दलीय हस्तक्षेपमा अर्घाखाँची–मिडिया

दलीय हस्तक्षेपमा अर्घाखाँची–मिडिया


bichar– मुक्तिनाथ भुसाल
एक–डेढ दशकअघिसम्म मात्र पनि यस्तो बेला थियो, अर्घाखाँचीवासी रेडियो नेपाल र अलइन्डिया रेडियो मात्र सुन्न पाउँथे । यतिबेला जिल्लावासी आफ्नै गाउँ–जिल्लाबाट घन्किने एफएम रेडियो सुन्न अभ्यस्त बनेका छन् । हालको अवस्थामा अर्घाखाँचीमा चारवटा एफएम स्टेसन र एउटा टेलिभिजन सञ्चालनमा छन् । एफएम सुन्नका लागि पहिलाजस्तो रेडियो सेट किन्नु पनि पर्दैन, हातमा रहेको मोबाइल सेट नै काफी छ । त्यसकै भरमा घाँसपात जानेदेखि हिँडडुल गर्नेहरू पनि सञ्चारको नजिक रहेका छन् ।
पत्रकार महासङ्घ अर्घाखाँचीले दिएको जानकारीअनुसार ९५ जना युवायुवती महासङ्घको साधारण सदस्य रहेका छन् । पत्रकारिताको तालिम लिएका वा पत्रकार बन्ने चाहना राखेका थप करिब पचास युवायुवती जिल्लामा रहेको अनुमान गरिन्छ । पत्रकार राज्यको चौथो अङ्ग हो । समाजमा हुने सकारात्मक वा नकारात्मक पक्षका तथ्यको गहिराइमा पुगी त्यसबारे सत्यतथ्य आमनागरिकसमक्ष पस्किँदै मुलुकको आमुल परिवर्तनका निम्ति सञ्चारकर्मीको कलम एउटा क्रान्ति हो । यसरी कलमको क्रान्तिमा होमिन खोज्नेहरूले आफूले के पाएँ भन्दा पनि राष्ट्रलाई के दिएँ भनेर सोच्नुपर्ने अवस्था रहेको छ । दुई–चार अपवादलाई छोडेर चाहे केन्द्रमा रहेर काम गर्ने कलमकर्मी हुन् वा मोफसलका, साँझ–बिहानको जोहोका लागि कुुनै छुट्टै उपाय अवलम्बन गर्नुपर्ने बाध्यता आजका आमसञ्चारकर्मीको नियति हो । अर्घाखाँचीमा एउटै पनि ठूलो उद्योग–कलकारखाना नभएको परिवेशमा सानो क्षेत्रमा सञ्चालन गरिएका चार–चारवटा एफएम र टेलिभिजनले पनि आफ्ना कर्मचारीलाई बाँच्नका लागि आवश्यक आधारभूत तलब–भत्ता दिन सक्लान् भन्ने ठान्नु कोरा विश्वास मात्र हुनेमा दुईमत नहोला ।
पत्रकारितालाई नै पेसा बनाउन चाहने नवप्रतिभाहरूले यहाँनेर मनन गर्नुपर्ने कुरा के छ भने नेपालका बढीमा १० प्रतिशत पत्रकारले मात्र व्यावसायिक रूपमा आफ्ना परिवार पाल्न सकेका होलान्, बाँकी सञ्चारकर्मीले यो पेसाबाट जीविकोपार्जन गर्न किमार्थ सकेका छैनन् । अन्य उपायबाट आर्जित आफ्नै खर्चमा पेट भरेर पनि समाजमा हुने विसङ्गतिविरुद्ध लड्दै भविष्यमा पेसागत रूपमा राष्ट्रिय पहिचान बनाउँदै कलममार्फत देशको सेवा गर्ने सोचाइ बनाउनु सकारात्मक पक्ष भए पनि धन र नाम दुवै कमाउँछु भन्नुचाहिँ दु:स्वप्न मात्र हुन्छ । आमजनताको पक्षमा नि:स्वार्थ र इमानका साथ यो पेसा अवलम्बन गरिएको हो भने आफ्नो भात–भान्साको जोहो अर्थात् आम्दानीको कुनै अर्को भरपर्दो स्रोत पहिला व्यवस्था गर्नु अपरिहार्य देखिन्छ । ‘कलमकोे क्रान्ति’का निम्ति हौसिनेहरू आफ्नो लक्ष्यलाई बिर्सेर समाजका कथित हुनेखाने, गन्नेमान्ने, अभिजात वा सामन्ती सोच राख्नेहरूका अघिपछि लाग्ने, अनावश्यक वा अस्वाभाविक रूपमा सम्बन्ध बढाउन खोज्ने गरेमा चाहिँ कलम नै कमजोर बन्न पुग्ने र चाहेको विषयमा गहिराइमा पुगेर सूचना सम्प्रेषण गनै धौ–धौ पर्ने अवस्था निम्तिन सक्नेतर्फ सचेत रहनुपर्छ ।
राज्यको चौथो अङ्गको रूपमा परिभाषित पत्रकारिता पेसामा आबद्ध हुनुअघि धेरैपटक सोच्नु बुद्धिमानी हुन आउँछ । किनकि, यस क्षेत्रमा लागिसकेपछि अन्य क्षेत्रमा प्रवेश गरेर काम गर्न सोचे–नसोचेका व्यवधान आइपर्दारहेछन् भन्ने अनुभव धेरैले सँगालिसकेका छन् । निजी क्षेत्रका लगानीकर्ताहरूले पत्रकारलाई त्रास र शङ्काको दृष्टिले हेर्ने र जान–अनजानवश सुरु गरेको पेसामार्फत प्राप्त सम्मान वा सामाजिक दायित्वका कारण भविष्यमा सानोतिनो व्यवसाय गर्न पनि विवेकले नमान्ने हुँदोरहेछ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर ‘पढ्न नसकेर पत्रकार बनेका’ भनी खुलेआम टिप्पणी गर्नेहरूसमेत यस समाजमा भेटिने गरेबाट कमजोर मन भएकाले त यस पेसामा लाग्नुअघि निकै सोचविचार गर्नु आवश्यक देखिन्छ ।
जिल्लामा आउने विकासे बजेटमा ‘भाइअंश’ लगाउने आदत पालेका र सरकारी धनमा मोजमस्तीको जीवन बिताएकाहरूले सञ्चारकर्मीको महत्व र पीडा केही बुझ्न सक्दैनन्, अनि तुच्छ वचन प्रहार गर्न पुग्छन् । अर्घाखाँचीका सन्दर्भमा भन्नुपर्दा विगतमा महासङ्घमार्फत वितरण गरिने साधारण सदस्यतामा जिल्लाका दलहरूले आफ्नो हैसियतअनुसार कोटा भागबन्डा गरी आफ्नामातहतका कर्मचारी, ठेकेदार र कार्यकर्तालाई समेत पत्रकारमा छनोट गर्ने र मनलागेको व्यक्ति महासङ्घमा पठाउने गरेको महारोगलाई विडम्बनाकै रूपमा लिन सकिन्छ । जिल्लाका चार दलको बैठकद्वारा जिल्ला पत्रकार महासङ्घ गठन गरिने कारण जिल्ला महासङ्घभित्र रहेका केही गरौँ भन्ने भावना बोक्ने कलमजीवीले पनि चाहेअनुसारको काम गर्न सक्ने वातावरण छैन । कमसेकम पत्रकार महासङ्घजस्तो गरिमामय संस्थाको कमान्ड गर्नेहरूले एक–आपसमा क्षमता वृद्धि गर्नुको साथै नवप्रतिभालाई यो पेसाको मर्मबारे समय–समयमा जानकारी गराउनु राम्रो हुने भए पनि त्यस्तो कर्म अवलम्बन गरेको पाइन्न । विचारलाई स्वतन्त्र नराखे पनि कलमलाई स्वतन्त्र राख्न चाहनेहरू आफ्नो पत्रकारिताको छाता सङ्गठन क्रियाशील टिमयुक्त बनोस् भन्ने चाहन्छन्, तर दलहरूको ज्यादतीपूर्ण प्रस्तावको प्रभावबाट हालसम्म अर्घाखाँची पनि अछुतो छ भन्न मिल्दैन । आफ्ना दलका नेताहरूको आज्ञाअनुसार पत्रकारिताको थोरै–धेरै भूमिका निभाएको वा पत्रकार महासङ्घको साधारण सदस्यता प्राप्त गरेको व्यक्ति दलको कोटामा छनोट भई जिल्ला महासङ्घमा प्रवेश गर्ने गरेको सन्दर्भमा आगामी जिल्ला महासङ्घ कस्तो प्रकृतिकोे निर्माण हुने हो– तीव्र प्रतीक्षाको विषय बनेको छ ।
कुनै पनि पेसाको आ–आफ्नै मर्म र महत्व हुन्छ । राज्यको चौथो अङ्गको रूपमा परिभाषित यो पेसामा पनि वर्ग निर्धारण गर्नु आवश्यक देखिन्छ । प्रेस मेसिनमा काम गर्ने, पत्रिका प्याकिङ गर्ने, विज्ञापन बटुल्ने, मिडिया कार्यालयको आयव्यय हेर्ने, ‘प्राइभेट पत्रिका’ जोगाउनका लागि वर्षमा दुई–चर अङ्क दुई पाना छापेर पत्रकार भनी छाती ठोक्ने, फेसबुकमा समाचार लेख्ने, एफएम वा टेलिभिजनमा गीत–गजल र फोन–इन कार्यक्रममा संलग्न रहने, ‘अर्थकेन्द्रित समाचार’ सङ्कलनको धन्दामा संलग्न रहने, असान्दर्भिक र अनियमित मुद्दा उठाउने, मुलुकको राजनीतिबारे कोरा गफ छाँटेर दिन बिताउने, ज्योतिषी बनेर भाग्यरेखा बताउने, नेताको अघिपछि उभिएर ठालु बन्न खोज्ने, पत्रकार महासङ्घको साधारण सदस्य नै जिल्लामा दलको भागबन्डामार्फत प्राप्त गर्ने, गाउँका विकट बस्तीहरूबाट सूचना दिने, राजनीतिक दलको मुखपत्रमा काम गर्ने आदित्यादि सबैको आ–आफ्नै काम, धन्दा र महत्व हुने भए पनि साधारण भाषामा यस्ता सबैलाई समान रूपमा पत्रकारको ‘दर्जा’ दिइने प्रवृत्ति अर्घाखाँचीमा पनि विद्यमान छ ।