समयको सहीछाप नियाल्दा

समयको सहीछाप नियाल्दा


bicharकृति समीक्षा
समकालीन नेपाली साहित्य जगत्का चर्चित कवि एवम् नियात्राकार दामोदर पुडासैनी ‘किशोर’का चार दर्जनभन्दा बढी सुन्दर काव्यमय थुँगाले सजिएको सिर्जनात्मक सन्तान कवितासङ्ग्रह ‘समयको सहीछाप’को अवतरण भएको छ ।
विगत ०६५ सालमै सार्वजनिक भएको ‘यात्राका पे्रमिल तरङ्गहरू’ ओजपूर्ण नियात्रात्मक निबन्धसमेत ‘समयको सहीछाप’ छैटौँ कृति हो दामोदरको । कविता तथा नियात्रा सहित्य दुवै विधामा विशिष्ट पहिचान बनाइसकेका सर्जक पुडासैनीको सङ्ख्यात्मक हिसाबले दुवै विधाका परिवेशगत धरातल यात्रा, नियात्रा नै भएको भेउ पनि पाइएकै छ । ‘बादल’ शीर्षकबाट श्रीगणेश भएर ‘रक्सी’मा पुगी बिट मारिएको प्रस्तुत कृति स्रष्टा दामोदरको कवि हृदयमा समय र परिस्थितिअनुसार जे–जस्ता छाप परे तिनैको सुखद परिणाम हो सिर्जनशील छाप भन्ने लाग्छ । ‘समाहा नाघिरहेको कविता’ शीर्षकमा व्यक्तिएको आफ्नो लेखनकीय मन्तव्य पनि तीन पृष्ठसम्म तन्किएको छ कवितामै । यसो हुनु स्रष्टा दामोदरमा निहित काव्यशिल्प र कुशलताकै परिणाम हो भन्नुपर्छ । ‘समाहा’ भन्नु मूलत: धानखेतका गरामा नअटाएर पानी ओभरफ्लो हुने ठाउँविशेषको नाम हो । यहाँ यो नाम चयन हुनु अत्यन्त स्वाभाविक लाग्छ । जब कि कवि दामोदरबाट नि:सृत काव्योद्गारहरू पनि निश्चित सीमाभित्र अटाउँदैनन् । छताछुल्ल भएर वेगिन्छन् । अनुशासित तवरले पदीय दायित्व निर्वाह गर्दागर्दै पनि सर्वसाधारणले अझ भनुँ गैरसाहित्यिक परिवेशबाट अमर्यादित झुटा लाञ्छनाहरू सुन्नु परिरहेको हुन्छ । त्यसैका परिणाम हुन् लेखकीय अभिव्यक्ति– ‘साँच्चै हजुर दामोदरलाई त नलगाइभएको छैन’ । दोस्रो शीर्षकमा व्यक्तिएका यी कवितांश –
दामोदर पुडासैनी
दुईचार हरफ लेखेको भरमा
के–के न ठूलो जीवन ठान्छ
एउटा नाथे जागिरमा
कत्ति न ठूलो पदको मान्छ
कानुन नमानेको कुरा खोतल्छ ।
उज्यालो खोज्ने दामोदर पुडासैनीजस्तालाई
अँध्यारोमा नधसाई भको छैन ।
विश्वलाई नै आलोकित बनाउने, देदीप्यमान, साक्षात्कार गर्न सकिने देवता, सूर्य भगवान्समेत पुग्न नसकेको ठाउँमा सक्ने मानिएका समष्टिमा आमस्रष्टाहरूलाई नै अमर्यादित लाञ्छना लगाउने बकम्फुसे मनुवाहरूलाई घतिलो जवाफ बनेर गुञ्जित कवितांशहरू हुन् यी ।
निजामती कर्मचारीको हैसियतले पदीय दायित्व निर्वाह गर्ने क्रममा घर–देशदेखि परदेशसम्मका विविध भूगोलमा भाँैतारिँदा साक्षात्कार गरेका, भोगेका, गहनतम् उपलब्धि एवम् कालजयी परिणाम हो– ‘समयको सहीछाप’ । मूलत: विविध सामाजिक परिवेश र यथार्थको धरातलमा उभिएर काव्योद्गारहरू गुञ्जाउने समकालीन कवि हुन् ‘किशोर’ । त्यसैले भन्नैपर्छ– तीन प्रकारका कवितामध्ये सारस्वत: हैसियतका श्रष्टा हुन् उनी । ‘मृत्युदण्ड’ शीर्षकमा समन्वित उपमा अलड्कारयुक्त पद्यांशहरू नियाल्दा लाग्छ, सामाजिक विसङ्गतिप्रतिको चोटिलो प्रहार पनि हो यो । हेरौँ सुरुकै केही काव्यिक, उद्गारहरू–
एउटा मृत्युले
जन्माउँछ असङ्ख्य अङ्कुरहरू
मृत्युदण्ड जस्तोसुकै समस्याका लागि पनि
हुन सक्दैन समाधानको बिन्दु
कामना गरौँ, कवि दामोदरबाट यस्तै–यस्तै काव्य बिन्दुहरू वर्षिंदै सिर्जनात्मक सिन्धु बन्दै वर्षिरहून् निरन्तर ! किन्तु ९ अङ्कलाई विशेष महत्वको मानिन्छ धार्मिक धरातलबाट नियाल्दा । शून्यलाई यसको प्रतिकूल हिसाबले लिइन्छ । त्यसैले समयको सहीछाप ४९ वा ५१ वटा शीर्षक समावेश गरिएको भए उपयुक्त, हुन्थ्यो कि !