महाधिवेशन दुई वर्षपछि, दौड अहिल्यै शुरु

महाधिवेशन दुई वर्षपछि, दौड अहिल्यै शुरु


पार्टी सभापतिको आधी कार्यकाल बाँकी रहँदै नेपाली काङ्ग्रेसमा भावी सभापतिका निम्ति छलफल, बहस र दौडधुप शुरु भएको छ । नीति र नेतृत्व दुवै कमजोर रहेका कारण पार्टीले प्रतिकूल परिस्थितिको सामना गर्नु परिरहेको भए पनि नेता तथा कार्यकर्ताहरू नीतिगत सुधारप्रति उदासीन र नेतृत्व परिवर्तनप्रति ज्यादा जागरुक देखिएका छन् । पार्टीले विगतका निर्वाचनहरूमा शर्मनाक पराजय व्यहोर्नुपरेको र दैनिक कार्यनीतिक एवम् रणनीतिक भूमिकामा समेत काङ्ग्रेस प्रभावकारी हुन नसक्नुको मूल कारण कमजोर नेतृत्वलाई ठानिएको छ । सभापति देउवामाथि नयाँ नेतृत्व स्थापित गर्न भएका, दिइएका कुनै पनि स्तरका नैतिक दबाबले काम नगरेपछि अब आगामी महाधिवेशनमा देउवालाई जसरी भए पनि विस्थापित गरिछाड्ने अठोटका साथ केही नेताले आफ्ना गतिविधि शुरु गरेका छन् । तर, आगामी महाधिवेशनसम्म देश र काङ्ग्रेसको स्थिति कस्तो भइसकेको हुनेछ त्यतातिर उक्त पार्टीका नेता–कार्यकर्ताको ध्यान पुगिरहेको छैन ।

काङ्ग्रेसको सभापतिमा यतिबेला करिब एक दर्जन नेता दाबेदार बन्न सक्ने हैसियतमा रहेका छन् । युवा पुस्ताका कतिपय महत्वाकाङ्क्षी नेताहरू पनि सभापति र महामन्त्रीजस्तो उच्च पद हात पार्ने मौकाको पर्खाइमा रहेका देखिन्छन् । हाल सभापति रहेका शेरबहादुर देउवा र तेह्रौँ महाधिवेशनमा पराजित उम्मेदवारहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चौधौँ महाधिवेशनमा पनि उम्मेदवार बन्ने आन्तरिक गृहकार्यमा रहेका छन् । यी तीनबाहेक डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, कुलबहादुर गुरुङ, अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र गगन थापा पनि सभापतिको दौडमा देखिएका छन् । महामन्त्री पूर्णबहादुर खड्काले धेरै पहिले नै मन्त्री नबन्ने सार्वजनिक घोषणा गरेर पार्टी काममा केन्द्रित रहन खोज्नुलाई पनि सामान्य रूपमा लिन मिल्ने देखिँदैन । पुरानो पुस्ताका नेताहरू डा. नारायण खड्का र ज्ञानेन्द्रबहादुर कार्कीदेखि नयाँ पुस्तका डा. प्रकाशशरण महत, एनपी साउद, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा र बालकृष्ण खाण तथा शङ्कर भण्डारीसम्मले पार्टीको उच्च जिम्मेवारी ग्रहण गर्ने अग्रसरता लिइरहेका छन् ।

पार्टीको उच्च नेतृत्व लिने अग्रसरता र आकाङ्क्षा देखाउने नेताहरूको सङ्ख्या हेर्दा लाग्छ, नेताहरूको व्यवस्थापन काङ्ग्रेसका निम्ति एउटा मुख्य समस्या हो । नेतृत्व लिने तत्परता धेरैले लिएका भए पनि सभापति पदमा उम्मेदवारी दिन दृढ अठोटका साथ लागेका नेताहरूमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ र कृष्णप्रसाद सिटौला देखिएका छन् । अन्य नेताहरू जसले सभापतिको उम्मेदवार बन्ने आकाङ्क्षा प्रस्तुत गरेका भए पनि उपसभापति र महामन्त्री पदमा ‘एडजस्ट’ हुने सम्भावना स्पष्ट देखिन्छ । डा. शेखर कोइराला देउवाविरोधी पक्षबाट उम्मेदवार बन्ने निश्चितप्रायः हुँदै गएकोले डा. शशाङ्क कोइरालाले सम्झौता गर्न सक्ने सम्भावना छ ।

यतिबेला सभापति देउवा कसैसँग साँच्चै भयभित रहेका छन् भने केवल डा. शेखर कोइरालासँग मात्र हो । त्यसैले शेखरलाई एक्ल्याउन देउवाले विगतदेखि नै अनेक प्रयत्न गर्दै आइरहेका छन् । खासगरी रामचन्द्र पौडेललाई कोइरालाविरुद्ध प्रयोग गर्ने र शेखरलाई ‘सिध्याउने’ रणनीतिक चालको शुरुवात देउवाले गरिसकेका छन् ।

यतिबेला सभापति देउवा कसैसँग साँच्चै भयभित रहेका छन् भने केवल डा. शेखर कोइरालासँग मात्र हो । त्यसैले शेखरलाई एक्ल्याउन देउवाले विगतदेखि नै अनेक प्रयत्न गर्दै आइरहेका छन् । खासगरी रामचन्द्र पौडेललाई कोइरालाविरुद्ध प्रयोग गर्ने र शेखरलाई ‘सिध्याउने’ रणनीतिक चालको शुरुवात देउवाले गरिसकेका छन् । पौडेलका छोरा चिन्तनलाई स्थापित गर्न आफूले सहयोग गर्ने वचन देउवाले दिइसकेका छन् । रामचन्द्रलाई कुनै सम्मानजनक ‘पोजिसन’ र छोरा चिन्तन पौडेललाई ‘स्थान’ दिएर पौडेललाई आफूतिर पार्ने कसरत देउवाबाट शुरु भइसकेको र महाधिवेशन नजिकिँदै गएपछि यो कसरत अझै सशक्त हुन सक्ने सम्भावना छ । देउवाको आफ्नो टिम काङ्ग्रेसभित्रका उपसमूहहरूमध्ये सबैभन्दा सुदृढ मानिन्छ । देउवालाई चुनौती दिएर अघि बढ्ने मानसिकतामा देउवाको उपसमूहभित्र कोही पनि देखिएका छैनन् । अर्जुननरसिंह केसी र विमलेन्द्र निधिले सभापति पदका निम्ति आफूहरूलाई दाबेदारका रूपमा अघिसारे पनि दुवै नेताहरू देउवाका निम्ति मुख्य चुनौती बन्न खोज्ने स्थितिमा देखिएका छैनन् ।

तर, अर्को पक्षमा भने करिब समान उचाइका नेताहरूको सङ्ख्या यति धेरै छ कि जसको व्यवस्थापन निकै जटिल र कठिन देखिँदै छ । डा. शेखर कोइरालाले आफू सभापति बन्न प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, डा. रामशरण महत र कृष्णप्रसाद सिटौलादेखि गगन थापासम्मलाई मिलाउन सक्नुपर्ने हुन्छ । यद्यपि उल्लिखित पाँचजना नेतालाई मिलाएर मात्र शेखर सभापति बन्न सक्छन् भन्नेचाहिँ होइन । रेसमा रहेका नेताहरू पूर्णबहादुर खड्का, डा. नारायण खड्का, चन्द्र भण्डारी र विश्वप्रकाश शर्मालगायतका नेताहरूसँगको सम्बन्ध र व्यवहार पनि एउटा महत्वपूर्ण पक्ष (फ्याक्टर) बन्न सक्ने देखिन्छ ।

वरिष्ठ नेता कुलबहादुर गुरुङ, बीपी कोइरालाका नीति पुनस्र्थापनाको एजेन्डासहित सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिन्छ । एकातिर आफ्नो कित्ताका नेता रामचन्द्र पौडेल अर्कोतिर सर्ने स्थितिमा रहनु र कुलबहादुर गुरुङ पनि बीपीका नीति र कार्यक्रम पुनः स्थापित गर्ने एजेन्डासहित मैदानमा उत्रनु भनेको त्यसले अन्ततः देउवालाई नै लाभ पुऱ्याउने हो । उम्मेदवारहरूमध्ये कसैले पनि पचास प्रतिशत मत प्राप्त गर्न नसकेर दोस्रोपटक हुने निर्वाचनमा गुरुङले डा. शेखरलाई सहयोग गर्ने सम्भावना प्रबल भए पनि शुरुमै उनको समेत साथ लिन सके भने त्यसको ठूलो लाभ शेखरलाई हुने देखिन्छ । सिनियर नेताहरूबीच पैदा हुने विवाद, तनाव र मतभिन्नताको लाभ उठाउने दाउमा रहेका गगन थापालाई आफ्नो पक्षमा मिलाउन सक्दा त्यसको लाभ डा. कोइरालालाई नै हुने हो ।

तर, जतिसक्दो चाँडो आफैँ पार्टीको सभापति बन्न हतारिएका गगन लामो समयसम्म नेताका रूपमा रहिरहन सक्नेभन्दा पनि ‘कमजोर अगुवा’ समातेर आफूलाई स्थापित गर्ने चालबाजीमा भएकोले गगनलाई काबुमा राख्नु डा. शेखरका निम्ति कठिनाइको विषय हुन सक्छ । प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला र कुलबहादुर गुरुङजस्ता नेताहरू उपसभापति या महामन्त्रीभन्दा तलको जिम्मेवारीका निम्ति उपयुक्त मानिँदैनन् । गगन थापाको साथ पाउन कोइरालाले उनलाई महामन्त्री बनाउने ग्यारेन्टी दिनुपर्ने हुन्छ, जुन उनको टिमका निम्ति कठिनतम विषय हो । विधान संशोधनले पदाधिकारीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने निश्चितता दियो भने त्यसले डा. शेखरलाई सजिलो बनाउने देखिन्छ । अर्को पक्षभित्र नेताहरूको व्यवस्थापन जटिल हुने स्थितिलाई राम्रोसँग बुझेका देउवा पदाधिकारीको सङ्ख्या वृद्धिप्रति ज्यादा उदार रहने आशा गर्न सकिँदैन । त्यसैले आफ्नो टिम व्यवस्थापन नै डा. शेखरका निम्ति सर्वाधिक चुनौतीपूर्ण हुन सक्ने देखिएको छ ।

अहिलेसम्म शेरबहादुर देउवा आफैँ अर्को एक कार्यकालका निम्ति सभापति बन्ने दृढ योजनामा रहेका छन् भने देउवालाई चुनौती दिने तयारी धेरै नेताहरूले गरिरहेका भए पनि यस क्रममा डा. शेखर कोइराला र प्रकाशमान सिंह अलिक अग्रपङ्क्तिमा छन् । देउवाविरोधी टिमबाट डा. शशाङ्क कोइरालालाई अघि सारिने सम्भावना पनि हुँदै नभएको होइन । प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला र डा. रामशरण महतदेखि गगन थापासम्मले शशाङ्कलाई अघि सार्ने अडान लिइदिए भने त्यस्तो अवस्थामा डा. शेखर पछि हट्न बाध्य हुन पनि सक्छन् । होइन भने आगामी महाधिवेशन जहिले भए पनि शेरबहादुर देउवा र शेखर कोइरालाबीच सीधा टक्कर हुने सम्भावना प्रबल छ र, त्यत्तिकै प्रबल सम्भावना गगन थापाले ‘चोरी हान्ने’ अर्थात् ‘छिर्के लगाउने’ पनि देखिएको छ । कुनै अप्रत्यासित र अनपेक्षित घटना भएन भने आगामी महाधिवेशनले देउवाको विकल्पलाई सभापतिको जिम्मेवारी सुम्पने निश्चित मानिएको छ ।

देउवा नेताहरूबीच द्वन्द्व बढाएर एक–अर्काविरुद्ध एक–अर्कोलाई उपयोग गर्दै पुनः सभापति बन्ने योजनामा रहेका छन् भन्ने बुझिन्छ । तर, आमकाङ्ग्रेस कार्यकर्ता पुनः देउवालाई नै सभापतिका रूपमा हेर्न इच्छुक देखिएका छैनन् । तथापि देउवाको टिममा रहेका कतिपय नेताहरू लोकप्रिय र सक्रिय रहेका कारण त्यसको पूर्ण लाभ उठाउने हैसियतमा भने उनी छन् ।

देउवा नेताहरूबीच द्वन्द्व बढाएर एक–अर्काविरुद्ध एक–अर्कोलाई उपयोग गर्दै पुनः सभापति बन्ने योजनामा रहेका छन् भन्ने बुझिन्छ । तर, आमकाङ्ग्रेस कार्यकर्ता पुनः देउवालाई नै सभापतिका रूपमा हेर्न इच्छुक देखिएका छैनन् । तथापि देउवाको टिममा रहेका कतिपय नेताहरू लोकप्रिय र सक्रिय रहेका कारण त्यसको पूर्ण लाभ उठाउने हैसियतमा भने उनी छन् । काङ्ग्रेसको आगामी महाधिवेशनले शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैको राजनीतिक हैसियतमा एकप्रकारको विराम लाग्न सक्ने विश्वास पार्टीभित्र गरिएको छ । देउवा र पौडेल दुवैलाई विस्थापित गर्ने ‘मुड’मा आमकार्यकर्ता भएकोले आगामी महाधिवेशनपश्चात् काङ्ग्रेसले नयाँ नेतृत्व पाउने सम्भावना बढेको छ । तर, नेतृत्व मात्र बदलिएर काङ्ग्रेस पहिलेकै राजनीतिक हैसियतमा फर्कन कठिन देखिन्छ । डा. शेखर कोइराला र डा. शशाङ्क कोइराला बीपी कोइरालाका एजेन्डा पुनस्र्थापित गर्न प्रतिबद्ध भएकोले नेता परिवर्तनसँगै पार्टीको नीति र विचार पनि बदलिने आशा गर्न सकिने स्थिति छ । कुनै कारणवश ‘उछिट्टिएर’ युवा पुस्ताको नाममा गगन थापाको हातमा पार्टी नेतृत्व पुग्यो या देउवाकै ‘तिकडम’ विजयी बन्यो भने काङ्ग्रेस पार्टीले बीपी विचारको पुनस्र्थापन नगर्ने र त्यसले पार्टीलाई थप कमजोर तथा प्रभावहीन बनाउन सक्ने सम्भावना देखिएको छ ।

यतिबेला नेता र साङ्गठनिक संरचना मात्र हेरेर काङ्ग्रेस पार्टी कम्युनिस्ट पार्टीभन्दा भिन्न रहेको महसुस गरिँदै छ । नीति, विचार, दर्शन, सिद्धान्त र व्यवहारमा कम्युनिस्टसँगको दूरी मेटिँदै जाँदा काङ्ग्रेस पार्टीलाई राजनीतिक रूपमा ठूलो क्षति पुगेको छ । यसरी समस्याग्रस्त अवस्थामा पुगिसक्दा पनि उक्त पार्टीमा नीतिगत सुधारको निम्ति कसैले तत्परता लिएका छैनन् । तर, कम्युनिस्टभन्दा भिन्न देखिने विशिष्ट अन्तर स्थापित नभईकन काङ्ग्रेसको जनाधार सुदृढ हुने सम्भावना देखिएको छैन । कम्युनिस्ट पार्टीको बर्बादीमा स्वतः आफ्नो दिन फर्किने आशामा काङ्ग्रेसका अधिकांश नेताहरू बसेका छन् । तथापि डा. कोइराला पार्टीको नेतृत्वमा स्थापित भए भने पार्टीले बीपी विचार पुनस्र्थापित गर्ने सम्भावना रहेको छ । र, बीपी विचारले नै पार्टीको आन्तरिक एकता सबल बनाउने तथा समीकरण बदल्न सक्ने विश्वास गरिएको छ ।