पौडीपोखरीमा अनैतिक कार्य -श्रीविक्रम भण्डारी

पौडीपोखरीमा अनैतिक कार्य -श्रीविक्रम भण्डारी


परिषद्लाई लाखौँको चुना
अहिले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोस्थित पौडीपोखरी विभिन्न कारणले चर्चामा आएको छ । पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठका पालामा राष्ट्रिय खेलकुद परिषद्ले ठेकेदार भूपाल राईलाई पौडीपोखरी तथा चमेनागृह सञ्चालन गर्न तीन वर्षका लागि ठेक्कामा दिएको थियो । दुवै पक्षबीच २०६४-३-२० मा भएको सम्झौताअनुसार ठेकेदार राईले पौडीपोखरी र चमेनागृह सञ्चालन गरेबापत परिषद्लाई मासिक एक लाख ८३ हजार तीन सय ७५ रुपैयाँ बुभाउनुपर्ने गरी सझौतापत्रमा हस्ताक्षर गरिएको थियो । अहिले सम्झौता सकिन दुई महिना मात्र बाँकी रहेको अवस्थामा परिषद्ले गोरखापत्रमा सूचना प्रकाशित गरी बाँकी बक्यौता रकम सर्तअनुसारको ब्याज बुझाउन ठेकेदार राईलाई ताकेता गरेको छ । स्मरण रहोस्, ठेकेदार राईले सम्झौताअनुसार रकम नबुझाएको र अहिलेसम्म १४ लाख ६७ लाख मात्र बुझाएको परिषद्ले प्रकाशित गरेको सूचनामा जनाइएको छ । ठेकेदार राईसँग रकम बुझाउनका लागि परिषद्का कर्मचारीले सम्पर्क गर्दा उल्टै बढी भएमा हात-खुट्टा काटिदिने धम्की दिएको परिषद् सूत्रले जनाएको छ ।
निमयविपरीत पौडीपोखरी र चमेनागृह सञ्चालनमा दिएर सर्वप्रथम राखेपले ठूलो गल्ती गरेको छ । अझ त्यसभन्दा ठूलो गल्ती तीन वर्षसम्म कानमा तेल हालेर गरेको छ । सम्झौताअनुसार प्रत्येक महिना परिषद्ले किन रकम उठाउन सकेन त्यो अहिले खोजीको विषय बनेको छ । अन्तिम समयमा आएर ठेकेदार राईलाई १५ दिने सूचना जारी गरी रकम बुझाउन सूचना जारी गर्ने परिषद्को नियतमाथि नै खोट देखिएको छ । तीन वर्षसम्म रकम नबुझाउँदा अनदेखि र अनसुनी गरेर बस्ने परिषद्ले आफू चोखिन चलेको चालको रूपमा यो सूचना अगाडि ल्याएको बुझिन आएको छ । ठेक्का दिँदा नै व्यापक रूपमा कमिसनको खेल भएको र त्यही कमिसनका कारणले रकम असुली नभएको स्रोतले बताएको छ । तर्सथ परिषद्ले आँखामा छारो हाल्न यो रणनीति अख्तियार गरेको पनि स्रोतको दाबी छ ।
आउँदो असार २० गते ठेकेदार राई र परिषद्बीचको सम्झौता सकिँदै छ । अन्तिम समयमा आएर परिषद्ले १५ दिने सूचना प्रकाशित गर्दैमा रकम कदापी असुल हुने छाँटकाँट देखिँदैन । पहल गर्ने बेलामा कुम्भकर्णको निद्रामा सुतेको परिषद्ले अब सम्बन्धित पक्षसँग रकम उठाउँछु र कारबाही गर्छु भन्नु दिवास्वप्न मात्रै हो । यतिबेला ठेकेदार राई सम्पर्कविहीन रहेकाले परिषद्ले लाखौँ रकम कसरी उठाउला त्यो हेर्न लायक भएको छ । डुब्ने प्रबल सम्भावना भएपछि मात्र यही वैशाख ७ गते परिषद्ले आफू चोखिन सूचना प्रवाह गरेको थियो । परिषद्को चाहना फसेको रकम उठाउनुभन्दा पनि ठेकेदारलाई भगाउनु रहेको उसको गैरजिम्मेवार हर्कतले प्रस्ट रूपमा देखाएको छ । अन्यथा परिषद्का कर्मचारी सातदोबाटोस्थित पौडीपोखरीमा कार्यरत रहँदारहँदै कदापि उनीहरूलाई बाइपास गर्दै खुद प्रत्यक्ष हस्तक्षेप कदापि गर्ने थिएन । स्मरणीय छ, सञ्चालक ठेकेदार र परिषद्का पदाधिकारीहरूबीचको आपसी साँठगाँठलेे गर्दा आजको स्थितिको सिर्जना भएको हो । जसले गर्दा परिषद्का पदाधिकारी र ठेकेदार मोटाउन पुगेका छन् भने राखेपलाई लाखौँ रुपैयाँको चुना लाग्ने देखिएको छ ।
सात दोबाटोस्थित पौडीपोखरी आर्थिक कारणले विवादमा तानिए पनि त्यहाँ हुने अन्य अनैतिक क्रियाकलापको पनि पर्दाफास भएको छ । यो कुराको पुष्टि त्यहाँ कार्यरत परिषद्की महिला कर्मचारीले राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घमा गएर मौखिक र लिखित रूपमा दिएको उजुरीबाट पनि थाहा पाउन सकिन्छ । ती महिला कर्मचारीले पौडीपोखरीमा अनैतिक क्रियाकलाप बढ्दै गएको र आफूलाई त्यहाँ बस्न असहज भएको बताउँदै सरुवा गरिदिन सङ्घसँग आग्रह गरेकी थिइन् । त्यसपछि सङ्घका पदाधिकारीले पौडीपोखरीमा हुने गतिविधिलाई नजिकबाट नियालेका थिए । सङ्घका एक पदाधिकारीका अनुसार सातदोबाटोस्थित पौडीपोखरी पौडीपोखरी नभई वेश्यालयमा परिणत भएको बताए । उनले त्यहाँ राति मात्र नभई दिउँसै पनि अनैतिक क्रियाकलाप भइरहेको वताए । खेलकुदजस्तो रचनात्मक ठाउँमा दिउँसै घीनलाग्दो कार्यमा लिप्त हुनु आफैंमा लाजमर्दो र सर्मनाक कुरा भएको बताउँदै यसले खेलकुदको साख पनि गिरेको सुनाए । वर्षौंदेखि यस्ता गतिविधि हुँदै आए पनि राखेपले ठेक्काको नाममा मौन बस्नु विडम्बनाको विषय भएको उनको ठहर छ ।
सर्वप्रथम राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो सम्पत्ति भाडा लगाएर खान मिल्दैन । त्यो परिषद्को कुनै नियम-कानुनमा उल्लेख गरिएको छैन । तर पनि परिषद्का पदाधिकारीहरूले कमिसनको मोटो रकममा र्‍याल चुहाउँदै गैरकानुनी कार्य गरेका छन् । आर्थिक रूपमा आफू मोटाउँदै परिषद्लाई डुबाउँदै आएका पदाधिकारीले अहिले पौडीपोखरीको अस्तित्वलाई समेत सङ्कटमा पारिदिएका छन् । चीनले बनाइदिएको सुन्दर पौडीपोखरी अहिले कुरूप बन्न पुगेको छ । भवनका सिसाहरू जताततै फुटेको अवस्थामा देख्न सकिन्छ । वास्तविक रूपमा भन्नुपर्दा अहिले पौडीपोखरी र भवनको मर्मत-सम्भार गर्न चालीसदेखि पचास लाख रुपैयाँ खर्च लाग्ने स्रोतले दाबी गरेको छ । यो सबै तीन वर्ष भाडामा दिएको प्रतिफल भएको भन्दै भाडामा दिनेले भाडा उठाउन नसक्दा उल्टै लाखौँको क्षति भएको स्रोतले बताएको छ । अब यसको क्षतिपूरि्त कसले गर्ने त्यो अहम् विषय बनेको छ । तर्सथ भाडामा दिँदा कति रकम खेलकुदका पदाधिकारीहरूले कमिसनका रूपमा खाएका थिए र त्यसलाई निरन्तरता दिने वर्तमान पदाधिकारीहरूको छानबिन हुनुपर्ने आवश्यक भइसकेको छ ।
प्राप्त जानकारीअनुसार अहिलेसम्म भाडाबापतको रकम नबुझाएका ठेकेदार भूपाल राईलाई नै पुन: पौडीपोखरी सञ्चालन गर्न दिने गोप्य कसरत भइरहेको थाहा हुन आएको छ । उक्त सम्झौता लम्ब्याउन नेपाल पौडी सङ्घका अध्यक्ष समिम मिया अन्सारी उर्फबब्लु लागि परेको सुनिनमा आएको छ । पानी र प्लेनको टिकटमा समेत कमिसन खाएर विश्वकीरि्तमान कायम गरिसकेका बब्लुले भविष्यमा पुन: पौडी पोखरी राईलाई जिम्मा लगाए भने अन्यथा मान्नु नपर्ने सङ्घका एक पदाधिकारीले बताएका छन् । कमिसन भनेपछि मरिहत्ते गर्ने बब्लुले दशरथ रंगशालाकाण्डलाई निरन्तरता दिँदै पुन: पौडीपोखरी काण्ड गरे भने त्यो सुनियोजित हुनेछ । बब्लुलाई यो कार्यमा सदस्यसचिव हरिबाबु चौधरीले पनि साथ दिएको खुलासा भएको छ । ‘काले-काले मिलेर खाऊँ भाले’ रणनीतिलाई अख्तियार गरिरहेका यी मधिसे कार्यकर्ताले जानेबेला खेलकुदलाई अर्को भुमरीमा नपार्लान् भन्न सकिँदैन । तर्सथ खेलकुदका एक पदाधिकारीले पौडीपोखरी भाडामा दिनु नहुने बताउँदै ठेकेदार प्रथा हटाएर राखेपले नै सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
सातदोबाटो पौडीपोखरीका प्रमुख शम्भु विष्टले आफूलाई यहाँ जोकर बनाएर राखेको गुनासो गरेका छन् । यहाँ चारजना कर्मचारी भए पनि जिम्मेवारीविहीन भएको खुलासा गरेका छन् । दस बजेदेखि पाँच बजेसम्म बस्नुबाहेक आफ्नो केही काम नभएको सुनाएका छन् । विष्टले पौडी पोखरीको भाडाको रकमसमेत राखेपले खुद उठाउँदै आएको जानकारी गराउँदै भाडाको रकम उठाउन आफूले राखेपलाई बारम्बार जानकारी र ताकेता गरेको तर सम्बन्धित निकायको लापरबाहीले गर्दा अहिले यस्तो स्थितिको सिर्जना भएको बताएका छन् । पौडीपोखरीमा हुने अनैतिक कार्यको बारेमा सोध्दा विष्टले आफूले अहिलेसम्म प्रत्यक्ष रूपमा आँखाले नदेखेको बताए । आफ्नै महिला कर्मचारीले पौडीपोखरीमा भइरहेका अनैतिक क्रियाकलापका बारेमा सङ्घमा कुरा उठाएको र सरुवाको समेत माग राखेकोबारेमा प्रश्न गर्दा विष्टले मैले तपाईंले भनेर थाहा पाएको भनेर अनविज्ञता प्रकट गरेका थिए । विष्टले तपाईंले भनेपछि मैले निकै गम्भीर र आपत्तिजनक कुराहरू थाहा पाए भन्दै अबदेखि वास्तविकता के हो ? त्यो पत्ता लगाउनतर्फ लाग्ने बताएका थिए ।

राखेपले पौडी पोखरीका ठेकेदार भूपाल राईको नाममा २०६८ वैशाख ७ गते गोरखापत्रमार्फत् निम्न ब्यहोराको सूचना जारी गरेको थियो-
रकम जम्मा गर्न आउनेबारे अत्यन्त जरुरी सूचना

मोरङ जिल्ला बबियाबिर्ता गाविस वडा नं. ९ स्थायी घर भई हाल ललितपुर जिल्ला भैंसेपाटी गाविस वडा नं. ४ मा बसोबास गर्दै आउनुभएका तपाईं ठेकेदार श्री भूपाल राई र राष्ट्रिय खेलकुद परिषद्बीच ललितपुर जिल्लास्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोको स्विमिङपुल तथा चमेनागृह ठेक्कामा लिने-दिने सम्बन्धमा सम्झौता भई मिति २०६४/३/२० गतेदेखि लागू हुने गरी प्रतिमहिना रु. १,८३,३७५ (अक्षरूपी एक लाख त्रियासी हजार तीन सय पचहत्तर) मात्रका दरले नियमित रकम बुझाउने सर्तनामा गरी तीन वर्षका लागि सम्झौता भएअनुसार उक्त स्विमिङपुल तथा चमेनागृह सञ्चालन गर्दै आउनुभएको र हालसम्म पटकपटक गरी जम्मा रु. १४,६७,००० ? अक्षरूपी चौध लाख सतसठ्ठी हजार) मात्र परषद्मा जम्मा गरिएको र बाँकी रकम बुझाउन पटकपटक लिखित रूपमा ताकेता गर्दासमेत बेवास्ता गरिएको देखिएकोले सम्झौतामा उल्लेखित सर्तअनुसार हालसम्म हुन आउने साँवा र सोको नियमअनुसार हुने ब्याजसमेत एकमुष्ट रकम यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राष्ट्रिय खेलकुद परिषद्को खातामा जम्मा गरी सो जानकारी परिषद्लाइ गराउनुहोला । अन्यथा उक्त अवधिभित्रमा रकम जम्मा हुन नआएमा नेपाल सरकारको प्रचलित नियम-कानुन तथा सम्झौतामा उल्लेखित सर्तबमोजिम कारबाही भई जाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर, काठमाडौं

राष्ट्रिय क्रिकेटमा दस टिम
नेपाल क्रिकेट सङ्घ क्यानले पेप्सी स्ट्यार्न्र्डड चार्र्टड राष्ट्रिय क्रिकेट प्रतियोगितामा दसवटा टिमको सहभागिता रहने जनाएको छ । यसअघि ६ क्षेत्रीय टोलीबीच प्रतिस्पर्धा हुँदै आएको राष्ट्रिय टिममा अब दुई विभागीय र आठ क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्यानको सो निर्णयसँगै सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, क्षेत्र नं. ७ जनकपुर र क्षेत्र नं. ८ पोखरा सिनियर राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् । प्रतियोगिताका बारेमा जानकारी गराउँदै क्यानका अध्यक्ष विनयराज पाण्डेले विगतमा झैं यसपटक पनि दुई समूहमा विभाजित गरेर खेलाउने जानकारी दिँदै यसपटक पुरस्कार राशिमा वृद्धि गरेर प्रतियोगितालाई आकर्षक बनाउने बताए । साथै अध्यक्ष पाण्डेले यसपटक सेमिफाइनल खेल्ने प्रावधान हटाएर दुवै समूहका दुई उत्कृष्ट टिमले फाइनल खेल्ने बताए ।
वैशाख ३० गतेसम्म चल्ने राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ मा काठमाडौं, बैतडी, वीरगञ्ज, पोखरा र नेपाल पुलिस क्लब रहेका छन् भने समूह ‘बी’मा विराटनगर, भैरहवा, नेपालगञ्ज, जनकपुर र सशस्त्र प्रहरी बल परेका छन् । त्यस्तै वैशाख ३१ देखि ६ गतेसम्म सञ्चालन हुने ट्वान्टी-२० यिनै टोलीका बीच प्रतिस्पर्धा हुनेछ । दुवै प्रतियोगिता त्रिवि क्रिकेट मैदान र पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा आयोजना हुनेछ ।

अब ब्याडमिन्टनमा पनि स्कर्ट
अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घले महिला खेलाडीहरूलाई अनिवार्य स्कर्ट लगाउनुपर्ने निर्णय गरेको छ । टेनिस खेलजस्तै ब्याडमिन्टनलाई पनि ग्ल्यामर्स बनाउने अभियानअन्तर्गत बीडब्लूएफले डे्रस कोडमा परिवर्तन गर्दै मे १ बाट सबै महिला खेलाडीहरूले ग्राँ पी र अन्य प्रतियोगितामा कोर्टभित्र स्कर्ट लगाउनुपर्ने नियम लागू गरेको हो । बीडब्लूएफको यो निर्णयको विरोध गर्दै पाकिस्तानले आफ्ना महिला खेलाडीहरूले स्कर्ट नलगाउने बताएका छन् । पाकिस्तानी ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सैयद नकी मोहसिनले आफ्नो धर्मले यसलाई स्वीकृति नदिने बताउँदै एक मुसलमान महिलाले स्कर्ट लगाएपछि त्यसपछि मुस्लिम देशमा टकराव हुने बताएका छन् । उनले पाकिस्तानका महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा ट्राउजर लगाएर खेल्ने स्मरण गराउँदै यो निर्णयमाथि पुनरि्वचार गर्नुपर्ने माग राखेका छन् ।

अन्तरविद्यालय उसु प्रतियोगिता
नेपाल विद्यालय उसु समिति तथा मजदुर सहिद स्मृति क्लबको आयोजनामा नवौँ राष्ट्रिय अन्तरविद्यालय उसु प्रतियोगिता हुने भएको छ । आगामी जेठ २६ देखि २९ सम्म राखेपको कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका लागि मजदुर सहिद स्मृति क्लबले ३ लाख उपलब्ध गराउने क्लबका महासचिव राजेश श्रेष्ठले जानकारी दिएका छन् । छनोटमा पर्न सफल खेलाडीलाई प्रशिक्षणका दौरान आवश्यक पर्ने अन्य सहयोगका साथै खेलाडीलाई खेल सामग्रीसमेत उपलब्ध गराउने उनले जानकारी दिए ।
नेपाल उसु सङ्घका उपाध्यक्ष वीरबहादुर लामाले सङ्घले प्राविधिक र अन्य सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । नेपाल विद्यालय उसु समितिका संयोजक युवराज गुरुङले चारदिने प्रतियोगितामा अनुमानित चार लाख ७० हजार खर्च हुने बताएका छन् । गुरुङका अनुसार नेपालका ३५ विद्यालयका पाँच सय खेलाडी प्रतियोगितामा सहभागी हुने भएका छन् । जसमा ५३ स्वर्ण, ५३ रजत र ७१ कास्य मेडलका लागि प्रतिस्पर्धा हुनेछ । उसुका प्रशिक्षक कुमार दाहालले प्रतियोगितामा ए र बी वर्गभित्र १६ देखि १८ वर्षमुनि उमेर समूहका र सी वर्गमा १२ देखि १५ वर्षमुनिका खेलाडीबीच ३० टिम इभेन्टमा प्रतिस्पर्धा गराइने जानकारी गराएका छन् । उत्कृष्ट १३ जना खेलाडीलाई आगामी अगस्ट १७ देखि २१ सम्म चीनको सांर्घाईमा हुने छैटौँ जुनियर उसु च्याम्पियनसिपमा सहभागी गराइने जानकारी दिए ।