एकल अध्यक्ष बन्न ‘यस्तो’ कसरत !

एकल अध्यक्ष बन्न ‘यस्तो’ कसरत !


‘कसलाई के धन्दा घरज्वाइँलाई खानाकै धन्दा’ भनेझैँ देशमा अनेक समस्या र सङ्कट पैदा भएको भए पनि नेकपाका सहअध्यक्ष प्रचण्ड भने उक्त पार्टीको एकल अध्यक्ष कसरी बन्न सकिन्छ भन्ने विषयलाई लिएर ज्यादा तड्पिने गरेको पाइएको छ । उनले एकातिर केपी र माधवकुमार नेपालबीच मित्रवत् सम्बन्ध बन्न नदिन अनेक तिकडम गरिरहेका छन् भने अर्कोतिर वामदेव गौतमलाई प्रतिनिधिसभामा छिराएर केपी ओलीलाई ठेगान लगाउने योजनामा पनि उनले काम गरिरहेका छन् ।

प्रचण्ड यतिमा मात्र सीमित देखिएनन्, उनी छिमेकी मित्रराष्ट्र भारतको एकलौटी सद्भाव प्राप्त गर्ने र सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव) लाई पार्टीमा मिलाएर आफ्ना निम्ति अझै अनुकूल परिस्थिति निर्माण गर्न पनि लागिपरेका छन् । भारतसँग समझदारी बढाउन प्रचण्ड यही भदौ २१ गते बिहीबार नयाँदिल्ली जाँदै छन् । फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव गत आइतबार (भदौ १७ गते) नै नयाँदिल्लीतर्फ प्रस्थान गरिसकेका छन् । नयाँदिल्लीमा दुई दिनसम्म चल्ने स्वास्थ्यसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन दिल्ली गएका यादवसँग दिल्लीमै भेटेर विस्तृत एवम् निर्णायक वार्तालाप गर्ने योजना प्रचण्डको रहेको बुझिएको छ ।

एक सूत्रले जनाएअनुसार प्रचण्डले उपेन्द्र यादवलाई निर्धारित कार्यक्रम सकिएपछि पनि थप केही दिन दिल्लीमै रहन आग्रह गरेका छन् । प्रचण्डको आग्रहलाई स्वीकार गरे भने उपेन्द्र यादव भदौ २४ गतेसम्म नयाँदिल्लीमै रहनेछन् । भदौ २१ गते प्रचण्ड दिल्ली पुग्ने निश्चित भइसकेको छ र उनले त्यहाँ ‘साक्षी किनारामा कसैलाई राखेर’ यादवसँग विशेष समझदारी बनाउने योजना बनाएको बताइन्छ । नेकपाको आगामी महाधिवेशनभन्दा पहिले नै उपेन्द्र यादवलाई कम्युनिस्ट पार्टीमा समेट्न सक्दा पार्टीभित्र आफ्नो पल्ला भारी हुने बुझाइ प्रचण्डको रहेको छ । विगतमा जे–जस्ता कमी–कमजोरी भएको भए पनि अब त्यसप्रकारका कुनै पनि कमजोरी दोहोरिन नदिने र भारतसँग समझदारी बनाएर अघि बढ्ने सन्देश यसअघि नै प्रचण्डले विमलेन्द्र निधिमार्फत नयाँदिल्लीलाई दिएको भन्ने चर्चा दिल्लीमा यतिबेला व्याप्त भएको छ ।

‘प्रधानमन्त्री रहेका बेला तात्कालिक गृहमन्त्री एवम् आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डले आफूलाई खुला राजनीतिको अनुभव नभएकोले विगतमा कैयन गल्ती भएको र अब भविष्यमा त्यसप्रकारका गल्ती–कमजोरी दोहोरिन नदिन सचेत रहने सन्देश दिएका थिए’- हिन्दुस्तान टाइम्समा प्रशान्त झाले लेखेका छन् ।

२१ अगस्टमा भारतको प्रतिष्ठित पत्रिका हिन्दुस्तान टाइम्समा प्रशान्त झाले एक सामग्री प्रकाशित गर्दै प्रचण्डद्वारा दिल्लीलाई पठाइएको सन्देशबारे खुलासा गरेका छन् । झाले लेखेका छन्, ‘प्रधानमन्त्री रहेका बेला तात्कालिक गृहमन्त्री एवम् आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डले आफूलाई खुला राजनीतिको अनुभव नभएकोले विगतमा कैयन गल्ती भएको र अब भविष्यमा त्यसप्रकारका गल्ती–कमजोरी दोहोरिन नदिन सचेत रहने सन्देश दिएका थिए ।’ यसपटकको भारत भ्रमणको क्रममा यसैअनुरूप सन्देश दिँदै प्रतिबद्धता जनाउने र भारतको विश्वास पुनः प्राप्त गर्ने योजनामा प्रचण्ड रहेको बताइएको छ । भनिन्छ, उपेन्द्र यादवलाई कम्युनिस्ट पार्टीमा समाहित गराउनसमेत प्रचण्डले भारतको साथ खोजेका छन् ।

आफ्नो यस अभियानमा सफलता प्राप्त भए तत्काल यादवसँग पार्टी एकीकरणको प्रक्रिया शुरु गर्ने सोच प्रचण्डले बनाएका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने प्रचण्डले उपेन्द्र यादवलाई पार्टीमा भित्र्याउन सके ‘सरकार मजबुत हुने र काम गर्न सजिलो हुने’ तर्क दिँदै आएका छन् । सरकार बलियो र स्थिर रहने कुराले केपीलाई प्रभावित गर्ने भएकोले प्रचण्डले त्यसप्रकारको तर्क दिँदै उपेन्द्र यादवसँगको एकीकरण प्रक्रियामा केपीको साथ–सहयोग प्राप्त गर्ने प्रयास गरेको बुझिन्छ । तर, प्रचण्डले जसलाई जे तर्क दिए पनि उनी नेकपाको एकलौटी अध्यक्ष बन्ने कुरामा मात्र केन्द्रित छन् । प्रचण्डको यस्तो योजनामा केपीको साथ कुन हदसम्म रहने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।