यसरी सम्झिए योगेशले आफ्नो जन्मदिन

यसरी सम्झिए योगेशले आफ्नो जन्मदिन


नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्मदिनको अवसर पारेर ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

केही वर्षदेखि आफ्नो जन्मदिनमा सामाजिक काम गर्दै आएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिकाको शारदा मावि कक्षा १ मा अध्ययनरत कमल विक र गंगा विकलाई आर्थिक सहायता प्रदान गरेका हुन् । पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले विद्यालय भर्ना गराएका ती दुई विद्यार्थीलाई विद्यालय पोसाक, शैक्षिक सामग्रीलगायतमा खर्च हुने गरी रु. दश–दश हजार प्रदान गरेको भट्टराईले बताए ।

उनीहरूको आर्थिक अवस्थासमेत कमजोर भएका कारण नेता भट्टराईले आर्थिक सहयोग प्रदान गरेको उनको भनाइ छ ।

उक्त रकम पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्वय सन्तोष मादेन र मिङ्मा डण्डु लामामार्फत ती विद्यार्थीको अभिभावकसम्म पुग्ने गरी हस्तान्तरण गरिएको हो । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई ०२३ साल भदौ २१ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका थिए ।