इन्चेनमा पदक जित्न कराते खेलाडी तयार

इन्चेनमा पदक जित्न कराते खेलाडी तयार


sportअन्तर्राष्ट्रियस्तरमा नेपाललाई सर्वाधिक पदक दिलाउन सफल करातेको ४०औँ राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा सम्पन्न भएको छ । निकै धुमधामका साथ उद्घाटन र समापन भएको राष्ट्रिय प्रतियोगितालाई सन् २०१४ मा दक्षिण कोरियाको इन्चेन सहरमा आयोजना हुने एसियन गेमको तयारीको रूपमा लिइएको छ । राजधानी काठमाडौंमा सम्पन्न भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफमा १४ वटा स्वर्ण पदक जितेर नेपाललाई ऐतिहासिक विजय दिलाउन सफल भएको करातेले त्यसबेला दक्षिण एसियाली मुलुकमा आफ्नो उपस्थिति निकै दह्रो रूपमा राखेको थियो । तर, विडम्बना ! मुलुकको विषम राजनीतिका कारण पाकिस्तानमा सम्पन्न भएको नवौँ साफमा कराते आफ्नो सम्पूर्ण साख गुमाएर एक स्वर्ण पदकमा खुम्चिएको थियो । उक्त एक स्वर्ण करातेका धरोधर दीपकले करातेको नाक काटिनबाट जोगाएका थिए । त्यसपछि निकै आलोचित बन्न पुगेको करातेले श्रीलंकामा सम्पन्न भएको १०औँ सागमा पनि उल्लेख्य प्रदर्शन गर्न चुकेको थियो । र पनि बंगलादेशमा सम्पन्न भएको ११औँ सागमा करातेले आफ्नो गुमेको प्रतिष्ठालाई केही हदसम्म बचाउन सफल भएको थियो । उक्त सागमा करातेले तीन स्वर्ण पदक जितेको थियो ।
विगत अढाइ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व पूर्वकरातेखेलाडी युवराज लामाले सम्हालेपछि करातेमा नयाँ आशाका किरणहरू देखिएका थिए । लामाले सितोरियो कराते र कराते महासङ्घको अध्यक्षमा पूर्वचर्चित खेलाडी तथा नेपाललाई आठौँ साफमा ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावा गुरुङलाई ल्याएपछि करातेमा नौलो तरङ्ग उत्पन्न भएको थियो । विभिन्न कारणले बद्नाम बन्न पुगेको करातेलाई त्यसपछि दावाले सही मार्गमा ल्याउन सफल भएका छन् । अनुशासनहीनताको गाँजेको र प्राय: मृतरूपमा पुग्नै लागेको करातेलाई दावाले ब्युँताउनका साथै पुन: पुरानै शक्तिका रूपमा उभ्याउन सफल भएका छन् । जसले गर्दा दक्षिण एसियाली मुलुकमा नेपालले करातेमा पुन: पुनरागमन गर्दै वर्चश्व कायम गर्ने अनुमान गरिन थालिएको छ । त्यस्तै एसियाली खेलकुदमा गुमेको साखलाई इन्चेनमा दोहो-याउने सम्भावना देखिएको छ । अहिले कराते खेलाडीको स्तर र प्रतिभा हेर्दा इन्चेनमा करातेले ऐतिहासिक सफलता हासिल गर्दै राष्ट्रको झण्डा नफराउला भन्न सकिँदैन ।

एपीएफ कराते टिम च्याम्पियन
एपीएफ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ४०औँ राष्ट्रिय करातेमा टिम च्याम्पियन भएको छ । नेपालगन्जमा एपीएफले आठ स्वर्ण, तीन रजत र चार कास्य जित्दै टिम च्याम्पियन बनेको हो । नेपाल पुलिसले तीन स्वर्ण, पाँच रजत र आठ कास्य जितेर दोस्रो र नेपाल आर्मीले दुई स्वर्ण, चार रजत र ६ कास्य जितेर तेस्रो भएका थिए । राष्ट्रिय खेलकुदको तत्वावधान तथा नेपाल कराते महासङ्घको आयोजनामा नेपालगन्जमा प्रथम लुम्बिनी तथा ४०औँ राष्ट्रिय कराते च्याम्पियनसिप सम्पन्न भएको हो ।
अन्तिम दिनको पहिलो खेल महिला टिम कातामा मध्यमाञ्चलले स्वर्ण पदक जित्दै खाता खोलेको थियो । शुभद्रा श्रेष्ठको नेतृत्वमा सङ्गीता डङ्गोल र सुमन लामाले देखाएको कला प्रदर्शन उत्कृष्ट ठहरिँदै विश्वविद्यालयलाई ५–०¬ ले पराजित गरेको थियो । विश्वविद्यालयका रिना श्रेष्ठ, सरिता श्रेष्ठ र करिना लामाको टिमले रजत पदकमा चित्त बुझाए । त्यस्तै सोही स्पर्धामा पूर्वाञ्चल र नेपाल प्रहरीले संयुक्त रूपमा कास्य जितेका थिए । त्यस्तै पुरुष टिम कातामा नेपाली सेनाका खेलाडीले बाजी मारे । सुभाष कार्कीको नेतृत्वमा उत्रिएको उक्त टोलीमा डम्बर आलेमगर र सानुकुमार रुम्बा थिए । उक्त टोलीले सुदूरपश्चिमका ललित खत्री, भरत विष्ट र सुरेश थापाको टिमलाई ५–० ले पराजित गरेको थियो । यसैगरी सोही विधामा नेपाल प्रहरी र मध्यमाञ्चलले तेस्रो स्थान हात पारेका थिए ।
महिला ४५ केजीतर्फ सशस्त्र प्रहरीकी कुसुम खड्काले मध्यमाञ्चलकी शोभा लामालाई हाइस्कोरको आधारमा ९–१ अङ्कले पराजित गर्दै स्वर्ण पदक जितिन् । पूर्वाञ्चलकी एस्तर राई र सुदूरपश्चिमकी हीरा ढकालले तेस्रो स्थान हात पारे । महिला ५० केजीमा सशस्त्रकी अनु अधिकारीले स्वर्ण जितिन् । उनले फाइनलमा मध्यमाञ्चलकी सपना लामालाई हाइस्कोरका आधारमा १०–२ ले पराजित गरेकी थिइन् । तेस्रो स्थान हात पार्नेमा नेपाल प्रहरीकी रोशनी खड्की र विश्वविद्यालयकी रिना श्रेष्ठ रहे ।
महिला ५५ केजीमा नेपाल प्रहरीकी मल्लिका थापाले हाइस्कोरको आधारमा ११–१ को अन्तरमा नेपाली सेनाकी सम्झना घिसिङलाई पराजित गर्दै स्वर्ण जितिन् । सोही समूहमा पूर्वाञ्चलकी इन्द्रमाया तामाङ र विश्वविद्यालयकी नीरू दुवालले संयुक्त रूपमा कास्य जितेका थिए । यसैगरी महिला ६१ केजीतर्फ मध्यमाञ्चलकी सनी तामाङले नेपाल प्रहरीकी सुनिता महर्जनलाई १६–१३ को कठिन प्रतिस्पर्धामा पराजित गरिन् । सोही समूहमा सशस्त्रकी सपना लामा र मध्यपश्चिमाञ्चलकी प्रतीक्षा विसीले तेस्रो स्थान हात पारेका थिए ।
त्यस्तै, महिला कुमुते ६८ केजीतर्फ नेपाली सेनाकी विभूषा थापाले स्वर्ण पदक जितिन् । उनले फाइनल भिडन्तमा विश्वविद्यालयकी सरिता श्रेष्ठलाई १५– ८ को भारी अन्तरले पराजित गरेकी थिइन् । सशस्त्र प्रहरीकी कल्पना बस्नेत र मध्यमाञ्चलकी मनीषा मोक्तानले तेस्रो स्थान हासिल गरे । महिला ६८ केजीमाथि भएको भिडन्तमा चर्चित खेलाडी सशस्त्र प्रहरी बलकी गंगादेवी अधिकारीले नेपाली सेनाकी सुक्मिता राईलाई १०–२ को भारी अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । विश्वविद्यालयकी अस्मिता राई र सुदूपश्चिमकी पुनम ऐरी तेस्रो भए ।
यस्तै पुरुषतर्फको ५० केजीमा सशस्त्र प्रहरीका विजय लामाले स्वर्ण जिते । लामाले फाइनलमा हाइस्कोरको आधारमा नेपाली सेनाका रामवृक्ष ठाकुरलाई ८–० ले पराजित गरेका थिए । मध्यमाञ्चलका सोनाम लामा र पश्चिमाञ्चलका विजय गुरुङ तेस्रो भए । पुरुष ५५ केजीमा एपीएफका सुनिल लामाले नेपाली सेनाका मनिकुमार सुनुवारलाई हाइस्कोर १४–६ ले हराउँदै स्वर्ण जिते । सेनाका सोनम लामा र एपीएफका विष्णु श्रेष्ठले संयुक्त रूपमा कास्य जिते । पुरुष ६७ केजी तौलमा एपीएफका मोहन कार्कीले आफ्नो क्लबका मुकुन्द महर्जनलाई सुपरिटीका आधारमा ३–१ ले पराजित गरी स्वर्ण जिते । सोही समूहमा नेपाली सेनाका गोविन्द विशंखे र पश्चिमाञ्चलका नारायण गुरुङ कास्य प्राप्त गरेका थिए ।
विश्वविद्यालयका विप्लप श्रेष्ठले ८४ केजीमा स्वर्ण जिते । उनले फाइनलमा पूर्वाञ्चलका सञ्जयकुमार राईलाई हाइस्कोरको आधारमा ९–१ ले पराजित गरेका थिए । नेपाली सेनाका शेखर श्रेष्ठ र पश्चिमाञ्चलका जीवन मल्लले काश्यमा चित्त बुझाए । त्यस्तै ८४ केजीमाथि सशस्त्र प्रहरीका दिगम्बर पन्तले नेपाली सेनाका सीताराम विकलाई हाइस्कोरको आधारमा ९–१ ले पराजित गर्दै स्वर्ण जिते । सोही समूहमा सुदूरपश्चिमका सरोज वैद्य र मध्यमाञ्चलका रवि महर्जनले कास्य प्राप्त गरे ।
भव्यरूपमा सम्पन्न भएको समापन समारोहको मुख्य अतिथि अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा नेपाल कराते महासङ्घका संरक्षक लोकमानसिंह कार्कीलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । यो राष्ट्रिय प्रतियोगितामा पाँच विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र विश्वविद्याल गरी नौवटा टिमले सहभागिता जनाएका थिए ।

खेल समाचार

कबड्डीमा सेना र मध्यमाञ्चललाई उपाधि
साविक विजेता नेपाल प्रहरी क्लबलाई पराजित गर्दै नेपाली सेनाको टिम प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १५औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । हालै धनगढीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले प्रहरीमाथि ५–४ अङ्कको झिनो अन्तरले विजय हासिल गरेको थियो । यसैगरी पुरुषतर्फको खेलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलमाथि १४–१३ अङ्क अन्तरले पराजित गर्दै २०औँ पुरुष कबड्डी प्रतियोगिताको उपाधिमा आफ्नो हक जमाएको थियो । प्रतियोगिताअन्तर्गत महिलातर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुषतर्फ मध्यमाञ्चलका केवल राउत उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीलाई प्रथम लुम्बिनी राष्ट्रिय प्रतियोगिताका संयोजक एवम् प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल, नेपाल कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामा, खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

राष्ट्रिय तेक्वान्दोमा सुदूरपश्चिमाञ्चल टिम च्याम्पियन
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुदूरपश्चिमाञ्चल टिम च्याम्पियन भएको छ । राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमिकभर्डहलमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिम पाँच स्वर्ण र दुई कास्य पदकका साथ टिम च्याम्पियन भएको हो । तीन स्वर्ण र चार कास्यका साथ विश्वविद्यालय टिम दोस्रो भयो भने दुई स्वर्ण, पाँच रजत र दुई कास्यका साथ पूर्वाञ्चल तेस्रो भयो ।
राष्ट्रिय तेक्वान्दो युनियनको आयोजनामा भएको प्रतियोगिताको महिला ४६ केजीमुनिको तौलमा मध्यमाञ्चलकी सिर्जना पुलामी पश्चिमाञ्चलकी तारा पराजुलीबाट वाकओभर पाई स्वर्ण पदक प्राप्त गर्न सफल भइन् । यसैगरी ४६–४९ केजी तौलमा पश्चिमाञ्चलकी पार्वती पाण्डेले पूर्वाञ्चलकी सुनिला राईलाई पराजित गर्दै स्वर्ण प्राप्त गरिन् । ४९–५३ केजी तौलमा मध्यमाञ्चलकी
बिन्दु परियारले स्वर्ण पाइन् भने पूर्वाञ्चलकी सुनिता मगरले रजतमा चित्त बुझाइन् । ५३–५७ केजीमा राष्ट्रिय विद्यालयकी मुस्कान कार्कीेले मध्यमाञ्चलकी सुनिता तामाङलाई पराजित गर्दै स्वर्ण पाइन् । प्रतियोगिताको ५७–६२ केजी तौलमा पूर्वाञ्चलकी तिर्ना राईले स्वर्ण हात पार्दा मध्यपश्चिमकी रचना पटेलले रजतमा चित्त बुझाइन् ।
दुई दिनसम्म सञ्चालित प्रतियोगिताको पुरुषको ५०–५४ केजीमा पूर्वाञ्चलका करण मगरले पश्चिमाञ्चलका रविन अधिकारीलाई पराजित गर्दै स्वर्णमा अधिकार जमाए । ५४–५८ केजीमा सुदूरपश्चिमका सुजन सिंहले पूर्वाञ्चलका उगेल प्रधानलाई पराजित गर्दै स्वर्ण पाए । ५८–६३ केजीमा मध्यमाञ्चलका पशुपति मोक्तानले स्वर्ण र पूर्वाञ्चलका बाबुराम मगरले रजत पाए । ६३–६८ केजीमा पश्चिमाञ्चलका प्रेमबहादुर नेपालीले पूर्वाञ्चलका सूर्यकुमार मगरलाई पराजित गर्दै प्रथम स्थान बनाए । ६८–७४ केजीमा सुदूरपश्चिमका डम्बर बोहोराले पश्चिमाञ्चलका रिमबहादुर दराईलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।
पुरुषकै ७४–८० केजी तौलमा सुदूरपश्चिमका जनकराज पाण्डेले मध्यपश्चिमका सुनिल गुप्तालाई पराजित गर्दै स्वर्ण हात पार्दा ८०–८७ केजीमा सुदूरपश्चिमकै धीरेन्द्र सिंहले स्वर्ण पाए । उनले मध्यमाञ्चलका बालकृष्ण थपलियालाई पराजित गरेका थिए । यसैगरी ८७ केजीमाथिको तौलमा सुदूरपश्चिमका करणसिंह कठायतले प्रतिद्वन्द्वीबाट वाकओभर पाई स्वर्ण प्राप्त गर्न सफल भए ।
पुम्से एकलतर्फ विश्वविद्यालयले स्वर्ण प्राप्त ग-यो । महिलातर्फ रञ्जना थापा र पुरुषतर्फ रोशन बोहोराले स्वर्ण प्राप्त गरेका हुन् । रञ्जनाले मध्यमाञ्चलकी रूपा थापालाई पराजित गरेकी थिइन् भने रोशनले मध्यपश्चिमका केशव थापालाई रजतमा चित्त बुझाउन बाध्य पारे । महिलातर्फ पश्चिमकी विनिता विक र मध्यपश्चिमकी पद्मा थापामगर र पुरुषतर्फ पश्चिमका रवि अधिकारी र राष्ट्रिय विद्यालयका राजन भण्डारी कास्यमा खुम्चिए ।
पुम्से खुलातर्फ महिलामा विश्वविद्यालयकी सविना भट्टराईले स्वर्ण प्राप्त गर्दा मध्यमाञ्चलकी सविना खड्काले रजत र पश्चिमकी आरती लामिछाने र मध्यपश्चिमकी निशा चुनाराले कास्य प्राप्त गरे । पुरुषतर्फ विद्यालयका विजयकुमार श्रेष्ठले स्वर्ण, मध्यमाञ्चलका नीराजन खड्काले रजत र पश्चिमका समीर विक, सुदूरपश्चिमका मानबहादुर महराले कास्य पाए । प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल खेलाडीले कोरियामा आयोजना हुने एसियाली खेलमा प्रतिस्पर्धा गर्न पाउने राष्ट्रिय तेक्वान्दो युनियनका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

पण्डित चौथोपटक विजयी
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत सम्पन्न १३औँ नेपाल नेसनल माउन्टेनबाइक क्रसकन्ट्री प्रतियोगिता अजय पण्डित चौथोपटक हुन सफल भएका छन् । नेपाल साइक्लिङ सङ्घको आयोजनामा काठमाडांैको चोभारमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ ४.८ किलोमिटरको ६ ल्यापमा चौथोपटक बाजी मार्दै उक्त दूरीलाई एक घन्टा ३५ मिनेट २८ सेकेन्डमा पार गरी पूर्व राष्ट्रिय च्याम्पियन अजय पण्डित क्षेत्री प्रथम स्थान हासिल गर्न सफल भए । त्यसैगरी एक घन्टा ३७ मिनेट ५० सेकेन्डमा उक्त दूरी पार गरी नारायणगोपाल महर्जनले दोस्रो स्थान हासिल गरेका थिए भने राजकुमार श्रेष्ठले एक घन्टा ४१ मिनेट ४२ सेकेन्डमा तोकिएको दूरी पूरा गरी तेस्रो स्थान हासिल गर्न सफल
भएका थिए । सोही प्रतियोगितामा आइमान तामाङ, बुद्धिबहादुर तामाङ, हिमाल टमाटा क्रमश: चोथौ, पाँचाँै र छैंटौँ स्थान हासिल गर्न सफल भएका थिए ।
जुनियरअन्तर्गत ३.५ किलोमिटरको चार ल्यापको दूरी ५५ मिनेट ५४ सेकेन्डमा पूरा गरी क्रिस किलिङले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै उक्त दूरी एक घन्टा एक मिनेट ११ सेकेन्डमा पूरा गरी किरण राईले दोस्रो स्थान र अरुण कार्कीले एक घन्टा चार मिनेट ३३ सेकेन्डमा पूरा गरी तेस्रो स्थान हासिल गरेका थिए । उक्त प्रतिस्पर्धामा हुकमान राई, विक्सन घले, उकेश गुरुङले क्रमश: चौथौ, पाँचौँ र छैंटौँ स्थान हासिल गर्न सफल भएका थिए ।
खुला प्रतिस्पर्धाअन्तर्गत प्रथम स्थान हासिल गर्दै मन्दिल प्रधानले ५९ मिनेटमा ३.५ किलोमिटरको चार ल्यापको दूरी पार गरेका थिए । त्यस्तै दोस्रो स्थान हासिल गर्ने राजीव चन्दले एक घन्टा आठ सेकेन्डमा र तेस्रो स्थान हासिल गर्ने साकार याक्थुम्बाले एक घन्टा ३३ सेकेन्डमा तोकिएको दूरी पूरा गरेका थिए । उक्त प्रतिस्पर्धामा श्याम लिम्बू र दिवस थापा क्षेत्रीले क्रमश: चौथो र पाँचौँ स्थान हासिल गरेका थिए । महिलातर्फ ३.५ किलोमिटरको चार ल्यापको दूरी लक्ष्मी मगरले एक घन्टा २२ मिनेट ५० सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरिन् । त्यस्तै, केशरी थापामगरले एक घन्टा ३६ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरी दोस्रो र हुमेई बुढामगरले एक घन्टा ३६ मिनेट ४२ सेकेन्डमा पूरा गरी तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, हन्ना स्डोडिन र तारा थापाले क्रमश: चौथो र पाँचाँै स्थान हासिल गर्न सफल भएका थिए ।

सोमलाई स्नुकर उपाधि
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत चौथो राष्ट्रिय स्नुकरको उपाधि मकवानपुरका सोमबहादुर तामाङले जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ नाइन’को फाइनलमा सोमले भक्तपुरका राज कपालीलाई ५–२ फ्रमले पराजित गरेका थिए । सोम ३१–३९, ७९–९, ६४–२९, २५–७०, ७७–४८, ८०–२४ र ८८–२६ ले विजयी भएका थिए । नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घद्वारा आयोजित प्रतियोगितामा ललितपुरका दीपजल ढुङ्गाना र काठमाडौंका सुरेश डङ्गोलले संयुक्त रूपमा तेस्रो स्थानमा चित्त बुझाए । सुरेश उत्कृष्ट खेलाडी चुनिए । दीपजल सर्वाधिक ब्रेक गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे । उनले ५१ ब्रेक गरेका थिए । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले पुरस्कृत गरे । प्रतियोगितामा २२ जिल्लाका ६४ पुरुष खेलाडी सहभागी थिए ।

नीरू र कमल च्याम्पियन
मध्यमाञ्चलका नीरू कायस्थ र प्रहरीका कमलबहादुर भण्डारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत आठौँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको एकलतर्फ च्याम्पियन भएका छन् । नीरूले फाइनलमा एपीएफकी चन्द्रमाया राईलाई ४–१ ले पराजित गरिन् भने भण्डारीले पूर्वाञ्चलका कृष्णबहादुर राउतलाई टाइब्रेकरमा ७–० ले पराजित गरे । सुरुको खेल ३–३ ले बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरमा सकिएको थियो । यस्तै, पुरुष डबल्सतर्फको खेलमा मध्यमाञ्चलका सोहन धौभडेल र मनोज सुब्बाको जोडीले नेपाल प्रहरीका निर्मलकाजी स्थापित र कमल भण्डारीको जोडीलाई ५–२ ले पराजित गर्दै उपाधि प्राप्त ग-यो । विजयी खेलाडीलाई शिक्षामन्त्रीले पुरस्कार वितरण गरेका थिए ।

ब्याडमिन्टनमा सेनाको वर्चश्व
नेपाली सेनाले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ३७औँ राष्ट्रिय ब्याडमिन्टनको च्याम्पियनसिपमा आफ्नो वर्चश्व कायम गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पाँचवटै उपाधि सेनाको हातमा गएको छ । सेनाका रत्नजित तामाङले सेनाकै दिपेश धामीमाथि २१–१८ र २१–१९ को सहज जित हात पार्दै एकल च्याम्पियन बनेका हुन् । त्यस्तै सेनाकी सरादेवी तामाङले आफ्नै बहिनी सेनाकै नङसलदेवी तामाङलाई २१–१२ र २७–२५ ले पराजित गर्दै उपाधि जितेकी थिइन् । महिला युगलको खेलमा पनि सेनाकै पक्षमा उपाधि गयो । सेनाकी खेलाडी दिदीबहिनी सरा र नङसलको जोडीले नेपाल एपीएफका पूजा श्रेष्ठ र सविना पन्थीको जोडीलाई १८–२१, २५–२३ र २५–२३ को कठिन जित हात पारेका थिए ।
पुरुष युगलको खेलमा पनि सेनाले बाजी मा-यो । सेनाका रत्न र राम राईको जोडीले एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २२–२० र २१–१६ ले पराजित ग-यो भने मिक्स डबलतर्फ पनि सेनाका रत्न र सराको जोडी एपीएफका पूजा श्रेष्ठ र इन्द्र महतको जोडीमाथि हावी भयो । तामाङ जोडीले श्रेष्ठ र महतको जोडीमाथि २१–१०, १७–२१ र २१–१५ को जित दर्ता गरेको थियो ।
प्रतियोगिताको दौरान नेपाल ब्याडमिन्टन खेलको विकास र विस्तारमा खेलाडी, पदाधिकारी, प्रशिक्षकको हैसियतले लामो समय योगदान पु-याउने व्यक्तित्वलाई कदरपत्रका साथ दोसल्ला ओढाई सम्मान गरियो । सम्मानित व्यक्तित्वहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पोषणराज जोशी, हेमन्तशमशेर राणा, किशोरबहादुर सिंह, सङ्घका पूर्वअध्यक्ष रतनकुमार टण्डन, गीरेन्द्रमान सिंह, प्रेमकृष्ण ताम्राकार र प्रशिक्षक धर्मलाल प्रधान रहेका छन् । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले पुरस्कार वितरण गरेका थिए ।