चिकित्सक–आन्दोलनले सिर्जिएको तरङ्ग

चिकित्सक–आन्दोलनले सिर्जिएको तरङ्ग


sampadakeeyaचिकित्साशास्त्रका डिनको राजीनामा र नयाँ नियुक्तिको विषयबाट पैदा भएको बखेडाले यतिबेला भयावह रूप धारण गरेको छ । बिरामी खोज्दै उपचार–धर्म निर्वाह गर्ने विरलकोटीका एक ‘साधु डाक्टर’ चिकित्सा क्षेत्रको विकृति बढार्ने सद्उद्देश्यले आमरण अनशनमा बसेको दुई साता बित्न लागेको छ । उनको यो हठशैलीको आन्दोलन जायज ठह-याउँदै देशभरका चिकित्सक अस्पतालमा ताला मारेर सडकमा उत्रिएका छन् । बिरामीको उपचार गर्ने थलोको ढोका बन्द गरेर उपचारकर्मीहरू विरोध र विद्रोहको नारा उराल्न लागेपछि आमबिरामी अलपत्र परेका छन्, तिनका परिवार तथा आफन्तजनले सास्ती व्यहोर्नुपरेको छ । बिरामीका लागि ‘भगवान्को घर’ ठानिने अस्पताल हडतालको चपेटामा परेर स्मशानतुल्य भएबाट गम्भीर व्यथाले थलिएका नागरिक अकाल मरणको बाटो अँगाल्न विवश बन्ने खतरा उत्कर्षमा छ । इन्तु न चिन्तुको अवस्थामा पुगेका अनशनकारी डाक्टर स्वयम् गम्भीर चिन्ताको पाटो बनिसकेका छन् । यसप्रकार चिकित्सा क्षेत्रमा उर्लेको प्रलयले सिङ्गै मुलुक अभिशप्त बनिसक्दा पनि सरकार ‘निर्ढुक्क मुड’मा छ । घोर आश्चर्य ! किनकि, मेडिकल कलेजहरूलाई सम्बन्धन दिएर नगद कुम्ल्याउने गिरोहको चङ्गुलमा राज्यसत्ता नै फसिसकेको आरोप अब यथार्थ–अनुभूतिमा परिणत जो हुन पुगेको छ ।
मेडिकल एसोसिएसन या यसका पदाधिकारीले बिरामी उपचारको धर्मनिर्वाह गर्नुबाट च्यूत गराएर चिकित्सकहरूलाई सडकमा उतार्न जो भूमिका खेले, यो किमार्थ जायज छैन । एक हिसाबले भन्नुपर्दा एउटा व्यक्तिका कारण पैदा भएको असन्तुष्टिलाई देशभरका बिरामीमाथि ‘नगरेको अपराधको सजाय दिने हतियार’ बनाउनुहुन्नथ्यो । यसरी पेसागत धर्मप्रति आँखा चिम्लिदिँदा पर्न जाने असर वा दुष्परिणामको परिमाण मापन गर्न नसकेकै हुन् आन्दोलनकारी चिकित्सकहरूले । तर, विवादास्पद छवियुक्त एउटै पात्रलाई च्यापेकै कारण यत्रो अनिष्टको जन्म भइसक्दा पनि नियम–कानुनको दुहाई दिँदै निर्लज्ज तमासा हेरिरहने त्रिवि पदाधिकारी र सत्ताधारीहरूको रवैया जति निन्दा गरे पनि कम नै हुन्छ भन्दा अतिसयोक्ति नठहरिएला । भ्रष्टाचार, कुशासन, सामन्ती संस्कार, अपारदर्शी रवैया, आमतप्काका जनताप्रति उपेक्षा, नागरिक अधिकार हनन आदित्यादि विकृति–विसङ्गतिको समूल अन्त्यको नारा दिएर सत्ता र शक्तिको काँध चढेका राजनीतिक दल वा तिनका नेतागण पनि ढोँगी जमात मात्रै रहेछन् भन्ने पनि यही एउटै घटनामा उनीहरूले दर्शाएको विरक्तिभावले सिद्ध गरेको छ । अन्यथा, यति गम्भीर मोडमा पुग्नुअघि नै यस प्रकरणलाई इतिश्री गर्न उद्यत् हुनुपर्ने थियो उनीहरू । राम्रो काम गर्न पनि नराम्रो विधि अवलम्बन गर्ने चिकित्सकहरू जति आलोच्य छन्, तीभन्दा कता हो कता निन्दनीय पात्र बन्न पुगेका छन् तमाम राजनीतिक पात्र एवम् प्रवृत्ति । शक्ति भयो भने कसैलाई टेर्नुपर्दैन, कसैप्रति जवाफदेही बन्नुपर्दैन भन्ने सामन्ती संस्कारले नेपाली समाजमा दर्बिलोसँग जरा गाडेको छ । लोकतान्त्रिक या गणतान्त्रिक आन्दोलनको रथ हाँकेर त्यस्तो सामन्ती सोच–संस्कार चिरिसकेको डिङ हाँक्ने राजनीतिक शक्तिहरू यथार्थमा आफैँ नवसामन्तवादको खोल ओढ्न पुगेका छन् भन्ने आरोप पनि यस्तै बेला आरोप नभई यथार्थमा रूपान्तरित हुन पुग्छ । वास्तवमै हाम्रा शासकहरू जनताको मर्मप्रति मर्माहत हुने मनस्थितिमा पुगेका रहेनछन् । कमाउने र आफैँ मोजमस्तीमा रमाउने प्रवृत्तिको अन्त्य होइन यसले चोला मात्र बदलेको रहेछ भन्ने यस्तै घटनाले सिद्ध गर्छ । सिद्ध भएको छ । साँच्चै, भ्रष्टाचार र दण्डहीनता नेपाली समाज र शासक वर्गको अमिट विशेषता नै बनिसकेको रहेछ !
यस्तै–यस्तै दुर्दान्त परिवेशबीच नयाँ संविधान लेखन र त्यसको जगमा उभिएर नवनेपाल निर्माण गर्ने ढोल पिटिरहेका छौँ हामी । मिलेमतोबाट अवैध आर्जन र भागबन्डाका सवालमा सहजै सहमति अनि देश र जनताको अन्तर्हृदयिक चाहना परिपूर्तिको सन्दर्भमा हरदम विमतिको नौटङ्की जहाँ चलिरहेको छ, अर्बौं मूल्य चुकाएर ‘संविधानसभा’ नामक संस्था पटक–पटक खडा गरिरहेका छौँ हामी । विगतको अनुभवले चिमोटिरहेको छ, तर त्यसबाट रत्तिभर पाठ नसिकी उस्तै नियति दोहोरिने–दोहो-याउने कसरत सुरु भइसकेको छ । तथापि, उज्यालो दिनको प्रतीक्षामा आशाको आँखा तन्काइरहेकै छौँ हामी, हामी नेपाली !