यसकारण आवश्यक भयो ‘जनसम्पर्क समितिको विश्व सञ्जाल’ : चित्र केसी

यसकारण आवश्यक भयो ‘जनसम्पर्क समितिको विश्व सञ्जाल’ : चित्र केसी


भारतमा रहेका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई सङ्गठित गर्न प्रजातन्त्रका संवाहक तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता र पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव बीपी कोइरालाले नेपाली काङ्ग्रेसको लोकतान्त्रिक आन्दोलनका गतिविधि तथा अभियानलाई गतिशील रूपमा अगाडि बढाउन नेपाली जनसम्पर्क समिति (भारत) गठन गर्नुभएको थियो । विदेशमा रहेका नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सङ्गठित गर्ने हेतुले स्थापना गरिएको नेपाली जनसम्पर्क समिति अहिले विश्वका चार दर्जन मुलुकमा सक्रिय छन् । लोकतन्त्र, राष्ट्रियता र समाजवाद नेपाली जनताका हकअधिकारका आधारभूत सेवा र सुविधाहरूको आवश्यकतालाई सम्बोधन गर्ने तमाम देशप्रेमी तथा राष्ट्रभक्त लोकतान्त्रिक विचारको शक्ति नेपाली काङ्ग्रेसको चारतारे झन्डामुनि गोलबन्द छन् ।

नेपालीको हक, हित र मानवअधिकारको रक्षार्थ र पार्टी मजबुत बनाउने जिम्मेवारीसहित अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समन्वय समिति विश्व सञ्जालको गठन गरिएको छ । यसै ‘विश्व सञ्जाल’का एक अगुवा तथा अभियन्ता हुन्– चित्र केसी । विश्व सञ्जालका उपसभापति चित्र केसी बाग्लुङमा जन्मिएर बुटवललाई स्थायी बसोवास बनाई अबुधाबी, यूएईलाई आफ्नो कर्मभूमि बनाउँदै आएका युवा हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका केसीले आफूलाई विद्यार्थीकालमा नेविसङ्घका एक होनहार नेताका रूपमा चिनिएका थिए । सो राजनीतिक पृष्ठभूमिलाई उनले हाल नेपाली जनसम्पर्क यूएईको संस्थापक सभापति र काङ्ग्रेसको १३औँ महाधिवेशनको महासमिति सदस्यसमेत रही सक्रियताका साथ जीवन्त तुल्याइरहेका छन् । यूएईका विभिन्न नेपाली सङ्घ–संस्थामा सक्रिय केसी गैरआवासीय नेपाली सङ्घ यूएईका आईसीसी सदस्य निर्वाचित भएका छन् । विश्व सञ्जालबारे जानकारी लिने प्रयत्नस्वरूप उपसभापति केसीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० यतिबेला नेपाली जनसम्पर्क समितिको के महत्व छ ?
– नेपाली जनसम्पर्क समिति नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदानसहितको योगदान र समर्पण गरेको नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन हो । त्यसैले नेपाली काङ्ग्रेस पार्टीले विदेशमा रहने नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको कार्यअनुसारको जिम्मेवारीलाई कदर गर्दै ऐतिहासिक भ्रातृ सङ्गठनलाई एक नेपाली जनसम्पर्क समितिलाई एक निर्वाचन क्षेत्रबराबरको हैसियत प्रदान गरी १२औँ महाधिवेशनदेखि केन्द्रीय नेतृत्व चयन र विधिविधान निर्माणमा सहभागी गरी पार्टीको अभिन्न अङ्गको रूपमा जिम्मेवारी दिई मार्गनिर्देश गर्दै आएको छ । विदेशमा रहने सबै लोकतन्त्रवादीहरूको माउ पार्टी नेपाली काङ्ग्रेसप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ ।

० राष्ट्रिय नेपाली जनसम्पर्क समिति हुँदाहुँदै अहिले अन्तर्राष्ट्रिय समन्वय समिति विश्व सञ्जाल किन जरुरत पऱ्यो र यसका मुख्य उद्देश्य के हुन् ?
– जननायक बीपी कोइरालाद्वारा भारतबाट स्थापना भएको नेपाली जनसम्पर्क समिति अहिले विश्वका चार दर्जन मुलुकमा फैलिएको छ । यी समितिलाई समन्वय गर्न र पार्टीभित्र भएको गुट–उपगुटलाई समाप्त गर्न विश्व सञ्जालको महत्वपूर्ण भूमिका हुन्छ । विश्वभरि छरिएर रहेका नेपाली काङ्ग्रेसका तमाम नेता–कार्यकर्ता एवम् शुभचिन्तकहरूलाई सङ्गठित गरी नेपाली काङ्ग्रेस पार्टीलाई मजबुद र बलियो बनाई सहयोग गर्नु नै विश्व सञ्जालको मुख्य जिम्मेवारी हो । पार्टीको मजबुतीका लागि आपसी सद्भाव र भाइचाराको सम्बन्धले सकारात्मक रूपमा सङ्गठित हुनुको अर्को विकल्प छैन । विश्व सञ्जालको प्रमुख काम र कर्तव्य भनेको पार्टीको नीति र निर्देशनभित्र रहेर पार्टीका हरेक गतिविधिलाई सक्रिय रूपमा सहयोग गर्ने हुनेछ । पार्टीको संस्थागत विकास गर्न आर्थिक, भौतिक, राजनीतिक, वैधानिक र साङ्गठनिक सबै पक्षलाई सहयोग गर्न विश्व सञ्जालले पूरा मद्दत पुऱ्याउनेछ । नेपाली जनसम्पर्क समितिका सक्रिय नेता तथा कार्यकर्तालाई काम गर्ने खुला मैदानको स्वच्छ वातावरण निर्माण गर्नेछ । नेपाली जनसम्पर्क समितिको कामको क्षेत्र धेरै फराकिलो हुनेछ । अहिलेको पार्टी कमजोर भएको अवस्थामा विश्व सञ्जालले नेपाली काङ्ग्रेसको एक मेरुदण्डको रूपमा कार्यकर्तालाई उच्च मनोबल र भरोसा प्रदान गरी पार्टीलाई थप सशक्त बनाउन गर्ने काममा अहम् भूमिका निर्वाह गर्नेछ । विश्व सञ्जाल गठन गर्नुको मूल उद्देश्य या मर्म यही हो ।

० के विश्व सञ्जाल गठन गर्न आवश्यक छलफल भएको थियो ?
– नेपाली जनसम्पर्क समितिहरूमा विश्व सञ्जालको आवश्यकताको महसुस सबै देशका जनसम्पर्क समितिका साथीहरूले गर्नुभएको थियो । तर, कसरी गठन गर्ने भन्ने विधि र प्रक्रिया अलि नमिलेको अवस्था पनि थियो । विगत केही समयदेखि यसको गठन गर्नुपर्छ भनेर विभिन्न पक्षमा अनौपचारिक छलफल र बहस पनि चलिरहेको थियो । संसारका विभिन्न मुलुकमा बस्ने मानिसको समय फरक हुने हुँदा भौगोलिक रूपमा एकै ठाउँमा भेला हुन कठिनाइ भएकोले भौतिक रूपमा एकै ठाउँमा हुन सकिएन, तर पनि छलफल भएको छ र अझै हुँदै छ । यो हाम्रो सङ्गठनको आन्तरिक कुरा भएकोले सबैको भावना, मर्म र नेपाली काङ्ग्रेसका आदर्शबारे सधैँ छलफल–बहस हुँदै जान्छन् ।

० के पार्टीको अनुमतिले विश्व सञ्जाल गठन गरेको हो ?
– यो शुरुवातको प्रक्रिया भएकोले नेपाली काङ्ग्रेसले हरेक देशको राष्ट्रिय नेपाली सम्पर्क समितिलाई मात्र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रबराबर मानेको छ । तर, विश्व सञ्जालबारे कुनै व्यवस्था विधानले गरेको छैन । पहिला राष्ट्रिय जनसम्पर्क समितिलाई पनि विधानले मान्यता दिएको थिएन । तर, पछि २००९ सालमा विधानले व्यवस्था गरेको हामीले मनन गर्नु जरुरी छ । अहिले विश्व सञ्जाल पनि विधानमा नभएकोले पार्टीको अनुमतिभन्दा पनि शीर्ष र मुख्य नेता तथा जनसम्पर्क समितिका अग्रज तथा सभापति, महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य, शुभेच्छुकहरूको सल्लाह–सुझावले गठन गरेका हौँ ।

० विश्व सञ्जालमा सबै समेटिएका छन्, प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– यो अहिले हामीले गठन गरेको तदर्थ समिति भएकोले एकै ठाउँमा भेला हुने सम्भावना न्यून भएको भौगोलिक दृष्टिले पनि हो । शुरुको गठन प्रक्रियामा सबै साथीलाई एकैपटक पहिलो चरणमा समेट्न सकिएको छैन, तर हाम्रो अभियान जारी छ । छुटेका साथीहरूलाई समायोजन गर्ने र सञ्जाललाई मजबुत र बलियो बनाउँदै छुटेका सबै साथीहरूलाई समेटेर एक साथ जानेछौँ । शुरुको चरणमा केही छुटफुट भएकोले सामान्य विरोधका स्वर आए पनि अहिले सञ्जालको आवश्यकता र औचित्यको आवश्यकता बोध साथीहरूलाई हुँदैै छ । त्यसैले सबै साथीहरू सकारात्मक नै हुनुहुन्छ ।

० यो त तदर्थ समिति मात्र हो, महाधिवेशनचाहिँ कहिले हुन्छ नि ?
– अहिले हामीले गठन गरेको विश्व सञ्जाल तदर्थ समिति नै भएकोले पार्टीका नेताहरूसँग मौखिक रूपमा छलफल भएकै छ । यसबारेमा उहाँहरू सकारात्मक हुनुहुन्छ । यसको गठन प्रक्रिया र पार्टीले सम्बोधन गर्ने विधानले स्पष्ट गर्नेछ । त्यसको लागि केही समयपछि पार्टीको महासमितिको बैठक हुँदै छ । त्यस बैठकमा विश्व सञ्जालको उद्देश्य र आवश्यकताबारे महासमिति बैठकमा हाम्रो एजेण्डा राख्नेछौँ । किनकि यस सञ्जालमा आबद्ध अधिकतम महासमिति सदस्य नै छौँ ।