नेपाली बृद्ध–बृद्धाहरुलाई कम्बल र हिटर वितरण

नेपाली बृद्ध–बृद्धाहरुलाई कम्बल र हिटर वितरण


IMG_7048लण्डन – आज, १२ जनवरी २०१४ दिनको १२ बजे, चालर््टन स्थित भ्याली स्टेडियमको एउटा कक्षामा आज चार्लटन नेपाली समाज, नेपालीहरुले स्थापना गरेको केयर एण्ड स्कील संस्था तथा साफाका संयोजनमा ग्रीनविच बारो अन्तरगत बसोबास गर्ने ५५ वर्ष भन्दा माथिका तथा यस जाडो याममा जाडोबाट पीडित अथवा अत्यन्त आवश्यकता महशुस गरेका बृद्ध–बृद्धाहरुलाई एक एक थान कम्बल र हिटरहरु वितरण गरेका थिए । माथिका नेपाली संस्थाहरु मार्फत संयोजन गरेर भेला भएका उमेर पुगेका व्यक्तिहरुलाई यो सहयोग जुटाउने कामचाँहि एउटा च्यारिटी संस्थामा दर्ता भएको एडभोकेसी फर ओल्डर पिपल इन ग्रीनविच संस्थाले त्यस संस्थाका प्रतिनिधि जिफ पेकाम मार्फत वितरण गरिएको थियो । झण्डै सय भन्दा बढि बृद्ध–बृद्धाहरु भेला भएका थिए । सबैलाई चियापानीको व्यवस्था गरिएको थियो । यसै अवसरमा ग्रीनविचका दुई जना काउन्सिलरहरु क्रमशः जोन फाय, केबिनेट मेम्बर फर अल्डर पिपल तथा जिम गिलम्यान (होमफेयर का कौन्सिलर)लेउपस्थिती जनाएका थिए । उनिहरु दुबै जनाले ती भेला भएका बृद्ध–बृद्धाहरुलाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा जोन फायले ग्रीनविच बारो अन्तरगत बसोबास गर्ने नेपाली बृद्ध–बृद्धाहरुको समस्याहरुलाई खोजबिन गरेर समस्याहरु समाधान गर्ने कुरामा विश्वस्त रहेको र यसका लागि आवश्यक कार्वाही भईरहेको कुरा बताएका थिए । एक हप्ता अघि त्यही ठाउँमा स्वास्थ्य तथा चिकित्स सम्बन्धि एनएचएसबारेका ग्रीनविच कमिसनिङ ग्रूपले दिएको शिफारिसलाई ध्यानमा राखेर यसक्षेत्रमा सुधार ल्याउने कुरा व्यक्त गरेका थिए । अर्का काउन्सिलर जिम गिलम्यानले सहभागी सबैलाई धन्यवाद दिँदै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । अङ्ग्रेजीमा सम्बोधन गरेका मन्तव्यलाई केयर एण्ड स्कीलका ट्रस्टी फत्ता थापाले नेपालीमा रुपान्तर गरेर सहभागीहरुलाई जानकारी गराएका थिए । यस कार्यक्रममा चार्लटन नेपाली समाजका अध्यक्ष सुरज केसी, उनका धर्मपत्नि लगायत केयर एण्ड स्कीलका ट्रस्टीजहरुले कार्यक्रममा आएकाहरुलाई चियापानीको व्यवस्थापनमा सहयोग पुर्याएका थिए । साफाका प्रतिनिधि ज्ञान तामाङले बृद्ध–बद्धाहरुसंग सम्पर्क राखेर त्यहाँ भेला गराउने काममा उल्लेखनीय सहयोग पु्र्याएका थिए । सबै भेला भएकाहरुलाई कम्बल तथा हिटर पर्याप्त नभएको हुँदा आवश्यक पर्नेहरुलाई पछि प्रदान गरिने अश्वासन दिएको थियो ।