रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoएलर्जीबाट यसरी बच्छन् केटाकेटी
जन्मनुअघि नै आफ्नो बच्चालाई एलर्जीबाट बचाउन चाहने महिलाका निम्ति अन्वेषकहरूले एउटा सजिलो उपाय पत्ता लगाइदिएका छन् । अध्ययनबाट पत्ता लागेअनुसार त्यस्ता बच्चाहरूलाई एलर्जीले छुँदैन जसका आमाले ऊ पेटमा छँदा ‘नट(मेवा–बदाम) खाने गर्छन् । द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन पेडियाक्ट्रिसमा यस अध्ययनबारे प्रकाशित भएको छ । करिब आठ हजार बच्चा र तिनका आमाको विश्लेषण गरेपछि अमेरिकी शोधकर्ता यो नतिजामा पुगेका हुन् । अध्ययनकर्ताहरूले दाबी गरेका छन् कि गर्भावस्थाको दौरान कतिपय खानेकुराको कारण बच्चा पनि ती खानेकुराप्रति सहज रूपले सहिष्णु बन्न पुग्छन् । उक्त शोधकार्यसँग जोडिएका तथा प्रतिवेदनका लेखक डाक्टर लिंड्से फ्रेजियर बोस्टनस्थित डाना वफेवर चिल्ड्रेन क्यान्सर केन्द्रसँग सम्बन्धित छन् । उनका अनुसार यदि गर्भावस्थाको दौरान कुनै आमा बदाम सेवन गर्छिन् भने उनका बच्चामा त्यही बदामकै कारण एलर्जीको आशङ्का एकतिहाइ कम हुन्छ । यसरी गर्भावस्थाबाटै एलर्जी कम गर्ने सुक्खा मेवाका प्रजातिमा ओखर, बदाम, पेस्ता, काजु, पहाडे बदाम आदि पर्छन् ।

गोलीले अपराधी चिनेपछि…
सुन्दा यो कुरा कुनै फिल्मी दृश्यझैँ लाग्न सक्छ, तर कुरा वास्तविक हो । हालै अमेरिकाको सनफ्रान्सिस्कोमा घटेको उक्त अविश्वसनीय घटनाका अनुसार एक व्यक्ति सहरको गल्लीमा टहलिँदै थियो । यस्तैमा केही लुटेरा युवाले उसलाई घेरे र नगद एवम् मोबाइललगायतका सामग्री हत्याउन शरीरको तलासी लिन थाले । उक्त व्यक्ति चुपचाप खडा थियो, तर एक लुटेरालाई के सनक चढ्यो, एक्कासि पीडितको चेहरा ताकेर पेस्तोल चलायो । गोली लागेर उसको अनुहार रगतपच्छे भयो । तर अचम्म ! उसको गालाको हड्डीमा ठोक्किएर सो गोली फर्कियो र क्लिफ्टन नामक एक लुटेराको शरीरमा घुस्न पुग्यो । गोली लागेलगत्तै त्यो लुटेराको मृत्यु भयो । घटनास्थलमा प्रहरी पुग्दा एकजनाबाहेक अन्य लुटेरा भागिसकेका थिए । नाबालक हुनाले उसको परिचय प्रहरीले खुलासा गरेको छैन । घाइतेको उपचार चलिरहेको छ ।

१७ वर्षपछि ‘बलात्कारी/लाई सफाइ
बेलायतका भिक्टर नियलन नामक एक पोस्टम्यानमाथि सन् १९९७ को जनवरीमा एक २२ वर्षीया महिलामाथि बलात्कार गर्न खोजेको आरोप लाग्यो । उक्त अभियोगलाई झुटो सावित गर्न नसकेपछि उनलाई अदालतले वर्षौंको जेल सजाय सुनायो । लाचार पोस्टम्यानले १७ वर्ष जेलमै गुजारे । तर, पीडित भनिएकी महिलाको ब्लाउजमा अड्केको कथित बलात्कारीको एक त्यान्द्रो कपालको डीएनए टेस्टको नतिजाले भने आश्चर्यजनक स्थिति खडा गरिदिएको छ । १७ वर्ष जेलमा गुजारिसकेपछि पोस्टम्यानलाई निर्दोष भन्दै गत डिसेम्बरमा इज्जतका साथ रिहा गरिएको छ । वास्तवमा बलात्कारी पोस्टम्यान नियलन नभई कुनै अर्कै व्यक्ति पो रहेछ भन्ने निचोडमा अदालत पुगेको छ । यतिबेला नियलन भन्न थालेका छन् कि प्रहरीसँग मैले बलात्कार गरेको भन्ने कुनै प्रमाण छँदै थिएन, तर मैले नियुक्त गरेको वकिल यस्तो निकम्मा परेछ कि उसले कमजोर मुद्दा पनि जिताउन नसक्दा मैले यत्तिका वर्ष जेलमा गुजार्नुप-यो । उनले उक्त केसको दोहो-याएर जाँच गर्न अपिल गरिसकेका छन् । आफ्नो जिन्दगीको अमूल्य वर्षहरू जेलमा गुजारेका उनी पीडित भनिएकी महिलासमेतको सहयोगमा घटनाको जाँच गराई क्षति असुल्न चाहन्छन् ।

दूधले बढायो गधाको शान
गधा भन्नेबित्तिकै एक मजाकको पात्र या कमजोर दिमागवाला जन्तु भन्ने ख्याल आउँछ । भारी बोकाउने प्रयोजनका निम्ति मात्र काम लाग्ने ठानिँदै आएको यस प्राणी यतिबेला बहुआयामिक बन्दै आएको छ । सबैले हेप्ने यही प्राणीको दूधको मूल्य आजभोलि अपत्यारिलो किसिमले आकाशिएको छ । गधिनीको दूधका परिकार विश्वकै महँगो डेरी प्रोडक्टका रूपमा बिक्न थालेको छ । भारतको आन्ध्र प्रदेशीय तटीय क्षेत्रमा गधिनीको एक लिटर दूध साढे तीन हजार रुपैयाँमा खरिद गर्न मानिसको लाइन लाग्न थालेबाट सबैले हेप्ने गधाको पनि दिन फि-यो भन्दा फरक नपर्ला । स्थानीय मानिसमा गधिनीको दूध स्वास्थ्यको निम्ति अत्यन्त लाभकारी हुने र बच्चाको दम तथा श्वास–प्रश्वाससम्बन्धी रोगमा त यसले रामवाणको काम गर्ने विश्वास रहेको छ । इतिहासमा उल्लेख भएअनुसार प्राचीन मिश्रकी राजकुमारीको सुन्दरताको रहस्य नै गधाको दूध थियो । क्षय (टीबी) एवम् घाँटीसम्बन्धी रोगहरूमा पनि गधाको दूध अत्यन्त प्राभवशाली हुने बताइन्छ ।

लाससँग मस्ती गर्ने अनौठो रोग
संसारमा अनेकौँ किसिमका आपराधिक घटना दिनहुँ घटिरहेका देखिन्छन्, सुनिन्छन् र पढिन्छिन् । तर, डेली मेलले हालै प्रकाशित गरेको एउटा घटना भने हम्मेसी सुन्नमा नआउने किसिमको छ । घटना चीनको राजधानी बेइजिङको हो । त्यहाँको जिलिन युनिभर्सिटीका ली नामक एक छात्रलाई उसको अत्यन्त पासविक र घीनलाग्दो अपराधका कारण मृत्युदण्ड सुनाइएको छ । उक्त २३ वर्षीय युवकले गरेको अपराधचाहिँ यौनसँग सम्बन्धित छ । उसले यौनपेसामा लागेका दुई महिलालाई झुक्याएर हत्या ग-यो अनि मारिसकेपछि उनीहरूलाई बलात्कार गरेको आरोप लगाइएको छ । हिरासतमा लिएपछि लीले प्रहरीसमक्ष दिएको बयानमा आफू हरेक विषयमा फेल भएपछि अत्यन्त तनाव उत्पन्न भएको र तनावबाट मुक्तिका निम्ति वेश्याहरूलाई बोलाएको, तर उनीहरूसँग जीवित अवस्थामा नभई मृत तुल्याएर लाससँग यौन सम्बन्ध राखेको खुलासा गरेकोे छ । आफूलाई हरदम लाससँग सेक्स गरेको कल्पना उठ्ने गरेकाले त्यसलाई साकार रूप दिन यौन व्यवसायी महिलालाई घरमै बोलाएर हत्या गरेको अनि लासलाई घरपछाडि लगेर सेक्स सम्बन्ध राखिसकेपछि बगैँचामा गाडेको लीको बयान छ । यसरी पटक–पटक गरी दुई महिलाको हत्या गरेको र पोल नखुलेको भए यो क्रम दोहो-याइरहने मनस्थितिमा आफू रहेको पनि उसले निर्धक्क बताएको छ ।