भारतको आम आद्मी पार्टी र नेपालका दल

भारतको आम आद्मी पार्टी र नेपालका दल


bichar– वीरेन्द्रमणि पौडेल
यसपटक भारतमा अचम्म भयो । अचम्म यस मानेमा भयो कि आम आद्मी नामको एउटा राजनीतिक दल दर्ता भएको थोरै समयमै विधानसभा निर्वाचनमा २८ सिट जित्न सफल भयो । दिल्ली विधानसभाको ७० सिटका लागि सम्पन्न निर्वाचनमा पहिले–पहिले कङ्ग्रेस आईको प्रभाव दह्रो थियो । लगातार १५ वर्ष कङ्ग्रेस आईकी शिला दीक्षितले मुख्यमन्त्री पद सम्हालेकी थिइन्, यसपटक उनको पार्टीले नराम्रो पराजय भोग्यो ।
अटलबिहारी वाजपेजी, लालकृष्ण आडवाणी, राजनाथ सिंहलगायतले हाँकेका भारतीय जनता पार्टीको लोकप्रियता बढ्दै गएको अवस्था र त्यही पार्टीबाट प्रधानमन्त्री पदका लागि उम्मेदवार घोषित गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदीको चामत्कारिक कार्यशैलीका कारण भारतीय जनता पार्टीले दिल्ली निर्वाचनमा ३२ सिट जित्यो । नयाँ पार्टी आम आद्मीका नेता जो पेसाले एक इञ्जिनियर हुन् अरविन्द केजरीवाल उनले हाँकेको पार्टीले २८ सिट जित्यो । कङ्ग्र्रेस आईले सिर्फ आठ स्थानमा विजय हासिल ग-यो । पराजय स्विकार्दै मुख्यमन्त्री शिला दीक्षितले तुरुन्तै मुख्यमन्त्री पदबाट राजीनामा दिइन् । भारतीय जनता पार्टीले बहुमत ल्याउन सकेन ।
सरकार खाली राख्न मिल्दैन । राजनीतिक बाध्यताबीच कङ्गे्रसले आम आद्मी पार्टीलाई समर्थन गर्नुप-यो । सकेसम्म आम आद्मी पार्टीका नेता अरविन्द केजरीवाल सरकारमा नजाने पक्षमा थिए । उनले निर्णय परिवर्तन गरे र आफ्नै नेतृत्वमा कङ्ग्रेसको समर्थन लिएर बहुमतका साथ सरकारमा गए । आम आद्मी पार्टीका नेता अरविन्द भारतभूमिलाई माया गर्ने मान्छे रहेछन् । अहिलेसम्मको उपलब्ध प्रमाणले त्यही भन्छ । उनले चुनावी घोषणापत्रमा आफ्नो पार्टीले चुनाव जितेर सरकारमा गएमा सुकुम्बासीबस्तीलाई तरिका पु-याएर वैधानिकता दिने, बिजुलीबत्तीको महसुल पचास प्रतिशत घटाउने, प्रत्येक परिवारलाई पिउने र अन्य कामका लागि दैनिक सात सय ५० लिटर पानी उपलब्ध गराउने र आर्थिक भ्रष्टाचार निर्मूल पार्ने उल्लेख गरेका थिए ।
जब उनी सरकारमा गए उनले चारवटा वाचामध्ये पहिले पानीको बन्दोबस्त गरिदिए । दोस्रो वाचा पूरा गर्दै केजरीवालले पचास प्रतिशत विद्युत् महसुल घटाए । सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्न कार्यदल निर्माणका लागि प्रक्रिया अगाडि बढाए । आर्थिक भ्रष्टाचार उन्मूलन गर्न अध्ययन टोली निर्माण गर्नतर्फ लागे । पुराना मन्त्रीहरूले मासिक एक लाख २५ हजार तलबभत्ता लिएकोमा उनले २५ हजार मात्रैमा एक परिवारले जीवन गुजारा गर्न सक्ने बताउँदै प्रत्येक मन्त्रीलाई पच्चीस हजारभन्दा बढी लिन नपाउने व्यवस्था गरे । केजरीवालको यसप्रकारको सुरुवाती काम देखेर भारतका राजनीतिक दलहरू कङ्ग्रेस आई, भाजपा र अन्य दलहरू मात्रै होइन छिमेकी मुलुकसहित विश्वका देशहरूले समेत अचम्म मानेर जिब्रो टोके । भारतका अरू छिमेकी मुलुकहरू पाकिस्तान, बंगलादेश, श्रीलङ्काहरू छक्क मात्रै परे तर नेपालले भने लाजै मान्नुपर्ने अवस्था सिर्जना ग-यो ।
भारतको दिल्लीलगायतका केही प्रान्तमा विधानसभा निर्वाचन हुनु धेरैअघि नेपालमा दोस्रो संविधानसभा निर्वाचन सकियो । एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पहिलो नम्बरको पार्टीबाट तेस्रो भयो । दोस्रो भएको नेपाली काङ्ग्रेस पार्टी पहिलो भयो । एमाले तेस्रोबाट दोस्रो हुन पुग्यो । अलग राजनीतिक चिन्तन बोकेर चुनावी मैदानमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चौथो स्थान ओगट्न सफल भयो । गत मङ्सिर ४ गते संविधानसभा निर्वाचन सम्पन्न भयो । तर, नयाँ सरकार गठन गर्न सकेनन् । खिलराज रेग्मीहरू सरकार छाड्न तयार छौँ भनिरहेका छन् तर दलहरू सहमतिका साथ वा बहुमत पु-याएर राष्ट्रपतिभवन गएकै छैनन् । संविधानसभा बैठक डाक्नुपर्ने मिति सकिनै लाग्दासम्म पनि बैठक कसले डाक्ने भन्ने विवादले विथोलिरह्यो ।
प्रत्यक्ष निर्वाचन सकिएको लामो समयसम्म राजनीतिक दलहरूले समानुपातिकबाट प्रतिनिधित्व गर्ने सभासद्हरूको नाम सिफारिस गर्न सकेनन् । दुई–दुईपटकसम्म निर्वाचन आयोगसँग सिफारिसका लागि समय थपिदिन आग्रह गरे । बल्लबल्ल तीन सय ३५ जनाको नाम सिफारिस गरे । अब सरकारले विभिन्न क्षेत्रका विद्वान् र अन्य गरी २६ जनाको नाम सभासद्को रूपमा प्रस्तुत गर्न बाँकी छ । यसका लागि कुन दलको भागमा कति सभासद् पर्ने हो त्यसको लेखाजोखा अहिलेसम्म भएको छैन । २६ जनाका लागि दलहरू माथापच्ची गरिरहेका छन् ।
दलहरूले समानुपातिक सदस्य मोटो रकम लिएर सिफारिस गरे । यसरी दलहरूले दाम कमाउँदा ठूलै रडाको मच्चियो । एमाले र काङ्ग्रेसले बेइज्जत नहुने तरिकाले सभासद् पद बेचे । एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई सभासद् बनाउँदा उसकै पार्टीमा चर्को विरोध भयो । डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नामका नेताहरू त्यस पार्टीका अध्यक्ष प्रचण्डसँग समानुपातिकमा आफ्नातर्फका सभासद् कम सिफारिस गरेकोमा आगो भए । टालटुल पार्दै आएको पुरानो मनमुटावले उग्र रूप लिन पुग्यो । यतिबेला उस्तै परे फेरि पार्टी फुट्छ समेत भन्न थालिएको छ । एकातिर संविधानसभा निर्वाचनमा जनतासँग भोट माग्दै गर्दा एक वर्षभित्र नयाँ संविधान बनाउँछौँ भन्ने दलहरूमध्ये ठूलो पार्टी बन्न सफल नेपाली काङ्ग्रेसमा सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवामध्ये कुन नेता संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको कुर्सीमा उक्लिने भन्ने रडाको छ भने यो रडाको चाँडै टुङ्गिएलाजस्तो पनि छैन । केही दिनको समय यो रडाकोले नास गर्नेछ भने यी तीन भाइमध्ये कुनै एकको नाममा सहमति भयो भने पनि काङ्ग्रेसको मात्रै बहुमत नपुग्ने भएको हुँदा तीन सय एक पु-याउन अन्य राजनीतिक दलको सहयोग लिन जरुरी हुन्छ । राजनीतिको नियमले दुई ठूला दल नेपाली काङ्ग्रेस र एमालेमध्ये एउटा सत्तामा जानुपर्छ भने अर्को विपक्षमा बस्नुपर्छ । यो नियम तोड्न र दुवै ठूला दल मिलेर सरकारमा जाने हो भने ‘मालवाला/ मन्त्रालय पाउन दुई दलबीच ठूलै घम्साघम्सी पर्ने निश्चित हुन्छ । एमालेलाई विपक्षमा राखेर अन्य दललाई समेटेर सरकार बनाउने योजना काङ्ग्रेसले बनाएमा साना दलहरूमा कुन नेतालाई सरकारमा पठाउने विवाद हुने देखिन्छ भने यो झमेलाले पनि लामै समय फोकटमा खर्च गर्नेछ ।
यसरी नेपालमा अनेकथरी किचलोमा राजनीतिक दलहरू अल्झिएका छन् भने उता भारतमा आम आद्मी पार्टीले रकेटको रफ्तारमा मुलुक हाँक्ने योजना बनाइसकेको छ । लामो समयदेखि भ्रष्टाचारलगायतका फोहोरबाट आत्तिएका भारतीय सर्वसाधारण जनताले मात्रै आम आद्मीलाई सहयोग गर्ने सोच बनाएका छैनन्, विख्यात पत्रकार, कानुन व्यवसायी, समाजसेवीलगायत लाखौँलाख जनताको प्रत्यक्ष माया पाएका कलाकारको समेत साथ पाउन थालेको छ । यहाँसम्म कि विश्वका हिन्दूधर्म मान्नेहरूले औधी मन पराएको ‘रामायण/ फिल्ममा रामको भूमिका निर्वाह गरेका अरुण गोविलले समेत आम आद्मी पार्टीलाई समर्थन गर्ने बताइसकेका छन् । यसरी छिमेकी मुलुक भारतमा जनताको पक्षमा लामो समय मौका दिँदा पनि ठीक काम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने, जनताका दैनिक समस्या समाधान गर्न नसक्ने दललाई ढिलै भए पनि त्यहाँका जनताले सबक सिकाउने र विकल्पको खोजी गर्ने प्रयास गरेका छन् । यो भारतीय जनताको प्रशंसालायक निर्णय हो । भारतीय जनताको राम्रो र सकारात्मक कामको नेपाली जनताले पनि सिको गर्नुपथ्र्यो, तर नेपालमा त्यस्तो हुन सकेन । प्रजातन्त्र प्राप्तिपश्चात् पटकपटक जनताले विश्वास गरेर सत्ता हाँक्ने जिम्मेवारी नेपाली काङ्ग्रेसलाई दिएका हुन्, तर ‘बूढो गोरु/को पारा नेपाली काङ्ग्रेसले देखायो । जनताले एमालेलाई पनि मौका दिए । उसले सिर्फ राजनीतिक कलाकारिता मात्रै प्रदर्शन ग-यो । गडगडाएर प्रचण्ड आए । सडकछेउको बुटी बेच्ने चटके भएको प्रमाण दिएर थन्किए । राजावादीहरूलाई झुक्याएर केही सिट हात पार्नेबित्तिकै कमल थापाले नगदमा सांसद बेचेर असली अनुहार देखाइहाले । यो तरिकाले नेपाली जनताको मिहिनेत खेर गयो । जनताले गतिलो विकल्प ठम्याउनै सकेनन् । खासगरी युवाहरूलाई मातृभूमिको महत्व बुझाउनै सकेनन् नेपाली जनताले । नेपाली जनताले नेपाली काङ्ग्रेसबाट गगन थापा नामको युवालाई त्यस पार्टीबाट अलग्याएर टुँडिखेलको चौरमा ल्याउनुपथ्र्यो । नेकपा एमालेबाट गोकर्ण विष्ट र विद्या भण्डारीलाई त्यही चौरमा भेला गराउनुपथ्र्यो । हरेक पार्टीका हरेक देशभक्त युवायुवतीलाई त्यही चौरमा भेला गर्नुपथ्र्यो । देश बुझेका पत्रकार, धनभन्दा इज्जत प्यारो भन्ने वकिल, पद र पैसामा इमान बेच्न राजी नहुने रुक्मांगद कटवालजस्ता व्यक्तिहरू, भ्रष्टाचारविरोधी दीनबन्धु अर्यालजस्ता व्यक्ति र अन्यअन्य पेसाबाट छानीछानी इमानदार मान्छे त्यही चौरमा भेला गरेर नेपाली जनताले एउटा नयाँ पार्टी स्थापना गर्नुपथ्र्यो । त्यही इमानदार पार्टीमार्फत यो मुलुकको सर्वाङ्गीण अवस्था परिवर्तन गर्नुपथ्र्यो, गर्न ढिलाइ भइसक्यो, तर यसतर्फ कसैको ध्यान जान सकेन ।
वर्तमान नेपालको राजनीतिक फाँटमा प्रत्यक्ष देखिएका अनुहारभन्दा राजनीतिमा आउन बाँकीहरू अझै सक्षम र इमानदार छन्, यो सत्य धेरैले थाहा नपाएको अवस्था देखियो । धेरैले यो पनि थाहा पाएनन् कि अब सुशील, शेरबहादुर, झलनाथ, माधव र प्रचण्ड, बाबुरामहरूबाट यो मुलुक चल्दैन, एकै मिनेट पनि चल्दैन । देश बचाउने हो भने, बचेपछि बनाउने हो भने अब पुराना विचारका, मक्किएका शरीरवाला होइन, पद र पैसाका लागि दुनियाँका छोराछोरीलाई बलि चढाउने खालको पनि होइन, अब आत्मामा खिया नलागेका, पवित्र मनका देशभक्त युवाहरूको खोजी हुन जरुरी छ । भारतका जनताले एउटा अरविन्द केजरीवाल पाए । हाम्रो धर्तीमा त्यस्ता थुप्रै केजरीवाल छन् । खाँचो छ त सिर्फ तिनको खोजीको र तिनलाई नयाँ दलमा सामेल गर्नुको । बेला घर्किएको छैन । समय नघर्किंदै नयाँ दल निर्माण गर्नैपर्छ । अब काठमाडौंमा मात्रै होइन, मुलुकको कुनाकुनामा नयाँ दल निर्माणका लागि छलफल र बहस चलाउनैपर्छ । शुभकार्यमा ढिला गर्नैहुँदैन ।