‘६ एकान ६’ले फाँड्ला भन्ने लागेकै थिएन

‘६ एकान ६’ले फाँड्ला भन्ने लागेकै थिएन


616यतिबेला समग्र नेपाली चलचित्र क्षेत्र उत्साहित छ । कारण हो– चलचित्र ६ एकान ६ को सफलता । नेपाली चलचित्र नचलिरहेको अवस्थाले निराश भएका चलचित्र निर्माताहरू ६ एकान ६ को सफलतापछि राम्रो चलचित्र बनाउन सके दर्शकहरू सिनेमा हल धाउन छोड्दारहेनछन् भन्ने मानसिकतामा पुगेका छन् । आफ्नो समूहले निर्माण गरेको चलचित्रको अपार सफलताले उत्साहित र प्रफुल्ल बनेका कलाकार एवम् निर्माता दीपकराज गिरीको अनुभव पनि यस्तै छ ।
० दीपकजी, ‘६ एकान ६’ले उधुम नै मच्चाएको हो त ?
– अब त्यै भन्नुप-यो । अहिले यस्तै चर्चा छ चलचित्र बजारमा ।
० यहाँ त सबै निर्माता आफ्नो फिल्म चलेको दाबी गर्ने गर्छन् नि ?
– ‘६ एकान ६’ले दाबी गरेको होइन, प्रमाणित नै गरेर देखाएको छ । हाम्रो टिमले गफ दिएको होइन, यथार्थ दुनियाँसामु छर्लङ्ग छ ।
० किन चल्यो होला यो चलचित्र ?
– दर्शकले खोजेको चिज पाए होलान् भन्नुप-यो ।
० व्यापारचाहिँ कति ग-यो नि, भन्न मिल्छ ?
– मिल्छ, किन नमिल्नु ? हामी त घामजस्तै छर्लङ्ग छौँ । माघ महिनाको पहिलो हप्तासम्म दुई करोडको हाराहारीमा व्यापार गरेको छ ।
० दर्शक त रहेछन् नि । किन नेपाली फिल्म हेर्ने दर्शक छैनन् भनेका होलान् ?
– चिज नराम्रो बनाउने अनि नचलेपछि दर्शकलाई दोष दिनेले चलाउने हल्ला हुन् यी । दोस्रो हप्तासम्म पनि ६ एकान ६ हेर्न आउनेको सङ्ख्यामा कमी आएको छैन । अहिले रातारात जन्मिएका दर्शक त होइनन् नि उनीहरू ।
० सिनेमा हलमा लगाएको पहिलो दिन कस्तो लागेको थियो तपाईंलाई ?
– बच्चा पाउन लागेकी महिलाजस्तो । बच्चा कस्तो जन्मिने हो भन्ने चिन्ता थियो । हामीलाई पैसाभन्दा पनि करिअरको सवालले सताएको थियो । रिलिजको अघिल्लो रात चिन्ताले सुत्दै सुतिएन ।
० कस्तो करिअरको चिन्ता भनेको ?
– टेलिभिजनका ‘जोकर’हरूले पिचर फिल्म धान्न सक्दैनन् । यिनीहरू अब डुबे भनेर हाँस्नेहरूको जमात ठूलो थियो क्या …।
० तपाईहरूमाथि हाँस्नेहरू अहिले के भन्न थालेका छन् त ?
– उनीहरूको मूल्याङ्कन गलत थियो । ६ एकान ६ को सफलताले उनीहरूलाई पोलेको छ, तर देखावटी रूपमा भए पनि हामीलाई बधाई दिन भने उनीहरूले कञ्जुस्याइँ गरेका छैनन् ।
० फिल्म बनाउनुभयो, के कुरा नयाँ थाहा पाउनुभयो ?
– अर्काको फिल्म नचल्दा खुसी हुने चलचित्रकर्मीहरूको व्यवहारबारे थाहा पाएँ । सिसाको घरमा बसेर अरूको सिसाको घरमा ढुङ्गा हान्ने गजवको प्रवृत्ति रहेछ यहाँ ।
० सोच्नुभएको थियो यसरी फिल्म चल्छ भनेर ?
– चल्छ भन्ने विश्वास त थियो, तर यसरी नै फाँड्ला भन्नेचाहिँ थिएन ।
० सिनेमामा त तपाई हावी हुनुभएको छैन नि ?
– त्यो त गर्नै हुन्नथ्यो । यो सिनेमामा सबै हिरो हुन् । सबैको भूमिका बराबरी छ । यो कुरालाई दर्शकले पनि विश्वास गर्नुभएको छ ।
० अब के छ त तयारी ?
– अब फेरि अर्को नयाँ चलचित्र बनाउँछौँ हामी । योभन्दा पनि स्तरीय चलचित्र त दर्शकहरूलाई दिनैप-यो नि । ६ एकान ६मा उहाँहरूले दिनुभएको साथ र मायालाई आत्मसात् गर्दै नयाँ बनाउने योजना गर्दै छौँ ।

कलिउडका शोभित बलिउडतिर
राम्रोसँग नेपाली चलचित्र क्षेत्रमा नै आफ्नो पहुँच पु-याउन चलचित्रकर्मीहरूले सकिरहेका छैनन् । तर पुराना चलचित्र निर्देशक शोभित बस्नेत भने अब आफ्नो पहुँच विदेशी भाषाको चलचित्रमा पु-याउन उद्यत् देखिएका छन् । विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग मानिने बलिउडतिर उनी लम्कन लागेका हुन् ।
अहिलेसम्म सबैभन्दा बढी नेपाली चलचित्रको निर्देशन गर्न सफल भएका चलचित्र निर्देशकका रूपमा स्थापित शोभित बस्नेतलाई यही परिचयले हिन्दी चलचित्रको निर्देशनसम्म पु-याउन लागेको हो । भारतीय र नेपाली गरेर दुई मुलुकका निर्माताको लगानीमा बन्न लागेको हिन्दी चलचित्रको नामचाहिँ ‘वो मे नहीँ’ राखिएको छ । यो चलचित्रमा कलाकार र प्राविधिकहरू पनि नेपाल र भारत दुवैतर्फका राखिने कुरा निर्देशक बस्नेतले बताए । काठमाडौं, भारत, देहरादुन, दुबई र लन्डनमा पनि यो चलचित्रको छायाङ्कन गरिनेछ ।

फन टाइम

‘आइटम डान्स’ गर्दै नम्रता
हिन्दी सिनेमाको नक्कल गर्दै नेपाली चलचित्रमा ‘आइटम गाना’ घुसाउने प्रवृत्ति नौलो होइन । यही परम्परालाई निरन्तरता दिँदै सञ्चारकर्मीसमेत रहेका नवनिर्देशक सुब्रत आचार्यले आफ्नो सिनेमामा चर्चित नायिका नम्रता श्रेष्ठलाई आइटम डान्स गराउँदै छन् । गीतमा नम्रताको नामकै शब्द प्रयोग गरी तयार पारिएको ‘क्या कमाल, बबाल छौ, हे नम्रता’ बोलको गीतमा पहिलोपटक आइटम नाच नाच्न लागेकी नम्रताले पनि जमेरै प्रतिभा देखाउने भएकी सम्बद्ध पक्षको दाबी छ ।
निर्देशक आचार्यका अनुसार चलचित्रमा नम्रता सिनेमाको हिरोइनको पात्रमा देखिँदै छिन् । नम्रतासँग निर्माण पक्षले सम्झौता गरिसकेको र नम्रता पनि आफ्नै नामबाट बनेको गीतमा छमछमी नाच्न निकै उद्यत् रहेकी बताइएको छ । रञ्जित आचार्यले सिर्जना गरेको उक्त गीतमा राजन इशानको सङ्गीत, युवराज चौलागाईं, निशा देसार र राजनकै स्वर रहेको छ । प्रदीपकुमार उदयले निर्माण गर्न लागेको सो चलचित्रको आइटम गीतले नायिका नम्रता श्रेष्ठलाई चर्चामा ल्याउने निर्माण पक्षको भनाइ छ ।

सार्वजनिक बसमा वलीद्वारा उधुम
पोइल जाम पाम् भन्दै गीतमार्फत हल्लीखल्ली मच्चाउने लोकगायिका कोमल वली मौका प-यो भने गीत नगाईकन साँच्चैको आतङ्क मच्चाउन पनि सक्ने रहिछन् भन्ने प्रस्टिएको छ । कलाकार वलीले कुनै फिल्मको सुटिङमा त्यस्तो आतङ्क सिर्जना गरेको नभई चलिरहेको यात्रुवाहक बसभित्र उधुम मच्चाएकी हुन् ।
गत २ गते बुटवलबाट काठमाडौंका लागि राति १० बजे प्रस्थान गरेको एक यात्रुवाहक बस नवलपरासीको सुनवल पुग्दा वलीले बसभित्रै एकप्रकारको आतङ्क नै सिर्जना गरेको सँगै यात्रा गर्ने यात्रीहरूको भनाइ छ । बताइएअनुसार लास्टभन्दा अघिल्लो सिटमा अर्की एक महिला मित्रसँग यात्रा गरिरहेकी वली मध्यरातमा अचानक सिटबाट जुरुक्क उठिन् र डाङडुङ गर्न थालिन् । बसमा यात्रा सुरु गर्नुभन्दा चार घन्टाअघि गुल्मीको रिडीमा माघेसङ्क्रान्तिको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा अल्लारे पाराले गीत गाएर युवा दर्शकलाई बुरुक्कै उफारेकी वली मध्यरातमा गुडिरहेको बसभित्र आफैँ उफ्रिपाफ्री गर्न थालेको दृश्य हेर्नलायक थियो । महिलाले मध्यरातमा कोलाहल मच्चाउँदा यात्रुहरूले ठाने कि कसैले उनीमाथि रातको अँध्यारोको दुरुपयोग गर्दै यौनहिंसा पो गरेछ कि ? त्यतिबेला बसमा एक आधुनिक सुगम सङ्गीत बजिरहेको थियो । गीत सुन्दै निद्रादेवीको शरणमा पर्न लागेका यात्रुको दिमाग खल्बलिने गरी वली कुर्लंदै थिइन्, ‘महिलाको यत्रो अपमान ? महिलाको अधिकार कति छ भन्ने थाहा छैन ?’ सुरुमा त यसरी चिच्याउने महिला कोमल वली हुन् भन्ने कसैले भेउ नै पाएनन् । कालो लामो ओभरकोट, कालै पाइन्ट र मुखमा मास्क लगाएकी वली बसमा ‘पोइल जान पाम्…’ र ‘झ्वाँक तन्नेरी…’ बोलको गीत बजाइदिएको भए खुसीले नाच्ने थिइन् होला, तर त्यहाँ अर्कै गायकले गाएको गीत बज्दै थियो । त्यही कुराले उनको कन्पारो तताएको रहेछ । उनीसँगै बसेकी अर्की महिला पनि ‘हो मा हो’ मिलाउँदै वलीलाई साथ दिँदै चिच्याइरहेकी थिइन् । कुनै सिनेमाकै दृश्यजस्तो प्रतीत हुने उक्त घटनाले बसभित्र ठूलो सन्त्रास उब्जायो । वली भने गाडीचालक र त्यसका स्टाफहरूलाई ‘चितवनसम्म त पुग्न दे, तेरो र तेरो गाडीको हालत के हुन्छ’ भन्दै धम्क्याइरहेकी थिइन् ।
त्यसरी बेवजह ठूलो स्वरमा धम्क्याउन थालेपछि एक पुरुष यात्रुलाई असैह्य भएछ । यसरी आतङ्क पैदा गर्ने महिला कोमल वली हुन् भन्ने उनले ठम्याइसकेका रहेछन् । ती यात्रु जुरुक्क उठेर प्रश्न गरे, ‘तपाईं गायिका कोमल वली होइन ? तपाईंजस्ती सेलिब्रेटीले यस्तो व्यवहार गर्न सुहाउँछ ? गाडीस्टाफले यात्रुलाई मनोरञ्जन दिन बजाएको गीत–सङ्गीतप्रति यत्रो नफरत हुने व्यक्तिले दिउँसो रिडीमा छाडा गीत गाएर किन उफ्रेको ?’ यसरी ती युवा यात्रुले प्रश्नको फोहोरा छोडेपछि अन्य यात्रुले पनि उनलाई साथ दिएर वलीलाई उल्लीबिल्ली पारे । एकक्षणअघि बाघझैँ प्रस्तुत भएकी वली त्यसपछि रुझेको मुसोजस्तै ओइलाइन् ।
funtimeनेपाली लोकसङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा सञ्चारकर्मीसमेत रहेकी वलीको त्यस रातको उपद्रव देख्नेहरूले नाम मात्र कोमल भएर नहुने रहेछ, मान्छे त निकै जण्डु पो रहिछिन् भन्दै जिब्रो काडेका थिए । आफ्नै निकृष्ट व्यवहारका कारण यसरी दर्जनौँ यात्रुबीच लज्जित बन्न पुगेकी कोमल त्यसपछि खाना तथा नास्ताका लागि बस रोक्दा पनि सिटबाट शिर ठाडो गरी उठ्न सकिनन्, एकैचोटि बिहान कलङ्की पुगेपछि हतार–हतार ओर्लिएर उनी ट्याक्सी चढी सुइँकुच्चा ठोकेको दृश्य हेर्नलायक रहेको भुक्तभोगी यात्रुहरू यतिबेला रमाइलो मान्दै बताउँछन् ।

दश देशका बाह्र फिल्म एकै छानामुनि
यतिबेला नेपालमा चलचित्र महोत्सव र अवार्ड वितरण कार्यक्रमहरूले राम्रै स्थान पाइरहेका छन् । चलचित्रकर्मीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसहित गरिने यस्ता महोसत्वहरूको आयोजना गर्ने क्रममा नेपाल फिल्म सोसाइटीले पनि काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिबलको आयोजना गर्ने भएको छ ।
काठमाडौंमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार फेस्टिबल माघ १३ देखि १७ गतेसम्म चार दिन चल्नेछ । आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार फेस्टिबलमा नेपाल, रुस, साउथ कोरिया, भारत, इजरायल, साउथ अफ्रिका, स्पेन, फ्रान्स, डेनमार्क र नर्वेका गरेर १२ वटा चलचित्रहरूले सहभागिता जनाउने छन् । सोसाइटीले हरेक वर्ष फिल्म फेस्टिबलको आयोजना गर्ने जानकारी पनि दिइएको छ ।