लासपालमास ग्रान क्यानरिया यात्रा:एक रमणीय अनुभूति

लासपालमास ग्रान क्यानरिया यात्रा:एक रमणीय अनुभूति


laspalmas– मोहनकृष्ण श्रेष्ठ
स्पेनका लागि गैरआवासीय राजदूतको हैसियतले बार्सिलोना तथा मेड्रिक सहरको भ्रमण गर्दा राम्रो प्रभाव छोडियो । बार्सिलोनामा सन् २०१२ को डिसेम्बरमा एनआरएन स्पेनको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमले गर्दा त्यहाँ रहेका नेपालीको विद्यमान समस्याबारे जानकारी प्राप्त गरी सोको निराकरण तथा न्यूनीकरण गर्न कदम चालिएकोमा पनि राम्रै प्रतिक्रिया हासिल भएको थियो ।
यसै प्रसङ्गमा एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले ‘स्पेनअन्तर्गत रहेको गे्रल क्यारियामा पनि थुप्रै नेपाली रहेकाले सरले एकपटक भ्रमण गरिदिनुभएमा राम्रो हुने थियो’ भन्दै आग्रह गर्नुभयो । त्यहाँ केही समयअगाडि एनआरएनको शाखा पनि गठन गरिएको रहेछ । सोही सुझाव तथा अनुरोधबमोजिम २९ डिसेम्बरका दिन म तथा मेरी श्रीमती एकाबिहानै मोहिलिङ एयरलाइन्सबाट लासपालमासका लागि उड्यौँ । चार घन्टा १५ मिनेटको फ्लाइट आरामदायी नै रह्यो । लासपालमासको एयरपोर्टमा एनआरएनका अध्यक्ष नारायण रेग्मीलगायत अन्य पदाधिकारीले हामीलाई स्वागत गर्नुभयो । त्यसपछि हामी सीधै होटल प्रिन्सेसतिर लाग्यौँ । भर्खर खोलिएको सो होटलको बिल्डिङ आकर्षक लाग्यो ।
वर्षभरि नै रमणीय मौसम हुने भएकाले यस टापुलाई विश्वको सर्वोत्तम मौसम भएको ठाउँ मानिने रहेछ । पेरिसबाट दुई हजार सात सय ५१ किलोमिटर टाढा एटलान्टिक समुद्रमा पश्चिम अफ्रिकन महादेशको मौरितानिया तथा मोरक्कोबाट नजिक रहेको यस टापुको क्षेत्रफल सय किलोमिटरमा फैलिएको रहेछ । क्यानरी टापु समूहको दोस्रो ठूलो टापु यस ग्रयान क्यानेरियामा वर्षको ५० लाख पर्यटक विभिन्न देशबाट भ्रमणमा आउँदा रहेछन् ।
साँझपख नेपालीको घनाबस्ती भएको इलाका पोयर्टोरिको घुमघाम ग-यौँ । अनगिन्ती पसल तथा रेस्टुराँले भरिभराउ सो इलाकामा प्रायजसो सबै विदेशी घुम्न आउँदारहेछन् । वारिपारि साना होचा डाँडाहरूलाई खोपेर साना आकर्षक घरहरू बनाइएको देखियो । विभिन्न पसलबाट घन्किदै आएका सङ्गीत तथा खानाका बास्नाका कारण हिँड्दा समय गएको पत्ता हुँदोरहेनछ ।
लासपालमासमा नेपालीको सङ्ख्या करिब दुई सयजनाजति भएको र हाल नेपालीको आगमन क्रमशः बढ्दै गएको आभास भएको रेग्मीजीले बताउनुभयो । सन् १९९८ मा त्यस टापुमा पुग्ने नेपाली रेग्मीजी नै पहिलो हुनुहुँदोरहेछ । उहाँले रेस्टुरेन्ट व्यवसाय गरी बस्नुभएको कुरा पनि अवगत भयो । नयाँ तथा पुराना ग्राहकले खचाखच भरिएको रेग्मीजीको रेस्टुराँमा नेपाली तथा अन्य खानाको पनि रसास्वादन गर्न सकिने रहेछ । उहाँले धेरै नेपालीलाई मद्दत गर्दै आउनुभएकाले एकप्रकारको अभिभावकको भूमिका पनि खेल्दै आएको बुझियो । धेरैजसो नेपाली विभिन्न पेसामा सक्रिय भएका तर केही व्यक्ति भने रेस्टुरेन्ट तथा अन्य पसलहरू खोली जीविकोपार्जन गरी त्यहाँ रहेको देखियो । भरत श्रेष्ठले चाहिँ नेपाली कपडाको तयारी पोसाक खोलेको र पोसाकमा अङ्ग्रेजीमा ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने ट्याग राखेर बुद्ध तथा लुम्बिनीको प्रचारप्रसारमा सक्रिय रहेको पाउँदा अति खुसी लाग्नुका साथै गर्व महसुस भएर उहाँलाई धन्यवाद ज्ञापन गरेँ । आफ्नो देशबाट यति टाढा टापुमा बसेर पनि आफ्नो देशको हित प्रवद्र्धन गर्न उहाँको मन तथा प्रयासलाई अनुकरणीय मान्नैपर्दछ । त्यस्तै, दानबहादुरजीले पनि ठूलो पसल राखेर प्रगति गरेको देखियो । दीपेन्द्र श्रेष्ठको रेस्टुरेन्टमा खान आएका केटी पाहुनाले नै रमाई–रमाई रेस्टुराँका ग्राहक निम्त्याइरहेका दृश्य पनि साहै्र रमाइलो लाग्यो । लासपालमासमा रहेका नेपालीका बीचमा आत्मीयता, स्नेह, भाइचाराका अलावा आपसी सहयोगको भावना प्रसस्तै रहेछ । ‘यसपालिको दशैँ तीनवटा खसी काटेर खुसियालीका साथ मनायौँ सर’ भनी फोटोहरू देखाउँदा विदेशी टापुमा बसेर पनि आफ्नो संस्कृतिको जगेर्ना गरी रमाइरहेका मित्रहरूलाई मनमनै धन्यवाद दिएँ । औसत रूपमा त्यहाँ बसोबास गरी बसेका नेपालीले आउने दिनमा अझ तरक्की गर्ने आशा गर्न सकिन्छ ।
२९ डिसेम्बर २०१३ का दिन एनआरएनले एउटा अन्तरक्रिया कार्यक्रम गरेर सहसचिव दीपेन्द्र श्रेष्ठले राहदानी तथा अन्य कन्सुलर समस्याबारे प्रकाश पार्नुभएको थियो । श्रीकृष्ण कँडेलले राजदूतबाट यसरी भ्रमण हुनु साह्रै स्वागतयोग्य कुरा भएको र आउने दिनमा नेपालीको सङ्ख्या दिनदिनै बढ्दै जाने देखिएकोले राजदूतावासबाट सक्रिय सहयोग पाउने विश्वास राख्नुभयो । साथै एनआरएन अध्यक्ष नारायण रेग्मीले अब आउने दिनमा राजदूतावाससँग निकट सम्बन्ध राखी नेपालीका समस्या सल्टाउन सजिलो हुने आफ्नो धारणा राख्नुभयो । प्रतिउत्तरमा मैले लासपालमासमा पाएको न्यानो स्वागतका लागि धन्यवाद दिँदै राजदूतावासबाट परिआएका समस्या समाधानका लागि सदा तत्पर रहने विश्वास देखाउँदै सरकारले कार्यान्वयन गर्दै आएको आर्थिक कूटनीतिक उद्देश्यमाथि प्रकाश पारेँ । खासगरी त्यहाँबाट नेपालमा पर्यटन प्रवद्र्धन गर्न र नेपाली निकासीयोग्य वस्तुहरूको प्रवद्र्धन गर्न कार्यहरू हुनुपर्ने, नेपाल र नेपालीलाई माया गर्ने उपयुक्त व्यक्ति भएमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सकिने धारणा पनि राखेँ । सो कार्यक्रममा नेपाली बच्ची धर्मपुत्री पालेका मिस्टर जाभिमरको पनि उपस्थिति रहेको थियो । दुई दिनको छोटो तर रमाइलो भ्रमण सकाई हामी ३० डिसेम्बर २०१३ का दिन बिहानै बार्सिलोनातर्फ उड्यौँ ।
समुद्रको किनारमा रहेको बार्सिलोना सहरमा नेपालीको बाक्लो बस्ती छ । यो सहरमा सन् १९९२ मा ओलम्पिक गेम्सको आयोजना भएको थियो । क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाउन समुद्रीयात्रा सुरु गरेको पोर्ट सडकछेउमै देखिन्थ्यो । साथै उहाँले आफ्नो गन्तव्यस्थान जानुअगाडि औँलाले यसतर्फ जाने भनी दिशा औँल्याइएको मूर्ति पनि सडकको बीचमै प्रस्तिस्थापन गरी राखेको रहेछ ।
साँझ एनआरएन स्पेनले एउटा अन्तरक्रिया कर्याक्रमको आयोजना गरेको थियो । सो अवसरमा उपाध्यक्ष नीरज पोखरेलले राहदानी तथा अन्य कन्सुलर समस्याको सम्बन्धमा जानकारी गराउनुभयो । केही संस्थाका प्रतिनिधिले पनि आफ्नो धारणा राखेका थिए । राहदानी तथा अन्य कन्सुलर समस्याले गर्दा केही अलपत्र देखिएकोमा एनआरएनका पदाधिकारीले नै जानकारी प्रदान गरेका थिए ।
मैले राजदूतावासको तर्फबाट सहयोग प्रदान गरी नेपालीले परिवार ल्याउँदा भोग्दै आएका समस्या समाधान गरिदिएको कुरा सन्दर्भवश सबैलाई स्मरण गराएँ । साथै आगामी दिनमा पनि एनआरएनसँग सहकार्य गर्र्दै नेपाली नागरिकको समस्या समाधान गर्न तत्पर रहने विश्वास दिलायौँ । अन्तरक्रियाले गर्दा कतिपय समस्या उजागार गर्न मौका मिल्यो । साथै तिनलाई समाधान गर्ने कार्यहरू भइआएकोमा त्यसमा तीव्रता आउने भयोे । यसपालिको बार्सिलोना भ्रमणताका मोन्टेसर्राटमा रहेका प्रख्यात प्राकृतिक ढुङ्गाका दृश्यहरू अवलोकन गर्ने मौका पनि जु-यो ।
(लेखक फ्रान्सका लागि नेपाली राजदूत हुनुहुन्छ ।)