन्द्रजीबाहेक सबै बीपी कोइरालाका अनुयायी थिए । नरेन्द्रजी पञ्चायतकालभरि महेन्द्रवादी, पछि कहिले काङ्ग्रेस, कहिले एमाले र कहिले माओवादी पनि भए । उनले गिरिजाबाबुदेखि माधव नेपाल र प्रचण्डसम्म गरेको प्रशस्ति पत्रपत्रिकाहरूमा पढिएकै हो । त्यसको प्रमाणस्वरूप माओवादीकी शान्ता श्रेष्ठलाई सम्बोधन गरिएर लेखिएको चिठीले नै बोल्छ । जसोतसो उनी यस्तै गरेर गुजारा चलाउँछन् ।
जहाँसम्म मेरो विषयमा उनले देवकोटाको नाउँमा खायो भनेर लेखे, मैले आजसम्म देवकोटाको नाउँमा कतै एक रुपैयाँसम्म खाएको कसैले प्रमाणित गर्नसके म जुनसुकै सजाय भोग्न पनि तयार छु । बरु देवकोटा अध्ययनमा सात वर्ष बिताउँदा झण्डै ७० हजार मैले नै खर्च गरेँ हुँला । यसर्थ उनले मलाई देवकोटाको नाउँ बेचेर खायो भन्ने आरोप लगाएको एकरत्ति पनि सत्य नभएको उल्लेख गर्न चाहन्छु । मलाई उनले थोत्रा कपडा जडाउरी दिएको उल्लेख गरेका रहेछन् । म ६ वर्षभित्रै टुहुरो भए पनि परनिर्भर कहिल्यै बनिनँ । ११ वर्षको उमेरमा काठमाडौं आएको हुँ । मैले तीन वर्ष शिक्षणसेवा, सात वर्ष भाषा सम्पादन, ६ वर्ष ज्योतिष सेवा, सात वर्षभन्दा बढी स्तम्भकार तथा १३ वर्षभन्दा बढी पत्रपत्रिका, होजियरी, कपडा कारखाना आदिमा श्रम गरेर बिताएँ । यसका अलावा मानव अधिकार सङ्गठनदेखि पत्रकार महासङ्घसम्म आबद्ध छु । मेरो आर्थिक हैसियत अहिलेसम्म के खाउँ र के लाउँकै हालतमा छ । तर पनि मैले आजसम्म कसैको जडाउरीचाहिँ लाउनुपरेको छैन । भगवान्ले आजसम्म जसोतसो प-याइदिएका छन् । हो, एकपल्ट म नरेन्द्रजीको घरमा पुगेको थिएँ । उनले मलाई तपाईंको बेग्लै तस्बिर बनाउनुप-यो, यो कपडा पहिरिनोस् भनेर दुई जोर कपडा दिएर फोटो खिचे, ल राम्रो आयो भनेर कपडा फुकाल्न लगाए । तर, त्यो किन र के प्रयोजनका लागि गरियो ? भन्ने पत्तोसम्म मलाई भएन । २०५४ तिर म शान्ता श्रेष्ठको टहरोमा बसेको थिएँ । उनी बडो समाजसेवी ठान्थिन् आपूmलाई । त्यो बेला म असाध्यै बिरामी परेको थिएँ । यो थाहा पाएर कवि मदन रेग्मीले नरेन्द्रराजजीलाई आग्रह गर्नुभएछ । त्यसबेला नरेन्द्रजी र इन्दिराजीको जोडी मकहाँ आइपुगेर रु. १ हजार छोडी गयो । त्यो पैसा मैले शान्ता दिदीलाई दिनका लागि म अस्पताल जान सकिनँ । प्रसाईंजीले जाबो रु. १ हजार दिएर ४÷५ पल्ट बिलमा मलाई हस्ताक्षर गर्न लगाए । त्यसैलाई उनले विद्वत्वृत्ति दिएको थिएँ भनेर लेखेका रहेछन् । मैले सुनकोसी साहित्य प्रतिष्ठानले दिएको देवकोटा विद्वत्वृत्तिबाहेक अरू नलिएको घामभैmँ छर्लङ्ग छ । उनले मलाई बिहे गरेर स्वास्नी खेद्यो भनेर हुँदै नभएको कुरा लेखेछन् । नरेन्द्रजीकी आमा भगीरथा हुँदा म बरोबर भेट्न जान्थेँ । उनकी आमाले मलाई छोराजस्तै ठान्ने गरेकाले पनि गएको हुँ । उहाँकै अनुरोधमा म एउटा दशैँमा टीका लगाउन पुगेको थिएँ । त्यहाँ मैले नचिनेकी एकजना स्वास्नी मानिस पनि टीका लगाउन आएकी रहिछिन् । नरेन्द्रजीकी आमाले दुवैलाई एकैपल्ट टीका लगाइदिनुभयो । प्रसाईंदम्पती भने तस्बिर खिच्दै थिए । उनले त्यही फोटो देखाउँदै फलानाकी स्वास्नी भन्ने गरेको पनि सुनियो । तर, ती महिलालाई म चिन्दैचिन्दिनँ । यसरी पटकैपिच्छे तस्बिर खिच्ने गरेपछि २०६५ देखि मैले उनको घरमै जान बन्द गरिदिएँ । अहिले त उनीसित मेरो भेटघाट पनि छैन । उनले भूपालमान पुरस्कार दिलाइदिएको पनि लेखेका रहेछन् । माफ रहोस्, मलाई प्राज्ञ घटराज भट्टराईले धेरै ठूलो अनुनय गर्नुभएकाले मात्र त्यो पुरस्कार लिएको हुँ । तर त्यो पुरस्कार दिलाउन क–कल्ले मद्दत गरे त्योचाहिँ मलाई थाहा भएन । घटराजजी शिक्षासेवी र भाषासेवी पनि भएकाले उहाँको अनुरोध म अस्वीकार गर्न सक्दिनथेँ । यही बाध्यताले भूपाल पुरस्कार लिएको हुँ ।
नरेन्द्रजीले मलाई मात्र होइन, ताना शर्माजस्ता विद्वान्लाई जागिर लगाइदिएको, यज्ञनिधिले उनका जुत्तामा पालिस गरेको, उस्ताद भैरवबहादुर थापाले महिलाको स्तन माड्दै सङ्गीत सिकाएको तथा दीर्घराज प्रसाईंले सुन चोरेकोजस्ता फरेबहरू पनि लगाएका छन् । किशुनजी जस्तो सच्चरित्रवान्लाई पनि नानाभाँती लेखेका छन् । हुँदा–हुँदा महाकवि देवकोटाले किशुनजीलाई मुद्दा हालेको झुटो बयान दिएका छन् । देवकोटा र किशुनजी युगवाणीमा सँगै कार्य गरेका सहपाठी भएकाले यो किशुनजीलाई बद्नाम गर्न मात्र लेखिएको थियो । देवकोटाले जीवनमै कसैलाई मुद्दा हालेनन् । उनले जननायक बीपी कोइरालाले महाकवि देवकोटालाई साह्रै सताएको भन्ने हुँदै नभएको आक्षेपसमेत लगाएका छन् । वास्तवमा बीपीले नै महाकवि देवकोटालाई राष्ट्रिय सम्मान दिएको यथार्थ सबैसामु छर्लङ्ग छ । देवकोटा शताब्दीमा उनले देवकोटाकी श्रीमती मनदेवीलाई समेत कविप्रसादकी प्यारीका रूपमा चित्रण गरेकाले महाकविकी स्वर्गवासी अर्धाङ्गिनीको अपमान नहोस् भनी मैले प्रतिवाद गरेको हुँ । यसरी दिवङ्गत व्यक्तिमाथि अरूलाई लेख्ने अधिकार पनि नहुनुपर्ने थियो । यसर्थ देवकोटाकी धर्मपत्नीका विषयमा नचाहिँदो लेखिएकाले मात्र मैले प्रसाईंको आलोचना गरेको हुँ । उनीसित मेरो व्यक्तिगत कुनै रिसइवी छैन । तैपनि उनले फेसबुकमा किन हाम्रो चरित्रहत्या हुने लेख राखे ? यसपल्ट विराटनगर नगएको भए यो कुरा थाहा हुने थिएन । यत्तिका वर्षसम्म रहेको त्यो चरित्रहत्याको लेखबारे कतै कुनै प्रतिक्रिया पनि पाइएन । बरु नरेन्द्रराजजीले आफ्नै सहोदर भतिजा महेश प्रसाईंकी श्रीमती इन्दिराजीलाई विवाह गर्दा ठूलै चर्चा भएको हिजोजस्तो लाग्छ । बुहारी राख्नेलाई हाम्रो समाजले राम्रो दृष्टिले नहेरे पनि यो उनको निजी मामला भएकाले त्यसबारे यहाँ केही लेख्नुपर्ने आवश्यकता देख्दिनँ । तैपनि मबारे लेखिएको तर हुँदै नभएको कुरा लेख्दा नरेन्द्रजीलाई नै बढी घाटा भएको हुनुपर्छ । त्यति मात्र होइन, मैले आजसम्म गरेको त्याग, तपस्याको जति अवमूल्यन भयो, त्यसको क्षतिपूर्ति उनले यो जीवनमा कहिल्यै गर्न सक्दैनन् । जे भए पनि हाम्रो बौद्धिक समाजले यस्तो अनर्गल लेखलाई खासै महत्व दिएन । नत्र त ठूलो चर्चा हुन्थ्यो होला । तैपनि फेसबुक कसैको मनलाग्दी लेखेर मजाक गर्ने वेबसाइट त नहुनु पथ्र्यो । उनको कारणले यति लेख्नुपरेकोमा नेपाली पाठकसामु म क्षमा माग्दछु । लेखकको सम्पत्ति भनेका पाठकवर्ग हुन् । पाठकवर्गलाई ढाँट्नुहुँदैन भन्ने मेरो मान्यता छ । वास्तवमा यो लेख गहिरिएर पढे भने नरेन्द्रजीसमेतलाई पनि लाज लाग्छ होला ।