रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoतीन जन्माउने निर्देशकमाथि बज्रपात
एक बच्चा नीतिमा केही खुकुलो तुल्याउने प्रक्रिया चलेको भए पनि चीनले अहिलेसम्म सो नीतिलाई अत्यन्त कडाइका साथ पालन गरेको पाइएको छ । सो नीतिका कारण चीनका एक चर्चित फिल्म डाइरेक्टर नराम्रोसँग फसेका छन् । झाङ यिमोउ नामक फिल्म निर्देशकले उक्त नीति तोडेर तीन सन्तान जन्माएको आरोपमा चिनियाँ सरकारले १२ लाख अमेरिकी डलर जरिवाना गर्ने निर्णय सुनाएको छ । चीनको एक मिडियाका अनुसार उनले तोकिएको जरिवाना तत्काल चुक्ता गर्नुपर्नेछ । सरकारी निर्णयअनुसार जतिसुकै अनुनयविनय गरे पनि झाङले यस सजायमा कुनै छुट पाउने छैनन् ।

विश्वकै मोटेलाई मिल्यो जीवनसाथी
धेरै मोटा व्यक्तिको विवाह हुन कठिन पर्छ भन्ने मान्यताले हाम्रो समाजमा घर गरेको छ । खासगरी मोटी केटीले यस्तो समस्याको सामना बढ्ता गर्नुपर्ने हुन्छ । तर, बेलायतका ५३ वर्षीय पोउल म्यासनको जीवनकथा सुनेपछि मोटा व्यक्तिको विवाह हुन गाह्रो पर्छ भन्ने धारणा बदलिन पनि सक्छ । म्यासन उनै व्यक्ति हुन् जो एक समय ४ सय ४४ किलोग्राम तौलका कारण विश्वकै सबभन्दा मोटा मानिस कहलिएका थिए । गिनिज बुकमै उनको नाम संसारको सर्वाधिक तौल भएका व्यक्तिका रूपमा अङ्कित भएको थियो । तथापि, हाल उनले आफ्नो तौल ह्वात्तै घटाएर जम्मा एक सय ३९ केजीमा सीमित तुल्याएका छन् । मिररमा प्रकाशित समाचारअनुसार म्यासनलाई उनको ‘प्रेम’ हासिल भएको छ । पोउलले रेबिका नामकी महिलालाई जीवनसाथीका रूपमा चुनेका छन् । उनीहरू दुई पहिलोपटक गत अगस्ट महिनामा अनलाइन भेट भएका थिए । पाउलको साधापनदेखि रेविका निकै प्रभावित भइन् र उनीहरूबीच प्रेम सुरु भयो । अब रेविका कुनै कदम अघि सार्नुअघि पाउललाई पूर्ण रूपले स्वस्थ देख्न चाहन्छिन् । तौल घटाउन लगाएर भए पनि पाउलसँगै बिहे हुनेमा रेविका ढुक्क छिन् । यत्तिका तौल घटाइसके पनि पाउल भने हालको आफ्नो वजनसँग सन्तुष्ट छैनन् । अझै तौल घटाउने उनको तीव्र चाहना छ । किनकि, भविष्यमा उनी ह्विलचेयरमा नबसीकनै जीवन सुचारु गर्न चाहन्छन् र वैवाहिक जीवनलाई रोचक र सुरुचिपूर्ण बनाउने उनको लालसा छ ।

महिलाको दूधबाट साबुन
विभिन्न घरपालुवा तथा जङ्गली जनावरका दूधलाई औषधिजन्य या अन्य प्रयोजनमा उपयोग गर्ने गरिएका समाचार हामी बेलाबखत सुन्ने गर्दछौँ । तर, मानिसको दूधबाट साबुन बनाएर त्यसलाई व्यावसायिक प्रयोजनमा उपयोग गरिएको खबरचाहिँ बेग्लै र अनौठोको सन्दर्भ हुन सक्छ । कुरा चीनको हो । चीनमा महिलाले आफ्नो स्तनको दूधलाई साबुन बनाउने काममा उपयोग गर्न थालेका छन् । आफ्ना काखेबच्चालाई पिलाएर उब्रिएको दूध उनीहरू यसरी विशेष प्रकारको साबुन बनाउन प्रयोग गर्दछन् । एजेन्सीहरूले उल्लेख गरेअनुसार मानव–स्तनको दूधबाट बनेको साबुनले छाला गोह्रो हुने, त्यसले नुहाएपछि लामो समयसम्म छालालाई एक सुरक्षित कवचको काम गर्नेलगायतका फाइदा हुने प्रचार गरिएको छ । महिलाको यस कार्यलाई चिनियाँ प्रशासनले भने अवैध र अमानवीय भन्दै तुरुन्त यस्तो साबुनको निर्माण र बिक्री रोक्न चेतावनी दिएको बताइएको छ ।

‘चुम्बक म्यान’को चर्तिकला
गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अङ्कित गराउन नयाँ र अनौठा काम गर्नेहरू विश्वका कुना–कुनासम्म पनि भेटिन्छन् । जर्जियाका एकजना किकबक्सिङ कोच पनि आफ्नो अद्भूत खुवीका कारण गिनिज बुकमा नाम दर्ता गराउन सफल भएका छन् । एतिबार एलचेव नामक यी खेलाडी आफूमा चुम्बकको जस्तै धातुलाई तान्ने शक्ति रहेको दाबी गर्छन् । दाबीअनुरूप उनी काम पनि देखाउँछन् । हालै उनले आफ्नो छातीमा ५३ वटा गह्रौँ चम्चाहरू चुम्बकीय शक्तिकै प्रयोग गरेर चिप्काए र निकै बेरसम्मको दूरी फटाफट हिँडे । तर, उनको छातीबाट एउटा चम्चा पनि भुइँमा खसेन । यसरी ५३ वटा चम्चा छातीमा अड्काएर गिनिजबुकमा नाम लेखाएका एलचेवले आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । दुई वर्षअघि उनैले छातीमा ५० चम्चा चुम्कीय शक्तिले तानेर विश्व रेकर्ड बनाएका थिए ।

कम्मरले दिलायो पेन्सन
भनिन्छ, महिलाको सुन्दरता जाँच्ने एउटा मुख्य कसी उनको पातलो कम्मर पनि हो । तर, यहाँ उल्लेख गर्न खोजिएको प्रसङ्गचाहिँ यस मान्यताको ठीक विपरीत छ । सिकागोनिवासी ३३ वर्षीया सराह मिन्टो आफ्नो २.१ मिटर चौडा कम्मरप्रति निकै गर्व गर्छिन् । आफ्नो विशाल फराकिलो कम्मरको फोटो अनलाइनमा पोस्ट गर्दा त्यसबारे प्रशस्त हास्यपूर्ण प्रतिक्रियाहरू प्राप्त भएकोमा आफूलाई निकै उत्साह मिलेको उनको भनाइ छ । मिन्टो आफ्नो कम्मर विश्वकै सबभन्दा चौडा रहेको दाबी गर्छिन्, तर हालसम्म उनको कम्मरबारे कतै रेकर्ड भने भएको छैन । उनी दुई सन्ताकी आमा हुन् । घरको ढोकाबाट उनी सजिलै भित्र–बाहिर गर्न पनि सक्दिनन् । आफ्नो लागि फिट हुने कपडा किन्ने काम उनलाई सबभन्दा मुस्किल लाग्छ । उनी बसेकै कारण कैयन कुर्सी मात्र भाँचिएका नभई ट्वाइलेटको कमोड र टायलहरू पनि टुट्ने गर्छ । यति भएर पनि उनी आफ्नो शरीर सुन्दर भएको भन्दै मख्ख पर्छिन् भने उनका पति पनि आफ्नी पत्नीको शारीरिक बनोटको तारिफ गर्छन् । स्कुल पढ्दा साथीहरूले मिन्टोलाई ‘ट्रक’ भनेर सम्बोधन गर्थे, तर उनले कहिल्यै ग्लानि अनुभूति गरिनन् । मोटोपनका कारण मिन्टोको गतिशीलता सीमित छ, त्यसैले सरकारले उनलाई ‘डिस्याबिलिटी पेन्सन’ प्रदान गर्दै आएको छ ।