‘बूढी मर्ने भन्दा काल पल्कने चिन्ता’

‘बूढी मर्ने भन्दा काल पल्कने चिन्ता’


bichar– अधिवक्ता राजेन्द्र पाठक
देश जति सानो छ, त्यति नै धेरै राजनीतिक शासन व्यवस्थाको परिवर्तन भइसकेको छ । झन्डै सात दशकको अन्तरालमा यति धेरै शासन पद्धति परिवर्तन भएको देश शायदै कम होला । जतिसुकै र जुनसुकै अवस्थामा राजनीतिक व्यवस्था परिवर्तन भएको होस् त्यस्ता समय सन्दर्भ पारेर सम्पूर्णजसो पत्रपत्रिका, रेडियो, टेलिभिजन अझ भनौँ भने सबै मिडियाले नयाँ परिवर्तनको स्वागत जनताले गरेको विषय सँगसँगै अघिल्ला राजनीतिक व्यवस्थामा शासन गर्ने टाउके भन्ने नेताहरूले यति भ्रष्टाचार गरे उति सम्पत्ति विदेशलगायत स्वीस बैंकमा बेनामे अझ नाम परिवर्तन गरेर राखेका छन् भने समाचारले भरिएको पानाहरू हेर्न र देख्न पाइन्छ । केही समय यस्तो सजाय हुनुपर्छ, सम्पत्ति फर्काउनुपर्छ आदि भन्ने चर्का भाषण र स्वरहरू सुन्न पाइन्छ । त्यसरी देशको लुटिएको ढुकुटी पुन: फर्केर आउने र सो लगानी देशभित्रै परिचालित हुने र देश पनि सोही एउटै रटन्ते विकसित देश स्वीट्जरल्यान्ड बनाउने घोषणा गर्न नेताहरू चुक्दैनन् । यसो भन्दै गर्दा के नेताहरूको नजरमा युरोपको देश स्वीट्जरल्यान्डबाहेक अरू विकसित छैनन् । उदाहरणको रूपमा प्रस्तुत हुने देशको नाम र कामप्रति नेताहरूमा के औधी मोह जागेको राति सपनामा समेत स्वीट्जरल्यान्ड भन्दै बर्बराउँदा हुन् ।
त्यसैले त होला समय अन्तराल सँगसँगै त्यस्ता ताता, राता, इस्यूहरू बिस्तारैबिस्तारै सेलाउँदै जान्छन् र फेरि स्वीस मोहले तिनै दुब्ला–पातला लाग्ने नेतृत्वलाई बिस्तारैबिस्तारै बोसो भर्न थाल्दछ र आफैँ त्यस्ता देश र सुरक्षित बैंकिङ प्रविधिको मोह जालमा फस्न पुग्छन् होला र त अर्को व्यवस्था वा शासन पद्धति फेरिना साथै उनीहरूको नामसमेत त्यसै देश र बैंकको नामसँग मिडियाले कभर गर्न थाल्दछन् । हुन त यस्ता भ्रष्टाचारसम्बन्धी समाचार भारतीय मिडियामा समेत प्रशस्तै आउँछन् । तर पुँजी नै देशबाट पलायन भएको समाचार भने कम नै आउने गर्दछन् । हिजो–अस्ति मात्रै हाम्रा देशका बहुप्रतिष्ठित भनिने उद्योगी व्यापारीले झन्डै सात अर्बभन्दा बढी रकम अवैध हुण्डीको माध्यमबाट विदेश पुँजी पलायन गरे भन्ने कुरा मिडियामार्फत सुन्नमा आएको छ । यत्तिका धेरै स्वदेशी रकम विदेशमा त्यही पनि अवैध बाटोबाट जाँदासमेत राज्य के हेरेर बसेको थियो ? प्रश्नले माग गरेको उत्तर यत्ति मात्र होइन । अवैध कारोबार रोकथाम गर्न खडा भएका निकाय के गर्दै थिए ? के एकै दिनमा यत्तिको ठूलो कारोबार सम्पन्न भएको हो त ? त्यस्ता कारोबार सम्पन्न गर्नका लागि के–कति क्षेत्रबाट सहयोगी हातहरू अघि बढे ? के त्यस्ता मतियारमाथिचाहिँ कारबाही हुँदैन त ? लगायतका यी सबै प्रश्न एउटा जागरुक देशभक्त युवा वर्गमा उठ्नुपर्दछ । जसले यही देशमा आफ्नो भविष्य खोज्दै सङ्घर्ष गर्दै गरेको छ । भविष्यका कर्णधारप्रति बेइमानी गर्दै आफू र आफ्ना भजनियाँ टोलीलाई ढाकछोप गर्ने प्रवृत्तिको उपज हो । यस्ता गैरकानुनी कार्यहरू । एउटा विशुद्ध व्यापारी जसले व्यापारबाहेक हरेक क्षेत्रमा अरू केही पनि देख्दैन । हरेक विषयमा लेनदेनको सौदाबाजी मात्रै गर्दछ । त्यस्ताको हातमा राज्यको कानुन निर्माण गर्ने अधिकार कसले थमायो ? यस्तो कार्य आजसम्म पनि अन्य पार्टी वा नेताहरूसमेत किन गर्दैछन् ? यी सबै प्रश्नभित्र पनि सायद सौदाबाजी नै होला ।
वर्तमानमा मात्रै रमाउने हो भने इतिहासको महत्व किन गर्ने भन्ने अर्को टड्कारो प्रश्न खडा हुन सक्दछ । यत्तिका ठूला जिम्मेवारीपूर्ण पदमा राख्नुअगाडि उसका इतिहासलाई समेत ख्याल राख्न नसक्नुले आगामी दिनमा धोखा हुन सक्दछ । विगतमा धेरैले व्यापारको सौदाबाजी गर्न र माध्यमलाई प्रयोग गर्न नजान्नेले धन कमाउने लालसामा रातो पासपोर्ट (डिप्लोमेटिक पासपोर्ट) तृणको मोलमा बेचे र बद्नामी मात्र कमाए तर जसले माध्यमको उपयोग गर्न जानेको थियो र आफ्नो व्यापारिक कलालाई प्रस्तुत गर्न जानेको थियो उसले मात्र अवैधानिक तवरबाट भए तापनि ठूलै सफलता हात लगायो । यसको मतलब त्यस्तो गर्नुपर्दथ्यो भन्ने पङ्क्तिकारको आसय होइन । भलै व्यक्तिविशेषलाई रातो पासपोर्ट बेच्नेले त साथमा पैसा भएका र देशमा भविष्य नदेख्ने युवालाई विदेश पलायन गराए भनौ‘ । र, त्यसरी विदेसिनेले ढिलै भए पनि केही रकम देशभित्र हुल्लान्, तर स्वदेशबाटै पुँजी विदेश पलायन गर्न रातो पासपोर्टलाई माध्यम बनाउनेले त देशलाई लाहुर सम्झेको रहेछ कि ? लाहुरेले त लाहुर गएर केही रकम कमाउँछ र सो रकम पुन: आफ्नै देशमा लगाउँछ । स्वघोषित प्रतिष्ठित व्यापारिक घराना भन्नेहरू कतै नेपाललाई लाहुर त सम्झिरहेका छैनन् ? यस्ता प्रश्नहरूले भरिएको युवा जमात जसले भोलिको दिनमा स्वदेशलाई समृद्ध बनाउने जमर्को गर्नुपर्ने हुन्छ । स्वदेशबाट पुँजी पलायन गराउनेलाई यति धेरै प्रश्रय दिने देशमा विदेशबाट पुँजी स्वदेश भित्याउने एनआरएन गैरआवासीय नेपालीको तार्किक र उपयुक्त मागसहितको कानुनी झमेला फुकाउने कार्यमा किन यति धेरै अनुदार भएको होला ? असामान्य मागबाहेक अन्य माग पूरा गराइदिनसके त ठूलो धनराशि नेपाल भित्रिने थियो होला नि ।
त्यसैले मेरो आग्रह यति मात्र हो जसले पुँजी पलायन गराउँछ त्यसमाथि हदैसम्मको कारबाहीसहित पुँजीको विकास र सुदृढीकरणमा बढावा दिन सकेको खण्डमा पैसाको अभावका कारण सम्पन्न हुन नसकेका ठूला विकासे योजनाहरू उनीहरूको लगानीबाट सम्पन्न हुन सके मात्र पनि आर्थिक परिचालन भई स्वरोजगारीको अवसर देशभित्रै खडा हुने थियो । पलायनको स्थिति केही हदसम्म मात्रै भए पनि रोकिने थियो ।
देशमा व्यवस्था परिवर्तनको हरेक कालखण्डमा राज्यको उपल्लो दर्जामा रहने–बस्नेहरूले देशभित्रै यत्रि धेरै असुरक्षा महसुल गर्नु र आफूसँग भएको पुँजी जसलाई स्वदेशमा भन्दा विदेशमा सुरक्षित महसुस गर्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा अझ बढावा दिएर मातृभूमिप्रति नै धावा बोल्ने न्यूनकोटीको प्रवृत्तिप्रति अबका दिनमा जन्मभूमिप्रति अगाध आस्था राख्ने युवा वर्ग सचेत हुनुपर्छ । आफ्नो घरभित्र असुरक्षा देख्ने अर्काको घर–कम्पाउण्ड त्योभन्दा सुरक्षित हुन सक्दछ । यस्तो अविश्वासले भरिएको अन्धो आर्थिक संस्कारको अन्त आगामी निर्माणाधीन संविधानले गर्न र गराउन सक्षम होस् । देशभित्रै सुरक्षा र सम्भावनाको स्थिति पैदा गराउन सकोस् अरूको घर राम्रो र बलियो देखेर शरण माग्ने प्रवृत्तिलाई छोडेर आफ्नो घर र संस्कारलाई बलियो बनाउनेतिर अघिल्लो पङ्क्तिमा उभिने प्रतिनिधि पात्रहरू उन्मुख हुन सके आगामी दिनमा देश र देशवासीले केही हदसम्म मात्र भने पनि त्राण पाउने थिए ।