थापा बने समुद्र, ‘फुटबल’ खहरेमै सीमित

थापा बने समुद्र, ‘फुटबल’ खहरेमै सीमित


ganesh-thapaलङ्गडो बन्दै छ लिग
समग्र फुटबलको विकासका लागि मेरुडण्ड मानिएको लिग फुटबल नेपालमा सञ्चालन हुन लागेको झन्डै ६ दशक पुग्न लागेको अवस्था छ । यो समयमा लिग फुटबलले निकै उतारचढाव भोगेकै कारणले अहिलेसम्म ३९ पटक मात्र आयोजनाको सम्भव भएको छ । यस्तो हुनुमा विभिन्न कारण भए पनि लिग फुटबलको प्रभावशालितालाई भने सबैले आत्मसात् गरेको पाइन्छ । मुलुकको अस्थिर राजनीति र खेलकुदमा हुने राजनीतिक हस्तक्षेप र दबाबका कारणले लिग फुटबल प्रश्नचिह्नको घेरामा परेको कसैबाट छिपेको छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालजस्तो मुलुकमा लिग फुटबलले निरन्तरता पाउनुलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, लिग फुटबलको आयोजना र त्यसकोे उद्देश्यप्रति सम्बन्धित निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हचुवा प्रवृत्ति भने उदेकलाग्दो छ । एन्फाले लिग फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउनुभन्दा झारा टार्ने रूपमा आयोजना गर्दै आएको छ । जसले लिग फुटबल फुटबलको मेरुडण्डभन्दा पनि प्रयोगको रूपमा देखिन थालेको छ । जुन फुटबलको विकासका लागि सकारात्मक पाटो मान्न सकिँदैन ।
फुटबल आफैँमा सर्वोत्कृष्ट खेल हो भन्दा सायदै कसैको दुईमत होला । अझ नेपालमा पनि यो खेलले पाएको माइलेजलाई हेर्दा सर्वोत्कृष्टको सूचीमै देखिएको छ । तर, विडम्बना † नेपालको सबैभन्दा लोकप्रिय खेललाई कहिल्यै पनि योजनाबद्ध र दूरदर्शी भएर सम्बन्धित निकायले अगाडि बढाउन नसकेको दृश्य हाम्रोसामु छ । यसको अर्थ प्रयास नगरिएको पक्कै होइन, प्रयास गरिएको छ, तर त्यो समयानुकूल छैन । अन्तर्राष्ट्रियस्तर परिदृश्यमा फुटबलमा देखिने हर्कतहरूलाई आत्मसात् गर्दा अहिले पनि नेपाली फुटबल परम्परावादी नै लाग्छ । जसले गर्दा न अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन सकेका छन् न नेपालले अन्तर्राष्ट्रियस्तरमा तहल्का नै मच्चाउन सकेको छ । यो तीतो सत्यलाई एन्फाले राम्रोसँग बुझे पनि समयको गतिलाई भने पकड्न असफल भएको छ । वैज्ञानिकताभन्दा निकै दूरको आफ्नो लिँडेढिपीलाई मात्र ब्रह्मास्त्रको रूपमा प्रयोग गरिरहेको छ । जुन नेपाली फुटबलको विकास र खेलाडीहरूका लागि ‘भुत्ते खुकुरी/ सावित भएको छ । जसले फुटबललाई अधोगतितर्फ लैजाने पक्का छ । तसर्थ एन्फाले हतार र सनकमा लिग फुटबलको आयोजना गर्नुभन्दा त्यसको वास्तविकतालाई आत्मसात् गर्नु अनिवार्य भइसकेको छ ।
धनको वर्षाले सहिद स्मारक लिग अहिले चर्चित बन्न पुगेको छ । हाल सञ्चालन भइरहेको लिगमा एक करोड ७४ लाखको पुरस्कार राखिएको छ । जसमा विजेताले ७५ लाख, उपविजेताले ४५ लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन । १३ क्लबको सहभागिता रहेको यो लिगको उपलब्धिबारे भने एन्फा मौन छ । पैसाको खोलो बगे पनि नयाँ ‘हिरो/ पाउने कुरामा एन्फा विश्वस्त हुनसकेको छैन । कुरा स्पष्ट छ, यहाँ नेपाली खेलाडीभन्दा विदेशी खेलाडी चम्किने प्राय: निश्चित छ । त्यसैले होला लिगमा प्रतिस्पर्धा गरिरहेका क्लबहरूले नेपाली खेलाडीभन्दा विदेशी खेलाडीलाई बढी महत्व दिएका छन् । एउटा क्लबले तीनजना विदेशी खेलाडीलाई खेलाउन पाउने एन्फाको नियमअनुसार अहिले क्लबहरू स्वदेशीभन्दा विदेशी खेलाडीतर्फ आकर्षित भएका छन् । लिगमा सर्वोत्कृष्ट प्रदर्शन गर्न क्लबहरूले विदेशी खेलाडीलाई भटाभट भित्याउनुले पनि यो कुरालाई पुष्टि गरेको छ । लिगमा पाँचौँ स्थानसम्म हासिल गर्न सके क्लबहरूलाई त्यति घाटा नपर्ने भएकोले यो लिगमा विदेशी खेलाडीको भीडभाड मात्र नभई उनीहरूकै दबदबा रहने कुरामा शङ्का गर्न मिल्दैन । यसरी स्वदेशी लिगमा विदेशी खेलाडीको उपस्थितिले लिगको उत्कृष्टतामा चार चाँद लाग्ने भए पनि नेपाली खेलाडीको हरिविजोग हुनेचाहिँ लगभग पक्का छ ।
प्राय: हरेक वर्ष लिगको संरचनामा परिवर्तन गर्दै आएको एन्फाले यसपटक पनि उक्त कुरालाई दोहो-याएको छ । गत वर्ष मात्रै सुरु गरेको राष्ट्रिय लिगको अवधारणालाई यसपटक ‘सुपर सिक्स/मा रूपान्तरण गरेको छ । जुन यसभन्दा अगाडिको परम्परावादी शैली हो । एन्फाले आफ्नो बचाउका लागि राष्ट्रिय लिगको अवधारणा सोचेबमोजिम नभएको र जिल्लाका क्लबहरू स्तरीय नभएको कारणले यसो गर्नुपरेको बताएको छ । तर, वास्तविकता त्यसो नभई एन्फाको हचुवा र सनकको भरमा लिगको आयोजना गर्नु प्रमुख कारकतत्व हो भन्दा अतिसयोक्ति नहोला । जुन देशमा भौतिक पूर्वाधारको नाममा दशरथ रंगशालाबाहेक अर्को विकल्प छैन भने त्यस्तो ठाउँमा राष्ट्रिय लिगको अवधारणामा आफैँमा अव्यावहारिक हुन्छ । जसरी पनि गर्ने, जहाँ पनि गर्ने एन्फाको तानाशाही रवैया र अदूरदर्शिताले गर्दा लिगको संरचना व्यवस्थित हुन नसकेको हो । जसले गर्दा लिगको औचित्यमाथि समेत प्रश्नचिह्न खडा गरिदिएको छ भने फुटबल यथास्थितिको मारमा नराम्रोसँग रिटिन पुगेको छ । जुन नेपाली फुटबलका लागि दुर्भाग्य भएको छ । तसर्थ लिगको आयोजनाअघि गरिनुपर्ने सामान्य प्रक्रियासमेत एन्फाले पालना नगरेको प्रस्ट रूपमा देखिएको छ ।
कमजोरीबाट पाठ सिक्नुको साटो ‘मेरो गोरुको बाह्रै टक्का/को रणनीतिमा एन्फा अग्रसर भएको छ । बिनाभौतिक पूर्वाधार ‘खाए खा नखाए घिच/ भन्ने एन्फाको मानसिकताले गर्दा अहिले नमच्चिने पीङजस्तै बनेको छ सहिद स्मारक लिग । यसरी व्यावसायिकताको नाममा प्रत्येक वर्ष सहिद स्मारक लिग लङ्गडो बन्दै गएको छ । अब प्रश्न उठ्छ, लङ्गडो घोडालाई कहिलेसम्म दौडाउने ? बिनागन्तव्य घोडा दौडाउँदा भोलि त्यो लक्ष्यहीन भएर बीचैमा थला प-यो भने त्यसको जिम्मेवारी कसले लिने ? एन्फाले लिगको आयोजनालाई नै सर्वोपरि ठानेको छ, तर त्यससँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक कम्पनी, व्यावसायिक फुटबल क्लब र खेलाडीको भविष्यचाहिँ के हुन्छ त ? यसको विचार–विमर्श गर्नु जरुरी भइसकेको छ । एन्फा फुटबलको सम्बन्धित निकाय भए पनि बिनायोजना कसैलाई जोखिममा पार्ने काम गर्नुहँुदैन । तर, यहाँ योजनाबद्ध र दूरदर्शिताका नाममा तानाशाही प्रवृत्ति हावी हुनुले धान रोपे पनि कोदो फल्ने गरेको छ । जुन गणेश थापाले एन्फा सम्हालेपछिको फुटबलको इतिहास पल्टाउँदा स्पष्ट रूपमा थाहा पाउन सकिन्छ ।
गणेश थापाले फुटबलको विकासमा गरेको योगदानलाई कदापि बिर्सन सकिँदैन । यो सत्य हो । यसो भन्दैमा उनले फुटबलमा जे पनि गर्न मिल्छ त ? प्रश्न गम्भीर छ । विगत दुई दशकको अवधिमा थापाले फुटबलको विकासका लागि आकाश–पाताल एक गरे पनि त्योभन्दा बढी माइलेज उनले फुटबलबाट प्राप्त गरिसकेका छन् । वास्तविक रूपमा भन्नुपर्दा थापाको चुलिएको छविको अगाडि नेपाली फुटबल रंगशालाभन्दा बाहिर निस्कन सकेको छैन । यो अवधिमा फुटबलमै लागेर थापा समुद्र बनिसकेका छन् भने फुटबल नदीमै सीमित छ । आखिर किन यत्रो भिन्नता त ? प्रश्न गम्भीर बने पनि थापाको तानाशाही प्रवृत्तिको अगाडि सबै निस्तेज भएका छन् ।
एन्फाका जिम्मेवार पदाधिकारीहरू थापाको वरिपरि पुच्छर हल्लाउन र विदेशी भ्रमणका लागि थापाले फ्याँकेको हड्डीमा -याल चुहाउनैमा व्यस्त छन् । उनीहरू फुटबलको विकासभन्दा पनि थापाकै विकासमा ‘त्वम् शरणम्/ भनेर रमाइरहेका छन् । एन्फाका पदाधिकारी लुते रूपमा प्रस्तुत भएपछि थापाले उनीहरूको बाउन्ड्री पनि तोकिदिएका छन् । जसले गर्दा उनीहरूको काम–कर्तव्य थापाको मुख ताक्ने र आफ्नो जीउ कनाउने मात्रमा सीमित भएको छ । जसको फाइदा थापाले प्रचुर रूपमा उठाउँदै फुटबललाई आफ्नो ‘पकेट/को फुटबल बनाउन सफल भएका छन् । फुटबलका सबै विकास र योजना उनको गोजीबाटै बन्ने गरेका छन् । तसर्थ यो लिग पनि थापाकै गोजीबाट निस्किएको अनपेक्षाकृत लिगको रूपमा परिणत भएको छ । जसलाई आवरणमा हाइहाई भन्नेहरू भित्रि रूपमा बाइबाईको संज्ञा दिइरहेका छन् । चर्चित ‘ए/ डिभिजन क्लब एनआरटी यसको उदारहण बनिसकेको छ भने आरसीटी र अन्य क्लबहरू यसको फलोअफ गर्ने तयारीमा छन् । त्यसपछि ‘नरहे बाँस नबजे बाँसुरी/जस्तै हुनेछ । फुटबल लिग सदाका लागि कोमामा जानेछ एक अमूर्त आर्टस्जस्तै ।

खेल समाचार

कीर्तिपुरमा इन्डोर क्रिकेट हल बन्ने
राष्ट्रिय खेलकुद परिषद्ले नेपालमै पहिलोपटक कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान हातामा इन्डोर क्रिकेट हल निर्माण गर्ने भएको छ । राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले हलको हालै शिलान्यास गरेका थिए । एक सय ४० फिट लम्बाइ र ४० फिट चौडाइको हलले कुल पाँच हजार ६ सय वर्गफिट क्षेत्रफल ओगट्नेछ । हलको अनुमानित लागत खर्च ७४ लाख ३५ हजार दुई सय ७९ रुपैयाँ (भ्याटसहित) रहेको राखेपअन्तर्गत पूर्वाधार, निर्माण तथा मर्मत शाखाका इन्जिनियर विश्वामित्र सन्ज्यालले जनाएका छन् ।
शिलान्यास भएको दिनदेखि ४० दिनमा दुई लेन हलको निर्माणकार्य पूरा हुनुपर्नेछ । निर्माणकार्यको जिम्मा जोरपाटीस्थित आर एन्ड सी बिल्डर्सले पाएको छ । सन् २०१४ मा हुने विश्वकप ट्वान्टी– २० क्रिकेट प्रतियोगिताका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारी तथा विशेषगरी वर्षायाममा क्रिकेट टोलीले प्रशिक्षणमा भोग्नुपर्ने असहज स्थितिलाई सहज तुल्याउन हलको निर्माण गर्न लागिएको हो ।
शिलान्यासपछि मन्त्री श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि धेरै पूर्वाधारको खाँचो रहेको बताउँदै पूर्वाधार बनाउन सहयोगहरू अगाडि आए पनि जग्गा उपलब्ध हुन नसकेको बताए । मन्त्री श्रेष्ठले खेलकुदको विकासमा केही गरौँ भन्ने भावना सबैमा जागृत हुन आवश्यक रहेको धारणा उक्त अवसरमा व्यक्त गरेका थिए । राखेप सदस्यसचिव युवराज लामाले सरकारको निर्देशनअनुसार छोटो समयमा हल निर्माणको कार्य थालनी गर्न सफल भएको बताउँदै निर्माणकार्य पूरा भएपछि वर्षायाममा पनि प्रशिक्षण गर्न सहज हुने बताएका थिए ।

राष्ट्रपति रनिङ सिल्ड हुने
पाँचौँ काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता राजधानीमा फागुन ५ देखि ७ गतेसम्म हुने भएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा यसपटकदेखि तीन खेल थप गरी विभिन्न पाँच खेल समावेश गरिने भएको छ । विगतमा एथलेटिक्स र भलिबलको प्रतिस्पर्धा हुने गरेकोमा यसपटकदेखि कराते, तेक्वान्दो र उसु गरी पाँच खेलमा प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
एथलेटिक्स र भलिबलको भने जिल्ला प्रतियोगिताअघि काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो र दोस्रो हुने जिल्ला प्रतियोगितालाई छानिनेछन् । कराते, तेक्वान्दो र उसुको जिल्ला प्रतियोगिता हुनेछ । निर्वाचन क्षेत्रको अवधारणा पहिलोपटक ल्याइएको हो । फागुन ३ गतेसम्म सम्पूर्ण निर्वाचन क्षेत्रको प्रतिस्पर्धा सम्पन्न हुनेछ । एथलेटिक्स र भलिबलमा प्राप्त पदकलाई निश्चित अङ्क दिई टिम च्याम्पियनको घोषणा गरिनेछ । बाँँकी तीन खेलको पदकको अङ्क भने त्यसमा गणना गरिने छैन । टिममा पहिलो हुनेले १५ हजार, दोस्रोले १२ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् । पाँचै खेलमा उत्कृष्ट चुनिने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

ह्यान्डबलका च्याम्पियन एपीएफ र पश्चिमाञ्चल
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ७औँ महिला तथा १६औँ पुरुष राष्ट्रिय ह्यान्डबल प्र्रतियोगिताको महिला स्पर्धामा एपीएफ तथा पुरुष स्पर्धामा पश्चिमाञ्चल च्याम्पियन बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल ह्यान्डबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितामा महिलातर्फको फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई १३–९ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताकी उत्कृष्ट खेलाडीसमेत घोषित उमा राईले चार गोल गरेकी थिइन् । एपीएफकी बन्दना राई शीर्ष गोलकर्ता घोषित भइन् भने मध्यपश्चिमाञ्चलले अनुशासित टिमको उपाधि जित्यो । नेपाल आर्मीलाई ६–१ ले हराउँदै पश्चिमाञ्चलले तेस्रो स्थान हात पारेको थियो ।
त्यस्तै पुरुषतर्फको फाइनलमा पश्चिमाञ्चलले एपीएफलाई अतिरिक्त समयमा ३०–२५ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय २३–२३ गोलको बराबरीमा सकिएपछि थप गरेको २० मिनेटको समयलाई सदुपयोग गर्दै पश्चिमाञ्चलले उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल आर्मीले मध्यमाञ्चललाई ५१–२१ ले पराजित गरेको थियो । प्रतियोगिताका शीर्ष गोलकर्ता बनेका अमर श्रेष्ठ एक्लैले ४५ गोल गरेका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी एपीएफका मनोज ठगुन्ना चुनिए भने अनुशासित टिमको पुरस्कार सुदूरपश्चिमाञ्चलले प्राप्त गरेको थियो ।

गृहजिल्लामा विसुरालको रेस्लिङ
चौथो लमजुङ महोत्सवका अवसरमा लम्जुङमा रेस्लिङ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव माघ १० देखि १९ गतेसम्म हुनेछ भने रेस्लिङ माघ १७ र १८ मा हुने आयोजक सङ्घका अध्यक्ष भेषबहादुर पौडेलले जनाएका छन् । रेस्लिङमा रेस्लर भरत विसुराल (हिमालयन टाइगर) सहित नेपालका १२ रेस्लरले सहभागिता जनाउनेछन् । जापानका रेस्लर फुजी नामीलाई पनि सहभागी गराउने प्रयास भइरहेको विसुरालले जानकारी गराएका छन् । रेस्लिङका लागि आयोजक सङ्घ र विसुरालबीच सम्झौता भएको बताइएको छ ।

क्यानोइङ प्रशिक्षण सम्पन्न
नेपाल -याफ्टिङ एन्ड क्यानोइङ सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय क्यानोइङ महासङ्घको सहयोगमा पोखरामा क्यानोइङ स्लालोम प्रशिक्षण क्याम्प सम्पन्न भएको छ । कोरियामा आयोजना हुने एसियन प्रतियोगितालाई ध्यानमा राख्दै उक्त प्रतियोगितामा नेपाली खेलाडीलाई उच्च सफलता दिलाउने उद्देश्यले प्रशिक्षण गरिएको नेपाल -याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष मनबहादुर न्यौपानेले बताएका छन् । दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलका चार–चार, महिला खेलाडी प्रथम रेस्लर भगवती खड्का र स्थानीय गाइड ११ गरी २० प्रशिक्षार्थीलाई अन्तर्राष्ट्रिय महासङ्घबाट आएका फ्रान्सेली प्रशिक्षक प्रेरिक गोसेलिमले प्रशिक्षण प्रदान गरेका थिए । ६ दिने प्रशिक्षणमध्ये तीन दिन फ्ल्याट वाटरअन्तर्गत फेवा लेकमा र तीन दिन करेन्ट रनिङ वाटरअन्तर्गत कास्कीको हेम्जास्थित अप्पर सेतीमा प्रशिक्षण प्रदान गरिएको थियो ।

नक्साल बहिरालाई दोहोरो उपाधि
नक्साल बहिरा विद्यालयले प्रथम नेपाल बहिरा फुटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । नक्साल पुरुष र महिला दुवैमा च्याम्पियन बनेको थियो । सानोगौचरणमा भएको पुरुष फाइनलमा नक्सालले भक्तपुर बहिरा सङ्घलाई ६–२ गोलअन्तरले पराजित गरेको थियो । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै महिलातर्फको फाइनलमा नक्सालले काठमाडौं बहिरा क्लबमाथि ३–० को जित हासिल गरेको थियो । विजयी टिमले पाँच हजार र दोस्रोले दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका थिए । विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थपलिया, आयोजकका अध्यक्ष सेनाम छिरिङ लामालगायतले पुरस्कार वितरण गरेका थिए । दुईदिने प्रतियोगिताको पुरुषमा चार तथा महिलामा दुई टिम सहभागी थिए ।

घोडचढीमा तीन मनोनीत
नेपाल घोडचढी (इक्वेस्ट्रियन) सङ्घले एक वरिष्ठ उपाध्यक्ष र दुई सदस्य केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको छ । मनोनीत तीनैजना नेपाली सेनाका हुन् । उपरथी भिक्टर जंगबहादुर राणा वरिष्ठ उपाध्यक्ष तथा प्रमुख सेनानीद्वय प्रकाशजंग कार्की र किरण केसी सदस्यमा मनोनीत भएका छन । त्यस्तै सङ्घले गत कात्तिक १४ गते टुँडिखेलमा भएको इत्तेहाद दोस्रो राष्ट्रिय घोडचढी प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विशेष योगदान गरेका विभिन्न संस्था र व्यक्तिलाई पनि सम्मान गरेको थियो ।

जुडोमा नेपाल प्रहरी टिम च्याम्पियन
नेपाल प्रहरी क्लब प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १३औँ राष्ट्रिय जुडो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नयाँबजारस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा प्रहरीले ६ स्वर्ण र पाँच कास्य जितेको थियो । दोस्रो भएको काठमाडौंले तीन स्वर्ण, दुई रजत र तीन कास्य हात पारेको थियो । पहिलो दिन दुई स्वर्ण जितेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब त्यति नै स्वर्णमा सीमित रहँदै तेस्रो स्थानमा चित्त बुझाएको थियो । टिममा तेस्रो भए पनि उत्कृष्ट खेलाडीको दुवै उपाधि एपीएफका खेलाडीले हात पारेका थिए । पुरुषमा खेमबहादुर थापा र महिलामा देवकी खड्का उत्कृष्ट चुनिएका थिए । इप्पोनको पुरुषमा प्रहरीका उमेश मगर तथा महिलामा नेपाली सेनाकी लीला अधिकारी उत्कृष्ट भएका थिए । उत्कृष्ट चारैले जनही एक हजार नगद पुरस्कार प्राप्त गरेका थिए । दुईदिने प्रतियोगितामा १५ जिल्ला र तीन विभागीय टोली गरी १८ टिमका एक सय २० खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

नेरिक–जेनिथ रेमिट बास्केटबल हुने
नेरिक स्कुलको आयोजनामा तेस्रो नेरिक–जेनिथ रेमिट रनिङ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता रहने नेरिकका प्रिन्सिपल लीला भण्डारीले जनाएका छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । प्रतियोगिता शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ ।

करातेका पदक विजेता सम्मानित
भारतमा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल कराते महासङ्घले सम्मान गरेको छ । उक्त प्रतियोगितामा रामवृक्ष ठाकुरले ५० केजी, मणिकुमार सुनुवारले ५५ केजी, सुवास कार्कीले एकल काता तथा विभूषा थापाले ६० केजीमा स्वर्ण जितेका थिए । टिम कुमुतेतर्फ मणिकुमार सुनुवार, गोविन्द विशंखे, रामवृक्ष ठाकुर र हीरालाल चौधरी पहिलो भएका थिए । त्यस्तै, गोविन्द विशंखेले ६० केजीमा रजत, सम्झना घिसिङले ५० केजीमा रजत तथा ६७ केजीमा हीरालाल चौधरीले कास्य जितेका थिए । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङ, कराते महासङ्घका अध्यक्ष दावा गुरुङलगायतले खादा र फूलमाला लगाई सम्मान गरेका थिए ।

फुल कन्ट्याक्ट कराते खेलाडी छनोट पूरा
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत तेस्रो राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने पाँचै विकास क्षेत्रका खेलाडीको टुङ्गो लागेको छ । पूर्वाञ्चलबाट पुरुषको ५० केजीमा भोजपुरका सञ्जय राई र ओखलढुङ्गाका रविन श्रेष्ठ, ६० केजीमा सोलुखुम्बुका प्रवेश राई र तेह्रथुमका लोकनाथ सिग्देल तथा खुलामा सप्तरीका तेजकान्तकुमार चौधरी र सुनसरीका कुमार राई छनोट भएका छन् । महिलाको ५० केजीमा सोलुखुम्बुकी सीता नेपाली र मोरङकी सिर्जना राजवंशी तथा खुलामा सोलुखुम्बुकी सम्झना राई र सोलुकै मोनिका राई छानिएका छन् ।
पश्चिमाञ्चलबाट पुरुषको ५० केजीमा नवलपरासीका पूर्ण थापामगर र कास्कीका नवीन शेर्पा, ६० केजीमा कास्कीका गणेश अधिकारी र कास्कीकै जीवन गुरुङ तथा खुलामा बाग्लुङका नारायण आचार्य र पाल्पाका दुर्गाराज पाण्डे छनोट भएका छन् । महिलाको ५० केजीमा स्याङ्जाकी सुष्मा थापामगर र कास्कीकी सजिना तामाङ तथा खुलामा म्याग्दीकी विन्दु पुनमगर र स्याङ्जाकी सुष्मा श्रेष्ठ छानिएका छन् ।
मध्यमाञ्चलबाट पुरुषको ५० केजीमा ललितपुरका विकेश महर्जन र धादिङका महेश भुजेल, ६० केजीमा काठमाडौंका सानु खड्का र काठमाडौंकै विवेककुमार दाहाल तथा खुलामा काभ्रेका वीरमान लामा र काभ्रेकै विकास गुरुङ राष्ट्रियलाई छानिएका छन् । महिलाको ५० केजीमा ललितपुरकी सीता राई र ललितपुरकै दीपा शाही तथा खुलामा ललितपुरकी प्रतिभा माझी र काठमाडौंकी निशा बोहोरा चुनिए । त्यस्तै मध्यपश्चिमाञ्चलबाट पुरुषको ५० केजीमा सद्दाम हुसेन र कृष्ण चौधरी, ६० केजीमा दिवस क्षेत्री र सन्तोषसिंह ठकुरी तथा खुलामा तीर्थ चिडिभार र किसन वनगोसाईं छनोट भएका छन् । sportमहिलाको ५० केजीमा दिलमाया गन्धर्व र खुलामा सङ्गीता चलाउने छानिएका छन् ।
सुदूरपश्चिमाञ्चलबाट पुरुषको ५० केजीमा खेम मिजार र किसन बम, ६० केजीमा दिपेश थापा र मीनबहादुर रावल तथा खुलामा दीपेन्द्र बटाला र रोहित रसाइली छनोट भएका छन् । महिलाको ५० केजीमा गंगा चौधरी र सुशीला चौधरी तथा खुलामा मञ्जु विक र नैना चौधरी सफल भएको नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घका महासचिव विष्णुकान्त अर्यालले जनाएका छन् । राष्ट्रिय फुल कन्ट्याक्ट चितवनमा माघ १२ र १३ गते हुनेछ ।